
काठमाडौं । जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न आग्रह गरेका छन् ।
जेनजी अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर काठमाडौं पुग्नुभएका उनले यस्तो आग्रह गरेका हुन् । उनले निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरुले नगरेको पनि बताए ।
पुराना दलका नेताहरूको सरकारमा पुनः आगमन हुने सम्भावनाप्रति चिन्ता व्यक्त गरे । ढुङ्गानाले अन्तरिम सरकार देश विकासमा असफल भएको अवस्थामा प्रधानमन्त्री कार्कीले राजीनामा दिनुपर्ने माग गरे । अन्तरिम सरकार हाइज्याक भएको भन्दै जेनजी युवाहरुको माग सम्बोधन नभएको ढुङ्गानाले बताए ।
जेनजी युवा प्रकाश शर्माले पनि पछिल्लो समय आन्दोलनको माग सम्बोधन नगरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामाको माग गर्दै पर्चा टाँस्ने कार्यमा सहभागी भएको बताए ।
उनले शनिवार बेलुका पक्राउ परेको अनुभव साझा गर्दै अन्तरिम सरकार जेनजी आन्दोलनको आधारमा बनेको भएपनि आफूहरुको माग सम्बोधन नगरेको बताए ।
भदौ २३ गतेको आन्दोलमा भएको घटनाको छानबिन नगरी २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरुलाई मात्र प्रहरीले पक्राउ गरेको उनले बताए ।
काठमाडौँ। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।
आज बसेको सत्तापक्षीय सात दलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए ।
यही मंसिर १९ गते नेपाली काँग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनमा युवा संघ नेपालले कम्तिमा ५० हजार युवा काठमाडौं उतार्ने घोषणा गरेको छ ।
युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारी अनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरुको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेहरु कमिटीहरुलाई अनिवार्य रुपमा युवाहरुको सहभागिताका लागि उत्प्रेरक परिचालन गरिएको छ । थेबेका अनुसार काठमाडौं र ललितपुरका ६१ वटा वडाबाट १०० हजारका दरले ६१००, उपत्यकाका अन्य १९ वटा पालिकाबाट १ हजारका दरले १९ हजार, उपत्यका बाहेक बागमतीका १० वटा जिल्लाबाट १५०० सयका दरले १५००० जना युवाहरु जुटाउने युवा संघको तयारी छ ।
यसैगरी, महाधिवेशनमा कोशी प्रदेशबाट ४ हजार ,मधेशबाट ४ हजार, गण्डकी ३ हजार लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सयका दरले १००० युवा जुटाउने युवा संघले जनाएको छ । संघका अध्यक्ष थेबे भन्छन्, ‘हामी टाउको गनेर नै ५० हजार युवा कार्यक्रम स्थलमा उतार्छौँ । यसका लागि हाम्रो संगठनका सबै कमिटीहरु परिचालन गरेका छौँ । ’
एमालेको ११ औं राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने एमालेले जनाएको छ ।
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आगामी २१ फागुनमा हुने गरी समयसीमा निर्धारण गरिएको छ । निर्वाचनका लागि राजनीतिक दलहरूले आन्तरिक रूपमा तयारीलाई तीव्र पारेका छन् ।
आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहान १० बजेदेखि अपराह्न ४ः०० बजेसम्म समानुपातिक निर्वाचन प्रणालीका लागि राजनीतिक दलले आवेदन दिने समयसीमा निर्धारण गरेको छ । समानुपातिकतर्फको निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलको सूची भने यही २४ मंसिरमा प्रकाशित हुनेछ ।
यसरी आवेदन दिएका राजनीतिक दलले आगामी १३ र १४ पुसको बिहान १०ः०० देखि अपराह्न ४ः०० बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा निर्धारण गरिएको छ । यस्तै, आगामी ३० माघमा भने समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशित हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० सदस्य निर्वाचित हुने प्रावधान छ ।
प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रमअनुसार आगामी ६ माघमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन नै उम्मेदवारको सूची प्रकाशन हुने कार्यक्रम तय भएको छ । उम्मेदवारीमाथि आगामी ७ माघमा विरोधमा उजुरी दिने अवधि तोकिएको छ । आगामी ८ माघमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यस्तै, ९ माघमा उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्माको निवासको डिजाइनप्रति कटाक्ष गरेका छन् ।
आइतबार सामाजिक संजालमार्फत मन्त्री पुनले कुटी नाम दिएर बिलासी भवन निर्माण गर्न लागिएको भन्दै कटाक्ष गरेका छन् ।
उनले भनेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कार्बाही गर्नुपर्छ । अनी घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो माग छ। हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याउ भने पछि यत्रो ठूलो दरवारको नक्सा बनाई दिनु हुन्छ त उसले ? कहाँसम्मको लापर्बाही हो यो ? एकछिन रमाईलो ।’
भक्तपुरको बालकोटस्थित ओली निवास जेनजी आन्दोलनमा आगजनीबाट ध्वस्त भएपछि अहिले उनी गुण्डुमा डेरामा बस्दै आएका छन् । गुण्डुमा मंसिर ८ गते ओली कुटीको सिलान्यास भइसकेको छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
धैर्य र पराक्रमले आँटेको कार्यमा सफलता मिल्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। चुनौती पन्छाउँदै नयाँ कामको जग बसाउन सकिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दीगो फाइदा हुने कार्य प्रारम्भ गर्नुका साथै नयाँ सम्झौताहरू गर्ने समय रहेको छ। पहिला गरिएको कामहरूको उचित प्रतिफल प्राप्त हुनेछ। शिक्षाको क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पुरुषार्थी कामले समाजमा नाम स्थापित गर्न सकिनेछ। रोकिएका काम बन्नाले नयाँ काम प्रारम्भ गर्न सकिनेछ। पहिलाका कमी कमजोरीलाई सुधार्ने मौका मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मेहनतले सम्मान दिलाउनेछ। विदेश भ्रमणको विचारमा सकारात्मक संकेत प्राप्त हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साहित्य र कलाको क्षेत्रमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। शेयर बजारबाट लाभ आर्जन गर्न सकिनेछ। काम गर्दा जाँदा सहयोगीहरू प्रशस्तै भेटिनेछन्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
पिताको कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। नयाँ कामको प्रस्ताव आउने र व्यापार व्यवसायमा लाभ रहनेछ। प्रशासनिक वा औपचारिक क्षेत्रबाट अपेक्षित सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
अनुभवी व्यक्तिहरूको सुझावमा मार्गदर्शनलाई वेवास्था नगर्नुहोस्। धार्मिक क्रियाकलापहरूमा मन जानेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। रचनात्मक क्षेत्रमा मन जानेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी वा पेशामा हजुरको कार्यको मूल्यांकन हुनेछ। लापरवाहीले हातमा आएको अवसर गुम्ला सावधान रहनुहोस्। आत्मविश्वासमा कमी आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यक्षेत्रबाट लिएको अनुभव र ज्ञानले लाभ प्राप्त हुने उच्च सम्भावना देखिएको छ। आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ। अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सक्नुहुनेछ। नकारात्मक सोचले बनिरहेका काममा बाधा हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
नेतृत्व क्षमताको परिचय दिने समय रहेको छ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। व्यापार व्यवसायमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक पक्ष सबल बन्दै जानेछ। घरपरिवारलाई धेरै समय नदिनुका कारण आफन्तहरू मध्य असमझदारी बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।





