२०८३ आश्विन १२ गते सोमबार
२०८३ आश्विन १२ गते सोमबार

रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । उक्त खण्डमा यही भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन सुरु हुनेछ ।

प्रधानमन्त्री वालेन्द्र शाहले यही भदौ १७ गते सङ्घीय संसद्मा सम्बोधनका क्रममा रसुवाको बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताएका थिए । सोहीअनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्रयाक खोल्ने काम सुरु गरेको हो । सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको थियो ।

मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटी (एनजीएस) को सहयोगमा चार दिनसम्म स्थलगत प्राविधिक अध्ययन गरेको थियो । विज्ञहरुले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए ।

“विभागले विज्ञहरुबाट विभिन्न सुझाव लिएर भदौ १९ गतेदेखि रुख कटान सुरु गरेको थियो, कृष्णभीर क्षेत्रमा ३५ मिटर उचाइ र पहाडको भित्रतर्फ २० मिटर खनेर ट्रयाक निर्माण भइसकेको छ”, इन्जिनियर पौडेलले भने । उनका अनुसार सो कार्यमा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेका छन् ।

फलस्वरूप काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन भइसकेका छन् । अहिले पनि बिहान र बेलुकाको समयमा अत्यावश्यक यातायातका साधन सञ्चालन भइरहेका छन् ।

संयोजक पौडेलका अनुसार हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ । “भदौ ३१ गतेसम्म ग्राभेलको काम पूरा हुनेछ । असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ”, उनले भने ।

नयाँ ट्रयाक सञ्चालनमा आएपछि माथिबाट पहिरो वा हिलो–लेदो खसेर पुनः यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई कम गर्नका लागि तयारी भइसकेको छ । माथिबाट पहिरो आएमा तत्कालै हटाउनका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा राखिएका उनको भनाइ छ ।

विभागका अनुसार उक्त स्थानमा पानीसहितको लेदो आएर ग्राभेल बिगार्न सक्ने अवस्थालाई ध्यानमा राख्दै थप ग्राभेल सामग्री मौज्दात राखिएको छ । साथै पहाडभित्रबाट पानीको सिपेज सडकमा आउन सक्ने जोखिम कम गर्न ‘सर्फेस ड्रेनेज’को व्यवस्था गरिएको छ । माटोभित्रबाट आउने पानी सडकको संरचनामा प्रवेश गर्नुअघि उचित निकासमार्फत नालीमा पठाउने व्यवस्था पनि भइरहेको छ ।

कृष्णभीर माथिपट्टी पहाडमा केही चिरा पनि देखिएका छन् । ती चिराबाट पानी भित्र पस्न नदिन आवश्यक तयारी पनि भइरहेको छ । चिरालाई उपलब्ध प्रविधि तथा रासायनिक पदार्थ प्रयोग गरी सिल गर्ने र प्लास्टिकले छोपेर पानी प्रवेश गर्न नदिने उपाय अपनाइनेछ ।

कृष्णभीरको जोखिमलाई मध्यनजर गरी उक्त सडकखण्डको वैकल्पिक मार्गका रूपमा बेनीघाटदेखि फिस्लिङसम्मको करिब २० किलोमिटर खण्डमा ट्रयाक खोल्ने काम पनि अघि बढाइएको छ । उक्त सडकमा यात्रुवाहक सवारीसाधन वैकल्पिक रूपमा सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।

नयाँ ट्रयाकमा रातिको समयमा यात्रा सुरक्षित बनाउनका लागि सडक विभागले स्थानीय तहसँग समन्वय गरी बत्तीको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ । साथै टल्किने स्टिकरलगायतका ट्राफिक सुरक्षा सामग्री पनि राखिनेछन् । हाल निर्माणका क्रममा बिहान करिब ६ देखि ७ बजेको बीचमा र बेलुका ६ देखि ७ बजेको बीचमा सवारीसाधनलाई आवतजावत गर्न दिइँदै आएको छ भने अत्यावश्यक अवस्थामा निर्माण कार्य रोक्दै सवारीसाधनलाई पास गराउने व्यवस्था गरिएको छ । रातिको समयमा भने सडक पूर्ण रूपमा बन्द गरिएको छ ।

