
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
बालुवाटारबाट फर्किएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ ।
चुनाव गराउने ‘म्यान्डेट’ सहित प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा गठन भएको नागरिक सरकारका मन्त्रीहरू दलीय राजनीतिमा सक्रिय भएको विषयमा जनस्तरबाट पटक–पटक प्रश्न उठ्दै आएका थिए । यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमा नामै तोकेर मन्त्रीहरू कुलमान घिसिङ, जगदीश खरेल र बब्लु गुप्तासँग राजीनामा मागेकी थिइन् ।
घिसिङ यसअघि अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक रहेका थिए । पछि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण भएपछि उनी सो पार्टीको वरिष्ठ उपसभापति बनेका थिए ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरूलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् ।
बुधबार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्ति जलाउनेहरू अपराधी भएको बताए ।
‘सरकारको सम्पत्ति जलाउनेहरू अपराधी हुन् की होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् की होइनन् ? यो सरकारले तिनीहरूलाई कारबाही गर्नुपर्छ की पर्दैन ? अनि ती अपराधीहरूले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा,’ उनले भनेका छन् ।
‘उनीहरूलाई अन्तरिम सरकारले के गर्छ ?’ भन्दै उनले प्रश्न गरे । निर्वाचन देशमा चाहिएको तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको उनको भनाइ छ ।
‘के चुनाव हुन्छ होला, चुनाव भयो भने पनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरू तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरू कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन्,’ उनले भने ।
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने बताएका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए विष पिएर भए पनि एकता कायम राख्ने उनको भनाइ छ ।
काँग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादको क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘तपाईँहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ उनले भनेका छन्, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विष पिउँछु नि म । बरु आफूले विष पिएर भए पनि यसको एकता जोगाइराख्ने छु ।’
थापाले जेन जेड आन्दोलनपछिको अवस्थामा नौजवानहरूले नेपाली काँग्रेसमाथि प्रशस्तै प्रश्न उठाइरहेको तर, तिनीहरूलाई चित्तबुझ्दो जवाफ दिन नसकिएको बताए ।
‘हाम्रो प्रयास भनेको पार्टीलाई सान्दर्भिक बनाइराखौँ भन्ने हो । नौजवानका भावनालाई सम्बोधन नगर्ने हो भने पार्टी मृत बन्छ । त्यसैले जीवन्त पार्टी बनाउन खोजेका हौँ,’ उनले भने ।
विघटित प्रतिनिधि सभाका सदस्यसमेत रहेका तीन नेताबीच पार्टीको आन्तरिक जीवनबारे छलफल भएको थियो ।
डा. भण्डारीले यतिबेला नेपाली काँग्रेसलाई संसारभर रहेका नेपाली जनताले चासो र चिन्ताका साथ हेरिरहेको भन्दै एकताको सन्देश दिनुपर्ने बताए ।
‘जेनजी आन्दोलनपछि नेता-कार्यकर्ताको घर जलेका छन् । कार्यकर्ता निराश छन् । जेनजी आन्दोलनपछि पनि नेता किन परिवर्तन भएनौँ भनिरहेका छन्,’ उनले भने, ‘जनतालाई सन्देश दिनुपर्नेछ, पार्टी हाम्रो हो । देश हाम्रो हो । जनता हाम्रा हुन् । प्रजातन्त्र हामीले ल्याएको हो । यो संविधान हामीले बनाएको हो । त्यसैले यसको संरक्षण र सुधारका निम्ति हामी राम्रो पार्टी बनाउँछौँ भन्ने सन्देश दिनुपर्नेछ । दुई महामन्त्रीले अब पार्टीको नेतृत्व गर्दैछौं भनेर सन्देश दिनुस् ।’
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारीलाई नभएको भन्दै सहभागी नहुन आग्रह गरेको छ ।
बुधबार साँझ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार कुनै सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ । तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।’
विशेष महाधिवेशन पक्षधरले बुधबार पत्रकार सम्मेलन गरी आगामी आइतबार विशेष महाधिवेशन गर्ने घोषणा गरेको छ ।
प्रेस विज्ञप्ति
मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको सबैलाई अवगत नै छ । यसरी नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रकृया अघि बढिसकेको सन्दर्भमा “विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन” गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्पष्ट गरिसकेको छ ।
महाधिवेशनको तयारीका क्रममा अनिवार्य रूपमा पूरा गर्नुपर्ने पहिलो चरणका प्रक्रियामध्ये क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण प्रमुख कार्य हो । केन्द्रीय महाधिवेशन सम्पन्न गर्नका लागि सर्वप्रथम वडा अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको र क्रियाशील सदस्य नै वडा अधिवेशनका प्रथम मतदाता हुने तथ्यसमेत यहाँ अवगत गराइन्छ ।
एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण सम्बन्धी कार्य सम्पन्न गरी निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यताको सूची समयमै केन्द्रीय कार्यसमितिमा पेश गर्नु पर्नेमा हालसम्म पेश नभएको अवस्था छ । अर्कोतर्फ, मिति २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको बन्दसूची सहित निर्वाचन आयोगमा मनोनयन दर्ता भइसकेको छ ।
यसैबीच, विदेशस्थित कतिपय नेपाली जनसम्पर्क समितिहरूले आफ्नो अधिवेशन सम्पन्न गरी पार्टीको १५ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य चयन गरिसकेका छन् भने नेपालभित्र क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणको प्रक्रिया निरन्तर रूपमा जारी रहेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत् निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन÷महाधिवेशनको प्रकृया र कार्यक्रमहरु संचालन भैरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई वेवास्ता गरी विभिन्न संचार माध्यम मार्फत् पार्टीको विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
यस सन्दर्भमा स्पष्ट पारिन्छ कि पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ । तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधान विपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेश स्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरुलाई नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।
साथै, मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीले समानुपातिक तर्फ निर्वाचन आयोगमा उम्मेदवार प्रस्तुत गरिसकेको र राष्ट्रिय सभा सदस्यको मनोनयन पत्र समेत आजै दर्ता भइसकेको सन्दर्भमा, यस महत्वपूर्ण जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात गर्दै पार्टीको प्रतिष्ठा र हितलाई ध्यानमा राखी पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश सभा क्षेत्र, पालिका, वडा तथा टोल तहका समिति, भ्रातृ तथा शुभेच्छुक संस्था, विदेशस्थित नेपाली जनसम्पर्क समिति तथा सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरूलाई पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने अभियानमा अझ सशक्त रूपमा क्रियाशील भई लागि पर्न नेपाली कांग्रेस हार्दिक आह्वान गर्दछ ।
जय नेपाल !
निर्देशानुसार,
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते काठमाडौँमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् ।
बुधबार विशेष महाधिवेशन पक्षधरले गठन गरेको सूचना प्रसार प्रसार उपसमितिले काठमाडौँमा पत्रकार सम्मेलन गरी पुस २७ र २८ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो ।
विशेष पक्षधरले असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएको र सोही सिलसिलामा पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराएकोमा नेतृत्वले वेवास्ता गरेको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान जटिल तथा विषम राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावना अनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गर्दै, पार्टी विधानको धारा १७ उपधारा (२) बमोजिम हामी २,४८८ जना महाधिवेशन प्रतिनिधिहरू (कुलको ५४.५८ प्रतिशत) ले २०८२ असोज २९ गते केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका थियौं। सोही सिलसिलामा पुस ११ गते स्मरणपत्र र पुस २१ गते पुनः ध्यानाकर्षण गराएका थियौं।’
उनीहरुले मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र यदि त्यो सम्भव नभए १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्न माग गरेको स्मरण गराएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले स्पष्ट रूपमा उल्लेख गरेका थियौं ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विधानको धारा १७(१) अनुसार २०८२ मंसिरभित्रै १५ औं महाधिवेशन सम्पन्न गर्नुपर्छ । यदि त्यो सम्भव नभए १७(२) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ । यसैबीच पार्टीले २०८२ पौष २८ भित्र १५ औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा १५औं महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो मागबमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ।’
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दिएका छन् । १८ पदमा हुने निर्वाचनका लागि बुधबार प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दिएका हुन् ।
कोसी प्रदेशतर्फको अन्य क्लष्टरमा नेपाली काँग्रेसका सुनिल थापा भने निर्विरोध निर्वाचित भएका छन् । नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएका हेमराज घिमिरे अनुपस्थित भएपछि उनी निर्विरोध भएका हुन् ।
