राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्याय क्षेत्रमा देखिएका विकृति, विसंगति तथा न्यायाधीशहरूसँग जोडिएर सार्वजनिक भइरहेका विवादलाई संसद्मा उठाउने तयारी गरेको छ।

शनिबार बसेको पार्टी सचिवालय बैठकमा न्याय क्षेत्रका समस्यालाई अदालत र सरकारको तहमा मात्रै सीमित नराखी संसदीय प्रक्रियामार्फत सम्बोधन गर्ने विषयमा छलफल भएको हो।
बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले न्याय क्षेत्रसँग सम्बन्धित विवाद र सुधारका विषयमा संसदीय दलमार्फत सांसदहरूलाई आवश्यक निर्देशन दिएर अघि बढ्नेबारे छलफल भएको जानकारी दिए।

उनका अनुसार न्याय क्षेत्रका विवादलाई संस्थागत रूपमा सम्बोधन गर्ने र आवश्यक सुधारका विषयलाई संसदीय छलफलमा लैजानेबारे बैठकमा धारणा राखिएको थियो।









