
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा भएको इरानी आक्रमणमा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल, बंगलादेश र पाकिस्तानका एक–एक जना नागरिकको ज्यान गएको जनाएको छ ।
आक्रमणमा ५८ जना घाइते भएका छन् । घाइते हुनेहरू यूएई, इजिप्ट, फिलिपिन्स, भारत, पाकिस्तान र इरानलगायत देशका नागरिक रहेको रक्षा मन्त्रालयले जनाएको छ ।
यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले घटनामा एक नेपाली नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको पुष्टि गरे । ‘यसबारे हामीलाई विस्तृत जानकारी दिइएको छैन,’ उनले भने । यूएई सरकारबाट मृत्यु भएकाहरूको औपचारिक परिचय भने सार्वजनिक भइनसकेको उनले बताए ।
यूएई रक्षा मन्त्रालयका अनुसार इरानतर्फबाट १६५ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको थियो । तीमध्ये १५२ वटा क्षेप्यास्त्र निस्तेज पारिएको र १३ वटा समुद्रमा खसेको जनाइएको छ ।
त्यस्तै दुई वटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन पनि प्रहार गरिएको मन्त्रालयले जनाएको छ । अधिकांश ड्रोन निस्तेज पारिए पनि २१ वटा ड्रोन सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा खसेको उल्लेख गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौँ उपत्यकाबाट आ–आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ ।
निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका जानकारी दिए ।
मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका–९ नर्खजी गाउँमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ भने सयौं जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा नर्खजी गाँउकी अन्दाजी बर्ष ५० की पन्चकली बिटालु रहेकी छन् । बिटालुलाई एक हप्ता पहिलेदेखि भाइरल ज्वरोले थला पारेको थियो । गाँउ घर र नजिकको स्वास्थ्य संस्थामा उपचार गर्दा पनि उपचार नभएपछि आइतबार मृत्यु भएको हो ।
बिरामीहरुलाई ज्वरो आउने, खोकी लाग्ने ,टाउको दुख्ने ,रिंगटा लाग्ने, खकारमा रगत देखापर्ने लक्षण देखिदा सबैभन्दा बढी बालबालिका, महिलादेखि वृद्धवृद्धासम्म बिरामी परेको स्थानीय पहलमान रोकायाले बताए ।
रोकायाका अनुसार फागुन ७ गतेदेखि सुरु भएको भाइरल ज्वरो नर्खजी गाउँका चार बस्तीमा चारसय भन्दा बढी स्थानीयमा तीव्र रूपमा फैलिएको हो ।
नर्खजिमा रहेको स्वास्थ्य संस्थामा बिरामीहरुलाई बस्ने, आराम गर्ने बेड नहुँदा बिरामीहरु भुइमा र स्वास्थ्य संस्थाको पेटीमा आराम गर्ने गरेका छन् ।
प्रतिनिधी सभा निर्वाचन आउन केही दिन बाँकी रहेको बेला उम्मेदारहरुले आफ्ना लागि भोट मागीरहे पनि विरामीहरुका लागि कुनै पहल नभएको गुनासो आउने गरेको छ ।
नर्खजी स्वास्थ्य चौकीका इन्चार्ज अमर बिकका अनुसार दैनिक २० जना भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।
खत्याडगाँउपालिका वडा नम्बर ९ मा फागुन पहिलो साताबाट फैलिरहेको ज्वरोबाट धेरै जना स्थानीय बिरामी भइरहेको भन्ने खबर आएपछि जिल्ला अस्पताल, ठीनी ,खत्याड गाँउपालिकाको स्वास्थ्य शाखा र पालिकालगायत अन्य सरोकारवालासँग पहल भइरहेको जनाइएको छ ।
