२०८३ भाद्र २१ गते आईतवार
२०८३ भाद्र २१ गते आईतवार

स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ ।

बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गरिएको हो ।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।

ऐनमा रहेका व्यवस्थालाई कार्यान्वयन गर्न आवश्यक निर्देशिका छिट्टै तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाही प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ ।

त्यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गरी नेपाल चिकित्सक संघसँगको सहकार्यमा एक कार्यदल गठन गर्ने र कार्यान्वयनको प्रगति नियमित समीक्षा गर्ने पनि सहमतिमा उल्लेख छ । सहमतिपछि नेपाल चिकित्सक संघले जारी राखेको आन्दोलनका सबै कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने सहमति भएको छ ।

काठमाडौं । बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त पक्राउ परेकी छन् ।

कर्जा प्रवाहमा अनियमितता गरेपछि उनलाई पक्राउ गरकेो केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए ।

पन्तलाई बुधबार अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । उनीमाथि अनुसन्धान गर्न दुई दिनको म्याद थप गरिएको छ । रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको कर्जामा अनियमितता भएको विषयमा अनुसन्धान हुने छ ।

काठमाडौं । सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयकलगायतका विधेयक संसद् समक्ष पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

यसैगरी बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने निर्णय गरेको छ ।

त्यस्तै मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाललाई मनोनयन गर्ने निर्णय गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ लाई स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का निर्णहरु :

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन २०५३ लाई संशोधन गर्न बनेको विधेयक,

खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक,

संक्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक,

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण (पहिलो संशोधन) विधेयक,

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक,

आन्तरिक वायु सेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,

मेलमिलाप सम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक,

कर्मचारी सञ्चय कोष ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनिमय सम्बन्धी कसूरको अनुसन्धान अधिकारी तोक्ने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा ऐडराज दाहाल (सिन्धुली) लाई मनोनयन गर्ने

शिक्षा तथा खेलकुद मन्त्रालयबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौं संशोधन) नियमावली २०८३ लाई स्वीकृत गर्ने ।

सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिएका हुन् ।

उनकाअनुसार सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०५३ लाई संशोधन गर्न बनेको विधेयक, विस्फोटक पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, संक्रामक पशुरोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो ।

त्यस्तै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक, कर्मचारी सञ्चय कोष ऐन, २०१९ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय भएको मन्त्री पोखरेलले जानकारी दिए ।

कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ र घर, पसल साथै अन्य आगजनी भएका परिवार तथा घाइतेलाई ५० हजारका दरले राहत दिने घोषणा गरेको छ ।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकमा सरकारले राहतको घोषणा गरेको गरेको हो ।

बैठकले विभिन्न ८ बुँदे निर्णय समेत गरेको छ । साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारलको आयोजनामा बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति सुरक्षा कायम गर्न आठबुँदे निर्णय गरेको हो ।

बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

सामाजिक सद्भाव र साम्प्रदायिक एकता कायम गर्न राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षले समन्वयात्मक पहल गर्ने, पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी सद्भाव अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

यस्तै, सामुदायिक तहमा मेलमिलाप र सद्भाव कायम गर्न स्थानीय प्रशासनसँग समन्वय गरी सद्भाव यात्रा तथा सार्वजनिक अपिललगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ ।

बैठकले सबै धार्मिक समुदायका संघ–संस्थाले संयुक्त अपिल जारी गर्दै समन्वय र सहजीकरणमा भूमिका खेल्नुपर्ने, सीमाक्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधिप्रति सुरक्षा सतर्कता अपनाउने तथा घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको छ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बैठकमा सम्पूर्णले सामाजिक सद्भाव कायम गर्नका लागि भूमिका खेल्नुपर्ने बताए ।

उनले संवेदनशील घडीमा सामाजिक सद्भावलाई खलल पुग्ने गतिविधि नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह समेत गरे ।

सर्वपक्षिय बैठकमा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापा नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं प्रदेशस्तर स्तरका सुरक्षा निकायका प्रमुख र उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति थियो ।

सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ । बुधबार बिहानदेखि नेपाली सेनाले हवाई गस्ती सुरु गरेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा निगरानी बढाएका छन् । प्रभावित क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको छ ।

यसैबीच, घटनाको छानबिनका लागि गठित समिति र जिल्ला सुरक्षा समितिले घटनास्थलको स्थलगत अनुगमन गर्दै मृतक २४ वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरेको छ ।

सरकारले घटनाको सत्यतथ्य छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरी एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

माइतीघर डुबानको समस्या समाधानका लागि ढल सफाइ र मर्मतको काम थालिएको छ ।

सडक डिभिजन काठमाडौँले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर बुधबारदेखि ढल निकासको भित्री अवस्था पहिचान थालेको हो ।

यसका लागि बुधबार नेपाली सेनाको मुख्यालयको गेटमा डोजर लगाएर ढलको जमिनमाथिको सतह भत्काइएको छ ।

