२०८३ आश्विन २४ गते शनिबार
२०८३ आश्विन २४ गते शनिबार

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना विभिन्न मागहरूका सम्बन्धमा सरकारले उदासीनता देखाएको भन्दै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर बन्द गर्ने घोषणा गरेका छन्।

म्यानपावर कार्यालय मात्रै नभएर म्यानपावर मार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने प्रक्रिया समेत पूर्ण रूपमा रोक्ने सङ्घले जनाएको छ।

सङ्घले यसअघि नै चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्का गरिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त भइसकेका श्रमिकहरूको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि अब भोलिदेखि पूर्ण रूपमा काम–कारोबार ठप्प गर्ने जनाएको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतले आज बेलुका १२ बजेसम्म सबै म्यानपावरलाई प्रक्रिया पूरा भएकाको उडान गर्ने एक साताअघि नै सर्कुलर जारी गरेको बताए । उनले १२ बजेसम्म सबै प्रक्रिया पूरा भएर उडान गर्ने तयारी भएका जानुहुन्छ तर प्रक्रिया पूरा भएको भए पनि भोलीदेखि उडान नहुने बताए।

उनका अनुसार श्रम मन्त्रालयको टोलीसँग शुक्रबा भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागहरूबारे कुनै ठोस सहमति हुन सकेन। मन्त्रालयको टोलीसँग छलफल भए तापनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्यालाई विशेष प्राथमिकता मा नराखेको सङ्घको आरोप छ।

सङ्घका अनुसार भोली देखि काठमाडौँस्थित मुख्य कार्यालय र देशभरका सबै शाखा कार्यालयहरू बन्द, वैदेशिक रोजगारीका लागि गरिने नयाँ विज्ञापन, अन्तर्वार्ता र सम्पूर्ण रिक्रुटिङ प्रक्रिया, पूर्व–निर्धारित सम्पूर्ण श्रमिक उडान र वैदेशिक रोजगारीसँग सम्बन्धित सबै प्रकारका सरकारी र प्रशासनिक काम–कारोबार बन्द हुने छ।

सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा यो आन्दोलन कुनै व्यक्ति वा समूहको लाभ–हानिका लागि नभई समग्र व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रा जायज मागहरूको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म सङ्घर्ष फिर्ता वा स्थगित गरिने छैन ।’ सङ्घले वार्ता र संवादका लागि ढोका खुला रहेको बताए पनि सरकारको ठोस कदम नआएसम्म काममा नफर्कने अडान लिएको छ । सङ्घले आफ्ना सदस्य संस्थाहरूलाई लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्न स्पष्ट निर्देशन दिएको छ।

यदि कसैले सङ्घको निर्णय अवज्ञा गरी काम सुचारु राखेमा त्यस्ता संस्थाको अभिलेख राखी भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग र संरक्षणबाट वञ्चित गरिने र आगामी समीक्षा भेलाबाट कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।

नेपाली कांग्रेसको साविक १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ।

सुकेधारामा सम्पन्न इतर समूहको राष्ट्रिय सम्मेलनले पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सम्पन्न हुने दृढ विश्वास व्यक्त गरेको छ।

महाधिवेशन नभएसम्मका लागि आवश्यक नियमित सांगठनिक क्रियाकलापहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने व्यवस्था मिलाइएको छ।

सम्मेलनले मुलुकको वर्तमान राजनीतिक र सामाजिक परिस्थितिलाई ध्यानमा राख्दै विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।

वि.सं. २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकट समाधानका लागि लिएको मेलमिलाप नीतिको स्मरण गर्दै वर्तमान अप्ठ्यारो स्थितिमा राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि लोकतन्त्रवादी शक्तिहरूसँग निरन्तर संवाद गर्ने निर्णय गरिएको छ।

त्यसैगरी नेपालको सनातन धर्म-संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र व्यक्तिगत धार्मिक स्वतन्त्रताको रक्षा गर्दै हिन्दु, बौद्ध, किरात र प्रकृति पूजक धर्मको संरक्षण गर्ने प्रस्ताव पारित भएको छ।

यसै गरी वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधनका लागि संवैधानिक व्यवस्था अनुसार नै सम्बन्धित सबै पक्षहरूसँग संवाद गरी निकास दिइने जनाइएको छ।