एक जनाको मृत्यु भएको खबर सुनेपछि खत्याड गाँउपालिकाबाट औषधीसहितको टोली नखैजी गाँउतर्फ गएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले बताए ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले कुखुरा बोक्ने सवारी साधनलाई फोहोर गरेकाे भन्दै २५ हजार जरिवाना तिराएकाे छ ।
वडा नम्बर १६ वनस्थली स्थित ग १ क ६५५७ नम्बरको गाडीले कुखुरा झार्ने क्रममा सडक पेटीमा फोहोर गरेकोले महानगर प्रहरी बलले सवारी धनीलाई जरिवाना तिराएकाे हो ।
महानगर प्रहरीका अनुसार सवारी धनी सुरेन्द्र भण्डारीबाट जरिवाना तिराइएको हो ।
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका दिन अत्यावश्यक सेवा र विशेष परिस्थितिमा रहेका मतदाताहरूका लागि सवारी पास आवश्यक नपर्ने गरी विशेष व्यवस्था गरेको छ ।
आयोगको फागुन १६ गते बसेको बैठकले मतदानको दिन सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइए पनि निश्चित क्षेत्र र व्यक्तिहरूका लागि सवारी आवागमनमा सहजता प्रदान गर्ने निर्णय गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईकाअनुसार मतदानको दिन अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु रहने सन्दर्भमा विमानस्थलसम्म पुग्नुपर्ने यात्रुहरूको सुविधा र निर्वाचन परिचालनमा खटिने सवारी साधनको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो । आयोगले गरेको सिफारिसअनुसार दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा–मासु र पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरूलाई सवारी पास बिना नै सञ्चालन हुन दिइनेछ ।
त्यसैगरी दूरसञ्चार, खानेपानी, विद्युत्, ढल मर्मत र अस्पताल सेवाका सवारी साधनहरूका साथै चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले अस्पताल आउजाउ गर्न प्रयोग गर्ने सवारी साधनलाई पनि पासको अनिवार्यता गरिएको छैन ।
मतदान प्रक्रियालाई समावेशी र पहुँचयोग्य बनाउन आयोगले हिँडडुल गर्न नसक्ने, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी र साथमा बच्चा बोकेका महिलाहरूका लागि विशेष सहुलियत दिएको छ । यस्ता मतदाता र उनीहरूको सहयोगका लागि खटिने एक जना सहयोगी बोकेको सवारी साधनलाई मतदान केन्द्रसम्म पुग्न र फर्कन सवारी पास नचाहिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।
यसका साथै क्रियापुत्री बोकेका सवारी साधन र नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधनहरूलाई पनि बिना पास सञ्चालनको अनुमति दिइएको छ ।
सञ्चार क्षेत्र र अनुगमनका लागि खटिने निकायहरूका हकमा पनि आयोगले खुकुलो नीति लिएको छ । आयोगबाट जारी भएको पर्यवेक्षक परिचयपत्र वाहकहरूले तोकिएको स्थानमा प्रयोग गर्ने सवारी साधन, राष्ट्रिय मानवअधिकार आयोगको अनुगमन टोली र वैधानिक प्रेस पास भएका सञ्चारकर्मीहरूका सवारी साधनलाई पनि पास आवश्यक नपर्ने गरी सरकारलाई सिफारिस गरिएको छ । सञ्चारकर्मीहरूको हकमा समाचार सङ्कलनको प्रयोजनका लागि वैधानिक परिचयपत्रका आधारमा यात्रा गर्न सहजीकरण गरिने आयोगको भनाइ छ ।
