
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।
रुकुम पश्चिममा शनिवार आयोजित पार्टीको कार्यक्रममा दाहालले रुकुम पूर्वबाट आगामी प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेका हुन् ।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ उनले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्नुहोला ।’
उनले पश्चिम रुकुमका जनताको विकासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेकोसमेत बताए । उनले भने, ‘तपाईँहरूको लागि हेडक्वाटरको ढोका सधैँ खुला हुनेछ। पहिलेभन्दा बढी तपाईँहरूको दुख, सुख र विकास निर्माणको काममा बढी साथ रहनेछु।’ पार्टीको कार्यक्रममा दाहाल र पूर्व प्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपाल सहभागी भएका थिए । प्रतिनिधिसभा चुनाव आगामी फागुन २१ का लागि तोकिएको छ ।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले देश नै नरहने हो कि भन्ने चिन्ता पर्न थालेको बताएका छन्।
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सन्देश जारी गर्दै उनले नारायणहिटी राजदरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले निरन्तर संकटको सामना गरिरहनु परेकोप्रति गहिरो चिन्ता व्यक्त गरेका हुन्।
सन्देशमा उनले भनेका छन्, ‘हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ।’ पूर्वराजा शाहले सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट कहिल्यै विमुख नभएको उल्लेख गरेका छन्।
उनले सबै नेपालीलाई कर्तव्य बोधका साथ अघि बढ्न आह्वान गर्दै भनेका छन्, ‘सबै नेपालीले यो कर्तव्य बोध गरी ‘पृथ्वी पथ’ मा लाग्नुपर्दछ भन्ने हाम्रो धारणा र आह्वान छ। नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ।’
काठमाडौँ । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा नियुक्त भएका छन् ।
रास्वपा नेपालसँग एकता भाँडिएसँगै घिसिङ पार्टीको अध्यक्षमा नियुक्त भएको पार्टी प्रवक्ता डा।राजु थापाले जानकारी दिए ।
उनका अनुसार उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।
काठमाडौं- गत १४ पुसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमति दुई सातामै भाँडिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वमन्त्री कुलमान घिसिङबीच शुक्रबार र शनिबार भएको छलफल निष्कर्षविहीन भएपछि दुई सातामै सहमति भाँडिएको हो।
सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा दलीय प्रतिनिधित्व गरेको भन्दै चर्को आलोचना भएपछि कुलमानले ऊर्जा, जलस्रोत तथा सिँचाइसहित तीन मन्त्रालयबाट राजीनामा दिएर रास्वपासँग वार्तामा बसेका थिए । पुस १४ मा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान र रास्वपा सभापति लामिछानेबीच पार्टी एकतामा सहमति भएको थियो।
त्यही सहमतिअनुसार कुलमानलाई रास्वपाको उपसभापति बनाउने निर्णय गरिएको थियो। तर कुलमानले रास्वपासँग पार्टीको विचारधारा परिवर्तन गर्नुपर्ने, लोकतान्त्रिक होइन वामपन्थी पार्टी बनाउनु पर्ने र केन्द्रीय सदस्य ३३ जना चाहिने माग गरेका थिए । त्यसैगरी वरिष्ठ उपसभापति पद र एक महामन्त्री पद पनि कुलमनले मागेका थिए ।
उनले पार्टीको विचारधारा समाजवाद राख्नुपर्ने प्रस्ताव पनि गरेका थिए । सुदन गुरूङले बौद्धबाट उठाएर एकताको सहमति गराए पनि विचारधारासहितका मुद्दामा विवाद चर्किएसँगै कुलमान र रास्वपाको एकता सहमति भाँडिएको हो। शुक्रबार कुलमान रविलाई भेट्न उनकै निवास पुगेका थिए।
कुलमानले सहमति कार्यान्वयन गर्दै आफूलाई जिम्मेवारी दिन भनेका थिए। तर रविले त्यसमा स्पष्ट नभई टार्न खोजेपछि कुलमान बिच्किएका थिए। त्यहीकारण शनिबारको निर्णायक वार्ता भाँडिएको हो । रविसँग कुरा नमिलेपछि कुलमानले शुक्रबार नै रास्वपाबाट बाहिरिने मनस्थिति बनाएका थिए ।
