
नापी विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एपमार्फत नागरिकले जग्गासम्बन्धी सेवाहरु घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्।
नापी विभागका अनुसार एप एन्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ।
एपमार्फत नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखांकनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्।
यस्तै, ई- सेवा, खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखांकन सेवाका लागि आवश्यक राजस्वसमेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
एपमार्फत सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीको सम्पर्क नम्बरसमेत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। ‘मेरोकित्ता सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको विभागले जनाएको छ।
मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्। उनले जग्गासम्बन्धी सेवा लिन सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्। मन्त्री रावलले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाहरूलाई थप विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन्।
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे हाे ।
उनलाई नख्खु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।
कुमार चिमोरियाको जाहेरीले नेपाल सरकार वादी रहेको उक्त मुद्दामा टिकटकर अधिकारी, अशोककुमार अग्रवालसहित १० जना प्रतिवादी छन् । उनीहरुका विरुद्ध आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) समेतको कसुरमा मुद्दा चलेको हो ।
चिमोरियाले २०८२ साउन २४ गते ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपसहित जाहेरी दिएका थिए । साथै, टिकटकर अधिकारीको २१ करोड सम्पत्तिको स्रोत नखुलेका कारण सम्पत्ति शुद्धीकरण मुद्दा चलाइएको छ ।
२०८२ भदौदेखि फरार उनी चीन हुँदै थाइल्याण्ड पुगेपछि शुक्रबार अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल इन्टरपोलको सहयोगमा पक्राउ परेकी थिइन् ।
राप्रपाका महामन्त्री धवलशमशेर राणाले नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्।
बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरेर राणाले नयाँ पार्टी गठन गर्न लागेको घोषणा गरेका हुन्। उनले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए।
राणासँग राप्रपाका केही नेता कार्यकर्ताहरूले पनि पार्टी छाडेर नयाँ अभियानमा लागेको बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । बिहीबार आयोजित सामूहिक भेटघाट कार्यक्रममा उनीहरूले राजीनामाको घोषणा गरेका हुन् ।
राजीनामा घोषणा कार्यक्रममा बोल्दै डा. राणाले आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुगेको बताए । उनले यसलाई खुसीभन्दा पनि दुःखद दिनका रूपमा चित्रण गर्दै आफूहरूले लामो समयदेखि बोकेको राजनीतिक मूल्य, मान्यता र एजेन्डालाई पार्टीभित्रबाट अघि बढाउन नसकिएको बताए ।
उनले भने, ‘हामीले आफ्नो घरैबाट छाड्नुपर्ने अवस्था आयो । यो खुसीको होइन, दुःखको दिन हो । जब आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लगाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिन्छ, तब हिम्मत गरेर त्यो घर छाड्नुपर्छ र अर्को घर निर्माण गर्नुपर्छ ।’
डा. राणाले विगत चार वर्ष आफ्नो राजनीतिक जीवनकै सबैभन्दा पीडादायी समय रहेको उल्लेख गर्दै राप्रपालाई सही दिशा र एजेन्डा प्राप्तिको मार्गमा अघि बढाउन प्रयास गरेको दाबी गरे ।
उनले पार्टीको आन्दोलनको नेतृत्व गरेको, संगठन सुधार गर्न खोजेको तथा राप्रपालाई राष्ट्रकै बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास गरेको बताए ।
‘मैले राप्रपालाई सही बाटोमा, एजेन्डा प्राप्तिको बाटोमा लैजान खोजेको थिएँ । आन्दोलनको नेतृत्व गरेको थिएँ । पार्टीलाई सुधारेर राष्ट्रकै बलियो पार्टी बनाउन चाहेको थिएँ । तर मेरा ती सबै प्रयासलाई अगाडि बढ्न दिइएन,’उनले भने ।