आयोगले सवारी साधन सञ्चालनमा लगाइएको यो रोक फागुन २० गते राति १२ बजेदेखि २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि मात्र लागू हुने स्पष्ट पारेको छ । प्रवक्ता भट्टराईले अत्यावश्यक आवश्यकताका लागि उपलब्ध गराइएको यो प्रावधानको दुरुपयोग नगर्न विशेष अनुरोध गर्दै सम्बन्धित व्यक्तिले मात्रै यस्तो सुविधा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै अत्यावश्यक बाहेकका अन्य प्रयोजनका लागि सवारी पास चाहिने व्यक्ति वा संस्थाहरूले नियमानुसारको प्रक्रिया पूरा गरी पास लिनुपर्ने बताए ।
उनले भने ‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को मतदानको दिन फागुन २१ गते अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु हुने र सवारी साधन सञ्चालन रोक लगाइएको सन्दर्भमा अत्यावश्यक सेवाहरू र सञ्चार क्षेत्र लगायतका निर्वाचनको लागि नै परिचालन हुनुपर्ने सवारी साधनहरू र अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सुचारु हुँदाखेरि एयरपोर्टसम्म दिनुपर्ने सवारी साधनको सेवा लगायतका विषयलाई मध्यनजर गरेर आयोगको फागुन १६ गतेको बैठकले निश्चित सवारी साधनहरूलाई सवारी पास आवश्यक नपर्ने गरी निर्णय गरेको छ र सोही ब्यहोरा हामीले नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा सरकारलाई पत्राचार गरेका छौँ । सोअनुसार सो दिनमा अत्यावश्यक सेवा अन्तर्गत दमकल, एम्बुलेन्स, शव वाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछा मासु, पेट्रोलियम पदार्थ बोकेका सवारी साधनहरू, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने सवारी साधनहरू, अस्पताल सेवाका सवारी साधनहरू, त्यो भित्र अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले घरदेखि अस्पतालसम्म र अस्पतालदेखि घरसम्म जान्दाखेरि प्रयोग गर्ने सवारी साधनहरू छन् । त्यस्तै मतदान गर्नलाई अशक्त, गर्भवती, सुत्केरी महिलाहरू र यो हिँडडुल गर्न नसक्ने व्यक्तिहरू पनि मतदान गर्न जानुपर्ने कुरालाई मध्यनजर गरेर हिँडडुल गर्न नसक्ने, बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, मतदाता र निजका एक जना सहयोगी बोकेका सवारी साधनहरूलाई सवारी पास नचाहिने व्यवस्था गरिएको छ । नम्बर प्लेटमा सीडी उल्लेख भएका कूटनीतिक नियोगका सवारी साधनहरूको सन्दर्भमा पनि पास आवश्यक नपर्ने भनेर निर्णय भएको छ । आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्र वाहक पर्यवेक्षककर्ताहरूले प्रयोग गर्ने सवारी साधन सो परिचयपत्रमा उल्लेखित स्थानमा मात्रै प्रयोग गर्ने र राष्ट्रिय मानवअधिकार आयोगबाट अनुगमन पर्यवेक्षणका लागि प्रयोग गर्ने सवारी साधन र प्रेस पास भएका सञ्चारकर्मीहरूका सवारी साधनलाई यो पास आवश्यक नपर्ने गरी सवारी पास आवश्यक नपर्ने गरी यो जारी नेपाल सरकारलाई सिफारिस गरिएको छ । सोहीअनुसार नेपाल सरकारले आवश्यक प्रबन्ध मिलाउने कुरामा आयोग विश्वस्त छ । यसबाट मतदानको दिनमा मतदान गर्न जाने अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकहरू लगायत अत्यावश्यक सेवा सुचारु गर्ने कुरामा सहज हुने कुरा आयोगले महसुस गरेको छ । यसै सन्दर्भमा आयोगको एउटा विशेष