
सरकारले कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रका कर्मचारीहरूको सेवा सुविधामा सुधार गर्दै सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीहरूका लागि सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको बताए ।
यसका साथै माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणी सरह कायम गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग आज मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धिका लागि कार्यसम्पादन सम्झौता गरेका छन् ।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरुले प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् । उनीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो ।
प्रधानमन्त्री शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
साथै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादी, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले पनि प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
कार्यसम्पादन सम्झौता गर्दा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल अस्वस्थता तथा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव संसदमा सहभागी हुनुपरेकाले उपस्थित हुन सकेनन् ।
आजै प्रधानमन्त्री शाहसँग नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हालेर पार्टी अघि बढ्ने बताएका छन् ।
रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आजको छलफललाई संसदीय दलको बैठक नभई संसदमा पार्टीको प्रस्तुतिलगायत विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।
उनले भने, ‘आज यो हाम्रो छलफल हो, संसदीय दलको बैठक होइन । राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कुनै न कुनै विषयमा कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ, त्यस्तो केही छैन ।’
लामिछानेले संसदमा रास्वपाका सांसदहरू कसरी प्रस्तुत भइरहेका छन् भन्ने विषयमा पार्टीभित्र छलफल गरिएको बताए । संसदमा प्रस्तुत हुने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले पार्टीभित्र समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।
उनका अनुसार सरकार, मन्त्रालय र मन्त्रीहरूका विषयमा पार्टी पंक्तिभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि आन्तरिक छलफल गरिएको थियो ।
‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । त्यसअर्थमा संसदमा मर्यादित ढंगले प्रस्तुत हुने, संसदमा उठ्ने विषयवस्तुहरू आम नागरिकको जीवनसँग जोडिएका विषय हुनेलगायत सबै कुरामा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौं ,’ उनले भने ।
यसैगरी प्रधानमन्त्री बालेन शाहसँग सम्बन्ध विग्रीएको चर्चालाई उनले खण्डन गरे । प्रधानमन्त्रीले एक्लै लडिरहेको भनेर लेखेको स्टाटसबारे पनि पत्रकारले सोधेका थिए । लामिछानेले त्यस स्टाटसमा प्रधानमन्त्रीको कवि भावना पोखिएको टिप्पणी गरे ।
उनले भने,‘दुईजनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला, प्रधानमन्त्रीज्यू कवि र कलाकार पनि हो । यत्रो भिडमा पनि म एक्लो महसुस गर्न सक्दिनँ र हरेक शब्दको राजनीतिक अर्थ खोज्न हुँदैन । यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ ।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको विधानलाई आवश्यकताअनुसार परिमार्जन गर्न सात दिनको समयसीमा दिएर कार्यदल गठन गरिएको बताए ।
कार्यदलले तयार पार्ने कार्यविधिले सांसदहरूको सदनमा उपस्थिति, संसदीय मर्यादा, जिम्मेवारीबोध र कानुन निर्माण प्रक्रियामा उनीहरूको भूमिकालाई थप सशक्त तथा जनपक्षीय बनाउने विश्वास गरिएको पराजुलीले बताए ।
पार्टी सभापतिसहित शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थितिमा बसेको बैठकमा सरकारका गतिविधि र मन्त्रालयगत कामकारबाहीबारे पनि विस्तृत छलफल भएको थियो ।
बैठकमा सहभागी मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयबाट भएका प्रगति तथा गतिविधिको विवरण प्रस्तुत गरेका थिए । सांसदहरूले भने आ–आफ्नो निर्वाचन क्षेत्रका समस्या तथा जनस्तरबाट आएका गुनासाबारे जानकारी गराएका थिए ।
सरकारले गरेका कामलाई आम जनतासम्म पुर्याउन देखिएका समस्या तथा सञ्चार समन्वयमा भएका कमजोरीबारे पनि बैठकमा समीक्षा गरिएको थियो ।
उपनेता पराजुलीका अनुसार बजारमा ग्यास आपूर्तिको अवस्था र जनस्तरमा देखिएको अभावबारे समेत बैठकमा छलफल भएको थियो ।
‘गत वैशाखमा २२ लाख सिलिन्डर बजारमा पुगेकोमा साउन महिनामा ४० लाख पुग्दा पनि किन अभाव देखियो भन्ने विषयमा माननीय मन्त्रीज्यूहरूले जानकारी गराइरहनुभएको छ,’ उनले भने ।
सदन र सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले संसदीय दलको बैठक बसेको रास्वपाले जनाएको छ ।
गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का मतदातालाई भोट फिर्ता लैजानोस् भन्ने अभिव्यक्ति ‘जोक’ भएको बताएका छन् ।
बुधबार पार्टी सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएर निस्कने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको उत्तर दिँदै गृहमन्त्री गुरुङले मतदातासँग जोक गरेको बताएका हुन् ।
‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त ?’, सञ्चारकर्मीसँग गुरुङले भने ।
निर्वाचनको बेला गरेको वाचा अनुसार काम नगरेको भन्दै प्रश्न उठेपछि गृहमन्त्री गुरुङले भोट फिर्ता लिन भनेपछि आलोचना भएको थियो ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ ।
बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा उक्त छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गरेका हुन् ।
पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना गरिएको हो ।
छलफलका क्रममा जनताका मुद्दाहरूलाई संसद्मा कसरी प्रभावकारी र मर्यादित ढङ्गले प्रस्तुत गर्ने भन्ने विषयमा पनि विचार–विमर्श जारी छ । संसद्मा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएको बताइएको छ ।
रास्वपाका सांसदहरूले संसदीय समिति र संसद्मा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको भनी बाहिर भइरहेको टिप्पणीलाई मध्यनजर गर्दै पार्टीले आन्तरिक सुधारको प्रयास थालेको हो ।
कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदैछन्।
सुदूरपीश्चम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेका हुन्।
नेपाली कांग्रेसका कमलबहादुर शाहले राजीनामा दिएपछि भट्ट साउन २९ गते एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
भट्टले विश्वासको मत लिएपछि मात्र मन्त्रीमण्डललाई पूर्णता दिने तयारीमा छन्। हाल नेकपा एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।
अब नेकपाको तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। ५३ सदसीय प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ।
नेकपासँग २१ र एमालेका ११ सहित गरी उनीहरुसँग २३ सांसदको समर्थन छ। यस्तै लगातार २० बैठकमा अनुपस्थित भएपछि कांग्रेसका सांसद प्रकाश देउवाको सांसद पद निलम्बन गरिएको छ।
जेनजी आन्दोलनपछि अमेरिका गएका देउवा त्यसयता नफर्किएपछि सभामुख भीमबहादुर भण्डारीले हिजो उनलाई निलम्बन गरेका हुन्।
यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पनि आजै विश्वासको मत लिँदैछन्।
विश्वासको मत लिनकै लागि दिउँसो तीन बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए।
शाहीले मुख्यमन्त्री बनेको २२ दिनपछि विश्वासको मत लिन लागेका हुन्। यद्यपि उनले अहिलेसम्म एकजना पनि मन्त्री नियुक्त गरेका छैनन्।
सत्ता साझेदार एमालेसँग कसले कति मन्त्रालय लिने भन्नेमा कुरा नमिल्दा मन्त्री नियुक्त गर्न नसकिएको नेताहरु बताउँछन्। यसअघि एमालेले चलाइरहेको सरकार नेकपाको हातमा आइपुगेको हो।
सातवटा मन्त्रालय रहेको कर्णालीमा नेकपाले मुख्यमन्त्रीसहित तीन र एमालेले चार मन्त्रालय पाउनुपर्ने भए पनि टुंगिएको छैन।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
दाम्पत्य जीवन सुमधुर रहेनछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ व्यापारमा लगानी लगाउन सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। चिकित्साको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
विद्यार्थीहरूलाई पढाइमा बाधा आउनेछ। वित्तीय वा सहकारी क्षेत्रमा सफलता मिल्नेछ। साँझतिर कुनै शुभ समाचारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मातापिताको साथमा वैचारिक मतभेदका योग छन्। प्रेम सम्बन्ध अगाडि बढ्नेछ। विद्यार्थीहरुको पढाईमा मन लाग्नेछ संगै लोकप्रियता पनि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि वा पशुपालनबाट प्रशस्त लाभ मिल्नेछ। गरिएको कामको थोरै समयमा प्रतिफल प्राप्त हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनीतिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। रोकिएको काम दोहोराएर गर्दा सफलता हात लाग्नेछ। आफ्नो लागि आत्मचिन्तन गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रेम सम्बन्धमा आफ्नो भावनलाई व्यक्त गर्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा आकस्मिक यात्राका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक दायित्वहरू बढ्नेछन् प्रतिस्पर्धामा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। बिशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य प्रणालीमा सुधार गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको भरपूर साथ मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय र नोकरी वा पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
साहित्य वा कलाक्षेत्रमा सफलता मिल्नेछ। धर्मकर्म र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पुराना समस्याहरू समाधान हुनेछन्। करियरमा राम्रो सफलता मिल्नेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू बन्नेछन्। धार्मिक क्रियाकलापमा संलग्न हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। पारिवारमा मनोरञ्जनात्मक माहोलले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
नेपालमा एप्पल लगायत अन्य प्रिमियम ब्रान्डका ग्याजेट बिक्री गर्दै आएको स्टोर ‘ओलीज स्टोर’ कारबाहीमा परेको छ । तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्टोरलाई दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बजार अनुगमनका क्रममा ओलीज स्टोरले उपभोक्ताबाट तोकिएको भन्दा बढी मूल्य असुल गरेको भेटिएकाले कारबाही गरिएको जनाएको छ । कारबाहीमा परेको ओलीज स्टोरको महाराजगञ्जस्थित शाखा हो ।
विभागका अनुसार स्टोरले उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएको छ । ऐनको दफा १६ को उपदफा २ को खण्ड (क) अनुसार तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पुष्टि भएकाले सोही ऐनको दफा ३८ (ङ) को कसुरमा दफा ३९ (१) (ख) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।





