२०८३ कार्तिक १४ गते शुक्रबार
२०८३ कार्तिक १४ गते शुक्रबार

पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ ।

सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो ।

सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो ।

सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।

यद्यपि तत्कालका लागि अड्किएका ग्यास बुलेट तथा हेभी इक्युपमेन्ट बोकेका सवारीसाधनलाई मात्र आवतजावत गराउन सकिने गरी सडक खुलाइएको हो ।

गत भदौ १० गते आएको त्रिशूली बाढीका कारण कृष्णभीरको सडक कटान हुँदा सडक अवरुद्ध छ ।

नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।

एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी–२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी–२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन् ।

सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो । त्यतिबेला नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए । कप्तान लामिछाने एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन् ।

उनी सन् २०२३ को संस्करणमा पनि उत्कृष्ट खेलाडी चुनिएका थिए । उक्त संस्करणको प्रिमियर कपमा सन्दीपले ५५ रन बनाउनाका साथै १३ विकेट लिएका थिए ।

यसपालि उनले थप उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा छ खेलमा २.९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो ।

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार ‘छापा मार सरकार’ जस्तो देखिएको टिप्पणी गरेका छन्।

आइतबार पार्टी कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफूहरू लामो समयदेखि संघर्ष गर्दै आएको बताए।

उनले भने, ‘मैले देख्दा त अहिलेको सरकार छापा मार सरकार जस्तो देखिन्छ। छापामार एकै लाइनमा होइन है। छापा मार सरकार।’

ओलीले प्रेस तथा पत्रकारिताको विकास लामो संघर्षपछि भएको उल्लेख गर्दै छापा माध्यमलाई पुरानो वा अप्रासंगिक ठान्न नहुने बताए। उनका अनुसार छापा माध्यममा प्रकाशित सामग्री तत्काल मेटाउन नसकिने भएकाले यसको आफ्नै महत्व रहेको छ।

उनले भने, ‘यो छापा पत्रकारिता एउटा लाग्न सक्छ मान्छेलाई कि यो अब आउटडेटेड भयो भनेर। योभन्दा पछि नयाँ सजिला विधि–तरिकाहरू, छिटा–छिटो गर्ने विधि–तरिकाहरू निस्किए होलान्। तर, यो चाहिँ यस्तो एउटा दस्तावेज हो, लेख्ने मान्छेले पनि होसियार भएर लेख्न पर्छ। किनभने यो एकछिनपछि ‘डिलिट गर्छु, अलिकति विरोध आयो डिलिट गर्छु’ भनेर डिलिट हुँदैन यो। यो चाहिँ छापामा बस्छ।’

उनले नेपालमा प्रेस तथा पत्रकारिताको इतिहास संघर्षसँग जोडिएको बताए। राणा शासनको समयमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि पत्रकार, लेखक तथा साहित्यकारहरूले ठूलो जोखिम उठाएको उल्लेख गर्दै ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षलाई निरन्तरता दिनुपर्ने बताए।

उनले भने, एउटा कविता लेख्दाखेरी मान्छे १८ वर्ष जेल थुनिन्थ्यो, शास्त्रका कुरा वाचन गर्दा त्यही शास्त्रको कुरा वाचन गर्दा फाँसी खान्थ्यो। त्यो समयबाट हामी अगाडि बढेका हौँ। संघर्षको बाटो अगाडि बढ्यौँ।’

ओलीले अहिलेको समयसम्म आइपुग्न प्रेस जगतले लामो संघर्ष गरेको बताए। उनले स्वतन्त्रताविरोधी तथा प्रतिगामी कदम लामो समय टिक्न नसक्ने दाबीसमेत गरे।

उनले भने, ‘यो अहिलेको कुरा भनेको जनचेतना जुन स्तरमा पुगेको छ, यसको प्रभाव जहाँ पुगेको छ, यसको ऐतिहासिक महत्त्व मान्छेले जति बुझेका छन्, यस स्थितिमा अब लामो समय रोक्न सकिँदैन।’

