
बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा सडक स्तरोन्नतिको क्रममा माटोको ढिस्को खस्दा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । भने एक जना गम्भीर घाइते भएका छन् ।
आज बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडकखण्डमा लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा अचानक माथिबाट माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए ।
माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन् । उनीहरूलाई ढिस्कोबाट उद्धार गरी मृत अवस्थामा फेला पारिएको हो ।
घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि बुर्तिबाङ अस्पताल पठाइएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
१० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले फेला पारेर अभिभावकको जिम्मा लगाएको छ।
अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा ६ वर्षको उमेरमा घरबाट हराएका थिए। खोजतलासका क्रममा उनी भारतको नयाँ दिल्लीमा रहेको खुलेपछि नेपाल प्रहरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी उद्धार गरेको हो।
प्रक्रिया पूरा गरी प्रहरीले बालकलाई उनकै अभिभावकको जिम्मा लगाएको छ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी, लोकतन्त्र र मुलुकको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सारेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बन्दसत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक तथा राष्ट्रिय कार्यदिशाको खाका प्रस्तुत गरेका हुन्।
थापाको प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, राजनीतिक उपलब्धि, विगतका कमजोरी तथा पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ। पछिल्ला वर्षमा पार्टीभित्र देखिएको सत्ता–केन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवा पुस्तासँग बढेको दूरीलाई समेत आत्मसमीक्षाको विषय बनाइएको छ।
निर्वाचनमा भएको पराजय तथा पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनबाट प्राप्त उपलब्धि र जनतासामु गरिएका अधुरा प्रतिबद्धताबीचको अन्तर पहिचान गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा औँल्याइएको छ।
त्यस्तै, भदौमा भएको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रम, बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीच बढ्दो दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ तथा विश्वमा भइरहेको तीव्र परिवर्तनलाई वर्तमान राष्ट्रिय परिवेशका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।
प्रतिवेदनले लोकतन्त्रप्रतिको असन्तुष्टि विस्तारै लोकतन्त्रकै अस्वीकारतर्फ जान सक्ने जोखिमप्रति समेत सचेत गराएको छ। लोकरिझ्याइँले वास्तविक जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने भन्दै कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक र समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ।
जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म
थापाले कांग्रेसलाई निर्वाचनका बेला मात्र सक्रिय हुने राजनीतिक दल नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाह गर्दै नागरिकका गुनासा सुन्ने, तथ्य र प्रमाणमा आधारित निष्कर्ष निकाल्ने तथा समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ।
कांग्रेसको भूमिका प्रतिपक्षमा मात्र सीमित नराखी राष्ट्रिय शक्ति तथा लोकतान्त्रिक सन्तुलनको आधारका रूपमा स्थापित गर्नुपर्नेमा पनि जोड दिइएको छ। यसका लागि सामाजिक आन्दोलनका सन्देशलाई संस्थागत रूपान्तरण गर्ने, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थागतकरणमा जोड्ने र सार्वजनिक विश्वास पुनर्निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
पुस्तागत परिवर्तन, नयाँ राजनीतिक नेतृत्वको प्रवेश र नेतृत्व निर्माणलाई कांग्रेसको आगामी महत्वपूर्ण कार्यभारका रूपमा प्रतिवेदनमा प्रस्तुत गरिएको छ।
राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या
प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनव्र्याख्या गर्ने प्रयास गरिएको छ।
राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई कांग्रेसका स्थायी राजनीतिक आदर्शका रूपमा राख्दै तिनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ।
राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ।