यही भदौ १० गते भोटेकोशीमा गएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्‍याएको थियो भने भदौ १४ गते गएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा भोलि शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक बस्ने भएको छ ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।

बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने बताइएको छ ।

रास्वपाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा राजनीतिक दलका शीर्ष नेतृत्वबीच छलफल गरी आवश्यक संयन्त्र निर्माणका लागि पहल गर्ने उद्देश्यले बैठक बोलाएको जनाएको छ ।

बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहनेछ ।

रास्वपाका प्रवक्ता खरेलले सर्वदलीय बैठक भदौ ३१ गते बुधबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा आयोजना गरिएको जानकारी दिएका छन् ।

नेपाली कांग्रेसको अष्ट्रेलिया जनसम्पर्क समितिको अधिवेशनलाई लिएर विवाद चर्किएको छ। संस्थापन कांग्रेसले तोकेको संयोजक र तय गरेको प्रक्रियाअनुसार अधिवेशन गर्ने तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा जनसम्पर्क समिति अष्ट्रेलियाका सभापति सुरेश गुरुङ पक्षले त्यसलाई अस्वीकार गर्दै छुट्टै अधिवेशनको तयारी थालेपछि विवाद सतहमा आएको हो।

संस्थापन नेतृत्वले तोकेको समयमा अधिवेशन गराउन गुरुङले आलटाल गर्दै आएको भन्दै समयमा अधिवेशन नहुने आशंका बढेपछि संस्थापन पक्षले अभिमन्यु केसीलाई जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशन सम्पन्न गराउने जिम्मेवारीसहित संयोजक तोकेको थियो।

संयोजकको जिम्मेवारी पाएपछि केसीले अष्ट्रेलियामा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै निर्वाचन समिति, विधान समिति लगायत आवश्यक संरचना निर्माण र अन्य तयारी अघि बढाएका थिए। यही शनिबार सिड्नीमा अधिवेशन गर्ने तथा आगामी बुधबारदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने विषयमा समेत तयारी र सहमति भइसकेको बताइएको छ।

तर, अधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला सभापति सुरेश गुरुङसहितका केही नेताले संस्थापन कांग्रेसले तोकेको संयोजकलाई स्वीकार नगर्ने अडान लिएपछि शनिबारका लागि तय गरिएको अधिवेशन अन्योलमा परेको छ। गुरुङ पक्षले छुट्टै अधिवेशन गर्ने तयारी अघि बढाउँदै तीन सदस्यीय कार्यदलसमेत गठन गरेको छ।

गुरुङको नेतृत्वमा छुट्टै अधिवेशनको तयारी भइरहँदा गणेश केसी, रोहित खड्का, दिलीप पोखरेल र कृष्ण गिरीलगायतका नेता तथा कार्यकर्ता त्यसको तयारीमा सक्रिय रहेको बताइएको छ।

यता, संस्थापन पक्षले भने केन्द्रबाट विधि र प्रक्रियाअनुसार संयोजक नै तोकेर अधिवेशनको जिम्मेवारी दिइसकेको अवस्थामा समानान्तर रूपमा अर्को अधिवेशनको तयारी गर्नु पार्टीको संस्थागत निर्णयविपरीत भएको दाबी गरेको छ।

संस्थापन पक्षले तोकेको संयोजक अभिमन्यु केसीसहित विभिन्न राज्यका नेपाली कांग्रेसका संयोजकहरू गुरुङ पक्षले गर्न लागेको भनिएको अधिवेशनमा सहभागी नहुने बुझिएको छ।

अष्ट्रेलियास्थित संस्थापन पक्षधर एक नेताले बुलन्द सञ्चारसँग भने, “हाम्रो उद्देश्य पार्टीको विधि, विधान र संस्थागत प्रक्रियालाई सम्मान गर्दै एकताबद्ध रूपमा अधिवेशन सम्पन्न गर्नु हो। जनसम्पर्क समिति अष्ट्रेलियाको अधिवेशन संस्थापन केन्द्रीय नेतृत्वले तोकेकै संयोजकको संयोजकत्वमा भव्य, सभ्य र सफल रूपमा सम्पन्न हुने विश्वास लिएका छौँ।”