उनले सञ्चार क्षेत्रका प्रतिनिधिहरूलाई आफ्नो आवाज निरन्तर उठाउन आग्रह गर्दै एमालेले उनीहरूको मागमा पूर्ण समर्थन गर्ने बताए।

‘त्यसकारण तपाईंहरूको यो आवाज सही छ, यसलाई निरन्तरता राख्नुस्। प्रदीप ज्ञवालीजीले व्याख्यासहित भन्नुभयो, हाम्रो पूर्ण समर्थन छ, हामी साथ दिन्छौँ,’ उनले भने।

ओलीले सञ्चार क्षेत्रको स्वतन्त्रताको सवाल एमालेका लागि पनि महत्वपूर्ण विषय भएको बताए। आफूहरू स्वतन्त्रताको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको उल्लेख गर्दै उनले पत्रकार तथा सञ्चारकर्मीको आन्दोलनमा पार्टीको साथ रहने बताए।

उनले भने, ‘यो तपाईंहरूको मात्रै अहिले तपाईंहरू त्यो जबमा, त्यो पेसामा हुनुहुन्छ त्यसकारण तपाईंहरूलाई सरोकार जस्तो लाग्छ। हाम्रो त उद्देश्य नै त्यही हो, गन्तव्य नै त्यही हो, हाम्रो त कामै त्यही हो, हाम्रो ड्युटी नै त्यही हो।’

ओलीले स्वतन्त्रताको पक्षमा भएको संघर्षमा आफूहरूले जेलनेल, पिटाइ तथा यातनासमेत भोगेको उल्लेख गरे। उनले सञ्चारकर्मीहरूलाई आफ्नो संघर्षमा विश्वस्त भएर अघि बढ्न आग्रह गरे।

उनले भने, ‘हामी लड्या छौँ, हामी जेलनेल खट्या छौँ, हामीले पिटाई–छुटाई खाएका छौँ, यातना भोग्या छौँ स्वतन्त्रताको लडाइँमा।’

उनले सत्यको पक्षमा रहेर अघि बढ्दा अन्ततः सफलता प्राप्त हुने दाबी गरे।

काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।

‘विशेषगरी अर्बन फ्ल्यास फ्लड अहिले ठूलो चुनौती बनेको छ । पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन’, उनले भनिन् ।

उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको छ । विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने उनले बताइन् ।

करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको डंगोलको भनाइ छ ।

उनले काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने बताइन् ।

‘यस समस्याको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । तर अहिले हामीले जेबाट काम सुरु गर्न सक्छौँ, त्यहीँबाट सुरु गरौँ भन्ने उद्देश्यले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउँदैछौँ’, उनले भनिन् ।

अभियानमार्फत वर्षाको पानी संकलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइने उनले बताइन् ।

डंगोलले विगतमा सहरी क्षेत्रमा भएका विकासका कारण सिर्जित समस्या सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘विगत ३० वर्षमा हामीले धेरै कुरा बिगारेका छौँ, अब बिग्रिएका कुरालाई सुधार्दै जानुपर्छ । आज हाम्रा कलाकार साथीहरूले पनि यही महत्वपूर्ण सन्देश दिनुभएको छ’, उनले भनिन् ।

काठमाडौंमा पानी पर्दा नगर प्रहरी, विपद् व्यवस्थापन टोली तथा जनप्रतिनिधिहरूलाई समेत सम्भावित विपद्का लागि तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

‘मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू कुनै विपद् आइपरे फिल्डमा जानुपर्ने भन्दै स्ट्यान्डबाइमा बस्नुपर्छ’, उनले भनिन् ।

डंगोलले अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने बताउँदै काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताइन् ।

पछिल्लो समय वर्षाको पानी परेपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

सरकारले विद्यालय शिक्षालाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी व्यावहारिक, सीपमूलक र रोजगारसँग जोड्ने गरी आगामी शैक्षिकसत्रदेखि देशभर ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ अवधारणा कार्यान्वयन गर्ने तयारी गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि शनिबार सिरहा र सप्तरीका विद्यालयमा आयोजित सुझाव संकलन कार्यक्रममा आगामी शैक्षिकसत्रदेखि नयाँ अवधारणा कार्यान्वयन गर्ने लक्ष्य रहेको बताएका हुन्।

