
नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको खुलामञ्चको संरचनाको आफैँले मर्मत गर्ने भएको छ । सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै ऐतिहासिक खुलामञ्च परिसरका संरचनाको मर्मत गर्ने भएको हो ।
असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आयोजित महाधिवेशनका क्रममा पुगेको क्षति पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने सम्झौता गरेको छ । काठमाडौँ महानगरपालिकाको नियम र मापदण्डअनुसार खुलामञ्चलाई पूर्ववत् अवस्थामा फर्काउन कांग्रेसले सेवा प्रदायक संस्था माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिलाई जिम्मेवारी दिएको छ ।
मर्मत सम्बन्धी सम्झौतापत्रमा कांग्रेस महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्माको रोहवरमा कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल र माउन्ट एभरेस्ट इभेन्ट्सका प्रतिनिधि थमन भुषालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महाधिवेशनका क्रममा क्षति पुगेका खुलामञ्चभित्रका सम्पूर्ण भागहरूमा भूमि सम्याएर उच्च गुणस्तरको दुबो घाँस रोप्ने र प्राविधिक रेखदेखसहित त्यसको उचित स्याहार गरिनेछ। यस कार्यका लागि लाग्ने सम्पूर्ण आर्थिक भार तथा लागत नेपाली कांग्रेस स्वयंले बेहोर्ने सहमति भएको दुवालले जानकारी दिए । पुनःस्थापनाका लागि ४५ दिनको समयसीमा निर्धारण गरिएकोमा शुरूआती १५ दिनभित्र दुबो रोप्ने कार्य सम्पन्न गरिनेछ भने बाँकी ३० दिन दुबो हुर्काउने, सिँचाइ गर्ने र पूर्ण रूपमा हराभरा बनाइने छ ।
दुबो रोप्ने एवं स्याहार संरक्षण गर्ने कार्यमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिलाई कांग्रेस केन्द्रीय कार्यालयले स्वयंसेवकको जिम्मेवारी सुम्पिएको छ । यसको संयोजन काठमाडौँ महानगरका सभापति इन्जिनियर सुसन वैद्यले गर्नेछन् । काम पूर्ण रूपमा सम्पन्न भएपछि काठमाडौँ महानगरपालिकाको मापदण्डअनुसार महानगरलाई बुझाउन योग्य अवस्थामा खुलामञ्च परिसर हस्तान्तरण गरिने वैद्यले बताए ।
कूल सम्झौता रकममध्ये ८० प्रतिशत पेश्की उपलब्ध गराइने र बाँकी २० प्रतिशत रकम कार्य सम्पन्न भएपछि प्रदान गरिने वित्तीय सम्झौतापत्रमा उल्लेख छ । सार्वजनिक कार्यक्रम आयोजना गरिसकेपछि सो स्थललाई अझ सुन्दर र व्यवस्थित बनाएर फर्काउने कांग्रेसको यो कदमले नागरिकस्तर तथा वातावरणीय वृत्तमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा(व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेका छन् ।
काठमाडौँ उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किनेक्रम बढेको हो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले दसैँ मनाउनका लागि घटस्थापनादेखि आज बिहानसम्म तीन लाख ४८ हजार ३१४ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।
उनका अनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९ र असोज २९ गते ८५ हजार ५६१ यात्रु काठमाडौँबाट बाहिरिएका छन् । काठमाडौँबाट दशैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै यात्रु बाहिरिएका हुन् ।
दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या परेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोषाध्यक्ष एवं नेपाल माइक्रोबस कम्पनीका अध्यक्ष राजेन्द्र आचार्यले सडक बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भइरहेको बताए।
‘दसैँको समयमा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुग्न तथा काठमाडौँ आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ’, उनले भने।
यही असोज २३ गते अग्रीम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो ।
यस्तै, हालसम्म एक लाख ५३ हजार ७३२ यात्रुले दसैँका लागि अग्रिम टिकट बुकिङ लिएका छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज २३ गते २१ हजार ३००, असोज २४ र २५ गते ७६ हजार ७९, असोज २६ गते १७ हजार १९७ र असोज २७ गते १५ हजार ५५३, असोज २८ गते १८ हजार ५२९ र असोज २९ गते पाँच हजार ७४ यात्रुले अग्रीम टिकट बुकिङ गरेका छन् ।
महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किनेक्रम हरेक वर्ष बढ्ने गरेको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जनाएको छ ।
महानगरपालिकाका अनुसार दसैँको मुख्य दिनका अवसरमा सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने भएकाले उक्त अवधिमा फोहोर व्यवस्थापन प्रभावित हुने भएको हो ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले उक्त अवधिमा घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टाछुट्टै वर्गीकरण गरेर राख्न आग्रह गरेकी छन् ।
‘आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोर जथाभावी रूपमा सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर वा कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,’ उनले भनिन् ।
महानगरपालिकाले कात्तिक १ देखि ४ गतेसम्म उत्पादन हुने फोहोरलाई व्यवस्थित रूपमा राख्न आग्रह गर्दै उक्त अवधिबाहेक अन्य दिनमा भने फोहोर व्यवस्थापन नियमित रूपमा सञ्चालन हुने जनाएको छ ।
रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ ।
बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गरी कानुनी अवस्था निर्धारण गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ । विभिन्न काम तथा भ्रमणका सिलसिलामा रसुवा पुगेका जिल्लाका नागरिकको अवस्था यकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण सङ्कलन तथा प्रमाणीकरण गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबारदेखि ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार काम अघि बढाउने निर्णय गरेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ ।
विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार बिहीबारदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्नेछन् ।
बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य उपलब्ध नभएको अवस्थामा वडाध्यक्षले वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी निवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
वडा समितिले प्राप्त निवेदनमाथि जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्नेछ । उक्त समितिले बेपत्ता व्यक्तिको विवरण यकिन गर्ने निर्णय गर्नेछ ।
स्थानीय तहले प्राप्त निवेदन तथा विवरणमाथि तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ । त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था रहेको अधिकारीले बताए ।
उनका अनुसार नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाउन लागिएको हो ।
सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र अनिवार्य रूपमा पालिकामा पेस गर्नुपर्नेछ । त्यसैगरी, स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ गतेभित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ । स्थानीय तहबाट तोकिएको समयभन्दा अगावै विवरण प्राप्त भएमा कात्तिक १८ गतेअघि नै बाँकी प्रक्रिया अघि बढाइने अधिकारीले बताए ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकका अनुसार भोटेकोशी बाढीपछि जिल्लाका ३७ जना अझै सम्पर्कविहीन छन् । चार जनाको मृत्यु पुष्टि भइसकेको छ भने बाढीपछि बेपत्ता भएका अन्य चार जना परिवारको सम्पर्कमा आएका थिए ।
दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरूको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका अवतारका रूपमा लिइन्छ ।
उनको बाल सौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेछन् । यसैले यिनको नाम कात्यायनी भएको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ ।
कात्यायनीको प्रतिमा लक्षणमा शार्दूल वाहन भएकी, दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प (एक प्रकारको फूल) तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूलठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ । यस्ती देवीको आज विशेष पूजा आराधना गरिन्छ ।
नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।
दोस्रो दिन सोमबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता देवीको पूजा आराधना गरियो ।
छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । कतै भने कुल परम्पराअनुसार विजयादशमीका दिनमामात्र लगाउने प्रचलन पनि छ । शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व धुमधामका साथ मनाउँछन् ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।
नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी, बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
त्यसैगरी, उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।