उनले पार्टी नेतृत्वप्रति प्रत्यक्ष आरोप नलगाउँदै आफूले छाडेको ‘घर’ अर्थात् पार्टी र त्यहाँ रहेका साथीहरूका विषयमा गुनासो नगर्ने पनि बताए । यसैगरी उनले राष्ट्रवादी शक्ति यो देशमा निर्माण गर्नको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता सबै राष्ट्रियता बोकेका, हिन्दु अधिराज्य खोजेका, यो देशमा भ्रष्टाचार हटाउन खोज्ने सबै एकजुट हुन आह्वान गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय पदाधिकारी सहित १८३ जनाले पार्टी परित्याग गरेका छन् ।
महामन्त्री डा.धवलशमशेर राणा पक्षधर नेता कार्यकर्ताले राप्रपा परित्याग गरेको घोषणा गरेका छन् । शीर्ष तहमा रहेका अन्य नेताहरू मुकुन्दश्याम गिरी, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतले राप्रपा परित्याग गरेका छन् ।
राप्रपा परित्याग गर्नेहरूमा पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य लगायत छन् ।
बिहीबार पार्टी परित्याग गर्नेहरू पहिलो चरणको भएको असन्तुष्ट पक्षले जानकारी गराएको छ । मूल नेतृत्व (अध्यक्ष राजेन्द्र लिङ्देन) को हिनभाव, कमजोरी एवं आत्मकेन्द्रीत शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन् ।






सगरमाथा क्षेत्रमा हराएका ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकाका दावा शेर्पा जीवितै फेला परेका छन् ।
सगरमाथाको तेस्रो शिविर (क्याम्प–३) आसपासबाट बेपत्ता भएका शेर्पालाई बिहीबार बिहान खुम्बु आइसफलस्थित क्र्याम्पन पोइन्ट नजिक आधारशिविरतर्फ ओर्लिरहेको अवस्थामा उद्धार गरिएको हो ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीहरूले उनलाई अत्यन्त कमजोर अवस्थामा देखेपछि तत्काल उद्धार गरी आधारशिविरतर्फ ल्याएका हुन् । प्रारम्भिक जानकारीअनुसार उनी लामो समयदेखि सम्पर्कविहीन थिए र उनको खोजी कार्य जारी रहेको थियो ।
उच्च हिमाली क्षेत्रमा बेपत्ता भएका व्यक्तिहरू जीवितै भेटिनु दुर्लभ मानिन्छ । विशेषगरी क्याम्प–३ क्षेत्र सगरमाथा आरोहण मार्गको अत्यन्त जोखिमपूर्ण खण्डमध्ये एक हो ।
समुद्री सतहबाट करिब ७,२०० मिटर उचाइमा रहेको यस क्षेत्रमा अक्सिजनको मात्रा निकै कम हुने, तापक्रम अत्यधिक न्यून रहने तथा मौसम एकाएक परिवर्तन हुने भएकाले आरोहीहरू उच्च जोखिममा रहने गर्छन् ।
दावा शेर्पा जीवितै फेला परेको खबर सार्वजनिक भएसँगै उनका परिवार, आफन्त तथा पर्वतारोहण क्षेत्रमा आबद्ध व्यक्तिहरूले राहतको महसुस गरेका छन् ।
उनको अवस्थाबारे विभिन्न आशंका व्यक्त भइरहेका बेला जीवितै फेला पर्नु सुखद समाचारका रूपमा लिइएको छ ।
उद्धारपछि उनको स्वास्थ्य अवस्था परीक्षणको व्यवस्था गरिएको छ । अत्यधिक थकान, चिसो र लामो समयको शारीरिक संघर्षका कारण उनी कमजोर देखिए पनि बोल्न सक्ने अवस्थामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । स्वास्थ्यकर्मीको निगरानीमा राखेर थप उपचार गरिने भएको छ ।
सगरमाथा क्षेत्रमा हरेक वर्ष सयौं स्वदेशी तथा विदेशी पर्वतारोही पुग्ने गर्छन् । तर प्रतिकूल मौसम, हिमपहिरो, अक्सिजनको कमी तथा शारीरिक समस्याका कारण बेला–बेलामा दुर्घटना र बेपत्ता हुने घटना पनि हुने गरेका छन् । यस्ता घटनाबीच दावा शेर्पाको जीवित उद्धारलाई पर्वतारोहण समुदायले आश्चर्यजनक र प्रेरणादायी घटनाका रूपमा लिएको छ ।
खोज तथा उद्धारमा संलग्न टोलीका अनुसार उनलाई फेला पारिएको स्थान आधारशिविरभन्दा माथि भएपनि उनी आफैं आधारशिविरतर्फ ओर्लने प्रयास गरिरहेका थिए ।
दावा शेर्पाको जीवित उद्धारसँगै सगरमाथा क्षेत्रमा जारी खोज तथा उद्धार अभियानले अर्को सफल परिणाम हासिल गरेको छ । स्थानीयवासी, पर्यटन व्यवसायी तथा पर्वतारोहण क्षेत्रका सरोकारवालाले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिइएको छ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।
सभापति लामिछाने र प्रधानमन्त्री मोदीबिच हिजो भेटवार्ता भएको थियो । सो भेटवार्ताको क्रममा सभापति लामिछानेले नेपाल भ्रमणका लागि निम्तो दिएको भ्रमण दलमा सहभागी एक अधिकारीले बताए ।
प्रधानमन्त्री मोदीले पनि आफू पनि नेपाल भ्रमण गर्न उत्सुक रहेको र चाँडै नै नेपालको भ्रमण गर्ने बताएका थिए । भ्रमण दलमा सहभागी अधिकारीका अनुसार प्रधानमन्त्री मोदी नेपाल भ्रमण गर्न इच्छुक भएमा नेपालबाट प्रधानमन्त्रीको तर्फबाट आधिकारिक निम्तो जानेछ । त्यसको बारेमा सभापति लामिछाने नेपाल फर्केपछि छलफल हुनसक्ने उनले बताए ।