अनुरोध पनि छ, यो अत्यावश्यक आवश्यकताका लागि उपलब्ध गराइएको प्रावधान यसको दुरुपयोग नहोस् भन्ने उद्देश्यले त्यहाँ निर्णयमा नै, सिफारिसमा नै यो सम्बन्धित व्यक्तिले मात्रै प्रयोग गर्ने गरी असम्बन्धित व्यक्तिहरूले प्रयोग नगर्ने गरी भन्ने हिसाबले त्यसमा उल्लेख भएको छ । र आयोगको अनुरोध छ यसलाई निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित बनाउने सन्दर्भमा अत्यावश्यक परेका मान्छे यहाँ उल्लेख भएका व्यक्तिले मात्रै सवारी पास नभएका सवारी साधन प्रयोग गर्नुहुनेछ र अन्यको हकमा जसलाई सवारी आवश्यक पर्ने हो, त्यस्तो सवारी पास उपलब्ध गराउनलाई काठमाडौँ उपत्यका भरिका लागि काठमाडौँ उपत्यकाको सबै जिल्लाको पास जारी गर्नलाई यहाँ आयोगको परिसरमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र आयोगका प्रतिनिधि रहेको एउटा यो युनिटले काम गरिरहेको छ एउटा डेस्क खडा गरेर सेवा प्रवाह गरिएको छ । यहाँ उल्लेख भएकाहरूले जसले पास बिनाका सवारी साधन प्रयोग गर्न पाउनुहुन्छ उहाँले सम्बन्धित व्यक्तिका लागि मात्रै दुरुपयोग नहुने गरी प्रयोग गर्नुहुनेछ र अन्यको हकमा पास उपलब्ध गराइने क्राइटेरिया अन्तर्गतका व्यक्ति संस्थाहरूले यहाँ आएर पास लिएर त्यसलाई वैधानिक रूपमा सवारी साधन प्रयोग गर्नुहुनेछ भन्ने विश्वास आयोगले लिएको छ ।’
काठमाडौँ उपत्यकाको हकमा सवारी पास वितरणका लागि आयोग परिसरमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र आयोगका प्रतिनिधिहरू सम्मिलित एउटा छुट्टै डेस्क खडा गरी सेवा प्रवाह भइरहेको छ । उपत्यका बाहिरका जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट कानुन बमोजिमका कागजात पेस गरी पास लिन सकिने व्यवस्था मिलाइएको उनले बताए ।
आयोगले मतदानको दिन सहजताका लागि गरिएको यो व्यवस्थाबाट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अत्यावश्यक सेवाग्राही लाभान्वित हुने विश्वास व्यक्त गरेको छ ।
काठमाडौँ- मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली काँग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी संघले सहयोग गर्ने भएको छ ।
काँग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी संघले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । संघका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका हवाई यात्रुलाई खाना र बस्नका लागि संघले व्यवस्था मिलाइएको जानकारी दिए।
“कुनै पनि नेपाली अप्ठ्यारोमा पर्दा सबैले सकेको सहयोग गर्नुपर्छ भन्ने उद्देश्यअनुसार पार्टी सभापति गगनकुमार थापाको निर्देशनअनुसार होटल व्यवसायीले उक्त निर्णय गरेर खाना र बस्नको व्यवस्था मिलाएका हौँ”, उनले भने ।
संघले अप्ठ्यारोमा परेका यात्रुलाई संघमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ ।
बीबीसी । विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहिआएका अयातोल्लाह अली खामेनेई अमेरिकी तथा इजरेली हमलामा परी शनिवार आफ्नो कार्यालयमै मारिएका इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ । सरकारी सञ्चारमाध्यमका अनुसार उनको निधनमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ । खामेनेईको उत्तराधिकारी को हुने भन्नेबारे स्पष्ट भइसकेको छैन । हालका लागि सर्वोच्च नेताको अनुपस्थितिमा राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले उनका जिम्मेवारीहरू सम्हाल्ने छन्।
