२०८२ फाल्गुन २७ गते बुधबार
२०८२ फाल्गुन २७ गते बुधबार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ स्वीकृत गरेको छ । आयोगको आइतबारको बैठकले आचारसंहिता स्वीकृत गरेको हो । आचरसंहितामा निर्वाचनमा एक उम्मेदवारले चुनावी प्रचार प्रसार गर्दा दुईभन्दा बढी गाडी प्रयोग गर्न नपाउने उल्लेख छ ।

आचारसंहितामा भनिएको छ, ‘निर्वाचन अधिकृतको अनुमति लिई उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुई वटा दुई पाङ्ग्रे वा तीन पाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सक्ने ।’

त्यस्तै एउटा दल वा उमेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न पनि नपाउने भएका छन् । आयोगले आचारसंहिता आर्टिफिसियल इन्टिलिजेन्स (एआई)लाई पनि समेटेको छ ।

आचारसंहितामा भनिएको छ, ‘सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टिलिजेन्स (एआई)को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच)जस्ता भ्रामक टीकाटिप्पणी गर्न वा गराउन नहुने ।’

त्यस्तै कुनै प्रयोजनका निम्ति प्रकाशित वा प्रसारित सूचना/सामग्रीलाई एआईको प्रयोग गरी÷नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सनलगायत कार्य पनि गर्न नहुने उल्लेख छ ।

निर्वाचनको प्रचारप्रसार गर्दा दल तथा उमेदवारले विद्यालय र विश्वविद्यालयको क्षेत्र प्रयोग गर्न पाउने छैनन् । आचारसंहितामा भनिएको छ, ‘कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने ।’

त्यस्तै घर वा जग्गा धनीको स्वीकृति नलिई कसैका निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन । त्यसैगरी राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित पहिरन वा स्टीकरलगायत सांकेतिक सामग्री उत्पादन, प्रयोग र बिक्री वितरण तथा प्रदर्शन गर्न/गराउन पाइने छैन ।

आचारसंहितामा भनिएको छ, ‘राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्री वितरण गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।’

त्यसैगरी सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नपाइने आचारसंहितामा उल्लेख छ ।

काठमाडौँ। ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईँले रवि लामिछाने र बालेन्द्र साह (बालेन) बीचको सहमतिलाई राजनीतिक व्यापार भन्दै टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईँले देशलाई आफ्नो जग्गा सम्झेर सम्झौता गर्ने संस्कार राजनीति हो कि व्यापार भनेर प्रश्न गरेका हुन् । उनले ७० लाख सहकारपीडितले न्याय पाउनुपर्ने विषय किन एजेन्डा नभएको भन्दै प्रश्न गरेका छन् ।

गएराति रास्वपाका सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेनबीच बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार मानेर आगामी निर्वाचनमा भाग लिने सहमति भएको थियो । प्रसाईँलाई यसैलाई लिए टिप्पणी गरेका हुन् । उनले भागबण्डाको राजनीतिले देश नबन्ने र देश बन्न चरित्र चाहिने पनि भनेका छन् ।

‘भागबण्डाको राजनीतिले देश बन्दैन, देश बचाउन चरित्र चाहिन्छ। अब समय आएको छ,’व्यक्ति होइन, प्रणाली बदल्ने । दल होइन, देश प्राथमिकतामा राख्ने,’ उनले भनेका छन्, ‘डर होइन, सत्यका पक्षमा उभिने । देश जोगाउन सबैजना एक भएर अघि बढौँ । किनकि देश कसैको निजी सम्पत्ति होइन । यो हामी सबैको साझा जिम्मेवारी हो । देश कुर्सीको सौदाबाजीले होइन, जनताको निर्णयले चल्नुपर्छ ।’

त्यस्तै प्रसाईँले देशको भलो सोच्ने हो भने ढिला नगरी जनमत संग्रह गर्नुपर्ने पनि बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूसँग एकता सहमति गरेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई आफ्ना सभापति रवि लामिछानेपछिको वरीयता दिने भएको छ।