उनले गुरुङ पक्षले गठन गरेको कार्यदललाई संस्थापन कांग्रेसको आधिकारिक मान्यता नरहेकोसमेत स्पष्ट पारे।

 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

काठमाडौंबाट हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्ड हुँदै वीरगञ्जतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०७२० नम्बरको भाडाको इभी आज दिउँसो २ः०० बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा चार पुरुषको घटनास्थलमै मृत्यु भएको छ । घाइते दुई पुरुष र दुई महिलामध्ये दुई पुरुष र एक महिलालाई उपचारका लागि काठमाडौं तथा एक महिलालाई हेटौँडा पठाइएको छ । गाडीमा चालकसहित आठ जना सवार थिए ।

मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशनलाई लिएर ७ बुँदे अपिल जारी गरेका छन् ।

पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किरहेका बेला देउवाले नेता–कार्यकर्ता तथा शुभेच्छुकलाई आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

देउवाको ७ बुँदे अपिल

प्रिय साथीहरू,
जय नेपाल।
सर्वप्रथम, हालै भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै, बाढीमा परी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।वेपत्ता भएका व्यक्तिको खोजी र उद्दार कार्यमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गर्दछु।
१. प्राकृतिक विपत्तिको यस कठिन घडीमा कुनै राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाको भेदभाव नगरी खोज, उद्धार, राहत, पुन:स्थापना तथा पुनर्निर्माणका कार्यमा एकजुट भएर जुट्न म सम्पूर्ण नेपालीमा हार्दिक अनुरोध गर्दछु। पार्टीका सबै तहका नेता कार्यकर्तालाई विपतको यस असहज घडीमा आ-आफ्नो ठाउवाट साथ र सहयोगका लागि निर्देश पनि गर्दछु।
साथै, नेपालले सामना गरिरहेको यस महाविपत्तिमा मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय सहयोगी निकायहरू तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि अपिल गर्दछु।
विगतको दशकमा हामीले २०७२ सालको महाभुकम्प र त्यसपछि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ महामारीको समेत समाना गर्नु पर्यो। ती दुवै विपत्तीमा राजनीतिक दल, नागरिक समाज, संचार माध्यम लगायत सबै एक भएर सामाना गर्यौ र विपत्तीबाट बाहिर निस्कन सफल पनि भयौ। म सरकारलाई भोटेकोसी बाढीको महाविपत्ती पछिको पुन:स्थापना र पुनर्निर्माणमा पनि सारा नेपाली एक हुने वातावरण बनाएर अघि बढ्न अनुरोध गर्न चाहन्छु।
साथीहरू,
२. एकातर्फ मुलुक प्राकृतिक विपत्तिका कारण गहिरो शोकमा डुबेको छ भने अर्कोतर्फ मुलुककै अग्रणी राजनीतिक दल नेपाली कांग्रेसभित्र बढ्दो आन्तरिक मतभेदले आम नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको छ। हाम्रा अग्रज नेताहरूको त्याग, बलिदान र संघर्षबाट स्थापित नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, आधुनिक नेपाल निर्माणको प्रमुख आधार स्तम्भ पनि हो। २००७ सालदेखि आजसम्म भएका मुलुकका सबै प्रमुख राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्वदायी तथा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ।नेपाली कांग्रेस स्थापना कालदेखि नै राष्ट्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने अग्रजहरूको त्याग र बलिदानबाट निर्मित पार्टी हो। यसको ऐतिहासिक विरासत कुनै व्यक्तिको महत्वाकांक्षा वा कुनै तत्वको नियोजित षड्यन्त्रबाट निस्तेज हुन सक्दैन। नेपाली कांग्रेससँगै मुलुकमा क्रियाशील अन्य राजनीतिक दलहरूको योगदान र सहकार्यबाट नेपाल आजको अवस्थासम्म आइपुगेकोमा मलाई गर्व छ।