अमेरिकी–इजरेली हमलामा परी खामेनेईकी छोरी, ज्वाइँ तथा नातिनातिना र एकजना बुहारी पनि मारिएका जनाइएको छ । खामेनेईको निधनपछि इरानी रेभोलुशनरी गार्ड कोर (आईआरजीसी) ले आफ्नो “इतिहासकै भयावह आक्रमण अब शुरू हुने“ चेतावनी दिएको छ।
अर्कोतर्फ संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफूहरूको आक्रमण जारी रहने बताएका छन् । आयतोल्लाह अली खामेनेई सन् १९७९ को इस्लामिक क्रान्तियताका दोस्रा सर्वोच्च नेता थिए र सन् १९८९ यता उनी सर्वोच्च पदमा थिए। युवा इरानीहरूले अली खामेनेई सर्वोच्च पदमा नरहेको शासनकाल भोग्न पाएका छैनन्।
उनी इरानी सत्ताको एउटा जटिल जालोको केन्द्रमा थिए जो सार्वजनिक नीतिसम्बन्धी मामिला एवम् सार्वजनिक पदका उम्मेदवार चयन प्रक्रियामा विशेषाधिकार प्रयोग गर्ने अधिकार राख्थे।
राष्ट्रप्रमुख तथा सेनाप्रमुखको हैसियतले सो पदलाई एकदम शक्तिशाली बनाएको छ। सेनाभित्र इरानी रेभोलुशनरी गार्ड कोर (आईआरजीसी) पनि पर्छ।
अली खामेनेई इरानको दोस्रो ठूलो शहर मश्हादमा सन् १९३९ मा जन्मिएका थिए। धार्मिक परिवारमा जन्मिएका उनी आमाबुवाको आठमध्ये दोस्रो सन्तान थिए। इरानमा वर्चस्व रहेको शिया मुस्लिम समुदायका उनका बुवा मध्यम तहका धार्मिक गुरु थिए । अली खामेनेईको अध्ययनमा कुरानको शिक्षा मुख्य रूपमा रहेको छ। एघार वर्षका उमेरमा उनी धार्मिक गुरुका रूपमा दीक्षित भएका थिए।
तर धार्मिक गुरुहरूको भूमिका आध्यात्मिकभन्दा राजनीतिक बढी हुने गरेको अभ्यासबीच अली खामेनेईको पनि सोही किसिमको भूमिका रह्यो । एक प्रभावकारी वाक्पटु अली खामेनेई इरानका शाहको आलोचक खेमामा जोडिए। इरानको राजतन्त्र इस्लामिक क्रान्तिबाट फालिएको थियो।
कैयौँ वर्षसम्म उनी भूमिगत रहे अथवा उनले जेलमा बिताए। उनी शाहका गोप्य प्रहरीहरूद्वारा छ पटकसम्म गिरफ्तारीमा परे– सो क्रममा यातना झेल्नुका साथै उनी आन्तरिक रूपमा निर्वासित पनि भए।
सन् १९७९ को इस्लामिक क्रान्तिको एक वर्षपछि आयतोल्लाह रुहुल्लाह खोमेईनीले राजधानी तेहरानका लागि उनलाई शुक्रवारको साप्ताहिक प्रार्थनाका नेतृत्वकर्तामा चयन गरे । पछि अली खामेनेई सन् १९८१ मा इरानको राष्ट्रपति पदमा निर्वाचित भए। सन् १९८९ मा उनलाई धार्मिक अगुवाहरूले आयतोल्लाह खोमेईनीका उत्तराधिकारीका रूपमा चयन गरे। छयासी वर्षको उमेरमा खोमेईनीको निधन भएको थियो।
अली खामेनेई विरलै विदेश जान्थे र मध्य तेहरानमा आफ्नी श्रीमतीसँग उनले साधारण जीवन बिताउँदै आएको बताइन्थ्यो । उनलाई बगैँचामा फूलहरू हेर्न र कविता मन पर्ने बताइन्थ्यो। जवानीमा उनले धूमपान गर्ने गरेको बताइन्छ जुन कुरा इरानमा धार्मिक गुरुहरूबीच स्वाभाविक मानिँदैन।
