
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी मृत्यु भएका निर्मल पुर्जालगायत दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकप्रति उनले हार्दिक समवेदना व्यक्त गरेका छन् ।
शनिबार (साउन १६) अपराह्न सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनले आरोहीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहने बताएका छन् । “निर्मल पुर्जालगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ,” उनले भनेका छन् ।
विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा पुर्जासहित ६ नेपाली तथा अरू चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् । “…हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन्,” उनले भनेका छन् ।
आरोहण केवल शिखर चुम्ने यात्रा नभई यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको प्रधानमन्त्रीले बताएका छन् । “हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ,” उनले लेखेका छन् ।
पाकिस्तानस्थित ब्रड पिकको हिमपहिरोमा परेका नेपाली मूलका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जाको निधन भएको पुष्टि भएको छ । उनको टोलीले शनिबार जारी गरेको वक्तव्यमा हिमपहिरोपछि पुर्जाको दुःखद निधन भएको पुष्टि गरिएको हो ।
साथै, उक्त अभियानमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि गरिएको छ । वक्तव्यमा निम्ससँगै उनका विश्वासिला आरोहण सहयात्री तथा गाइड पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको उल्लेख गरिएको छ ।
टोलीले घटनामा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप र आफ्ना प्रमुख प्रतियोगिताहरूको व्यावसायिक अधिकारको २० प्रतिशत शेयर निजी लगानीकर्ताहरूलाई बेच्ने विवादित योजना रद्द गरेको छ ।
फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले एक विज्ञप्ति जारी गर्दै चौतर्फी विरोध र विभाजनका कारण यस परियोजनालाई अघि नबढाउने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘सबै पक्षका धारणा ध्यानपूर्वक सुनेपछि, यो परियोजनाले यस्तो विभाजन सिर्जना गरेको स्पष्ट भयो, जुन हाम्रो मूल उद्देश्यको हितमा छैन । हाम्रो उद्देश्य सधैँ फुटबललाई जोड्नु र सुधार गर्नु हो । त्यसैले यो प्रस्ताव अगाडि बढ्ने छैन ।’
उनले पुरुष तथा महिला विश्वकपसहितका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्तावको समर्थन गरेबापत सबै २ सय ११ सदस्य राष्ट्रहरूलाई ४ करोड अमेरिकी डलर दिने अफर गरेका थिए । तर युरोपेली फुटबल महासंघ (यूईएफए) ले यो योजना अघि बढे विश्वकप नै बहिष्कार गर्ने चेतावनी दिएपछि इन्फान्टिनो पछि हटेका हुन् ।
यस्तै उत्तर, मध्य अमेरिका र क्यारिबियन क्षेत्रको फुटबल संस्था कन्काकाफ र एसियाली फुटबल महासंघ (एएफसी) ले पनि प्रस्तावको कडा विरोध गरेका थिए ।
विवाद उत्कर्षमा पुगेपछि इन्फान्टिनोका वरिष्ठ सल्लाहकार कार्लोस कोर्डेरोले प्रस्ताव फुटबलको भविष्यका लागि घातक रहेको टिप्पणी गर्दै राजीनामा दिएका थिए ।
आगामी मार्चमा चौथो कार्यकालका लागि अध्यक्षको प्रतिस्पर्धामा उत्रन लागेका ५६ वर्षीय इन्फान्टिनोमाथि यो निर्णयसँगै ठूलो नैतिक र राजनीतिक दबाब परेको छ । उनले अब सबै पक्षलाई समेटेर फुटबलको साझा हितमा काम गर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले यही साउन १२ गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आज अपराह्न ५ बजेसम्मका लागि हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले एक सूचना जारी गर्दै आज बिहान ८ः३० देखि अपराह्न ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन् ।
प्रशासन कार्यालयका अनुसार कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा भने जारी रहेको । यस अवधिमा तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन भने पाइने छैन ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरी उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको १ र ५ नम्बर वडा अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरिएको गरेको छ ।
सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ ।
परिवारले अघि सारेका पाँच बुँदे मागमा सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन् । लहानमा जिल्ला सुरक्षा समितिको बैठकपश्चात् गए राति गृहमन्त्री गुरुङ यादवको घर पुगेका थिए । मृतक यादवका बुबा र आमा तथा आफन्तसँग भएको छलफलमा आठबुँदे सहमति भएको गृहमन्त्रीले जानकारी दिए ।
गृहमन्त्रीका अनुसार सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने, परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाइ र बहिनीलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, उनका बुबाआमालाई समेत निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र शव बुझेर दाहसंस्कार गरिने सहमति भएको छ। दाहसंस्कारका लागि आवश्यक खर्चसमेत सरकारले उपलब्ध गराउने सहमति भएको छ ।
शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए। अनुसन्धानमा सहजता होस् भन्ने उद्देश्यले त्यहाँ पठाइएको र हेलिकोप्टरमार्फत शव सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने उनको भनाइ छ ।
घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र परिवारजन कसरी विश्वस्त हुने भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले आफूले नै स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरेको बताए । उनले सुनसरी र सिरहाका घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गर्दै घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने उद्देश्य रहेको बताए । उनले आफू स्वयं घटनाको अनुगमन गरिरहेको भन्दै दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने दाबी गरे।
सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा गोलबजारमा प्रदर्शन गरिरहेका बेला यही साउन १४ गते गोली लागेर गणेश यादवको मृत्यु भएको हो ।
सुनसरीमा के भएको थियो ?
साउने सोमबार श्रावन ११ गते सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा बोलबम यात्राका क्रममा डिजे बजाउँदै सप्तकोशी नदीतर्फ गइरहेका दुई समूहबीच विवाद भएपछि झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार र हवाई फायर गरेको तथा अवस्था नियन्त्रणबाहिर गएपछि गोली चलाउनुपरेको प्रहरीको भनाइ छ।
प्रहरीको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनामा आठ जना प्रदर्शनकारी तथा प्रहरी निरीक्षक राकेश राईसहित आठ जना सुरक्षाकर्मी घाइते भएका थिए। घाइतेहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
सुनसरीको उक्त घटनापछि विभिन्न मधेशका अन्य जिल्लाका स्थानमा प्रदर्शन चर्किएको थियो। त्यसैक्रममा सिरहाको गोलबजारमा भएको प्रदर्शन हिंसात्मक बन्दा गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। उक्त घटनाको छानबिन र पीडित परिवारलाई न्यायको माग गर्दै स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका थिए।





