
सल्यानमा जिप भेरी नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो।
बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा जिप चालक र जिपधनी भेरी नदीमा बेपत्ता भएका छन्। उनीहरूको पहिचान भने खुलिनसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी दीपक पातलीले जानकारी दिए।
बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन भएका छन्।
दुर्घटनामा वनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम विक र सोही ठाउँका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन्। दुवैको अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फ्रेन्च खेल वेबसाइट फुट मर्काटोलाई उद्धृत गर्दै विभिन्न अर्जेन्टिनी सञ्चारमाध्यमले आठ पटकका बालोन डीओर विजेता मेस्सीले परिवारसँग समय बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
रिपोर्टअनुसार ६८ वर्षीय जर्ज मेस्सीको लामो समयदेखि स्वास्थ्य समस्या रहेकाले अर्जेन्टिनाको रोसारियोस्थित एक क्लिनिकमा उपचारका क्रममा निधन भएको हो । जर्ज मेस्सीको निधन मेस्सीका लागि व्यक्तिगत रूपमा ठूलो क्षति मानिएको छ, किनभने उनले छोराको फुटबल करिअर निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।
हाल अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले क्लबमा कहिले फर्किने भन्नेबारे कुनै मिति सार्वजनिक गरेका छैनन् । यसले उनी अहिले पूर्ण रूपमा परिवार र व्यक्तिगत परिस्थितिमा केन्द्रित रहेको संकेत गरेको छ ।
जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र नभई उनका एजेन्ट र रणनीतिक सल्लाहकारका रूपमा पनि परिचित थिए । स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको फुटबल करिअर व्यवस्थापनको जिम्मेवारी सम्हालेका थिए । मेस्सीको प्रारम्भिक फुटबल यात्रा न्यूवेल्स ओल्ड ब्वाइजबाट अघि बढ्दा पनि जर्ज मेस्सी सक्रिय रूपमा संलग्न थिए । मेस्सी १३ वर्षको हुँदा स्पेनको बार्सिलोनाको युवा एकेडेमीमा प्रवेश गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यतिबेला मेस्सी ग्रोथ हर्मोन डिफिसियन्सी (वृद्धि हर्मोनको कमी) सम्बन्धी समस्याबाट पीडित थिए । बार्सिलोनाले उनको उपचार खर्चसमेत बेहोरेको थियो, जसले उनको खेल जीवनलाई नयाँ दिशा दिएको मानिन्छ । जर्ज मेस्सीको परिवारमा पत्नी सेलिया कुचिट्टिनी तथा सन्तानहरू लियोनल, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने भएका छन्। नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक दायित्व पूरा गर्न उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।
काँग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार आचार्यले विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि मात्र मन्त्रिपरिषद् विस्तार र मन्त्रालयको जिम्मेवारी बाँडफाँटलाई अन्तिम रूप दिने सत्तापक्षको तयारी छ। एमाले र नेकपाबीचको सत्ता सहमतिअनुसार लुम्बिनी सरकारको नेतृत्व एमालेले गर्ने तथा आचार्यलाई नै मुख्यमन्त्रीका रूपमा निरन्तरता दिने निर्णय यसअघि भइसकेको छ।
नयाँ राजनीतिक समीकरणअनुसार नेकपालाई सरकारमा सहभागी गराउने विषय भने अझै टुंगिन बाँकी छ। नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजित थारूका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र आफ्नो दलबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम पठाउने तयारी छ।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ वटा मन्त्रालय रहेका छन्। अहिले मुख्यमन्त्रीसहित एमालेका पाँच जना र जनता समाजवादी पार्टी नेपालका दुई जना मन्त्री सरकारमा छन्।
