मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमा र यादव नियुक्त भएका छन् ।
प्रदेश प्रमुख कार्यालयले विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेको जानकारी गराएको छ । शुक्रबार बेलुका ४ बजेसम्म सरकार गठनका लागि तोकिएको समय अवधिभित्र कुनै पनि दलले दाबी पेश नगरेपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशको सबैभन्दा ठूलो दल लाई नेतृत्व गर्न दिइएको हो ।
नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारी साधनको आवागमन बन्द रहने जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माद्वारा जारी सूचनाअनुसार घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न जोखिमयुक्त ढुङ्गा तथा माटो पन्छाउने कार्य सुरु गर्न लागिएको हो।
प्रशासनले तोकिएको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने भएकाले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न सर्वसाधारण तथा सरोकारवालालाई अनुरोध गरेको छ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्याउनुपर्ने बताएका हुन्।
‘विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ’, उनले लेखेका छन्।
प्रचण्डले शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्रै सीमित नरहेको उल्लेख गर्दै पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु पनि यसको उद्देश्य भएको बताएका छन्।
उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन्।
२०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्षका रूपमा आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको प्रचण्डले स्मरण गरेका छन्।
उनले उक्त सम्झौतालाई दुई पक्षबीचको सहमतिमा मात्रै सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट बनेको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरेका छन्।
शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता उपलब्धि हासिल भएको उनको भनाइ छ।
प्रचण्डले शान्ति प्रक्रियामा योगदान पुर्याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित र आम नेपाली जनताप्रति सम्मानसमेत व्यक्त गरेका छन्।
‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो’, उनले लेखेका छन्।
आज विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिन। २०६३ मंसिर ५ गते आजकै दिन तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस ऐतिहासिक सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको थियो। यस अवसरमा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा मैले हस्ताक्षर गरेका थियौँ। यो केवल दुई पक्षबीचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज थियो।
विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए। नेपालको राजनीतिक इतिहासमा यो सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको छ।
तर शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ।
शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता हो।
म यस ऐतिहासिक अवसरमा शान्ति प्रक्रियामा योगदान पुर्याउने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दछु। साथै, शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई गम्भीरतापूर्वक आग्रह गर्दछु।
शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
मिति : २०८३ मंसिर ५ गते
पुस्पकमल दाहाल प्रचण्ड
संयोजक
नेपाली कम्युनिस्ट पार्टी
राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि भिडन्त आज हुँदैछ ।
कीर्तिपुर मैदानमा साँझ ५ बजे हुने फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् ।
सुदूरपश्चिम दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराएर फाइनल पुगेको हो । लुम्बिनीले भने पहिलो क्वालिफायरमा सुदूरपश्चिम पराजित गर्दै फाइनल पुगेको हो ।
सुदूरपश्चिम लगातार तेस्रो पटक फाइनल पुगेको हो ।
पहिलोमा जनकपुरसँग र दोस्रोमा लुम्बिनीसँग हारेको सुदूरपश्चिम यसपटक च्याम्पियन बन्न चाहन्छ ।
लुम्बिनी गत संस्करणको विजेता टोली पनि हो। लुम्बिनी पनि पुनः उपाधि रक्षा गर्न चाहन्छ ।
सुदूरपश्चिम दिपेन्द्र सिंह ऐरी र लुम्बिनी रोहितकुमार पौडेलको कप्तानीमा मैदान उत्रनेछ ।