उनका अनुसार बदलिँदो प्रविधि, श्रमबजार र नयाँ पुस्ताको आवश्यकताअनुसार विद्यालय शिक्षा परिमार्जन गर्न लागिएको छ। विद्यार्थीलाई पाठ्यपुस्तकको सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, सीप र जीवनोपयोगी शिक्षासँग जोड्ने सरकारको तयारी छ।

पाठ्यक्रम परिमार्जनका लागि कार्यदल गठन भइसकेको छ। विद्यार्थी, शिक्षक, अभिभावक र अन्य सरोकारवालाबाट प्राप्त सुझावका आधारमा नयाँ पाठ्यक्रम तयार गरिने र त्यसपछि सोहीअनुसार पाठ्यपुस्तक छपाइ प्रक्रिया अघि बढाइने मन्त्री पोखरेलले बताए।

शिक्षामन्त्रीका प्रमुख सल्लाहकार शैलेन्द्र झाले पाठ्यक्रमलाई कार्यान्वयनमुखी बनाउन समुदायस्तरमै पुगेर सुझाव संकलन भइरहेको बताए। पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीका अनुसार गठित कार्यदलले प्राप्त सुझाव अध्ययन गरी आवश्यक संशोधन गर्नेछ।

एआईदेखि साइबर सुरक्षासम्मका सुझाव

सातै प्रदेशमा भएका छलफलमा विद्यालय शिक्षालाई व्यावहारिक, सीपमूलक, प्रविधिमैत्री र रोजगारमुखी बनाउनुपर्ने साझा सुझाव आएको छ। कृत्रिम बौद्धिकता, सूचना प्रविधि, नैतिक शिक्षा, जीवनोपयोगी सीप तथा प्राविधिक र व्यावसायिक शिक्षालाई पाठ्यक्रममा प्रभावकारी रूपमा समेट्नुपर्ने माग गरिएको छ।

विद्यार्थीलाई प्रविधि प्रयोग गर्न जान्ने मात्र नभई प्रविधि विकास गर्न सक्ने क्षमतासमेत निर्माण गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन्।

कोशी प्रदेशमा पाठ्यक्रम पटकपटक परिवर्तन गर्नुभन्दा कार्यान्वयन प्रभावकारी बनाउन र पर्याप्त शिक्षक व्यवस्था गर्नुपर्ने विषय उठेको छ। मधेसबाट नैतिक तथा संस्कृत शिक्षा, एआई, कम्प्युटर प्रविधि, जलवायु परिवर्तन, हरित विद्यालय, प्राविधिक शिक्षा र साइबर सुरक्षालाई समेट्न सुझाव आएको छ।

बागमतीमा पूर्वीय दर्शन, संस्कृत तथा नैतिक शिक्षा, स्थानीय ज्ञान र सीपसँगै सामुदायिक पाठ्यक्रम तथा प्रकृतिमा आधारित सिकाइलाई प्राथमिकता दिन सुझाव दिइएको छ। गण्डकीमा वैज्ञानिक, व्यावहारिक र सीपमा आधारित शिक्षा तथा अपाङ्गतामैत्री मूल्याङ्कन प्रणालीको विषय उठेको छ।

सुदूरपश्चिमबाट कार्यघण्टा घटाउने, मानवमूल्य शिक्षालाई प्राथमिकता दिने र कक्षा १० तथा ११ को विषयवस्तुबीचको खाडल घटाउने सुझाव आएको छ। कर्णालीमा भने आगामी १५ देखि २० वर्षमा मुलुकलाई आवश्यक पर्ने जनशक्ति प्रक्षेपण गरेर त्यसैअनुसार पाठ्यक्रम बनाउन सुझाव दिइएको छ।

