
सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या २ पुगेको छ।
देवानगञ्ज गाउँपालिका–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मेहतालाई दिउँसो १:२४ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए।
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको गोलबजार नगरपालिकाका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। जिल्लाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको निष्कर्ष निकाल्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा बिहीबार दिउँसो २ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चोकसम्म, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार नगरपालिका–४ स्थित राप्रपा बहुमुखी क्याम्पस क्षेत्रसम्म कर्फ्यू आदेश लागू हुनेछ।
प्रशासनका अनुसार जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषण गर्दा आन्दोलन, प्रदर्शन वा सम्भावित हुलदंगाका कारण सार्वजनिक शान्ति, सुरक्षा र अमनचयनमा गम्भीर असर पर्न सक्ने अवस्था देखिएकाले कर्फ्यू आदेश जारी गरिएको हो।
कर्फ्यू अवधिभर तोकिएको क्षेत्रमा सर्वसाधारणको आवतजावत, भेला, जुलुस तथा अन्य गतिविधिमा पूर्ण प्रतिबन्ध रहनेछ। अत्यावश्यक सेवा तथा सुरक्षा निकायका सवारीसाधनबाहेक अन्य कुनै पनि गतिविधि प्रशासनको अनुमति बिना सञ्चालन गर्न पाइने छैन।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरेको छ।
प्रशासनले सुरक्षा अवस्थाको निरन्तर समीक्षा गरिरहेको जनाएको छ। परिस्थिति सामान्य भएपछि कर्फ्यू आदेश फिर्ता वा परिमार्जनबारे थप सूचना जारी गरिने बताइएको छ।
सांसद खुश्बु ओलीले सुनसरी घटनाबारे राजनीतिक दलहरूले जारी गरेका विज्ञप्तिमा घटनाको वास्तविक स्वरूप स्पष्ट नभएको बताएकी छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले घटनाको चर्चा गरेपनि वास्तवमा के भएको थियो भन्ने विषयमा स्पष्ट रूपमा बोल्ने साहस कसैले नगरेको टिप्पणी समेत गरिन् ।
उनले भनिन्, ‘सबैजनाले घटना घटना भन्नुभयो तर घटना के भएको रहेछ भनेर हिम्मत कसैमा छैन् । सत्तारुट दललगायत अन्य दलहरूले आफ्नो प्रेस विज्ञप्तिमा सुनसरीको घटनालाई संवेदनशील र दुखद घटना उल्लेख गरेको छ । तर कुन घटनाको कुरा गरिएको हो, स्पष्ट छैन ।’
सत्ता पक्षसहित विभिन्न राजनीतिक दलहरूले सुनसरीको घटनालाई ‘संवेदनशील’ र ‘दुःखद’ भन्दै विज्ञप्ति जारी गरेको उल्लेख गर्दै उनले, ती विज्ञप्तिमा कुन घटनाको कुरा गरिएको हो, त्यसको प्रकृति के थियो, पृष्ठभूमि कस्तो थियो वा घटना धार्मिक विषयसँग सम्बन्धित थियो वा थिएन भन्नेबारे कुनै स्पष्ट जानकारी नदिएको दाबी गरिन् ।
कुनै पनि प्रभावशाली राजनीतिक दलले आफूले चर्चा गरिरहेको घटनाको स्वरूप नै स्पष्ट रूपमा उल्लेख गर्न नसके वस्तुनिष्ठ विश्लेषण सम्भव नरहेको बताइन् ।
श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले सरकारले देशको सुरक्षा अवस्था र राष्ट्रियताका विषयमा गम्भीर ध्यान दिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले देशमा हत्या, हिंसा तथा गोली चल्ने घटनाहरू बढ्दासमेत सरकार मौन रहेको आरोप लगाए ।
‘देशमा आज जताततै हिंसा हुने अवस्था छ । तर सरकार बेखबर छ । सरकार कहाँ छ भनेर सोध्न चाहन्छु । सरकार अव तपाई बाहिर निस्कनुपर्छ,’ उनले भने, ‘किनकी दिनदहाडै देशमा गोली चलेको छ । हत्या हिंसा भएको छ । देशमा संकट हुने अवस्था छ । तर सरकार बेखबर छ ।’
उनले सरकार जनताको वास्तविक अवस्था बुझ्न बाहिर निस्किनुपर्ने भन्दै देशको अवस्था सामान्य रहेको बताए ।
राष्ट्रियतासम्बन्धी विषयमा अनावश्यक जिद्दी गर्नु उपयुक्त नहुने बताउँदै उनले यसको मूल्यांकन नागरिकले भविष्यमा गर्ने बताए ।
त्यस्तै, उनले प्रधानमन्त्रीले प्रतिनिधिसभाको सम्मानित रोस्ट्रमबाट दिएको एक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन माग गरे । प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन पनि उनले सभामुखमार्फत माग गरे ।
नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्व मन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै नेता अर्यालले सुनसरीमा हालै भएको दुःखद घटनालाई लिएर सरकार र विशेषगरी प्रधानमन्त्रीको आलोचना गरिन् ।
साउन १० गते सुनसरीमा भएको हिंसात्मक झडप र मृत्युको घटनाप्रति दुःख व्यक्त गर्दै अर्यालले दङ्गा नियन्त्रण दमनबाट नभई संवाद र विश्वासबाट गरिनुपर्ने बताइन् । तर, राज्यले संयमता अपनाउनुको सट्टा त्रास सिर्जना गरेर स्थितिलाई थप उत्तेजित बनाउने काम गरेको आरोप लगाइन् ।
