सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ।
गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै दाहाललाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी कुरा बारम्बार उल्लंघन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा कारबाही गरिएको हो ।
मन्त्रालयले दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सेवाबाट हटाइएको जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ ।
अबको एक घण्टामै सभापति पदको मतगणना सुरु हुने निर्वाचन समितिका संयोजक प्रेम खड्काले जानकारी दिए ।
सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् ।
अन्य पदका लागि खसेको मतपत्र भने पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिनेछ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ गलौदीमा सडक भासिएपछि शुक्रबार साँझदेखि सवारीसाधन आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि सम्भावित दुर्घटना रोक्न अर्को सूचना जारी नभएसम्मका लागि सवारी आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार अर्को सूचना जारी नभएसम्म सवारी आवागमन बन्द गरिएको हो।
सडक अवरुद्ध भएसँगै राजमार्ग हुँदै काठमाडौँ भित्रिने तथा बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।
उनका अनुसार कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलन आयोजना गरेर अभियानको उद्घाटन गरिनेछ । बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधिसमेत पारित गरेको छ ।
प्रवक्ता ज्वालाले राष्ट्रिय जागरण अभियानमार्फत पार्टीको महाधिवेशनको तयारी, सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणका काम अघि बढाइने बताए । साथै, स्थानीय तह र प्रदेशको निर्वाचनको तयारी पनि अभियानकै क्रममा गरिने उनले जानकारी दिए ।
‘आजको बैठकले अबको दुई महिना राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । आगामी कात्तिक ७ गते बृहत् पत्रकार सम्मेलन गरेर हामी राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्नेछौँ र मंसिर २५ गतेसम्म यो अभियान सञ्चालन हुनेछ,’ ज्वालाले भने ।
उनका अनुसार अभियानको मुख्य उद्देश्य पार्टीको महाधिवेशनको तयारी गर्नु, सदस्यता नवीकरण गर्नु र संगठनलाई थप सुदृढ बनाउनु हो । यसका लागि विभिन्न भेला तथा बैठक आयोजना गरिनेछ ।
नेकपाले राष्ट्रिय जागरण अभियानकै क्रममा सरकारका जनविरोधी क्रियाकलाप र अराजकताविरुद्ध आन्दोलनको तयारीसमेत गर्ने भएको छ ।
प्रवक्ता ज्वालाले स्थानीय तह र प्रदेशको निर्वाचनको तयारीसँगै सरकारविरुद्ध संघर्षका कार्यक्रम अघि बढाउने बताए ।
‘सरकारले गरेका जनविरोधी क्रियाकलापका विरुद्धमा, अराजकताका विरुद्धमा हामीले आन्दोलनको पनि तयारी गर्नुपर्नेछ । हामी यही अभियानमार्फत सरकारका विरुद्ध संघर्षको तयारी पनि गर्छौँ,’ उनले भने ।
बैठकले ‘ग्रे जोन’ पत्रिकामा प्रकाशित लेखका विषयमा सरकारको औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने मागसहित विशेष प्रस्तावसमेत पारित गरेको प्रवक्ता ज्वालाले जानकारी दिए ।
नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत सभापतिका लागि खसेको मतको गणना आजै हुने भएको छ ।
सभापतिका लागि खसेको मतको गणना आजै राष्ट्रिय सभागृहमा हुने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
अन्य पदका लागि खसेको मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपामा लगेर सभापतिको नतिजापछि मात्रै गणना गरिने उनले बताए ।
नेपाली कांग्रेसका निर्विरोध निर्वाचित वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले ६.५० मा खुल्ला मञ्च स्थित तराई मधेस हलमा मतदान गर्दैछन् ।
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दशैँ मनाउन घर फर्किने यात्रुको चहलपहल बढ्न थालेको छ।