सन् १९८० को दशकमा गरिएको खामेनेईको हत्या प्रयासपछि उनको दाहिने हातले काम गर्न छोडेको थियो । मन्सुरेह खोज्स्तेह बकेरजादेहसँग विवाह गरेका खामेनेई चार छोरा र दुई छोरीका पिता थिए । सार्वजनिक कार्यक्रम अथवा सञ्चारमाध्यममा खामेनेईको परिवार विरलै देखिन्छ भने उनका सन्तानहरूको निजी जीवनबारे आधिकारिक र प्रमाणित सूचना सीमित मात्रामा मात्रै पाइन्छ । चार छोरामध्ये माहिला छोरा मोज्तबा चाहिँ आफ्नो प्रभाव र बुवाको भित्री ’सर्कल’मा महत्त्वपूर्ण भूमिका खेल्ने गरेका कारण परिचित छन् । मोज्तबाले तेहरानस्थित अलावी हाई स्कूलमा अध्ययन गरेका हुन्। उक्त स्कूलमा धेरैजसो इस्लामिक गणतन्त्रका उच्च पदस्थ अधिकारीका छोराछोरी पढ्ने गरेका छन्।
मोज्तबाको बिहे एक अग्रणी रूढीवादी गोलाम अली हदाद आदेलकी छोरीसँग भएको छ । धार्मिक गुरु नहुँदै र कोम शहरमा उच्च शिक्षाको योजना बनाइरहँदा उनको बिहे भएको थियो । तीस वर्षको उमेरमा उनले कोम सेमिनरीमा औपचारिक धार्मिक अध्ययन शुरू गरे । सन् २००० को बीचको दशकदेखि राजनीतिक वृत्तमा मोज्तबाको प्रभाव प्रस्ट रूपमा देखिन थाल्यो। हुन त यो कुरा सञ्चारमाध्यममा विरलै स्वीकार गरिएको छ।
सन् २०२४ को विवादास्पद राष्ट्रपतीय निर्वाचनका बेला महमुद अहमदीनेजादको पक्षमा पर्दा पछाडिबाट काम गरेको भन्दै राष्ट्रपति पदका एक अग्रणी उम्मेदवार मेहदी करोबीले अली खामेनेईलाई एउटा खुलापत्र लेखेपछि मोज्तबा थप चर्चामा आएका थिए । इरानमा सन् २०१० यता उनी अति शक्तिशाली व्यक्तिमध्येका एकका रूपमा मानिने गरिन्छन्।
अपुष्ट विवरणहरूका अनुसार खामेनेईले आफूलाई प्रतिस्थापित गर्ने रुचाइएका उम्मेदवारका रूपमा मोज्तबालाई लिने गरेका थिए। तर कतिपय आधिकारिक स्रोतहरूले यो कुरालाई अस्वीकार गर्दै आएका छन्।
हुन त अली खामेनेई कुनै राजा थिएनन् र उनी आफ्ना छोरालाई सजिलै गद्दी हस्तान्तरण गर्न सक्दैन थिए, तर आफ्ना बुवाको ’सर्कल’भित्र मोज्तबाको उल्लेख्य सामथ्र्य रहेको छ। त्यसमा सर्वोच्च नेताको कार्यालय पनि पर्छ जसले संवैधानिक निकायहरूलाई समेत छायामा राख्छ।
मुस्तफा खामेनेई चाहिँ परिवारका जेठा छोरा हुन्। उनकी श्रीमती अजिजोल्लाह खोस्वाग्तकी छोरी हुन् जो रुढीवादी धार्मिक गुरु हुन् । सन् १९८० को दशकमा भएको इरान–इराक युद्धका बेला मुस्तफा र मोज्तबा दुवैले अग्रपङ्क्तिमा लडाइँ गरेका थिए।
अली खामेनेईका साहिँला छोरा मसूदको जन्म सन् १९७२ मा भएको हो। उनले सुसन खराजीसँग बिहे गरेका छन् सुसन कोम सेमिनरीको शिक्षक सङ्घसँग आबद्ध चिरपरिचित धार्मिक गुरु मोहसिन खराजी र सुधारवादी झुकाव भएका पूर्वकूटनीतिज्ञ मोहम्मद सादेग खराजीकी बहिनी हुन्।
मसूद खामेनेई राजनीतिदेखि टाढा बस्दै आएका छन् र सार्वजनिक रूपमा उनीबारे खासै जानकारी छैन। उनले आफ्ना बुवाको जीवनवृत्तान्त र संस्मरणहरू सङ्कलन गर्दै आएका छन्। अली खामेनेईका कान्छा छोरा मेयसामको जन्म चाहिँ सन् १९७७ मा भएको हो। आफ्ना तीन दाजुहरू जस्तै उनी पनि एक धार्मिक गुरु हुन् । उनकी श्रीमतीको नाम सञ्चारमाध्यममा आएको छैन। उनी एक सम्पन्न तथा प्रभावशाली व्यापारी महमुद लोलचिआनकी छोरी हुन्।
