२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

जेनजी घटना जाँचबुझ आयोगले ३ जनाको विदेश भ्रमण र स्थान हदमा लगाएको रोक फुकुवा गरेको छ ।

तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको विदेश भ्रमणमा रोक्का लगाउने र आयोगको स्विकृतिविना काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था सोमबार फुकुवाको निर्णय गरिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भदौ २३-२४ को घटनाहरूको जाँचबुझ तथा छानबिनको सिलसिलामा अनुसन्धानका लागि भन्दै आयोगले उनीहरूमाथि विदेश भ्रमणमा रोक र स्थान हद तोकेको थियो ।

आयोगले यी तीनैजनासँग बयान लिइसकेको छ ।

भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई पत्र पठाइएर आयोगमै सात दिनभित्र उपस्थित भई बयान दिन भनिएको छ।

आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ। यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो।

आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ।

सरकारको विरोध र सुशासनको माग गर्दै ‘संयुक्त जेनजी’ समूह आज पनि सडकमा उत्रिएको छ ।

आज (मङ्गलवार) काठमाडौँको माइतीघर मण्डलामा मिराज ढुङ्गाना सहितका जेन्जीहरूले सशक्त प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको क्रममा उनीहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् ।

‘गरिखान देऊ’ अभियान अन्तर्गत सडकमा आएका युवाहरूले वर्तमान सरकारको १०० दिने कार्यकाल असफल भएको आरोप लगाएका छन् । उनीहरूले तत्काल चुनावमा जानुभन्दा पहिले मुलुकमा सुशासन कायम हुनुपर्ने र ‘सर्वपक्षीय सरकार’ गठन गरिनुपर्ने मुख्य बटमलाइन अघि सारेका छन् ।

हिजो (सोमबार) को शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप र धरपकड गरेपनि आन्दोलनकारीहरू आज पुनः सडकमा आएका हुन् । आज प्रहरीले उनीहरूको आन्दोलनमा हस्तक्षेप गरेको छैन । उनीहरूले संयुक्त नारा लगाएर प्रदर्शन गरिरहेका छन् ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् ।

आज (मङ्गलवार) नेपाली काँग्रेस, नेकपा एमाले र नवगठित नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूसँग राष्ट्रपतिले छलफल गर्न लागेका हुन् ।

राष्ट्रपतिको कार्यालयले बुधवार (आज) दिउँसो ३ बजे उक्त छलफल हुने जनाएको छ ।

छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् ।

‘जेनजी’ आन्दोलनका नाममा निवासमा आगजनी गरिँदा गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारले दोषीमाथि कडा कारबाहीको माग गरेकी छन् ।

लामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किएकी चित्रकारले उक्त घटनालाई हिटलरको ‘ग्यास च्याम्बर’सँग तुलना गरिन् । जेनजीको अबोध मखुन्डो लगाएर देश विध्वंस गर्नेहरूलाई सरकारले छिटै पहिचान गरी सजाय दिनुपर्ने उनले बताइन् ।

सोमबार (पुस ७) बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले जेनजीको अबोधपनको मखुन्डो ओढेर देशलाई नष्ट गरिएको टिप्पणी गरिन् । ‘मैले किताबमा पढेको थिएँ, हिटलरको ग्यास च्याम्बर । त्यो ग्यास च्याम्बर म आफैँ परेँ र आज यो गति भयो,’ उनले भनिन्, ‘जेनजी भाइबहिनीहरूको अबोधपनको मखुन्डो ओढेर जुन देशलाई नष्ट पार्न खोजे, उनीहरूलाई यो सरकारले छिटै चिनेर कारबाही गर्नुपर्छ । मेरो यही माग छ ।’

पूर्वप्रधानमन्त्री खनालले पनि पीडा व्यक्त गर्दै उपचार प्रक्रिया अझै पूरा नभएको बताए । उपचारको प्रक्रिया अझ अघि बढाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । घरसहित सबै जलाएर नष्ट गरिदिएपछि उपचारमा समस्या हुने उनले सुनाए । ‘हामीले अझ धेरै गर्न बाँकी नै छ । त्यो पनि उपचारकै प्रक्रिया हो । त्यो उपचारको प्रक्रियालाई अझै अगाडि बढाउनुपर्ने आवश्यकता छ,’ उनले भने, ‘तर, अब हामीजस्तो मान्छे जसको जिलीगाँठी सबे जलाएर खरानी बनाइदिएको छ, कसरी उपचार गर्छौं होला ? यो प्रश्न हामीसँग अहिले पनि बाँकी नै छ ।’

गएको भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा डल्लुस्थित खनाल दम्पतीको घरमा आगजनी गरिएको थियो । उक्त घटनामा रविलक्ष्मी गम्भीर घाइते भएकी थिइन् । घर पूर्ण रूपमा क्षति भएको थियो । उपचारका निम्ति भारत लगिएकी उनको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधारोन्मुख रहेको जनाइएको छ ।

रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक रहेको निकट नेताले बताएका छन् । उनीहरू दुईबीच सोमबार राति कमलादीस्थित रास्वपाका केन्द्रीय सदस्य असीम शाहको घरमा भेटवार्ता भएको हो ।

वार्तापछि मंगलवार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहले वार्तालाई ‘कथाको सुखद सुरुवात’ को भएको बताएका छन् । ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन-दुई दाजु-भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’ उनले लेखेका छन् ।

दुवै नेता राति ८ बजे त्यहाँ पुगेका थिए भने उनीहरू निस्कँदा रातिको १ बजेको थियो । उनीहरूबीच भएको कुराकानीको औपचारिक जानकारी सार्वजनिक भएको छैन । यद्यपि, असीम शाहले एउटा सुखद सुरुवात भएको बताएको हो ।

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउनेगरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपातिकतर्फको उम्मेदवारको सूचीमा रहेको भए अयोग्य हुने व्यवस्था गरिएको छ ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको भए पनि उम्मेदवार अयोग्य हुनेछन् ।

निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तय गरेको छ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् । यस्तै, ११० जना भने समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ ।

पछिल्लो पटक आयोगले समानुपातिक निर्वाचन प्रणालीका सम्बन्धमा एक समिति गठनगरी आवश्यक अध्ययनसमेत गराएर जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषध बिक्रीवितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसुर गरेकालाई अयोग्य घोषणा गरिनेछ ।

नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाई वा कुनै कसुरमा जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको भए पनि त्यस्ता उम्मेदवार अयोग्य हुने व्यवस्था छ ।

सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाई वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गेको मितिले छ वर्ष पूरा नभएकासमेत अयोग्य हुने कानुनी प्रबन्ध छ ।

जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएका उम्मेदवार हुन पाउँदैनन् ।

प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेकामा सो अवधिभर, कैदमा बसेकामा कैद बसेको अवधिभर, मानसिक सन्तुलन ठीक नभएको, विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको व्यक्ति उम्मेदवार हुन पाउँदैनन् ।

नेपालको नागरिक, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको, कुनै लाभको पदमा बहाल नरहेको उम्मेदवार भने योग्य हुने प्रबन्ध छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।