८३ सदस्यीय प्रदेश सभामा सरकारलाई बहुमत सिद्ध गर्न कम्तीमा ४२ सांसदको समर्थन आवश्यक हुन्छ। एमालेसँग २९ र नेकपासँग सभामुखसहित १३ सांसद छन्। सभामुखले मतदानमा भाग लिन नपाउने भएकाले सरकारलाई आवश्यक बहुमत पुर्याउन अन्य दल वा सांसदको समर्थन जुटाउनुपर्ने अवस्था देखिएको छ।
धनुषामा एक जना मटिरब्याजी पीडित महिलाले आत्मदाह गर्ने प्रयास गरेकी छन् ।
बुधबार जनकपुरधामस्थित जिल्ला अदालत अगाडि फूल कुमारी रजकले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेकी छन् । उनले पेट्रोल छर्केको देखेर सुरक्षाकर्मीले रोकेका थिए । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ घर भएकी ५० वर्षीय फूलकुमारीले २०८१ सालमा आफ्नो ८ धुर जग्गा बन्धकी राखेर साहू गोपल साहसंग ६ लाख रुपैयाँ लिएको बताइएको छ ।
उनले लिएको रकम फिर्ता गरेर आफ्नो जग्गा फिर्ता माग्न जादाँ पटक पटक समय दिएर साहू गोपाल साहले फिर्ता नदिएको बताइएको छ । फूल कुमारीको सो जग्गा साहू गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिएकी थिइन ।
गत साउन २ गत्ते जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई पक्राउ गरिएको थियो । तीनै जनाविरुद्ध दर्जन बढी मिटरब्याज र ठगीको उजूरी परेको छ ।
उनीहरुबाट पीडित भएको भन्दै सयौं मिटरब्याज पीडितहरु सो दिनदेखि नै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला अदालत धनुषा अगाडि धर्ना दिँदै आएका छन् । उनीहरुले पक्राउ परेका तीनै जना कुख्यात मिटरब्याजी रहेको आरोप लगाउँदै उच्च स्तरीय सीआईबीद्वारा अनुसन्धान गर्न माग गरेका छन् ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि नेपाल टेलिकमले हेलिकप्टरमार्फत सञ्चार उपकरण तथा आवश्यक सामग्री ढुवानी गरेको छ ।
भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
सञ्चारमन्त्री तिमिल्सिनाले यही साउन ८ गते नेपाल टेलिकमलाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो ।
उनले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै बडीमालिकामा जतिसक्दो छिटो सेवा सञ्चालन गर्न निर्देशन दिएका थिए । निर्देशनपछि मन्त्रालयले नेपाल टेलिकमसँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक पूर्वाधार, उपकरण ढुवानी र जडान प्रक्रियालाई तीव्रता दिएको हो । यसबीच सञ्चारमन्त्री डा तिमिल्सिनाले बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्कासँग समेत छलफल गरी दूरसञ्चार पूर्वाधार जडानका लागि आवश्यक स्थान, स्थानीय सडकको अवस्था तथा स्थानीय तहबाट हुन सक्ने सहयोगका विषयमा जानकारी लिएका थिए । स्थलमार्गबाट उपकरण तथा सामग्री लैजान सम्भव नदेखिएपछि हेलिकप्टरमार्फत ढुवानीको व्यवस्था मिलाउन उनले निर्देशन दिएका हुन् ।
नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माका अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो । टेलिकमले साउन १८ गतेदेखि नै सामग्री बडीमालिका पु¥याउने प्रयास गरे पनि मौसम अनुकूल नभएका कारण उडान हुन नसकेको उनले बताए ।
खराब मौसमका कारण जडानस्थलमा खटाइएको प्राविधिक टोलीसमेत फिर्ता बोलाउनुपरेको थियो ।
मंगलबार हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पु¥याइए पनि त्यहाँबाट जडानस्थलसम्म करिब चार हजार किलोग्राम उपकरण तथा अन्य सामग्री जनशक्तिमार्फत् बोकाएर लैजानुपर्ने अवस्था रहेको निर्देशक शर्माले जानकारी दिनुभयो । उच्च हिमाली क्षेत्रमा उपकरण ढुवानीसँगै जनशक्ति व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।