राष्ट्रिय सभामा नेपाली काँग्रेस, नेकपा (एमाले) र मधेस केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीबीच गठबन्धन बनेको छ । भागबण्डा नमिल्दा तालमेलको निर्णयबाट पछि हटेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले छुट्टै उम्मेदवारी दर्ता गराएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसँग लोसपाको एकताको समझदारी भइसकेको छ । सुरुआतमा जसपा नेपाल नै गठबन्धनमा रहने भनिए पनि मधेस प्रदेशमा जसपा नेपालले आफ्ना छुट्टै तीन उम्मेदवार उठाएको छ । महन्थ ठाकुरलाई भने सहयोग गर्ने निर्णय जसपा नेपालको छ ।
सूची :
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि १७ जना उम्मेदवारको नाम टुंगो लगाएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेसँगको गठबन्धन प्रयास असफल भएपछि नेकपाले रिक्त १८ सिटमध्ये गण्डकी प्रदेशमा एक सिट खाली छाडेर बाँकीमा उम्मेदवार चयन गरेको हो ।
नेकपाले सबै प्रदेशमा एकल रूपमा प्रतिस्पर्धा गर्ने रणनीति अपनाएको छ । यसअघि कांग्रेस र एमालेले १८ सिटमा भागबण्डा मिलाएर उम्मेदवार चयन गरिसकेका छन् भने मधेशमा जनता समाजवादी पार्टीलाई एक सिट दिने समझदारी भएको छ ।
यी हुन् नेकपाका उम्मेदवारहरू :
कोशी प्रदेश
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेश प्रदेश
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती प्रदेश
प्रेम प्रसाद सापकोटा
सरोज कुमारी झा
गण्डकी प्रदेश
कपिल लामा
लुम्बिनी प्रदेश
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली प्रदेश
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम प्रदेश
टीकाराम जैशी
रोजी बस्नेत सुनार
राष्ट्रिय सभाको १८ सिटको निर्वाचनका लागि नेपाली काँग्रेस, नेकपा एमाले र जसपा नेपालबीच तालमेल भएको छ । यसअघि नेपाली कम्युनिष्ट पार्टीले पनि तालमेल गर्ने भनिए पनि कुरा नमिलेपछि अलग भएको बताइएको छ ।
कांग्रेस एमाले र जसपा नेपालले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार पनि छानिसकेका छन् । तालमेल अनुसार काँग्रेसले ९, एमालेले ८ र जसपा नेपालले एक सिटमा उम्मेदवार उठाउने सहमति भएको छ । जसपा नेपालले राष्ट्रिय सभामा महन्थ ठाकुरलाई उम्मेदवार बनाउने भएको छ ।
काँग्रेसका उम्मेदवार:
काँग्रेसले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे (जंगली) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ ।
एमालेका उम्मेदवार:
एमालेको तर्फबाट राष्ट्रिय सभाको सदस्यको निर्वाचनका लागि कोशीमा रोशनी मेचे र सोम पोर्तेल, बागमतीमा डा. प्रेम दंगाल, मधेशमा रेखा झा, गण्डकीमा सम्झना देवकोटा, लुम्बिनीमा रामकुमारी झाक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन भएको हो ।
काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै चुनाव लड्ने जानकारी दिएका हुन् । ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु,’ साम्पाङले लेखेका छन् ।
२०७९ को चुनावमा स्वतन्त्र उम्मेदवार बनेर मेयर जितेका साम्पाङले केही समय अघि श्रम संस्कृति पार्टी गठन गरेका छन् ।
पार्टी गठनपछि देश दौडाहामा रहेका साम्पाङले खोटाङबाट चुनाव लड्न सक्ने अनुमान गरिएको थियो । तर उनले सुनसरी-१ बाटै चुनाव लड्ने बताएका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नैनसिंह महरले सरकारको तटस्थता र पारदर्शितामाथि गम्भीर प्रश्न उठाउँदै खबरदारी गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता महरले निष्पक्ष निर्वाचनको वातावरण र सरकारको कार्यशैलीप्रति आशंका व्यक्त गरेका हुन्। उनले लोकतन्त्रमा निष्पक्ष निर्वाचनका लागि सरकारको भूमिका तटस्थ हुनुपर्नेमा जोड दिएका छन्।
नेता महरले वर्तमान सरकारमा सहभागी मन्त्रीहरूको राजनीतिक दलसँगको आबद्धता जनताबाट लुकेको विषय नभएको टिप्पणी गरे। उनले भनेका छन्, “निष्पक्ष निर्वाचनका लागि सरकारको तटस्थता आवश्यक हुन्छ। अहिलेको सरकारमा बस्नेहरूको राजनीतिक दलहरूसँगको आबद्धता जनताले देखेकै छन्।”
यस्तै, सरकारका केही मन्त्रीहरू विभिन्न विवाद र काण्डमा मुछिएको विषय समाचारमा आइरहेको भन्दै महरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। मन्त्रीहरूको संलग्नता विवादित भइरहँदा सरकारको पारदर्शितामाथि उनले प्रश्न तेस्र्याएका छन्।
महरले प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेका छन्, “सरकारका केही मन्त्रीहरू काण्डहरूमा संलग्न भएको समाचार पनि पढ्न पाएकै छौँ। अनि सरकारका प्रधानमन्त्रीले यो सरकारलाई कसरी पारदर्शी नागरिक सरकार भन्नुहुन्छ?”
पछिल्लो समय सरकारका काम कारबाही र मन्त्रीहरूका विवादास्पद अभिव्यक्ति तथा कार्यशैली बाहिर आइरहँदा कांग्रेस नेता महरको यो खबरदारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