लोलचिआनले सन् १९७९ को क्रान्तिअघि धार्मिक गुरुहरूलाई आर्थिक रूपमा सघाउँदै आएका थिए । मेयसामले आफ्ना दाजु मसूदसँगै आफ्ना बुवाका कामहरूको संरक्षण तथा प्रकाशनसम्बन्धी कार्यालयमा काम गरेका छन् । अली खामेनेईका दुईजना छोरीबारे सार्वजनिक जानकारी खासै धेरै छैन। बुशरा र होदा खामेनेईका कान्छा सन्तान हुन्। उनीहरूको जन्म सन् १९७९ को इस्लामिक क्रान्तिपछि भएको हो।
बुशराको जन्म सन् १९८० मा भएको हो। उनको बिहे खामेनेईको कार्यालयका ’चीफ अफ स्टाफ’ गोलामहोसैन मोहम्मद गोल्पयेगनीका छोरा मोहम्मद जवाद मोहम्मदी गोल्पयेगनीसँग भएको छ।
होदा अली खामेनेई परिवारको सबैभन्दा कान्छी हुन्, जसको जन्म सन् १९८१ मा भएको थियो। उनको बिहे मेस्बाह अल होदा बगेरी कानीसँग भएको छ। मार्केटिङ विषय पढेका उनी इमाम सादिक विश्वविद्यालयमा अध्यापन गर्छन्।
काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आज बिहान पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले बिहान निवासबाटै प्रसाईंलाई पक्राउ गरेको हो ।
प्रसाईंको पारिवारिक स्रोतका अनुसार आज बिहान ६ बजे नै भक्तपुरको प्रहरी टोली निवास वरिपरि तैनाथ थियो । उनलाई पौने आठ बजेतिर पक्राउ पुर्जी थमाएर प्रहरीले लगेको हो ।
पक्राउ पुर्जीमा ‘सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि’ भन्ने व्यहोरा उल्लेख छ ।
प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।
काठमाडौं । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा परेका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको औपचारिक पुष्टि भएको छ । इरानी सरकारी टेलिभिजनलगायतका आधिकारिक सञ्चारमाध्यमले आइतबार बिहान उनको निधन भएको घोषणा गरेका हुन् ।
शनिबार बिहान अमेरिका र इजरायलले इरानमा संयुक्त रूपमा भीषण हमला गरेका थिए । राजधानी तेहरानस्थित खामेनीको निवास वरपर शक्तिशाली विस्फोटका आवाज सुनिनुका साथै धुवाँको मुस्लो देखिएको थियो । आक्रमणबाट उनको निवासलगायतका संरचनामा क्षति पुगेका दृश्य तथा भिडिओहरू सार्वजनिक भए पनि इरानी अधिकारीहरूले भने सुरुमा सर्वोच्च नेता सुरक्षित नै रहेको दाबी गर्दै आएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आक्रमणलगत्तै खामेनी मारिएको दाबी गरेका थिए । अन्ततः आइतबार बिहान इरानको राष्ट्रिय सुरक्षा परिषद्को वक्तव्यलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले पनि उनको मृत्यु भएको समाचार सम्प्रेषण गरेका छन् ।
सरकारी टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै आँसु झार्दै सर्वोच्च नेताको निधनको खबर सार्वजनिक गरेका थिए । ८६ वर्षीय खामेनीको मृत्युसँगै इरान सरकारले देशभर ४० दिने सार्वजनिक शोकको घोषणा गरेको छ ।
यद्यपि, मृत्युको औपचारिक पुष्टि गरिए पनि इरानी सुरक्षा परिषद्को वक्तव्यमा उनको ज्यान कसरी गयो भन्नेबारे विस्तृत विवरण खुलाइएको छैन । त्यसैगरी, इरानको आगामी सर्वोच्च नेता (उत्तराधिकारी) को हुने भन्ने विषयमा पनि कुनै जानकारी दिइएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस घटनापछि इरानी नागरिकहरूका लागि ‘सत्ता आफ्नै नियन्त्रणमा लिने सुनौलो अवसर’ आएको टिप्पणी गरेका छन् । खामेनीको निधनले इरान र समग्र मध्यपूर्वको राजनीतिमा ठूलो उथलपुथल ल्याउन सक्ने विश्लेषण गरिएको छ ।




