
यस वर्षको कक्षा १० को अन्तिम परीक्षा आगामी चैत १९ देखि २९ गतेसम्म गर्ने राष्ट्रिय परीक्षा बोर्डले तय गरेको छ । बोर्डले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । जस अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी र दोश्रो दिन अनिवार्य नेपालीको परीक्षा हुने छ ।
२२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान, २४ गते सामाजिक, २५ गते ऐच्छिक प्रथम पत्रका विषय र २६ गते ऐच्छिक द्धितीय विषयका परीक्षा हुने छन् । २७, २८ र २९ गते प्राविधिक धार तर्फका पुराना र नयाँ कोर्सको परीक्षा हुने बोर्डले जनाएको छ ।
यसअघिका वर्षमा प्राय चैत पहिलो साता परीक्षा हुँदै आएको थियो । गत बर्ष पनि चैत ७ गतेबाट परीक्षा सञ्चालन गरिएको थियो ।

काठमाडौं । अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ ।
मंगलबार अपराह्न साढे ५ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई नेपाल फर्काइएको हो ।
डिपोर्ट गरिएकामध्ये एक जना महिला रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । उनीहरूलाई फर्काइएसँगै प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार डिपोर्ट गरिएका अधिकांश नेपाली नागरिकले अवैध तथा तल्लो बाटो प्रयोग गरेर अमेरिका प्रवेश गर्ने प्रयास गरेको खुलेको छ । एक जना भने अध्ययन भिसामा अमेरिका गएका थिए भने बाँकीले विभिन्न दलालमार्फत करोडौँ रुपैयाँसम्म खर्च गरेको भेटिएको छ ।
कतिपयले अमेरिका पुग्न एक करोड ४० लाख रुपैयाँसम्म खर्च भएको दाबी गरेका छन् । यस विषयमा मानव बेचबिखन तथा अवैध आप्रवासनसँग जोडिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रौतहट । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ । सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।
उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जलि योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम भ्रष्टाचार मुद्दा दायर भई निलम्बनमा रहेका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने कानुनी प्रावधान रहेको उम्मेदवार यादवको भनाइ छ ।
‘कानुनी रूपमा अयोग्य व्यक्तिले निर्वाचन लड्न नमिल्ने भएकाले ऐनको व्यवस्था अनुसार नेपालको उम्मेदवारी खारेज हुनुपर्छ ।’ यादवले बताए ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी दर्ता भएको पुष्टि गर्दै यसबारे आवश्यक कानुनी प्रक्रिया र छानबिन सुरु गरिएको जनाएको छ । निर्वाचन तालिका अनुसार दाबी विरोधमाथि जाँचबुझ गरी निर्वाचन अधिकृतको कार्यालयले केही दिनभित्रै निर्णय सुनाउनेछ । यस विषयमा नेपालको पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका तीन हजार ४८६ उम्मेद्वारमध्ये पाँच उम्मेदवारविरुद्ध मात्र उजुरी दर्ता भएको छ ।
देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म प्रारम्भिक जानकारी अनुसार पाँच उजुरी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।
आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता भएका उम्मेद्वारको योग्यता पुगेको छैन भने त्यसको विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको थियो ।
सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतसमक्ष प्रतिनिधिसभा निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १६ बमोजिम उजुरी दर्ता भएको हो । उजुरीमा निर्वाचन अधिकृतले निर्देशिकाको अनुसूची १७ बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची १८ बमोजिमको भरपाइ सम्बन्धित उजुरी कर्तालाई दिएको जनाइएको छ ।
निर्वाचन कार्यक्रमबमोजिम निर्वाचन अधिकृतले उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि म्यादभित्र दर्ता हुन आएका उजुरीको विवरण अनुसूची १९ बमोजिम तयार गरी कार्यालयमा प्रकाशनसमेत गरेका छन् ।
यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो, सो पक्षले सूचनामा तोकिएको अवधिमा प्रमाणसहित उपस्थित हुनुपर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिने व्यवस्था छ ।
आज दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरिने उनले बताए । माघ ८ गते बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।
माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रित गरेर निर्वाचन आयोगले विगतमा जस्तै यस पटक पनि ‘कल सेन्टर’ स्थापना गरेको छ ।
आयोगको कार्यालय, कान्तिपथमा सञ्चालित कल सेन्टरबाट निर्वाचनसँग सम्बन्धित मतदाता, नागरिक र सरोकार भएकाको जिज्ञासा सुनुवाइ गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
छ वटा डेस्क रहेको उक्त केन्द्र बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म सञ्चालन हुनेछ । यसमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर मतदाता, नागरिक र सरोकार भएकाले जिज्ञासा राख्न सक्नेछन् । यसमा एकै पटक १५ जनासम्मले फोन गर्दा कल होल्डमा नपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
झापा । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष रास्वपामा प्रवेश गरेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले युवा संघका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन्।
एमाले अध्यक्ष केपी ओलीसँग झापा-५ मा चुनावी मैदानमा उत्रिएका शाहले मतदातासँग भेटवार्ता अघि बढाएका छन्।
अध्यक्ष खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने बताए।
उनले झापा-५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
खतिवडाले आफ्नो मत परिवर्तनको पक्षमा मतदाता गर्न आह्वान गरेका छन्।
काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।
निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।
राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।
काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारको समय भएको स्मरण गराएका छन् । मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।
‘फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेका छौँ । मनोनयनपत्र दाखिल गरेपछि बीचमा चुपो लागेर बस्ने हो ? भन्ने लाग्न सक्छ । त्यो, होइन, उनले भने ।
निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलोमा मतदाता भेट्न सक्ने, रायसुझाव लिन सक्ने उनले बताए । ‘तर, दलगत रूपमा उमेदवारहरूले ठूलो आमसभा, गोष्ठि, सेमिनारलगायतका विषयवस्तु गर्न पाइँदैन,’ उनले भने,’आचारसंहिता लागु भएको छ । मनोनयनपत्र दाखिल गर्न यसरी जानुपर्छ भनेर आह्वान गरेका थियौँ । आचारसंहिता उलंघन भएको उजुरी आएमा छानबिन गर्ने, निर्णय लिने आयोगको क्षेत्राधिकारभित्र पर्छ ।’
प्रदेशसभा र स्थानीय तहका प्रतिनिधि पनि प्रतिनिधिसभाको उमेदवार बनेकाले रिक्त स्थानमा फागुन २१ पछि निर्वाचन गरिने बताए ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।
उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए।
उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् । यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।