३. मुलुकमा केही भएन भन्नेहरूलाई मेरो एउटा मात्र अनुरोध छ- तीन दशक अघिको नेपाल र आजको नेपालको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, मानव संसाधन विकास, गरिबी न्यूनीकरण तथा नागरिक पहुँचका क्षेत्रमा भएका परिवर्तनलाई तुलनात्मक रूपमा हेरौं।सीमित स्रोत र साधनका बीच पनि यस मुलुकले हासिल गरेको प्रगति स्पष्ट देखिन्छ।विकास, परिवर्तन र उपलब्धिको मूल्याङ्कन गर्ने सबैभन्दा प्रभावकारी आधार तुलनात्मक अध्ययन नै हो। यही दृष्टिकोणबाट विगत ३५ वर्षमा लामो राजनीतिक संक्रमणको अन्त्य गर्दै दलहरुले गरेका कामको वस्तुगत समिक्षा सहित मुलुकलाई हेर्ने प्रयास गरौं। नेपाली कांग्रेस, ने. क. पा. (एमाले), ने.क.पा. (माओवादी) लगायत क्रियाशिल राजनीतिक दलहरुले केही गरेनन् भन्ने प्रश्नको उत्तर पनि त्यहीँबाट प्राप्त हुन्छ।
यसको अर्थ हामीले प्राप्त उपलब्धिमै सन्तुष्ट भएर बस्नुपर्छ भन्ने होइन। अझ धेरै काम गर्न बाँकी छ। जनताको अपेक्षा पूरा गर्न, सुशासन स्थापित गर्न, रोजगारी सिर्जना गर्न, आर्थिक समृद्धि हासिल गर्न र मुलुकलाई विकसित मुलुकमा पुर्‍याउन तथा राज्यप्रतिको नागरिक विश्वास अझ सुदृढ बनाउन नयाँ सोच, नयाँ ऊर्जा र नयाँ प्रतिबद्धतासहित अघि बढ्न आवश्यक छ।तर उपलब्धिको समीक्षा गर्दा इतिहास र यथार्थलाई बिर्सनु हुँदैन।
साथीहरू,
४. आज म यस अपिल मार्फत नेपाली कांग्रेसभित्र देखिएको वर्तमान परिस्थितिका विषयमा आफ्नो धारणा स्पष्ट गर्न चाहन्छु। पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र असमझदारीप्रति म गम्भीर रूपमा चिन्तित छु। पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको देखिन्छ।
पार्टी निर्माणमा लामो समयदेखि योगदान पुर्‍याएका तथा लामो संघर्ष र बलिदानबाट स्थापित भएका नेता तथा बहुसंख्यक सदस्यहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास नेपाली कांग्रेसको हितमा कदापि हुन सक्दैन। न त यसले त्यसरी अघि बढ्न खोज्ने व्यक्तिहरूकै दीर्घकालीन हित सुनिश्चित गर्न सक्छ। अवैधानिक विशेष महाधिवेशन आवश्यकता र त्यसपछि सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले विशेष महाधिवेशन पक्षधर नेतृत्वले गरेको लोकप्रियताको दाबीलाई असत्य सावित गरिसकेको छ।
अवैधानिक विशेष महाधिवेशन किन गरियो भन्ने प्रश्नको जवाफ आजसम्म आम नेता–कार्यकर्ता र नेपाली जनताले पाउन सकेका छैनन्।पार्टीका अनुभवी नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचार गर्दै विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत कुनै पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कांग्रेसलाई कमजोर बनाउने प्रवृत्तिको परिचायक हो।
५. विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्त विपरीतको कार्य हो।सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भले यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न रहेको स्पष्ट पार्छ। एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारेख धाउने र अर्कोतर्फ त्यसको अन्तिम निर्णय नआउँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक तथा कानुनी तथा संवैधानिक दृष्टिले उपयुक्त देखिँदैन।
नेपाली कांग्रेसले विगतमा पार्टीभित्र तथा मुलुकमा देखिएका जटिल समस्याहरूलाई एकता, सहमति र सहकार्यका आधारभूत मान्यतामा अडिएर समाधान गरेको इतिहास छ। कथित विषेश महाधिवेशन पक्षधरहरूले विगतको परम्पराबाट पाठ सिक्न नसकेको मात्र होईन, बरूँ पार्टी भित्र सहमति हुन सक्ने प्रयाप्त सम्भावना हुदा हुदै सहमतिको अवसरलाई लत्याएर बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाइ छ। त्यसैले यस अपिल मार्फत अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु।
६. मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन। देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो।
नेपाली कांग्रेसको विधान र नेपालको संविधान बमोजिम महाधिवेशन गर्ने पर्याप्त समय बाक़ी हुदापनि सहमति वेगर हतारमा कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरि अवैधानिक रूपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुदा मुक दर्शक भएर बस्न सक्ने छैन।
७. तसर्थ नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु।पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दछु।
धन्यवाद।जय नेपाल।
शेरबहादुर देउवा
मिति: २०८३ भदौ ३० गते

