
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा बेपत्ता भएका दुई जनाको खोजीकार्य भने जारी छ।
साउन ३० गते साँझ आएको पहिरोमा परी ७ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका रामबहादुर शाही र भद्रकला कार्कीलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ।
पहिरोमा बेपत्ता चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको छ। उपचारका क्रममा ५२ वर्षीय केदार कार्कीको पनि मृत्यु भएको अस्पतालले जनाएको छ।
हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी तथा उद्धार गरिरहेको छ।
पहिरोका कारण स्थानीय ८ वटा घरमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।