यी तीन राजनीतिक आदर्शलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै राष्ट्रिय मेलमिलापलाई असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सारिएको छ।
‘समुन्नत नेपाल’ निर्माणको अवधारणा
थापाको प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष ‘समुन्नत नेपाल’ निर्माणको अवधारणा हो। लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक तथा मानवीय आधारमा समुन्नत नेपाल निर्माण गर्ने दृष्टिकोण प्रतिवेदनमा अघि सारिएको छ। समुन्नतिलाई केवल आर्थिक वृद्धिसँग सीमित नगरी नागरिकको सामथ्र्य, अवसर, सहनिर्माण र जवाफदेहितासँग जोड्नुपर्ने प्रस्ताव गरिएको छ। राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्दै विकासको प्रतिफल नागरिकको जीवनमा प्रत्यक्ष अनुभूति हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
‘कस्तो कांग्रेसरु’ भन्ने प्रश्नको जवाफ
प्रतिवेदनले आगामी कांग्रेसलाई ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ पार्टीका रूपमा विकास गर्नुपर्ने निष्कर्ष अघि सारेको छ। यसका लागि सदस्यता विस्तारसँगै नागरिक सहभागिता र पार्टीभित्र स्वामित्वको भावना बढाउने, तहगत समन्वय सुदृढ गर्ने तथा साझा सामथ्र्यमा आधारित संगठन निर्माण गर्ने प्रस्ताव गरिएको छ।
आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने, अर्थपूर्ण समावेशिता कायम गर्ने, विभिन्न पुस्ताबीच सहकार्य बढाउने तथा राष्ट्रिय सरोकारका विषयमा सामाजिक आन्दोलनको नेतृत्व गर्ने कांग्रेस निर्माणलाई प्राथमिकतामा राखिएको छ।
त्यस्तै, विचार तथा नेतृत्व निर्माणको केन्द्रका रूपमा पार्टीलाई विकास गर्ने, जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धता तय गर्ने तथा पार्टीको वित्तीय प्रणालीलाई स्वच्छ र पारदर्शी बनाउने विषयसमेत प्रतिवेदनमा समेटिएका छन्। थापाले आफ्नो आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका लक्ष्य हासिल गर्ने राजनीतिक योजना अघि सारेका छन्।
प्रतिवेदनको निष्कर्षमा नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पु¥याउने तथा कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यप्रति दृढ अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ।
कांग्रेसको १५औँ महाधिवेशनमा प्रस्तुत थापाको राजनीतिक प्रतिवेदनले पार्टीको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण तथा कांग्रेसको वैचारिक र संगठनात्मक रूपान्तरणसम्मको समग्र खाका अघि सारेको छ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको छ ।
आइतबार एक सूचना जारी गर्दै निर्वाचन समितिले पार्टीको निर्वाचन प्रयोजनका लागि विभिन्न पदहरूको उम्मेदवारी मनोनयन दस्तुर सार्वजनिक गरेको हो ।
समितिले तोकेको विवरण अनुसार उम्मेदवारी मनोनयन दस्तुर सभापति पदका लागि ४० हजार, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि ३० हजार, सहमहामन्त्री पदका लागि २० हजार र केन्द्रीय सदस्य पदका लागि ११ हजार रुपैयाँ रहेको छ ।
यसैगरी, मनोनयन दस्तुर प्रभु बैंकमा रहेको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको खाता नं. ११३००७२६४३६०००२९ मा जम्मा गरी प्राप्त भौचर अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ ।
निरन्तर क्रियाशील सदस्य रहेको सिफारिस, निर्देशिकामा तोकिए बमोजिमको फोटोसहितको परिचयपत्र तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचित प्रमाणपत्र मनोनयन पत्र साथ बुझाउनु पर्नेछ । वारेसमार्फत दर्ता गर्दा वारेसनामा र वारेसको नागरिकताको फोटोकपी अनिवार्य गरिएको छ । साथै, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको फोटोकपी पेश गर्नुपर्ने प्रावधान छ ।
नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि जारी रहेको छ । आज बिहान ७ः३० देखि ९ बजेसम्म भृकुटीमण्डपस्थित ठूलो हलमा महाधिवेशन प्रतिनिधिहरूका लागि बिहानी खाजाको व्यवस्था गरिएको छ । त्यसपछि बिहान सवा ९ बजेबाट तीनवटा हलमा बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्रमा पार्टी सभापतिको प्रतिवेदन पेस गरिनेछ भने त्यसलगत्तै विधान संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गरी विस्तृत छलफल अघि बढाइने जनाइएको छ । विधानमाथिको छलफलपछि दिउँसो साढे ११ बजे प्रतिनिधिको खानाका लागि समय निर्धारण गरिएको छ ।
यसैगरी महाधिवेशनमा विभिन्न पदका लागि दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारी दरखास्त दिने समय तोकिएको छ ।




