
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा जित निकाल्दै सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा चितवन राइनोजलाई ४९ रनले पराजित गर्दै छ खेलमा सबैमा जीत निकाल्दै १२ अंक जोडेको छ।
जीतका लागि १७० रनको लक्ष्य पछ्याएको चितवन राइनोज १७ दशमलव एक ओभरमा १२० रनमा अलआउट भयो। ‘प्लेअफ’मा पुग्न जीतको खोजीमा रहेको चितवनका ब्याटर चल्न सकेनन्। उसका लागि रवि बोपाराले २९, देव खनालले २८ रन बनाए। साथै अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रनको योगदान दिए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सुदूरपश्चिमको जीतमा पुनित मेहराले तीन विकेट लिए भने दीपेन्द्र सिंह ऐरी, हिक्मत महरा, अभिनाश बोहरा र इशान पाण्डेले एक-एक विकेट लिए। तीन जना ब्याटर रनआउट भए।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ओपनर क्रिस लिनको शानदार अर्धशतकमा २० ओभरमा चार विकेटको क्षतिमा १६९ रन बनाएको थियो।
सुदूरपश्चिमका लागि लिनले रिटायर्ट हर्ट हुनुअघि ७५ रन बनाए। ५६ बल खेल्ने क्रममा उनले तीन छक्का र पाँच चौका प्रहार गरे। ओपनर बिनोद भण्डारीले २१ रनको योगदान दिए।
इशान पाण्डेले एक रन मात्रै बनाए भने पुनित मेहराले १३ र हर्मित सिंहले एक रन मात्रै बनाउन सके। आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले समान २४/२४ रन बनाए।
चितवनका लागि सैफ जाइबले दुई विकेट लिए भने जर्ज स्क्रिमस र रञ्जित कुमारले एक/एक विकेट लिए।
काठमाडौं। उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको छ।
उपत्यकाभित्र सञ्चालन हुने लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अबदेखि बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको छ।
लामो दूरीका सवारी साधनले पछिल्ला दिनमा लोकल बसले जस्तै सडक किनारमै यात्रु चढाउने–ओराल्ने गरेकाले ‘पिक आवर’मा जाम बढेकाले नयाँ व्यवस्था लागु गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।
‘लामो दुरीका गाडीले जथाभावीरुपमा रोकेर यात्रु उठाउने–झार्ने कार्य गर्दा ट्राफिक जाम झनै बढेको छ। त्यसैले अबदेखि लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो,’ उनले भने।
लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरवलोकन गर्न लागिएको छ। यसका लागि ट्राफिक कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ।
ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न रातो बत्ती उल्लङ्घन गर्ने, लेन क्रस गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने तथा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्यरूपमा सचेतना कक्षा दिन थालेको छ।
काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् ।
लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफुले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् ।
यसबाहेक आफूलाई अन्याय भएको विषय पनि लामिछानेले सुनाए । उनले सहकारी ठगी प्रकरणमा आफूमाथि अन्याय भएकाले छिटो न्याय पाउनुपर्ने अपेक्षा गुरुङसँग राखेका थिए ।
विलाई उद्धृत गर्दै गुरुङले भने– ‘ममाथि छानबिन गर्ने भए अर्को आयोगै बनाएर छानबिन गरियोस्, यसमा मलाई कुनै टेनसन छैन । म दोषी छु भने ममाथि अझै छानबिन गरियोस् । तर, अहिलेजस्तै दोष मात्रै लगाइराख्ने हो भने दुई सय वर्षसम्म पनि लडेर भ्याउदिनँ भन्ने कुरा उहाँले गर्नुभयो ।’
सभापति लामिछानेले जेनजीको मुद्दामा रास्वपाले साथ दिने प्रतिबद्धता जनाएको पनि बताए । उनले भने– ‘जेनजको साथमा हामी सुरुदेखि नै थियौँ । र, अब चाहिँ खुलेर साथ दिन्छौँ । तपाईँहरूको जुन मुभमेन्ट छ भ्रष्टाचारविद्धको मुभमेन्ट, सबैजनाले मुद्दा उठाए, आफैँ भ्रष्टाचार गर्ने अनि आफैँ भ्रष्टाचारविरुद्धको मुद्दा उठाउने भए, मलगायत मेरो सम्पूर्ण पार्टी चाहिँ तपाईँहरूको व्याकमा छौँ। तपाईँहरूले उठाउनु भएको मुद्दामा अब चाहिँ रास्वपा पनि खुलेर लाग्छ भनेर विश्वास दिलाउनु भएको छ ।’
त्यसबाहेक रविले जेनजी आन्दोलनमा आफ्नो पूर्ण साथ रहेकाले देश बनाउने अभियानमा एक भएर लाग्न पनि अनुरोध गरेको गुरुङले बताए ।
काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका रुपमा स्थापित (शंखधर उद्यान) रत्नपार्क व्यवस्थित बनेसँगै निःशुल्क वाइफाइ सेवासमेत जडान सुरु गरिएको छ ।