साउन ३० र ३१ गते सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत प्रस्ताव र सुझावहरूलाई परिमार्जनसहित लिखित दस्ताबेजका रूपमा तयार पार्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ।

उक्त समितिमा केन्द्रीय सदस्यहरू उमाकान्त चौधरी र सीता राना रहेका छन् भने सहयोगी सदस्यका रूपमा केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेललाई चयन गरिएको छ।

शनिबार बेलुकी भेरी नगरपालिका–२ रिसाङमा पहिरोमा परेर वेपत्ता भएका तीन जनाको शव फेला परेको छ भने एक जना उपचारकै क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।

त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक(डीएसपी) बुद्धीसागर पुरीले जानकारी दिए । 

पहिरोमा परी ६ जना घाइते भएका छन् । प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । २०८३ साउन ३० गते दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङलगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो। पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन्।

यस्तै, भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३१ गते बिहान ७ः१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्। 

तीन जना डिस्चार्ज

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ ।

घर तथा टहरा पूर्ण रूपमा क्षति

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुईतले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ । घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस नरहेको बताइएको छ।

जोखिमका बीच सुरक्षाकर्मीको उद्धार

पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा परिचालित भएका छन्।

अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको छ। सुरक्षाकर्मी तथा स्थानीय तहले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। 

चार जनाको ज्यान जाने गरी आएको बाढी पहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५०–२०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राख्ने व्यवस्था गरिएको छ। जोखिममा रहेका नागरिकहरूको सुरक्षा तथा उद्धारका लागि प्रसनि प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ।

उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन्।

यी क्षेत्रबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक बासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।

विपद्को समयमा नेपाल प्रहरी नागरिकको सुरक्षा, उद्धार तथा सहयोगका लागि निरन्तर परिचालित रहेको छ। 

रिसाङका पहिरोपीडितलाई राहत सामग्री 

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बाढीपहिरो पीडितका लागि राहत सामग्री पठाएको छ । प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाइएको हो।

पहिरोको जोखिममा रहेका तथा विस्थापित स्थानीयवासीलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित रूपमा राखिएको छ। विद्यालयमा आश्रय लिएका पीडितको स्वास्थ्य परीक्षणसमेत भइरहेको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।

मुख्यमन्त्री मंगलबहादुर शाहीले तत्कालका लागि आवश्यक राहत सामग्री पठाइएको र थप आवश्यकता तथा मागका आधारमा राहत वितरणलाई निरन्तरता दिइने बताए।

प्रहरीका अनुसार रिसाङ क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेका करिब ६०–७० घरपरिवारका १५०–२०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

जोखिममा रहेका नागरिकको उद्धार तथा सुरक्षाका लागि प्रहरी नायब निरीक्षक प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरी परिचालन गरिएको छ। अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।

हालसम्म पहिरोमा परी चार जनाको मृत्यु भएको र छ जना घाइते भएको जनाइएको छ । घटनाका कारण धेरै घरमा क्षति पुगेको छ । यसैबीच, आइतबार बिहान मुख्यमन्त्री शाहीसँग राष्ट्रियसभा सदस्य माया प्रसाद शर्मा, प्रदेशसभा सदस्य वेदराज सिंहलगायतले रिसाङमा भएको जनधनको क्षति, उद्धार तथा राहतका विषयमा छलफल गरेका थिए । सरकारले प्रभावित परिवारको तत्कालीन आवश्यकता पहिचान गरी थप राहत तथा पुनःस्थापनाका काम अघि बढाउने जनाएको छ ।

भेरी करिडोर अझै खुलेन 

भेरी करिडोरको जाजरकोट डोल्पा सडक खण्ड अन्तरर्गत नलगाड नगरपालिका १० र ११ को विचमा रहेको ताक्सुगाडमा भत्किएको सडक अझै सूचारु भएको छैन । सडक पूर्ण रुपमा सञ्चालनमा आउनका लागि कम्तिमा हप्ता दिन लाग्ने भेरी करिडोर योजना प्रमुख नरेश कुमार केसरीले जानकारी दिए । यो सडक जाजरकोट , रुकुम पश्चिम र डोल्पा जोडनका लागि महत्वपूर्ण रहदै आएको छ । 

भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले भारतीय प्रधानसेनापति सेठ काठमाडौं ओर्लिएको पुष्टि गरेका छन्।