पाठ्यक्रम विकास केन्द्रले भदौ २४ गतेदेखि पहिलो चरणमा सातै प्रदेशका २८ जिल्लामा सुझाव संकलन गरिरहेको छ। पहिलो चरण भदौ ३० गतेसम्म चल्नेछ। दोस्रो चरणमा ७७ वटै जिल्लामा पुगेर विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको सुझाव संकलन गर्ने केन्द्रले जनाएको छ ।

हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ । गहुँको रोटी र घिउ खाँदा बर्तालुका लागि अझ आडिलो हुने अनुभव धर्मशास्त्रविद् प्रा. तोयराज नेपालको छ ।

विगत वर्षमा नेपालमा मात्र मनाइने तीजपर्व पछिल्लो समय सञ्चारमाध्यमको प्रचारप्रसारका कारण भारतमा पनि मनाउन थालिएको छ । तीजको गीत भारतीय टेलिभिजन च्यानलमा समेत प्राथमिकताका साथ देखाउन थालिएको छ ।

नीराहार व्रतको अघिल्लो दिन दरको संस्कृति
तीजको व्रत सक्नेले निराहार बस्ने भएकाले आज बर्तालुहरूले शक्ति प्राप्तिका लागि मीठा एवं आडिलो परिकार दरका रूपमा खाई सोमबारको व्रतका लागि पूर्वतयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गर्दछन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल बताउँछन् ।

महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

विकृति बन्दैछ तीजको संस्कृति
पछिल्ला वर्षहरूमा तीजका नाममा उच्छृङ्खलता र तडकभडक बढेको गुनासो सुनिन थालेको छ । एक महिनाअघिदेखि दर खाने, गरगहना एवं पोसाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रूपमा लैजान खोजेको समाजशास्त्री कीर्तिकुमार राई बताउँछन् । व्रत बस्ने शक्तिका लागि भाद्र शुक्ल तृतीयाको अघिल्लो दिन बेलुकी खाइने दर महिनौँ अघिदेखि खानु र व्रतका नाममा खाइने खाद्य पदार्थमा तामसी चिज हुनुले पनि संस्कृतिलाई विकृतितिर लगेको उनी सुनाउँछन् ।

यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने भएकाले पनि विकृति रोकिनुपर्नेमा पनि संस्कृतिविद्, धर्मशास्त्री एवं समाजशास्त्रीहरूले जोड दिएका छन् ।

महिनौँअघिदेखि नै दर खाने चलन पछिल्लो समय बढ्न थाले पनि भाद्र शुक्ल द्वितीयाको बेलुकीको समय शास्त्रीय रूपमा दर खाने दिनका लागि तोकिएको छ । यो दिन तोकिनुको कारण तृतीयाका दिन नीराहार व्रत बस्नकै लागि भएको नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुखसमेत रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।

पछिल्लो समय सरकारी कार्यालयमा समेत एक महिनाअघिदेखि नै तीज कार्यक्रमका नाममा तामझाम हुने गरेको छ । समाजमा सुरु भएको विकृति रोक्नुपर्ने जिम्मेवारी बोकेका सरकारी कार्यालय नै विकृतिका भासमा जाकिएपछि यसले संस्थागत रूप लिँदै गएको छ । संस्कृतिलाई विकृतिका रूपमा लैजान नागरिकको करबाट चलेका संस्था नै अग्रसर हुनु राम्रो नभएको धर्मशास्त्रविद् भट्टराईको तर्क छ ।

दर खाएर सुरु गरिँदै चारदिने तीज
आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवान्को पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यसवर्ष भदौ ३० गते मङ्गलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ ३० गते मङ्गलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

हरितालिका (तीज) पर्वको पौराणिकता
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख गरिएको छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको लाम लाग्ने गर्छ । तीजका अवसरमा महिला पुराना साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्छन् । भेटघाटका क्रममा वर्ष दिनका सुखदुःखका कुरा गर्छन् ।

तीज सुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाउने गरेका छन् । तीज आएसँगै समग्र माहोल नै पर्वमय बन्न पुगेको छ । तीजलगत्तै नेपालीले मनाउने ठूला पर्व बडादशैँ र तिहार नेपालीको घरआँगनमा आउने गर्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।