भत्काएर फोहोर सफा गर्ने, साँघुरो भएको ठाउँलाई बढाउने काम गरिने डिभिजन प्रमुख सुबोध देवकोटाले बताए ।

अहिले समस्या नदेखिएको ठाउँमा ड्रेनलाई भविष्यमा पनि सफा गर्न मिल्ने गरेर तयार पारिने उनको भनाइ छ ।

‘हामीले भित्र अवस्था कस्तो छ भनेर खोलेर हेर्छौँ । अवरोध रहेछ भने सफा गर्छौँ । छैन भने अहिले नभएर भएन । पछि हुनसक्ने भएकाले ड्रेनलाई पछि पनि सफा गर्न मिल्ने बनाउँछौँ,’ उनले भने ।

फोहोर जम्मा भएर रहन नदिन आरसीसीको व्यवस्थित ढल बनाउने योजना रहेको सुनाए ।

नेपाली सेना, थापाथली क्याम्पस, तथ्यांक विभागसँग समन्वय गरेरै डुबानको समस्या समाधानका लागि पहल गरिरहेको उनले बताए ।

माइती घर डुबान भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिकार्य शाखा प्रमुख उपसचिव रामबहादुर केसीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको थियो ।

उक्त समितिको प्रतिवेदनले ढलको पाइप एकातर्फ ठूलो र अर्कोतर्फ साँघुरो भएर, टुकुचा खोलाको सतह बढ्दा पानी सडकमा फर्किएको, कंक्रिट भवन बनेकाले जमिनले पानी सोस्न नपाएको कारणले माइती घर डुबान भएको औँल्याएको थियो ।

बाँकेको कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेप्टी ट्यांकीभित्र फसेका तीन जना मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा रहेको सेप्टी ट्यांकीमा मजदुरहरू फसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जेसीबीको प्रयोग गरी ट्यांकी भत्काएर तीनै जनालाई बाहिर निकालेको थियो। उद्धारपछि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका-३ निवासी करिब ४० देखि ४२ वर्षीय कालु थारु, २६ देखि २७ वर्षीय प्रकाश थारु र ३३ देखि ३४ वर्षीय बिर्जा थारु रहेको प्रहरीले जनाएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकहरूको शव परीक्षणका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाउने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

निर्माण स्थलमा हुने यस्ता दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि सुरक्षा सावधानी र जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् ।

सभापति लामिछाने बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटका क्रममा लामिछानेले समसामयिक राजनीतिक अवस्था, पछिल्लो राजनीतिक घटनाक्रम तथा सुनसरी घटनाका विषयमा छलफल गरेका छन् ।

त्यसैगरी, पछिल्लो अवस्थाबारे छलफल गर्न आफूले आह्वान गरेको सर्वदलीय बैठकका विषयमा पनि सभापति लामिछानेले राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको साझा सम्पत्ति भएकाले यसको संरक्षणका लागि सबै राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रसरतामा सुनसरीको पछिल्लो घटनाक्रम र सामाजिक सद्भावका विषयमा बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले वर्तमान संवेदनशील परिस्थितिमा प्रमुख राजनीतिक दलहरूलाई एकै ठाउँमा ल्याउने पहल गरेको भन्दै रास्वपा र सभापति रवि लामिछानेलाई धन्यवाद दिए ।

थापाले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कुनै उपहार नभई नेपाली नागरिकको साझा प्रयासबाट आर्जित पूँजी भएको उल्लेख गर्दै यसलाई जोगाउन सबैले संयम, धैर्य र संवादको बाटो अपनाउनुपर्ने बताए ।

‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको साझा सम्पत्ति हो । यसलाई जोगाउन सबैले संयम, धैर्य र संवादको बाटो अपनाउनुपर्छ,’ उनले भने ।

उनले नेपाली कांग्रेसले यस विषयमा आफ्नो धारणा स्पष्ट पारिसकेको र पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिलाई स्थानीय तहमा संवाद र सद्भावका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइसकेको जानकारी दिए ।

प्रभावित जिल्लाहरूमा सर्वदलीय समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले प्रशासन, राजनीतिक दल, सञ्चारमाध्यम र नागरिक समाजले पूर्वतयारीसहित सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए ।

‘प्रभावित जिल्ला तथा सम्भावित संवेदनशील क्षेत्रमा सर्वदलीय समन्वय र पूर्वतयारीका साथ शान्ति कायम राख्न सबै राजनीतिक दल, प्रशासन, सञ्चारमाध्यम र नागरिकलाई संयुक्त रूपमा अघि बढ्न आग्रह गरेका छौँ । नेपाली कांग्रेसले यस अभियानमा आफ्नो जिम्मेवार भूमिका निरन्तर निर्वाह गर्नेछ,’ उनले भने ।

संकटको समयमा सरकारको उपस्थिति प्रभावकारी नदेखिएको भन्दै उनले सरकार थप सक्रिय र जिम्मेवार बन्नुपर्ने पनि बताए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।