उनले उक्त घटनामा मृत्युवरण गर्ने ओम प्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारका लागि सरकारको ध्यानाकर्षण गराइन् । अर्यालले विगतका घटनाहरूमा तत्कालीन सरकारलाई दोषी देखाउँदै राजीनामा माग्नेहरू नै अहिले सत्तामा रहेको स्मरण गराइन् ।
उनले फौजदारी अभियोगको कुरा गर्नेहरूले आजको घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागसमेत गरिन् ।
उनले भने, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा प्रधानमन्त्री र गृहमन्त्रीले जबाफदेहिता लिनुपर्छ भन्नेहरू आज सुनसरीमा नागरिकको ज्यान जाँदा किन मौन हुनुहुन्छ ? प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र होइन । देशमा अशान्ति हुँदा र जनता पीडामा पर्दा नेतृत्वले जनताको बिचमा गएर संवाद गर्नुपर्छ । हाम्रा पुर्खाको बलिदानले जोगिएको यो देशको विरासत कमजोर बनाउने हक कसैलाई छैन । दुई महिनादेखि हामीले प्रश्न उठाइरहेका छौँ, तर प्रधानमन्त्रीबाट अझै चित्तबुझ्दो जवाफ आएको छैन। संसद्मा बोलिएका आपत्तिजनक बोलीहरू सच्याइनुपर्छ ।’
प्रधानमन्त्रीले विगतमा संसद्मा दिएको केही अभिव्यक्तिप्रति लक्षित गर्दै नेता अर्यालले राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने कार्य भएको दाबी गरिन् । सम्बोधनका क्रममा उनले बाढी पहिरो पीडितहरूको राहत र पुनर्स्थापनामा सरकारको सुस्तताप्रति आपत्ति जनाइन् ।
साथै, सुकुम्वासीहरूलाई व्यवस्थापन गर्ने नाममा होल्डिङ सेन्टरमा लगेर राख्ने र पछि अमानवीय ढंगले लखेट्ने कार्य राज्यबाट भएको भन्दै उनले सरकारको गैरजिम्मेवार चरित्रको आलोचना गरिन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको कप्तानगञ्जमा भएको झडप र त्यसमा परी युवकको मृत्यु भएको घटनालाई लिएर सरकार र प्रधानमन्त्रीको कार्यशैलीप्रति आपत्ति जनाएकी छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख सचेतक थापाले प्रहरीको गोली लागि स्थानीय एक युवकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरिन् । उनले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र घटनाको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरिन् ।
उनले तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विगतमा प्रधानमन्त्रीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा लेखेको प्रसङ्ग उल्लेख गर्दै, आज नागरिकले ज्यान गुमाउँदा सरकारले देखाएको उदासीनताले राज्यप्रतिको भरोसा कमजोर बनाएको टिप्पणी गरिन् ।
नेतृत्व भनेको केवल प्रशासन चलाउनु मात्र नभई संकटका बेला राष्ट्रको मनोबल सम्हाल्नु पनि रहेको उल्लेख गर्दै उनले सरकार आफ्नो प्राथमिक दायित्वबाट विमुख हुन नमिल्ने बताइन् ।
थापाले प्रधानमन्त्रीको संवेदनशीलतामाथि प्रश्न उठाउँदै भनिन्, ‘हिजो आक्रोश पोख्ने र सदनमा आँसु झार्ने प्रधानमन्त्री र गृहमन्त्री आज आफ्नै नागरिकको मृत्यु हुँदा किन मौन हुनुहुन्छ ? के पद र शक्तिले पीडाको वर्गीकरण गर्छ ? नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो ? यसको जवाफ सरकारले सदनमा दिनुपर्छ ।’
प्रमुख सचेतक थापाले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गरिन् ।
झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’ नामले परिचित व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी अन्दाजी २४ वर्षीय समीर थापा रहेका छन् । उनी सामाजिक सञ्जालमा ‘पाथीभरा माता’ नामबाट परिचित छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार थापालाई बुधबार बेलुका करिब ८ बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापाले धर्मको नाममा झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै एक महिलामाथि निर्घात कुटपिट गरेको देखिन्छ
भिडियोमा उनले अपशब्द प्रयोग गर्दै महिलामाथि दुर्व्यवहार गरेको र पीडित महिला निकै असहज अवस्थामा देखिएको उल्लेख गरिएको छ।
यस्तै, अर्को भिडियोमा उनले अर्की महिलालाई भिडियो खिच्न लगाएको तथा आफ्नै खुट्टाको पैतला चाट्न बाध्य पारेको दृश्यसमेत सार्वजनिक भएको छ। ती भिडियो र तस्बिरहरू भाइरल भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो।
उक्त भिडियो तथा तस्बिर सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक दिपक मगराठीको कमाण्डमा ९ सदस्यीय प्रहरी टोली परिचालन गरी थापालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।




