२०८३ भाद्र २६ गते शुक्रबार
२०८३ भाद्र २६ गते शुक्रबार

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा देखिएको ग्यास अभाव र कालोबजारीप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद तामाङले आफूलाई दैनिक हजारौं नागरिकले ग्यास नपाएको गुनासो गर्ने गरेको बताइन् । पसलमा ग्यास हुँदाहुँदै पनि व्यापारीले बिक्री नगरेको गुनासो आउने गरेको उनको भनाइ थियो ।

‘मलाई दिनमा हजारौं कल आउँछन् आशिका दिदी, पसलमा ग्यास छ तर पसलेले ग्यास बेच्न मान्दैनन्,’ उनले भनिन् ।

उनले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर नागरिकलाई दुःख दिने प्रवृत्तिप्रति प्रश्न उठाउँदै सरकारभन्दा माफिया शक्तिशाली भएको हो कि भन्ने आशंका व्यक्त गरिन् ।

‘यो त लासामा सुन छ, कान मेरो बुच्चै जस्तो भएन र सभामुख महोदय ? के यो देशमा सरकारभन्दा ठूलो माफिया नै हो त?’ उनले प्रश्न गर्दै भनिन् ।

ग्यास अभावका कारण पसलमा ग्यास देख्दादेख्दै पनि जनता भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको जवाफ मागिन् । जनताले दुई तिहाइ मत दिएर निर्वाचित गरेका प्रतिनिधिले यस्तो अवस्था हेर्नुपर्ने हो कि होइन भन्ने प्रश्नसमेत उनले उठाइन् ।

यदि वास्तवमै ग्यासको अभाव भएको हो भने सरकारले तत्कालै ग्यास उपलब्ध नभएको औपचारिक घोषणा गर्नुपर्ने उनको भनाइ थियो । त्यस अवस्थामा नागरिकलाई वैकल्पिक रूपमा दाउरा प्रयोग गरेर खाना पकाउन भन्नसमेत सरकार तयार हुनुपर्ने उनले बताइन् ।

‘यदि साँच्चिकै ग्यास छैन भने आजै, अहिले नै ग्यास छैन भनेर सरकारले घोषणा गरिदिनुपर्यो । जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्न सक्नुपर्याे,’ तामाङले भनिन् ।

उनले ग्यासको समस्या समाधान नगरी पटक–पटक मन्त्री परिवर्तन गर्ने प्रवृत्तिप्रति पनि व्यंग्य गरिन् । 

महिनैपिच्छे ग्यासका लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने बताइन् ।

उनले भनिन्, ‘महिनौंपिच्छे ग्यासको लागि मात्र मन्त्रीहरु परिवर्तन गर्दै जााने हो भने ग्यासको लाईन भन्दा मन्त्रीहरुको लाइन बढी हुने छ ।’ 

 नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिल शर्माले आर्थिक अवस्था कमजोर भएका बिरामीका लागि एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका छन्।

शुक्रबार जीपी कोइराला फाउन्डेसनको साधारण सभा (एजीएम) तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा बोल्दै शर्माले यसै वर्ष काठमाडौं मेडिकल कलेज (केएमसी)को दुवाकोट र विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट आर्थिक अभावका कारण उपचार गर्न नसकेका बिरामीको एक हजार वटा मेजर अपरेसन निःशुल्क गर्ने घोषणा गरेका हुन्।

उनले भने, ‘बिरामी नै पुगेन भने त थाहा छैन तर पैसा नभएर आर्थिक रूपमा उपचार गर्न नसक्ने मेजर अपरेसनहरू काठमाडौं मेडिकल कलेजको दुवाकोट र विराटनगरमा नोबेल मेडिकल कलेजमा गरेर एक हजार वटा अपरेसन निःशुल्क गर्ने घोषणा हामी गर्न चाहन्छौँ।’

डा.शर्माले आगामी दिनमा छात्रवृत्तिसम्बन्धी कार्यक्रमसमेत अघि बढाउने तयारी रहेको बताए। त्यसका लागि फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालासँग छलफल गरेर थप घोषणा गर्ने उनको भनाइ छ। शुक्रबार नै कोइरालाले डा.शर्मालाई फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सुम्पेकी थिइन् । 

कार्यक्रममा शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो लामो राजनीतिक तथा व्यक्तिगत सम्बन्ध रहेको स्मरण गरे। आफूले कांग्रेसको साधारण सदस्यतासमेत गिरिजाप्रसाद कोइरालाकै हातबाट हस्ताक्षर गराएर लिएको उनले बताए।

गिरिजाप्रसाद कोइरालाले आफूलाई मेडिकल क्षेत्रमा अघि बढ्न सहयोग गरेको स्मरण गर्दै शर्माले नोबेल मेडिकल कलेजलाई सम्बन्धन दिलाउनसमेत कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए।

गिरिजाप्रसाद कोइरालाले आफूहरूसँग कुनै व्यक्तिगत लाभ नमागी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन सहयोग गरेको शर्माको दाबी थियो। कोइरालाबाट आफूले राजनीतिमा मात्रै नभई व्यवसायिक क्षेत्रमा समेत ठूलो प्रेरणा र सहयोग पाएको उनले बताए।

शर्माले गिरिजाप्रसाद कोइरालाको विरासतलाई निरन्तरता दिन आफूले फाउन्डेसनमार्फत देशका ७७ वटै जिल्लामा विभिन्न गतिविधि विस्तार गर्ने बताए।