उनीनिकट एक नेताका अनुसार रास्वपाबाट अलग भएपछि उज्यालो नेपाल पार्टीलाई नै सक्रिय रूपमा अघि बढाउने तयारी गरेका छन् । उज्यालो नेपालका ७५ प्रतिशत नेताहरूले रास्वपासँगको एकतामा नजाने अडान लिएपछि कुलमान दबाबमा परेका थिए ।
कुलमानले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक सांसद सूची र केन्द्रीय सदस्यलगायत विषयमा पनि गम्भीर असहमति राखेका थिए । यद्यपि उज्यालो नेपालको समानुपातिक सूची रास्वपाबाटै निर्वाचन आयोगमा बुझाइएको छ ।
काठमाडौं– आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख रुपैयाँ बराबरको हुने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।
पाँच लाखभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्नेछ । कुनै फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकको भुक्तानी समेत एकाउन्टपेयी हुनुपर्ने व्यवस्था गरिएको छ ।
प्राथमिकता प्राप्त पूर्वाधार आयोजनाहरु, जलविद्युत्, सडक, सञ्चार जस्ता क्षेत्रका कर्मचारी, श्रमिकको पारिश्रमिक ज्याला भुक्तानी गर्न भने समस्या नपर्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।
यस्तै, विभिन्न आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्न कुनै समस्या हुने छैन ।
सरकारले वितरण गर्ने राहत अनुदान सहायता वितरण गर्न, विप्रेषण कम्पनी, एजेन्टले विप्रेषण प्राप्त गर्ने व्यक्तिलाई रकम भुक्तानी गर्न पनि केन्द्रीय बैंकको पछिल्लो व्यवस्थाले कुनै वाधा गर्ने छैन । बचत तथा ऋण सहकारी संस्थालाई आफना सदस्यसँगको दैनिक कारोबारको भुक्तानी नगदमा गर्न सकिनेछ ।
सरकारले गत मङ्सिर १५ गते नै नगद कारोबारको सीमा पाँच लाखमा सीमित गर्ने निर्णय गरेको थियो । अर्थ मन्त्रालयले बिहीबार सोसम्बन्धी व्यवस्थाको सूचना राजपत्रमा प्रकाशित गरेको थियो ।
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप क्षेत्रमा महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताहरूको भिडभाड देखिन थालेको छ ।
देशभरका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू काठमाडौं आइपुग्न थालेसँगै महाधिवेशनस्थल आसपासमा चहलपहल बढेको हो ।
यही पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि प्रतिनिधिहरू क्रमशः भृकुटीमण्डप पुग्न थालेको केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले जानकारी दिए ।
मञ्च निर्माण, हल सजावट तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको शिवाकोटीले जानकारी दिए ।
महाधिवेशन व्यवस्थापन समितिका अनुसार प्रतिनिधि दर्ता, परिचयपत्र वितरण तथा बसोबास समन्वयसम्बन्धी कामहरू पनि सँगसँगै धमाधम अगाडि बढेका छन् । प्रतिनिधिहरू आउन थालेपछि स्वयंसेवकहरू परिचालन गरिँदै स्थल व्यवस्थापनलाई थप चुस्त बनाइएको जनपरिचालन समितिका सदस्यसचिव सुसन वैद्यले जानकारी दिए।
भृकुटीमण्डप परिसरमा पार्टीका झन्डा, ब्यानर तथा प्रचार सामग्री राख्ने काम भइरहेको छ भने प्रवेशद्वार व्यवस्थापन, सुरक्षासम्बन्धी समन्वय र यातायात व्यवस्थापनमा पनि तयारी तीव्र पारिएको प्रचारप्रसार समितिका सदस्य सचिव माधव चम्लागाईँले बताए ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रत्यक्ष संलग्नतामा आह्वान गरिएको विशेष महाधिवेशनलाई पार्टीभित्रको आन्तरिक राजनीतिक बहसका दृष्टिले महत्वपूर्ण मानिएको छ। त्यसैले प्रतिनिधिहरू मात्र होइन, शुभेच्छुक तथा समर्थकहरू पनि संघीय राजधानी काठमाडौँ आइरहेका छन्।
जनपरिचालन समितिका अनुसार उद्घाटन सत्रमा ठूलो संख्यामा कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहने आकलन गरिएको छ ।




