
अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालका न्यायाधीश आनन्द श्रेष्ठले नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो।
जेनजी आन्दोलनमा दमन गरेको भन्दै सरकारको निर्देशनमा प्रहरीले ओली र लेखकलाई शनिबार पक्राउ गरेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतमा आज (आइतबार) न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले सो रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो। सो रिटमा चैत १० गतेदेखि सुनुवाइ भएको थियो।
तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।
उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ ।
आइतबार पेरिसडाँडामा बसेको बैठकलाई उनलाई सर्वसम्मत दलको नेता चयन गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता रमेश मल्लले बताए ।
उनले भने, ‘पार्टीको आज संसदीय दलको पहिलो बैठक बसेको हो । पार्टी पहिलो बैठकले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता चयन गरेको छ सर्वसम्मत रुपमा । बैठकले दल नेतालाई बधाई प्रस्ताव पेस गरेको थियो त्यसलाई सर्वसम्मत रुपमा पास गर्यौं ।’
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ ।
काठमाडौं । नेपाल प्रहरीले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्री तथा उनीहरूको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
प्रहरी स्रोतका अनुसार, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का, साथै उनीहरूको परिवारको चल–अचल सम्पत्ति र आम्दानीको स्रोतका विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा अनुसन्धान भइरहेको छ ।
यसै क्रममा आइतबार बिहान कांग्रेस नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का बुढानीलकण्ठस्थित निवासबाटै पक्राउ परेका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।
पूर्वमन्त्री आरजु राणाका भाइ भुषण राणामाथि पनि अनुसन्धान अघि बढाइएको छ ।
२४ भदौमा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा, दाहाल र खड्काका घरबाट जलेका नोटका टुक्रा फेला परेका थिए ।
सो घटनापछि विभागले विस्तृत अनुसन्धानका लागि सीआईबीलाई पत्र पठाएको थियो । प्रारम्भिक अनुसन्धानको आधारमा तत्कालीन पूर्वप्रधानमन्त्रीहरूलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ ।
यसैबीच सरकारले २०४८ सालयता राजनीतिक नेतृत्व र उच्च पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न प्रधानमन्त्री कार्यालयअन्तर्गत अधिकार सम्पन्न समिति गठन गर्ने निर्णय गरेको छ। पहिलो चरणमा २०६२ सालयताका पदाधिकारी र दोस्रो चरणमा २०४८ देखि २०६२ सालसम्मका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने योजना सार्वजनिक गरिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ ।
त्रिवि शिक्षण अस्पतालले जारी गरेको विज्ञप्तिमा ओलीलाई मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता पुराना समस्याका साथै पित्तथैलीमा पत्थरी समेत देखिएको उल्लेख छ ।
ओलीलाई अस्पतालको ‘एनेक्स १’ भवनको बेड नम्बर ५०१ मा राखेर उपचार गरिएको छ ।
प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट ओलीलाई नियन्त्रणमा लिएपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको थियो ।
चिकित्सकको सल्लाहअनुसार उनलाई थप निगरानीका लागि अस्पतालमै राखिएको हो ।
जेनजी आन्दोलनका क्रममा शहीद घोषणा गरिएका व्यक्तिहरूका परिवारलाई राहतस्वरूप रोजगारी उपलब्ध गराउने निर्णय अन्तर्गत नेपाल विद्युत् प्राधिकरणले २७ जनालाई रोजगारी दिने प्रक्रिया अघि बढाएको छ।
प्राधिकरणको मानव संसाधन विभागले सार्वजनिक गरेको सूचनाअनुसार शहीद परिवारका सदस्यको रूपमा दाबी गर्दै आवेदन दिएका २७ जनाको सूची सार्वजनिक गरिएको छ। ती व्यक्तिहरूलाई प्रचलित कार्यविधिअनुसार रोजगारीमा समावेश गरिने तयारी गरिएको हो।
सरकारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई राहत तथा पुनर्स्थापनाका लागि रोजगारीको व्यवस्था गर्ने निर्णय गरेपछि प्राधिकरणले सो निर्णय कार्यान्वयन प्रक्रिया अगाडि बढाएको हो।
यद्यपि, सूचीमा समावेश भएका सबै व्यक्तिलाई आफ्नो नाता सम्बन्ध पुष्टि गर्ने आधिकारिक कागजात अनिवार्य रूपमा पेश गर्न निर्देशन दिइएको छ। प्राधिकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक प्रमाणसहित सम्पर्कमा आउन आग्रह गरेको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ (लापसे) सेवनको परीक्षण गर्न माग गरेका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै सांसद साम्पाङले देशको समग्र स्वास्थ्य र सुशासनका लागि राज्यका उच्च पदस्थको यस्तो परीक्षण अनिवार्य रहेको तर्क गरेका हुन् ।
“प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीको मापसे र लापसे चेकजाँच दैनिक गरिनु पर्दछ । सांसदको पनि गर्नुपर्छ,” उनले लेखेका छन्, “देशको स्वास्थ्यको लागि यो अनिवार्य छ ।”
सार्वजनिक पद धारण गरेका व्यक्तिले संवेदनशिल निर्णय गर्ने हुनाले उनीहरूको शारीरिक र मानसिक अवस्था सन्तुलित हुनुपर्नेमा उनले जोड दिएका हुन् । साम्पाङ पछिल्लो समय सामाजिक सञ्जालमार्फत शासकीय सुधार र अनुशासनका विषयमा धारणा राख्दै आएका छन् ।
काठमाडौं । शनिबार पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई आज अदालतमा उपस्थित गराइँदैछ ।
शनिबार सार्वजनिक बिदा भएकाले अदालत उपस्थित गराइएको थिएन । आज भने दुवै नेतालाई अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ । गत भदौ २३–२४ गते जेनजी आन्दोनलन हिंसात्मक बन्दा तीन जना प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो ।
सो घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्याउँदै कारबाही सिफारिस गरेको थियो ।
शुक्रबार बसेको बालेन साह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार खड्कालाई आइतबार बिहान महाराजगञ्ज क्षेत्रबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरी स्रोतका अनुसार उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ । उनी लैनचौरस्थित स्काउटको जग्गा विवादमा समेत मुछिएका छन् ।
जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा ‘पैसा उडेको’ भनिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । सोही प्रकरणसँग जोडिएका पक्षहरूसमेत अनुसन्धानको दायरामा रहेको बताइएको छ ।