शर्माले कांग्रेसभित्र अन्याय र ठुलाबडाको हाबी हुँदा विद्रोह गर्नुपर्ने बीपी कोइरालाको शिक्षालाई आत्मसात् गर्नुपर्ने धारणा पनि राखे।

उनले पार्टी सभापति गगन थापालाई बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक निरन्तरताका रूपमा उल्लेख गर्दै कांग्रेसलाई नयाँ ऊर्जा र उत्साहका साथ अघि बढाउनुपर्ने बताए।

भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको इभीमा आगो लागेको हो ।

दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।

यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो । बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’ नै टुट्यो ।

एक्कासी आएको भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे । एक ठाउँबाट अर्को ठाउँ आवतजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढायो ।

सरकारको योजनालाई दिनरात नभनी नेपाली सेनाले पाँच दिनमा नै ५७.९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ । बिहीबार बेलुकादेखि सबै खालका सवारीसाधन सञ्चालनमा ल्याइएको छ । देवीघाटमा एक्रोब्रिज सञ्चालनमा आएसँगै बाढीले आहात भएका बाढी प्रभावित सर्वसाधारणको मनमा केही हदसम्म भए पनि मल्हमपट्टी लगाउने काम भएको छ ।

नुवाकोटको बेलकोटगढी नगरपालिका–८ जिलिङका सौगात पुडासैनी भोटेकोशी बाढीले मन छियाछिया पारे पनि सरकारले काम थालेको पाँचौँ दिनमा देवीघाटमा पुल तयार पारेर केही हदसम्म भए पनि राहतको महसुस गरेको बताउछन् ।

“भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन धौधौ भइरहेको थियो । आज नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म भए पनि खुसी महसुस भएको छ”, उनले भने, “देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्नै दुईतीन घण्टा लाग्ने गर्थ्यो । तर, अहिले पुल बनेपछि त २५ मिनेटमै घर पुगिन्छ ।”

उनीमात्रै होइन, बेलकोटगढी नगरपालिका–८ ढुङगानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि आफ्नो घरमा पुग्न निकै सहज भएको बताए। “भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो”, उनले भने, “पुल बनेपछि आशा पलाएको छ ।”

नेपाली सेनाका रथी रञ्जित थापाले नेपाली सेनाले दिनरात काम गरेर ७२ घण्टे कार्यअवधिमा नै देवीघाटमा एक्रोबिज्र तयार पारेको बताए । “नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि ५५ जना प्राविधिक दिनरात खटेर कार्यसम्पन्न गरेका छौँ”, उनले भने ।

देवीघाटमा यही भदौ २० गतेदेखि पुल निर्माण सुरु भएको हो । “हामीले काम सुरु गरेको पाँच दिन भए पनि कार्यअवधि भने ७२ घण्टाभन्दा धेरै लागेको छैन”, उनले भने, “यो पुल बनेसँगै सर्वसाधारण तथा सवारीसाधन गुडाउनका लागि धेरै सहज हुने अपेक्षा गरेका छौँ ।”

नेपाली सेनाले प्राविधिक परीक्षण गरेर पुल हस्तान्तरण गरेको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले देवीघाटमा पुल बनेसँगै सर्वसाधारणको जीवनयापनलाई धेरै सहज बनाएको बताए । “नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो । यो पुल बनेसँगै पृथ्वीराज मार्गसँग टुटेको सम्पर्क जोडिएको छ”, उनले भने।

उनले नगरपालिकाको तर्फबाट पनि पुल निर्माणमा आवश्यक समन्वय र सहकार्य गरिएको बताए। नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटले पुल निर्माण गरेको हो ।

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले यसअघि देवीघाटको पुलको ५५ मिटर लम्बाइको ‘बक्सगडर’ बाढीले भत्काएपछि एक्रोब्रिज राख्न सहज भएको बताए । उनले भने, “अहिले थोरै मात्रामा रातोमाटेमा केही कटिङ भइरहेको छ । सो खण्ड पनि आज (शुक्रबार)सम्म मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसक्छौँ ।”

नेपाली सेनाको १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले नेपाली सेनाको रणनीतिक जगेडा पुललाई ल्याएर देवीघाटस्थित तादीखोलामा फिटिङ गरी सञ्चालनमा ल्याएको बताए । “नेपाली सेनाले एक्रोब्रिज गजुरीमा भण्डारण गरेर राखेको थियो । उनले भने, “गजुरीबाट ल्याएर सो पुल फिटिङ गरेर सञ्चालनमा ल्याएका हौँ ।”

नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाले एक्रोब्रिज अमेरिकन प्रविधिमा आधारित भएकाले पनि गुणस्तरीय र धेरै भारवहन क्षमताको रहेको बताए। पुलको भारवाहन क्षमता ६० टन छ ।

कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् ।

यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिनमात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घरघरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ ।

यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आआफ्ना बाबुलाई मन पर्ने मिठाई तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।

मेलाका सबै तयारी गरिएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिनुभयो । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि लाग्ने मेला लाग्छ । बेत्रावतीमा पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । यस वर्ष भोटेकोशी बाढीका कारण बेत्रावतीमा मेला लाग्ने–नलाग्ने निश्चित भएको छैन ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ ।

बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने ‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिनमा थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्वका रूपमा लिइन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।