दशैँका लागि अग्रिम बस टिकट बुकिङ खुला भएसँगै टिकट काट्न यात्रुहरूको घुइँचो लागेको छ।
रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा काठमाडौंमा बस्दै आएका सर्वसाधारण दशैँ मनाउन आफ्नो गाउँघर फर्किने तयारीमा जुटेका छन्।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा साँझ ४:३० बजेसम्म प्राप्त विवरणअनुसार ४ हजार ५७५ मत खसेको छ।
मतदानका लागि यसअघि तोकिएको समय साँझ ५ बजेलाई बढाएर ७ बजेसम्म पुर्याइएको छ।
साँझ ४:३० बजेसम्मको विवरणअनुसार बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। त्यस्तै, कर्णाली र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ।
कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको विवरण जोड्दा कुल ४ हजार ५७५ मत खसेको छ।
गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत खसेको विवरण प्राप्त भएको छ।
मतदानको समय थपिएसँगै बाँकी प्रतिनिधिले पनि मतदान गर्न पाउने भएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले एक सूचना जारी गर्दै मतदानको समय दुई घण्टा थप गरिएको जानकारी दिएको हो ।
यसअघि प्रकाशित निर्वाचन तालिका अनुसार बिहानदेखि सुरु भएको मतदानको समय दिउँसो ५ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालद्वारा जारी सूचना अनुसार मतदान प्रक्रियालाई सहज बनाउन र सम्पूर्ण प्रतिनिधिहरूलाई मताधिकार प्रयोग गर्ने अवसर सुनिश्चित गर्न समय बढाइएको जनाइएको छ । समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालाहरूलाई संशोधित समय अनुसार मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।
काठमाडौंको बूढानीलकण्ठमा घर भाडामा लिएर सुनको अवैध कारोबार गरिरहेको आरोपमा पक्राउ परेका तीन चिनियाँ नागरिकले योजनाबद्ध रूपमा आफ्नो गतिविधि अघि बढाएको प्रारम्भिक विवरणबाट खुलेको छ। उनीहरूले अमेरिका बस्ने एक व्यक्तिको घरलाई आफ्नो गतिविधिको केन्द्र बनाएका थिए। उक्त घरबाट प्रहरीले २१ किलोभन्दा बढी सुन र सुन प्रशोधनमा प्रयोग हुने विभिन्न उपकरण बरामद गरेको छ।
प्रहरी स्रोतका अनुसार चिनियाँ समूहले बूढानीलकण्ठमा विष्ट थर भएका व्यक्तिको घर गत साउनदेखि भाडामा लिएको थियो। घरको मासिक भाडा ३ लाख ३० हजार रुपैयाँ तय गरिएको थियो। समूहले घरधनीलाई चार महिनाको भाडा एकैपटक अग्रिम भुक्तानी गरेको खुलेको छ।
घर भाडामा लिएर सुनको अवैध कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले बिहीबार छापा मारेको थियो। त्यसक्रममा तीन जना चिनियाँ नागरिक पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट करिब २१ किलो ७५०.६८ ग्राम सुन तथा विभिन्न मेसिन र उपकरण बरामद गरेको जनाएको छ।
प्रहरीको प्रारम्भिक जानकारीअनुसार समूहका एक सदस्य पहिले नेपाल आएका थिए। उनले यहाँको बजार र कारोबारको अवस्था बुझेर चीन फर्किएपछि समूहका अन्य दुई सदस्य नेपाल आएको प्रहरी स्रोतको भनाइ छ। यसले उनीहरू नेपालमा आएर कारोबार सुरु गर्नुअघि नै यहाँको अवस्था बुझ्ने प्रयास गरेको देखाउँछ।
नेपाल आएपछि पनि उनीहरू तीनदेखि चार पटकसम्म विमानस्थल हुँदै आवतजावत गरेको स्रोतले जनाएको छ। उनीहरूको पटकपटकको नेपाल आगमन, घर भाडामा लिएर सञ्चालन गरिएको गतिविधि र बरामद सुनको स्रोतबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. सुनिल कुमार शर्माले मतदान गरेका छन्। महामन्त्री पदका उम्मेदवार शर्माको मतपत्रमा क्रमसंख्या ८ रहेको छ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु हुने भनिएको मतदान एक घण्टा ढिला गरी सुरु भएको हो।
खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन्। बागमती प्रदेशका प्रतिनिधिहरूले भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मतदान गरिरहेका छन्।
नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।