रास्वपा नेता एवं एकताका लागि गठित कार्यदलका सदस्य शिशिर खनालले सहमति पत्रमा त्यो कुरा उल्लेख नभए पनि बालेनलाई पार्टीमा दोस्रो वरीयता दिने निर्णय भएको जानकारी दिएका हुन्।

‘सहमतिमा छैन, बालेनजीले म केन्द्रीय सदस्य मात्रै बन्छु भन्नुभयो। तर प्रधानमन्त्री बन्छु भनेर लाग्नुभएको नेतालाई त्यसरी त कहाँ हुन्छ र’, खनालले आइतबार बिहान भने, मैले नै उहाँको सम्मानका लागि दोस्रो वरीयतामा राखौँ भनेर प्रस्ताव गरेको हुँ। उहाँले केन्द्रीय सदस्य मात्रै बन्छु भन्ने भएकाले पद केही हुँदैन, तर पार्टीको मिटिङमा सभापतिपछि बोलाइने नाम उहाँकै हुन्छ।’

उनले थपे, ‘पार्टीको सम्पूर्ण नेतृत्व रवि लामिछानेले गर्ने, संसदीय फाँटको नेतृत्व उहाँले गर्ने हो नि त! त्यसैले उहाँलाई दोस्रो वरीयतामा राखिन्छ।’

शनिबार मध्यरातसम्म भएको छलफलपछि रास्वपा सभापति लामिछाने र काठमाडौँका मेयर बालेनबीच आइतबार बिहानै एकता सहमति भएको हो।

सहमतिअनुसार पार्टीको नेतृत्व रविले नै गर्ने तर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने समझदारी भएको छ।

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन्द्र साहबीच राजनीतिक सहमति भएपछि रविका दाजुले काठमाडौंको मेयरमा स्वतन्त्र उठ्ने घोषणा गरेका छन् ।

सम्झौतापछिको रवि र बालेनको तस्बिर सार्वजनिक गर्दै रविका दाजु हरिशरण लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन् । उनले महानगरपालिकाको भावी मेयर पदमा स्वतन्त्र उम्मेदवारीको प्रवल सम्भावना रहेको भन्दै फेसबुकमा उम्मेदवारी घोषणा गरेका हुन् ।

लामिछानेले फेसबुकमा लेखेका छन्, ‘दुई भाइको सम्झौता प्रति सम्मान र खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकाको भावी मेयर पदमा मेरो ‘स्वतन्त्र उम्मेदवारी’ रहने प्रवल सम्भावना रहेको जानकारी गराउदछु।’

काठमाडौं । राजनीतिक वृत्तमा शक्तिको बाँडफाँट र पदको लुछाचुडी भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहमतिको नयाँ परिभाषा अघि सारेका छन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे रणनीतिक सहमति गरेलगत्तै लामिछानेले ‘सहमति’ लाई व्यक्तिगत र दलीय स्वार्थभन्दा माथि राखेर व्याख्या गरेका हुन् ।

आज बिहान बालेन शाहसँगको निर्णायक वार्तापछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले लेखेका छन्, ‘सहमति भनेको नेताले खोजेजस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७ बुँदे सहमति भएको छ ।

उनीहरूबीच आइतबार बिहान ३ बजे सहमति भएको हो । सहमतिपत्रमा मेयर शाहर सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको नाम एकीकरणपछि राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिह्न घण्टी रहने छ ।

दुई नेताबीच राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने पनि सहमति भएको छ ।

एकतापछि राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिह्न घण्टी र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति पनि भएको छ ।

दुवै नेताहरूले नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाइते तथा सहिद परिवारका मागहरू यथोचित सम्बोधन गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

त्यस्तै समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने पनि सहमति भएको छ ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने पनि सहमति भएको छ ।

यो सम्झौताबमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने पनि सहमति भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।