उहाँका अनुसार सामग्री जडानस्थलसम्म पु¥याउने, उच्च उचाइमा काम गर्न सक्ने जनशक्ति व्यवस्थापन गर्ने तथा स्थानीय तहबाट आवश्यक सहयोग जुटाउने विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको छ । जडानस्थलमा आवश्यक सबै सामग्री पुगेपछि करिब पाँच दिनभित्र साइट सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ ।
नेपाल टेलिकमले यसअघि साउन महिनाभित्रै बडीमालिका क्षेत्रमा सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो । प्रारम्भिक रूपमा साउन ३० गतेभित्र काम सम्पन्न गर्ने तयारी भए पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण निर्धारित समयभन्दा केही ढिलाइ हुने भएको हो । यद्यपि उपकरण जडान र प्राविधिक कामलाई तीव्रता दिएर सकेसम्म छिटो सेवा सञ्चालन गर्ने तयारी टेलिकमले गरेको छ ।
बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको छ । उच्च हिमाली भूभागमा अवस्थित उक्त क्षेत्रमा धार्मिक पर्यटनका साथै आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै गए पनि भरपर्दो टेलिफोन तथा इन्टरनेट सेवा उपलब्ध हुन सकेको थिएन । सञ्चार सेवाको अभावले स्थानीय बासिन्दा, तीर्थयात्री तथा पर्यटकलाई सम्पर्क र सूचना आदानप्रदानमा समस्या हुँदै आएको थियो ।
नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा प्रारम्भिक चरणमा ४जी सेवा सञ्चालन गर्ने तयारी गरेको छ । दुर्गम तथा पर्यटकीय क्षेत्रमा मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार उच्च हिमाली क्षेत्रमा समेत आधुनिक दूरसञ्चार सेवा पु¥याउने काम अघि बढाइएको टेलिकमले जनाएको छ ।
बडीमालिकासँगै सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको नेपाल टेलिकमले जनाएको छ । पर्यटकीय गतिविधि बढिरहेका उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक प्राविधिक तथा भौगोलिक अध्ययन भइरहेको छ ।
यसअघि पनि नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रका केही स्थानमा ४जी सेवा विस्तार गरिसकेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित ल्हान तथा ठूलीभेरी नगरपालिका–१, दुनै क्षेत्रमा समुद्री सतहबाट करिब तीन हजार नौ सय मिटरको उचाइमा ४जी सेवा सञ्चालनमा आइसकेको छ । त्यस्तै, ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटरको उचाइमा समेत ४जी सेवा सुरु भइसकेको छ ।
सरकारले दुर्गम, ग्रामीण तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ । भौगोलिक विकटताका कारण सञ्चार सेवाबाट वञ्चित क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने तथा डिजिटल विभाजन घटाउने उद्देश्यले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच विस्तारलाई तीव्रता दिइएको हो ।
देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि हाल करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार, क्षमता वृद्धि र गुणस्तर सुधारका लागि नेपाल टेलिकमले चालु आर्थिक वर्षमा मात्रै करिब रु छ अर्बभन्दा बढी लगानी गर्ने तयारी गरेको छ ।
आज दुर्लभ खग्रास सूर्यग्रहण लाग्दैछ ।
यो खगोलीय घटना नेपालसहित एसियाका धेरैजसो भागबाट भने देखिने छैन । नासाका अनुसार यो सन् १९९९ पछि मुख्य भूमि युरोपमा देखिने पहिलो पूर्ण सूर्यग्रहण हो । यसको पूर्ण स्वरूप ग्रिनल्यान्ड, आइसल्यान्ड, उत्तरी रुस, आन्ध्र महासागर, स्पेन तथा पोर्चुगलको सानो भू–भागबाट देखिनेछ । पूर्ण खग्रास ग्रहणको मार्गमा झण्डै एक करोड ५० लाख मानिस पर्ने अनुमान छ ।
