
काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगन थापाले काँग्रेस बदलेर आएको भन्दै देश बदल्ने संकल्प गरेका छन् ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पद बहाली गरेपछि पार्टीको माइन्यूट गर्ने रजिस्टरमा थापाले उक्त संकल्प गरेका हुन् । उनले लेखेका छन्, ‘बदल्यौँ काँग्रेस, बदल्छौँ देश । यही संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी । हाम्रो केवल एक ध्येय छ- देशको समुन्नति ।’
काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्री पदको उम्मेदवार बनाएर जाने निर्णय गरेको छ । उक्त बैठकपछि थापाले सञ्चारकर्मीहरूसँग काँग्रेस विशेष महाधिवेशनबाट जनभावनाअनुसार बदलेर आएको बताए । उनले आगामी दिनमा देशको दिशा बदल्ने नीति लिने बताएका छन् ।
नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने निर्णय गरेको हो।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार पार्टीले पाँचवटा स्पष्ट मापदण्ड तय गरेर थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो। कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवार सक्षम र अब्बल हुने शर्माले बताएका छन् ।
उनका अनुसार ती मापदण्डमा व्यक्तिको पृष्ठभूमि, संस्कार, देशलाई कसरी नेतृत्व गर्ने क्षमता, संघर्ष वा सत्तामा परीक्षण भइसकेको अवस्था तथा देशको भूगोल चिन्न सक्ने क्षमतासहितका छन् ।
प्रधानमन्त्रीका रूपमा थापालाई अघि सार्ने निर्णयबारे बोल्दै शर्माले भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि पार्टीभित्र आएको परिवर्तनलाई पनि ध्यानमा राखिएको बताए। उनका अनुसार कांग्रेसले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व र नयाँ नीति अघि सारेको छ।
शर्माले भने, ‘प्रधानमन्त्री बन्ने कुरा पार्टी नेतृत्वमा सीमित हुँदैन। देशको नेतृत्व गर्ने व्यक्ति आवेगमा होइन, संवेग र परिपक्वताका साथ काम गर्ने हुनुपर्छ।’ उनले कुनै पनि नेतृत्वको वास्तविक परीक्षण संघर्षको मैदान वा सत्तामा हुने बताए ।
थापाको विगत स्मरण गर्दै शर्माले २०६२/०६३ को जनआन्दोलनका बेला नारायणहिटी दरबारअगाडि गणतन्त्रको पक्षमा नारा लगाउँदै सक्रिय भूमिका खेलेको उल्लेख गरे। ‘सडकमा परीक्षण भइसकेको क्षमता भएका गगन थापालाई नै प्रधानमन्त्रीका रूपमा अघि बढाउन हामी तयार छौँ,’ उनले भने।
देशको भूगोल बुझ्ने क्षमता पनि थापाको अर्को बलियो पक्ष भएको शर्माको भनाइ छ। कर्णाली र मधेशजस्ता विविध भौगोलिक क्षेत्रलाई समेटेर देश हाँक्न सक्ने क्षमताका कारण उनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइएको उनले स्पष्ट पारे।
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको आफ्नो उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चौधरीको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय बदर गर्न माग गर्दै उनले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त रिटको पेसी आइतबारका लागि तोकिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले बिहीबार चौधरीको उम्मेदवारी खारेज गरेको थियो । निर्णयमा नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का उम्मेदवार रेशमलाल चौधरीको मनोनयनपत्र प्रचलित कानूनबमोजिम कायम रहन सक्ने अवस्था नदेखिएको उल्लेख गर्दै खारेज गरिएको जनाइएको छ ।
निर्वाचन अधिकृत देवराज भारतीका अनुसार उम्मेदवारी खारेज गर्न तीन आधार लिइएको हो । ‘सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखिन्छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय पाएको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुन्छ,’ उनले भने, ‘यसअघि निर्वाचन आयोगले राजनीतिक दलको सदस्य हुन समेत अयोग्य ठहर गरेको निर्णयलाई पनि आधार बनाइएको छ । साथै उहाँले कैद माफी पाए पनि सजाय कायम रहेको देखियो ।’
टीकापुर घटनासम्बन्धी मुद्दामा चौधरीले सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए । तर प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार जन्मकैदको सजाय भएको व्यक्ति निर्वाचनमा उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यसबेला पनि उनको उम्मेदवारी खारेज भएको थियो र उनी कारागारमै थिए ।
काठमाडौं- आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका ४९ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा ४९ जनाले उम्मेदवारी फिर्ता लिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
उनका अनुसार देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी परेको थियो। जसमा ५ जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको उनले बताए।
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको हो। एकैदिन सुनको मूल्य ९ हजार २ सय रुपैयाँ बढेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा नेपाली बजारमा पनि प्रभाव परेको महासंघले जनाएको छ।
यसैबीच, चाँदीको मूल्य पनि बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो।
काठमाडौँ। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो १ः०० बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १०ः०० देखि दिउँसो ३ः०० बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ः०० बजेदेखि बिहीबार बेलुका ५ः०० बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ ।
देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।
काठमाडौं । विद्या, बुद्धि, कला र संगीतकी अधिष्ठात्री देवी सरस्वतीको विशेष आराधना गर्दै आज देशभर उल्लासका साथ श्रीपञ्चमी (वसन्त पञ्चमी) पर्व मनाइँदै छ । ऋतुहरूको राजा मानिने ‘वसन्त ऋतु’ को आगमनको सन्देश दिने आजको दिनलाई ज्ञान र सिर्जनाको उत्सवका रूपमा लिने गरिन्छ ।
आज बिहानैदेखि देशभरका सरस्वती मन्दिरहरूमा विद्यार्थी, शिक्षक, साहित्यकार तथा कलाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ । काठमाडौं उपत्यकाभित्रका ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको लामो लाइन लागेको छ ।
विशेषगरी ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, भक्तपुरको थिमीस्थित सरस्वतीखेल, काठमाडौंको विशालनगरस्थित नील सरस्वती, पशुपति आर्यघाटको सरस्वती मन्दिर, मैतिदेवी तथा स्वयम्भूस्थित सरस्वती स्थानमा पूजाअर्चना गर्नेहरूको घुइँचो देखिएको छ ।
वैदिक कालदेखि नै सरस्वतीलाई ज्ञानकी देवीका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । आजको दिनलाई ‘श्रीपञ्चमी’ वा ‘सरस्वती जयन्ती’ का रूपमा मनाउँदै बालबालिकाहरूलाई अक्षराम्भ (पहिलो अक्षर लेख्न सिकाउने) गराउने प्रचलन छ । अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई विद्यालय वा मन्दिरमा लगेर अक्षर चिनाउन व्यस्त देखिन्छन् । आजबाट सुरु गरिएको शिक्षा वा कुनै पनि कला साधना पूर्ण हुने जनविश्वास रहिआएको छ ।
त्यस्तै, आजको दिन बालबालिकाको नाक-कान छेडाउनका लागि पनि उत्तम मानिन्छ । विद्यालयहरूमा आज विशेष पूजा समारोह आयोजना गरिएका छन् भने संगीत र कला प्रशिक्षण केन्द्रहरूमा वाद्ययन्त्र, रङ र पुस्तकलाई सरस्वतीकै प्रतीक मानेर पूजा गर्ने परम्परा छ ।
श्रीपञ्चमीको अवसरमा राज्यका तर्फबाट गरिने विशेष परम्परा ‘वसन्त श्रवण’ आज हनुमानढोका दरबारमा हुँदैछ । दरबारस्थित नासलचोकमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ । उक्त समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने चलन छ ।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका हुन् ।
झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन्।




