२०८३ भाद्र २८ गते आईतवार
२०८३ भाद्र २८ गते आईतवार

सिरहामा शिक्षामन्त्री सहभागी कार्यक्रममा भएको के हो ?

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्न मधेशका विभिन्न जिल्लामा भइरहेको कार्यक्रमअन्तर्गत शनिबार सिरहाको औरही नगरपालिकामा आयोजित कार्यक्रममा शिक्षामन्त्री सस्मित पोखरेलको सम्बोधनलाई लिएर विवाद भएको छ ।

पाठ्यक्रम विकास केन्द्रको आयोजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, शिक्षक, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवालाले पाठ्यक्रम परिमार्जनका विषयमा आ–आफ्ना सुझाव राखेका थिए । त्यसपछि औरही नगरपालिकाका मेयर शिवजी यादवले धारणा राखेका थिए ।

मेयर यादवपछि जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोलाई बोल्ने कार्यक्रम रहेको थियो । तर उनलाई बोल्न समय नदिई शिक्षामन्त्री पोखरेललाई सम्बोधनका लागि आग्रह गरिएपछि महतोले आफूलाई बोल्न किन नदिइएको भन्दै प्रश्न उठाएका थिए ।

त्यसक्रममा कार्यक्रममा केहीबेर होहल्ला भएपछि मन्त्री पोखरेलले छोटो सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव यादवले कार्यक्रममा सामान्य विवाद भएपछि मन्त्रीले आफ्नो सम्बोधन छोट्याएर बाहिरिएको बताए । उनले मन्त्रीलाई कार्यक्रमबाट लखेटिएको भन्ने प्रचार गलत भएको दाबी गरे ।

‘मन्त्रीज्यूले छोटो सम्बोधन गर्नुभयो। सामान्य विवाद भएपछि उहाँ सम्बोधन छोट्याएर निस्किनुभएको हो। लखेटिएको होइन,’ उनले भने ।

जिल्ला समन्वय समिति सिरहाका सभापति महतोले भने मन्त्री ढिलो आएका कारण कार्यक्रमको निर्धारित तालिका प्रभावित भएको र आफूहरूलाई धारणा राख्न नदिएपछि विवाद भएको बताए ।

‘तीन घण्टा अगाडि नै कार्यक्रमको सेड्युल बनेको थियो। मन्त्रीज्यू ढिलो आउनुभयो। वक्ताहरूलाई बोल्न नदिएर आफैं बोल्न थालेपछि विवाद भएको हो,’ महतोले भने, ‘विवाद भएपछि मन्त्रीज्यू बोल्दाबोल्दै बीचमै हिँड्नुभयो।’

महतोले आफूलाई धारणा राख्न समय नदिएपछि आफूले त्यसबारे प्रश्न उठाएको बताए ।

कार्यक्रममा रास्वपाका सांसद पुरुषोत्तम यादवसहित शिक्षा क्षेत्रका विभिन्न सरोकारवालाको सहभागिता थियो । शिक्षामन्त्री पोखरेल केही दिनयता मधेशमा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि आवश्यक सुझाव संकलन गर्ने कार्यक्रमहरूमा सहभागी हुँदै आएका छन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।