महानगरपालिका अन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाले नेपाल टेलिकमका छ वटा राउटर ल्याएर रत्नापार्कमा निःशुल्क वाइफाइ जडानको काम गरिरहेको छ । शंखधर उद्यान तथा रानीपोखरी एकाइका टेक्निसियन सुरेशकुमार श्रेष्ठ मङ्सिरभित्रै रत्नपार्कको सबै स्थानमा निःशुल्क इन्टरनेट सेवा प्रदान गरिने बताउछन्।
“निःशुल्क वाइफाइका लागि नेपाल टेलिकमका छ वटा राउटर ल्याएर ५०० एमविपिएस क्षमताको इन्टरनेट जडान कार्य भइरहेको छ, चाँडै नै रत्नापार्कभित्र छिर्ने सर्वसाधारणले घाम ताप्दै निःशुल्क इन्टरनेट सेवा लिन सक्नेछन्”, उनी भन्छन्।
अव्यवस्थित रत्नापार्कलाई काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७२/७३ मा करिब रु ८० लाखको लागतमा पुनःनिर्माण र व्यवस्थापन गरेपछि रत्नपार्कको मुहार फेरिएको छ भने अहिले रत्नपार्कभित्र छिर्ने सर्वसाधारणको सङ्ख्यासमेत बढेको छ ।
काठमाडौँ महानगरपालिकाले रत्नापार्कलाई व्यवस्थित बनाएसँगै अहिले रत्नपार्कमा वृद्धवृद्धा घाम ताप्नदेखि युवायुवती तस्बिर खिच्न र रमाउन पुग्ने गरेका छन् । महानगरपालिकाअन्तर्गतको हरियाली प्रवद्र्धन आयोजनाद्वारा हाल सञ्चालनमा रहँदै आएको रत्नपार्कलाई शङ्खधर पार्कका रूपमा समेत चिनिँदै आएको छ । महानगरपालिकाले विसं २०७२ असार १५ देखि रत्नपार्क प्रवेशमा शुल्क लिने व्यवस्था गरेको थियो ।
रत्नपार्कभित्र छिर्नका लागि हाल विद्यार्थीलाई रु २०, सर्वसाधारणलाई रु ३० र सार्क राष्ट्र तथा विदेशी पर्यटकलाई रु १०० लाग्ने गरेको छ । यस्तै व्यक्तिगत क्यामेरा लिएर भित्र प्रवेश गर्नेले रु १००, दोहोरी गीत म्युजिक भिडियो सुटिङ गर्न जानुपरेमा रु पाँच हजार, विवाह फोटो सुटका लागि रु ५००, व्यावसायिकरूपमा फोटो खिच्नेले रु एक हजार ५०० र सांस्कृतिक पोशाक झल्काउन जानेले रु १०० शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । महानगरले रत्नपार्कबाट हाल वार्षिक रु ५० लाखदेखि एक करोडसम्म आम्दानी गर्दै आएको छ ।
शंखधर उद्यान तथा रानीपोखरी एकाइका प्रमुख उत्तमकुमार घले पछिल्लो सयम रत्नपार्क छिर्नेको सङ्ख्या बढेको बताउछन् । रत्नपार्कभित्र चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म ६१ हजार ५३७ जना प्रवेश गरेका छन् । तीमध्ये १२ हजार ८५० विद्यार्थी र ४८ हजार ६८७ रहेका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र एकल महिलालाई रत्नापार्क प्रवेशमा शुल्क लाग्दैन । महानगरपालिकाले चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको चार महिनामा रु १८ लाख १४ हजार ४१० राजश्व सङ्कलन गरेको छ ।
महानगरले रत्नपार्कभित्र क्यामरा लगेवापतको शुल्क रु दुई हजार ६००, व्यवसायिक रिलवापत रु एक हजार ५००, सर्वसाधारण प्रवेश शुल्क रु १४ लाख ६० हजार ६१०, विद्यार्थी प्रवेश शुल्क रु दुई लाख ५७ हजार, दोहोरी गीत म्युजिक भिडियो सुटिङवापत रु सात हजार, पर्यटक प्रवेश शुल्कवापत रु ७१ हजार ५००, ड्राइफुड पिकनिकवापत रु चार हजार २००, चलचित्र सुटिङवापत रु १० हजार आम्दानी गरेको छ ।
रत्नपार्कमा हाल दैनिक ५०० देखि एक हजार व्यक्ति घुम्नका लागि आउने गरेका छन् । शनिबार र बिदाको दिनमा भने त्योभन्दा धेरै हुने गरेको उद्यानका प्रमुख घले बताउनुहुन्छ । रत्नपार्कभित्र मानिस घाम तापेर सुखदुःखका गफ गर्ने, स्कुलका विद्यार्थीले खेल्ने, युवायुवती फोटो खिच्न तथा रमाउनका लागि आउने गरेका छन् ।
रत्नपार्कभित्र बस्नका लागि सेट बक्स र कुर्सीको व्यवस्था गरिएको छ । यहाँ सार्वजनिक शौचालयसमेत रहेको छ । यस्तै पार्कभित्र शंखधरको सालिक, पद्मरत्न तुलाधरको सालिक, युनिगार्डेनलगायत रहेको छ ।
उद्यानका प्रमुख घले रत्नपार्कभित्र हाल पानीको अभाव रहेकाले बोटविरुवा संरक्षणमा समस्या परेको बताउनुहुन्छ । पानी ट्यांकरमा ल्याएर फूल तथा बोटविरुवालाई हाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । उक्त उद्यानमा चाँडै नै पानीको फोहोरासमेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन्। एमालेको ११औं महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुने तय भएको छ।
पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताए।
संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन्। ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसङ्गठन र विभिन्न कमिटीबाट माग गरिएको उनले बताए। एमालेले हालै गठन गरेको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ)ले पनि स्वयंसेवाको समन्वय गर्नेछ।
यसैबीच, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी क्षेत्रफलमा फैलिएको उक्त चौरमा एमालेका उपमहासचिव एवं महाधिवेशनको जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीसहितको टोलीले बुधबार अवलोकन गरेको छ।
उनका साथै एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य विनोद श्रेष्ठ, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, उपाध्यक्ष एवं बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, जिल्ला सचिव विष्णु तामाङलगायत सहभागी थिए।
उक्त चौरमा करिब दुई लाख जनसहभागिताको क्षमता गरिएको संयोजक ढकालले उल्लेख गरे। उनका अनुसार त्यहाँ मञ्च व्यवस्थापन, शौचालयलगायत आवश्यक पूर्वाधार निर्माणका लागि स्वयंसेवक खटिसकेका छन्। उद्घाटनका दिन पूर्वबाट आउने सवरीसाधानलाई जगातीस्थित इँटा तथा टायल कारखानामा र पश्चिमबाट आउने सवारीसाधनलाई गठ्ठाघरबाट कमेरोटार क्षेत्रमा व्यवस्थापन गरिने उनले जानकारी दिए।
महाधिवेशनमा आयोजक र निर्वाचित गरी दुई हजार ४०० प्रतिनिधि रहनेछन्। महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुनेछ।
काठमाडौं । काठमाडौं गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
७ खेलबाट ५ जितसहित काठमाडौंले प्लेअफमा स्थान बनाएको हो । प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स यसअघि नै प्लेअफ पुगिसकेको छ । थप दुई टोली प्लेअफको दौडमा छन् । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कमजोर बनेको छ ।
काठमाडौंले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, एडम रोसिङटन ५, जेशन रोय १६, तिर्थ राज दास ९, धनन्जय लक्षन ३० र किरणकुमार ठगुन्ना ५ रनमा आउट भए ।
बलिङमा काठमाडौंका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुई–दुई विकेट लिए ।
टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए । आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र मोहम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे ।
बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।
‘एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल’ नामक समूहले देशका १० जना विशिष्ट व्यक्तिहरूको ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल प्रहरीले उनीहरूको सुरक्षा व्यवस्था कडा पार्न मातहतका सर्कुलर जारी गरेको छ।
दियोपोस्ट अनलाइनमा उक्त समूहले १० जना विशिष्ट व्यक्तिहरूको नामै तोकेर ज्यान मार्ने धम्की दिएको खबर प्रकाशित भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा सतर्कता अपनाउन पत्राचार गरेका हुन्।
प्रहरीको पत्रमा उल्लेख भएअनुसार ज्यान मार्ने धम्की दिइएका १० जना विशिष्ट व्यक्तिहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई, पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल आयल निगमका पूर्व महानिर्देशक गोपाल बहादुर खड्का रहेका छन्।
यसका अलावा पूर्व मन्त्रीहरू रमेश लेखक, बालकृष्ण खाँड र आरजु राणा देउवा पूर्व प्रहरी महानिरीक्षकहरू ओम विक्रम राणा, हेम बहादुर गुरुङ र रमेश चन्द ठकुरी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रमा मातहतका सबै प्रहरी वृत्त तथा प्रभागहरूलाई उच्च सतर्कता अपनाउन भनिएको छ।
निर्देशनमा भनिएको छ, ‘निजहरूको निवास स्थान, भ्रमण मार्ग तथा कार्यक्रम स्थलहरूमा सम्बन्धित प्रहरी कार्यालयहरूलाई सु-सुचित गराई भरपर्दो सुरक्षा व्यवस्था मिलाउन हुन।’
साथै, पत्रमा उग्रवादी समूहको गतिविधिका बारेमा खबर सङ्कलन गर्न, सादा पोसाकमा समेत प्रहरी परिचालन गरी गोप्य रूपमा सूचना सम्प्रेषण गर्न र ती विशिष्ट व्यक्तिहरूसँग आवश्यक समन्वय गरी सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिइएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसहित तिनै जिल्लाका प्रहरी परिसरलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन परिपत्र गरेका छन्।