प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट नेपाल आउने उच्चस्तरीय भ्रमणमध्ये सेठको भ्रमण अहिलेसम्मकै सबैभन्दा वरिष्ठ तहको हो। भारतीय प्रधानसेनापति बनेपछि उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण सुरु गरेका हुन्।

काठमाडौं बसाइँका क्रममा सेठले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग भेटवार्ता गर्ने तयारी छ। सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुका साथै प्रधानसेनापति सिग्देलसँग दुईपक्षीय सैन्य सहयोग र आपसी हितका विषयमा छलफल गर्ने कार्यक्रमसमेत रहेको छ।

गत जुन ३० मा भारतीय प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका सेठ नेपालका मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ।

नेपाल र भारतबीच भारतीय प्रधानसेनापतिलाई नेपालको तथा नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि चल्दै आएको छ।

यसै परम्पराअनुसार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन्। २७ मंसिर २०८१ मा नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त दर्जा प्रदान गरेकी थिइन्।

 नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाडा अटो शो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताएकी छन् ।

मेलाको अन्तिम दिन आईतवार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् । अध्यक्ष वैद्यकाअनुसार अघिल्लो संस्करणमा करिव १ लाख दर्शकले मेला अवलोकन गरेकोमा यस पटक त्यो सङ्ख्या १ लाख ७५ हजार पुग्ने अनुमान गरिएको बताइन् ।

यो समाचार तयार पार्दासम्म १ लाख ६५ हजार बढीले अवलोकन गरिसकेको बताइन् । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारी साधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । ‘हालसम्म १ लाख ६५ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसक्नुभएको छ । हाम्रो प्रक्षेपणअनुसार यो सङ्ख्या १ लाख ७० देखि ७५ हजारको बीचमा पुग्ने देखिन्छ । गाडी बुकिङको अवस्था अपेक्षाभन्दा निकै राम्रो छ’ उनले भनिन् ।

मेलाको उद्देश्य अनुरुप नै पर्याप्त प्रचार–प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । धेरै ग्राहकले विभिन्न स्टलहरूमा बुकिङ गरेका कारण विक्रीको यकिन तथ्याङ्क केही समयपछि मात्र स्पष्ट हुने उनको भनाइ छ । ‘अहिले नै आधिकारिक तथ्याङ्क दिन गाह्रो भएपनि आगामी एक–डेढ महिनासम्म आयातकर्ता र ब्राण्डहरूका लागि व्यवसाय विस्तार गर्न यसले ठूलो आधार तयार गरेको छ’ उनले भनिन् ।

प्रदर्शनी स्थलको अभावका कारण यस पटक व्यावसायिक सवारी साधन (कमर्सियल भेहिकल) का सबै ब्राण्डहरूलाई समेट्न नसकिएको नाइमाले स्वीकार गरेको छ । यस समस्यालाई सम्बोधन गर्न नाइमाले आगामी दिनमा व्यावसायिक सवारी साधनका लागि छुट्टै ‘एक्स्पो’ आयोजना गर्नेबारे सर्भेक्षण गरी योजना बनाउने जानकारी दिएको छ ।

मेलालाई व्यवस्थित बनाउन बैंकिङ, इन्स्योरेन्स, फूड स्टल र सुरक्षाको उचित प्रवन्ध मिलाइएको थियो । अत्याधिक दर्शकको उपस्थितिका कारण पार्किङमा केही चुनौती देखिए पनि समग्र व्यवस्थापन पक्ष मजबुत रहेको अध्यक्ष वैद्यले दाबी गरिन् । ३–एस (सेल्स, स्पेयर्स पाट्र्स र सर्भिस) को अवधारणा अनुरूप सबै वितरकहरूको उपस्थिति र प्रतिनिधित्वले ग्राहकहरूलाई सहजता प्रदान गरेको नाइमाको ठहर छ ।

जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा बेपत्ता भएका दुई जनाको खोजीकार्य भने जारी छ।

साउन ३० गते साँझ आएको पहिरोमा परी ७ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भीर अवस्थामा रहेका रामबहादुर शाही र भद्रकला कार्कीलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ।

पहिरोमा बेपत्ता चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको छ। उपचारका क्रममा ५२ वर्षीय केदार कार्कीको पनि मृत्यु भएको अस्पतालले जनाएको छ।

हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी तथा उद्धार गरिरहेको छ।

पहिरोका कारण स्थानीय ८ वटा घरमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।