
काठमाडौँ । दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले महाअभियानसँग वार्ता गर्न आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको जानकारी दिएको हो ।
महाअभियानले उठाएका तत्कालै सम्बोधन गर्न सकिने विषय तथा मागहरूका सम्बन्धमा वार्ता गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहने गरी आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरिएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

नेकपा एमालेको ११औँ महाधिवेशन जारी छ । यसैबिच नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन तालिका प्रकाशन गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले आज बेलुकी ७ बजेदेखि पुस १ गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा भिड्ने भएका छन् ।

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनको निर्णयलाई संशोधन गर्दै पदाधिकारी र कमिटीको संख्या पुरानै अवस्थामा फर्काएको छ । यससँगै पार्टीको केन्द्रीय कमिटी फेरि ३०१ सदस्यीय बन्नेको छ ।
गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पदाधिकारी संख्या १५ मा सीमित गर्ने र स्थायी कमिटी नै नराख्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको आकार पनि २५१ सदस्यीय बनाइएको थियो ।
तर आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउनुपर्ने दबाब रहेको भन्दै संशोधन प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बहुमतले पारित भएको हो ।
संशोधित व्यवस्थाअनुसार अब पार्टीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना गरी कुल १९ जना पदाधिकारी हुनेछन् ।
यसैगरी ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटव्युरो कायम गरिएको छ । यसरी पदाधिकारीसहित केन्द्रीय कमिटीको कुल संख्या ३०१ पुगेको छ ।
विधान महाधिवेशनले मिहिनेतपूर्वक टुंग्याएको संगठनात्मक संरचनालाई तीन महिनामै उल्ट्याइएपछि पार्टीभित्रै विरोध भएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संख्या बढाउँदैमा पार्टीको क्षमता नबढ्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
‘बदलिएको परिस्थितिले अंक बढाउन भनेको होइन,’ पोखरेलले भने, ‘बदलिएको परिस्थितिले त हामी सबैलाई बदलिनु भनेर जबरजस्त सन्देश दिएको छ । संख्या बढाएर क्षमता बढ्छ भने अघिल्लो पटकको हाम्रो क्षमता जाँचिएन र ?’
उनले दुई कार्यकालको सीमालगायत अन्य विषयमा पनि छलफल हुनुपर्ने बताए । ‘दुई कार्यकालबारे पनि कुरा उठेको छ, यसबारे छलफल नहुने ?’ पोखरेलको प्रश्न छ ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यक्तिगत र पार्टीको स्वार्थको लागि अयोग्य व्यक्तिहरुलाई उच्च पदहरुमा नियुक्त गरेकाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन–जी बिष्फोट भएको बताएका छन् ।
आइतबार सामाजिक सञ्चालमार्फत उनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गर्दै यस्तो अनुरोध नेपालमा कुशासन र भ्रष्टाचारले जरा गाड्नुको प्रमुख कारण भएको बताए ।
उनले लेखेका छन्, ‘हार्दिक अनुरोध कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागीर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण नै यहि हो । नेताहरुले व्यक्तिगत र पार्टीको स्वार्थको लागि नियम कानुन मिचेर अनैतिक तरिकाले चाकरीको भरमा लोभीपापी र अयोग्य व्यक्तिहरुलाई उच्च पदहरुमा नियुक्त गरेको हुनाले नै कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेर जेन–जी बिष्फोट भएको हो । कुरा बुझ्नु भो !!!’
लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै कार हात पारेका छन् ।
लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै पहिलोपल्ट एनपिएलको उपाधि उचाल्यो । लुम्बिनीको सफलतामा रोहितको अलराउन्ड प्रदर्शन निर्णायक रह्यो । उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे ।
नेपालको तर्फबाट उनी सर्वाधिक रनकर्ता पनि हुन् । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए भने उत्कृष्ट ब्याटर पनि भए । उनले प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर मोटरसाइकलसमेत पाए ।
यस्तै, १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त रुपमा सन्दीप लामिछाने र अविनाश बोहोरा शीर्ष स्थानमा रहे । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन, सर्वोत्कृष्ट बलर सन्दीप लामिछाने बने । ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै बोहरा र लामिछानेले सर्वोत्कृष्ट बलर पुरस्कारसहित मोटरसाइकल पाए । ट्रम्पलम्यानले रु पाँच लाख पुरस्कार जिते । यस्तै, लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए ।
लुम्बिनीका शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै मोटरसाइकल हात पारे ।
प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ ।
सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् ।
नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ ।
नेकपा (एमाले)को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा सो दलका अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ? भन्ने प्रश्न गरेका छन् ।
उनले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राखेका थिए । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गरेका थिए । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ ।
यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको सो दलले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ । सो दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो ।
यस्तै, समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् ।
सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन् ।
शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसकेका छन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
रोकिएका कार्य पुनः प्रारम्भ गर्न सकिनेछ । शत्रुहरू हार खानेछन् । स्वास्थ्य सम्बन्धी समस्याले खर्चमा वृद्धि हुनेछ । कार्य प्रारम्भ गर्नुभन्दा अघि योजनाहरू सार्वजनिक नगर्नुहोला । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कुनै पनि कार्य अफ्ट्यारो भए पनि बुद्धिको उपयोगले सिद्ध गर्न सकिनेछ । सन्तानको प्रगतिलाई लिएर मानसिक चिन्ता रहनेछ । रचनात्मक कार्यमा मन लाग्नेछ । आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
हत्तारमा लिएको निर्णयले कार्य बिग्रिन सक्ला । अवसरको खोजीमा दौडधुप गर्नुपर्ला । परिस्थिति अनुसार चल्न नसक्दा पछाडि परिनेछ । आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको फाइदाको लागि उपयोगी भइनेछ । पुरुषार्थबाट मानसम्मान प्राप्त गर्न सकिएला । व्यापारमा राम्रो फाइदा हुनेछ । मेहनतले दिगो लाभ हुनेछ । आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जोश जागरमा वृद्धि हुने छ। पहिलाको उपलब्धिले नयाँ कार्यमा उत्साह जाग्नेछ । चिताएका कार्यहरू सम्पादन गर्न सकिएला । युक्ति पूर्ण व्यवहारले अरुको मन जित्न सकिनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
शुभचिन्तकहरूको सहयोगले अप्ठ्यारो कार्य पनि सजिलै सम्पादन गर्न सकिनेछ । स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । शिक्षाको क्षेत्र फराकिलो बन्नेछ । आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खर्च बढ्नाले नयाँ कार्य प्रारम्भ गर्नमा बाधा आउनेछ । टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नुका साथै पायक स्थानमा भ्रमणका योग छन् । सवारी साधन चलाउँदा सावधान रहनुहोला । आजको शुभ रं सेतो हो भने शुभ अंक ८ रहेको छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ जिम्मेवारी मिल्नुका साथै व्यापार व्यवसायमा लाभ रहनेछ । श्रमको उचित मूल्यांकन मिल्नेछ । आफूभन्दा ठूलाप्रति आत्मीय भाव बढ्नेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कार्य गर्ने अवसर मिल्नेछ । नोकरी वा पेशामा उच्च पदासीन व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । मन प्रशन्न रहनेछ । व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ । आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग दिए पनि काममा स्वयं खटिनुपर्ला । भविष्यलाई लिएर योजना बनाउने समय रहेको छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
तत्काल लाभ नभएतापनि पछिको लागि जग बसाउने समय रहेको छ । नकारात्मक विचारबाट मुक्ति मिल्नेछ । नयाँ काम गर्ने जोश जागरमा वृद्धी हुनेछ । आजको शुभ हरियो हो भने शुभ अंक ५ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आफन्तहरू मध्य रमाइलो समय व्यतीत हुनेछ । सानो प्रायासले जीवनशैलीमा राम्रो परिवर्तन ल्याउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ । आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ ।