प्रहरीले ती व्यक्तिहरू बसोबास गर्ने वडा एरिया अन्तर्गतका प्रहरी इकाईहरूलाई गस्ती र पेट्रोलिङ तीव्र रूपमा गर्न समेत भनेको छ।
नेपाली कांग्रेसले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई उम्मेदवार नबनाउने भएको छ । अहिले राष्ट्रियसभा र प्रदेशसभामा बहालमा रहेका नेतालाई आगामी राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नबनाउने भएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलले परिपत्र गर्दै उम्मेदवार सिफारिससम्बन्धी यसअघिको परिपत्रबारे प्रष्ट पारेका हुन् । मुख्यसचिवले गरेको परिपत्रमा मातहतका कार्यसमितिलाई राष्ट्रियसभा र प्रदेश सभामा हाल बहालमा रहेका व्यक्तिलाई उम्मेदवारका लागि सिफरिस नगर्न भनेका हुन् ।
‘राष्ट्रियसभामा हाल बहाल रहनुभएका माननीय सांसदको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन’, मुख्यसचिवको परिपत्रमा भनिएको छ, ‘प्रदेशसभामा हाल बहाल रहनु भएका प्रदेशसभा सदस्यको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन ।’
काठमाडौं – मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ। यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सार्वजनिक गरेको आकलनअनुसार यस हिउँदमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभाग र गण्डकी प्रदेशका उत्तर–पश्चिम भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी वर्षा हुने समान सम्भावना रहेको छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले सुदूरपश्चिम प्रदेशका पूर्वी तथा दक्षिणी भूभाग, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका पश्चिमी भूभाग, बाग्मतीका दक्षिणी भूभाग, मधेसका उत्तरी भूभाग र कोशी प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको बताए।
यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका मध्य भूभाग, लुम्बिनीका मध्य तथा पूर्वी भूभाग, गण्डकीका पूर्वी भूभाग, बाग्मतीका मध्य तथा उत्तरी भूभाग, मधेसका दक्षिणी भूभाग र कोशी प्रदेशका केही भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।
अधिकतम तापक्रम आकलन
यसैगरी अधिकतम तापक्रम देशका अधिकांश भूभागमा सरदरभन्दा बढी हुने आकलन छ। विभागका अनुसार गण्डकी प्रदेशका उत्तरी र दक्षिणी भूभाग, बाग्मतीका दक्षिण भूभाग र कोशीका उत्तरी र दक्षिण–पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ।
यस्तै, कर्णाली प्रदेशका उत्तरी भूभाग, लुम्बिनीका उत्तरी भूभाग र कोशी, बाग्मती र गण्डकी प्रदेशका बाँकी भूभागमा सरदरभन्दा बढी तापक्रम हुने सम्भावना ४४ देखि ५५ रहेको छ।
सुदूरपश्चिम, कर्णाली प्रदेशका दक्षिण-पश्चिम भूभाग र लुम्बिनी प्रदेशका पश्चिम भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।
लुम्बिनी प्रदेशका दक्षिणी भूभाग र मधेस प्रदेशका भूभागमा सरदरभन्दा कम, सरदर र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने समान सम्भावना रहेको जनाइएको छ।
न्यूनतम तापक्रम आकलन
यस्तै, न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेशका उत्तरी र दक्षिण पश्चिम भूभाग, कर्णाली प्रदेशका मध्य तथा उत्तरी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, बाग्मती प्रदेशका उत्तर–पूर्व र दक्षिण पश्चिम भूभाग, मधेस प्रदेशका अधिकांश भूभाग र कोशी प्रदेशका दक्षिण र उत्तर–पश्चिम भूभागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। यस्तै, देशका बाँकी भूभागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जनाइएको छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदैछ । नयाँ धान भित्र्याएको खुसियालीमा नेवार समुदायले आज योःमरि पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् ।
योःमरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ ।
योःमरि बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाउने प्रचलन छ ।
नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजाआराधना गरेर योमरी पूर्णिमा पर्व मनाउँछन् । साथै चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योःमरि सगुनका रूपमा उपहार पठाउने चलनसमेत नेवार समुदायमा रहेको छ ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।