त्यस्तै, उत्तरी गोलार्धका अन्य धेरै ठाउँबाट आंशिक ग्रहण देखिने भएकाले त्यस क्षेत्रका मानिसले सूर्यको केही भाग चन्द्रमाले ढाकेको दृश्य अवलोकन गर्न सक्नेछन् । पूर्ण ग्रहणको चरणमा चन्द्रमाले सूर्यको उज्यालो भागलाई पूर्ण रूपमा ढाक्नेछ ।
नासाका अनुसार उत्तरी अमेरिकामा ग्रहण बिहानदेखि दिउँसोसम्म देखिनेछ भने युरोप र अफ्रिकामा बेलुकातिर देखिनेछ । पूर्ण ग्रहण देखिने अवधि दुई मिनेटभन्दा कम हुने नासाको अनुमान छ । तर, केही ठाउँमा यो अवधि दुई मिनेटभन्दा केही बढी रहन सक्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दिन संघर्षशील रहनेछ साथै उत्साहमा कमी आउनेछ। नोकरी वा पेशामा प्रतिस्पर्धात्मक चलखेल बढ्नेछ। व्यापार व्यवसायमा तत्काल लाभ नमिले पनि भविष्यको लागि राम्रो जग बसाउन सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
रचनात्मक कार्यहरूमा मन लाग्नेछ। विद्यार्थीहरूको पठनपाठन भन्दा खेलकुदमा अधिक समय बित्नेछ। विशेष कार्यको सम्पादनले मन ढुक्क रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक कारणले मन चिन्तित र असन्तोष जनक रहनेछ। अरुको झै झगडामा आफू अग्रसर नहुनुहोला। सफलताको लागि केही वस्तु त्याग गर्नुपर्ला। राजनीतिक क्षेत्रमा जनता जनार्दनको साथ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको चापबाट फुर्सद पाइनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। अतिथिको रूपमा सम्मान प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बोलिको माध्यमले तारिफ योग्य कार्य सम्पादन गर्न सकिनेछ। मन मिल्दो साथीसँग भेटघाटले मन प्रफुल्लित रहनेछ। साहित्य वा लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतीहरूको लागि समय निकै उत्साहजनक रहनेछ। चलचित्र वा सामाजिक सञ्जालको क्षेत्रबाट विशेष उपलब्धि हात पार्न सकिनेछ। स्वास्थ्य सबल रहनेछ साथै शत्रुहरु परास्त हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
पराक्रमद्वारा अधिकारी स्थापित गर्न सकिनेछ। महत्वकांक्षी योजनाहरूमा सन्तोषजनक परिणाम हाथ नलाग्ला। समयमा कार्य नगर्ने बानीले समस्या निम्त्याउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थितिसँग सम्झौता गरेपनि गरेको कामले आशा जगाउनेछ। माननीय व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयको माँग अनुसार चल्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अवसर आए पनि नयाँ काममा हात हाल्नुभन्दा अघि राम्ररी विचार पुर्याउनुहोला। नोकरी वा पेशामा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समय अनुसार योजना बनाएर कार्य गर्नुभयो भने सफलता हात लाग्नेछ। रोकिएको काम बन्ने वा सेवामूलक कार्यबाट प्रतिष्ठा पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घर परिवारसँग सल्लाह लिएर मात्र कुनै पनि निर्णय लिनुहोला। राज्यपक्ष र प्रशासनिक क्षेत्रबाट लाभ मिल्नेछ। अड्केका कार्य पूरा हुनेछ। खानपान र व्यवहार पक्षमा ध्यान पुर्याउनुहोस्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
ढिला भएको कार्यले गति लिनेछ। नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग मिल्नेछ। घरपरिवारमा मांगलिक कार्यको चर्चा हुनेछ। यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।