नेपाली कांग्रेसको केन्द्रीय सभापतिमा उम्मेदवारी दिन ४० हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने भएको छ ।

कांग्रेसले जारी गरेको ‘निर्वाचन निर्देशिका, २०८३’ ले विभिन्न तहका नेतृत्वका उम्मेदवारका लागि शुल्क निर्धारण गरेको हो ।

निर्देशिकाअनुसार केन्द्रीय सभापतिको उम्मेदवारले उम्मेदवारी दर्ताका क्रममा ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

त्यस्तै, सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ ।

कांग्रेसले महाधिवेशनअन्तर्गत विभिन्न तहका पदमा उम्मेदवारी दिन लाग्ने शुल्कसमेत निर्वाचन निर्देशिकामै तोकेको छ ।

सिद्धार्थ नगरपालिका-८ स्थित नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा तीन वटा ट्यांकरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

मंगलबार नेपाल आयल निगमका ट्यांकरबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्यांकर र एक जनालाई नियन्त्रणमा लिइएको हो।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्यांकरको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको थियो।

सो क्रममा दुईवटा ट्यांकर उक्त स्थानमै फेला परेका थिए भने अर्को एक ट्यांकर घटनास्थलबाट भागि फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो।

नियन्त्रणमा लिइएका तीनवटै ट्यांकर र एक जना व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए । आईतवारको बिदा कसैलाई पनि नचाहिएको उनको भनाइ छ । उनले आईतवारको बिदा खारेज गरी सातामा एक दिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गरे ।

उनले भने, ‘विपद्को समयमा मुस्लिम समुदायले पनि सहयोग गर्ने वातावरण निर्माणमा सहयोग गर्ने सबैमा धन्यावाद भन्न चाहन्छु । र यो आईतवारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँहरूमा यसले नकारात्मक असर पारिरहेको छ । त्यसकारण सरकारले आईतवारको बिदा कटौती गरेर पहिलेकै शनिवारको बिदा कायम गरोस् ।’

सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान दिन आग्रह गरेका छन्।

सभाको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद इन्दिरा राना मगरले विपत्तिमा परेकाहरूका लागि मानसिक स्वास्थ्यको उपचारलगायत अत्यावश्यक विषयको सम्बोधन सरकारले गर्नुपर्ने बताइन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले बाढीमा हराएका व्यक्तिको डिएनको परीक्षणको प्रतिवेदन कहिले आउँछ भन्ने प्रश्न पीडित परिवारबाट आफूहरूलाई प्रश्न आउन थालेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समीक्षा बाँस्कोटाले अस्पतालको बाढीमा परेर घाइते भई अस्पतालको सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यले स्वास्थ्य र सञ्चार क्षेत्रका संहितामाथि गम्भीर प्रश्न खडा गरेको टिप्पणी गरिन्।

नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले भोटेकोशी बाढीमा बेपत्ता रहेका व्यक्तिहरूको पीडा जटिल बन्दै गएकाले खोजीमा तीव्रता दिन आग्रह गरे। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले मोटरसाइकलमा सल बेरिएर मृत्यु भएका महिलाको उदाहरण प्रस्तुत गर्दै यस्ता घटना हुन नदिन सडक सुरक्षालगायत विषयमा ध्यान दिन आग्रह गरे।

नेकपाका सांसद पार्वती विकले सहरमा दलितहरूले कोठा नपाउने समस्यालाई लिएर एक चेली लामो समयदेखि सडकमा रहेकाले यस्ता माग सम्बोधनका कानुन ल्याउन माग गरिन्।

रास्वपाका सांसद मनिष खनालले आफ्नै श्रीमतीलाई समेत हत्या गर्ने प्रवृत्ति देखिएकाले यस्ता घटना किन दोहोरिन्छ भनेर अध्ययन र कडा कारवाही गर्न माग गरे।

सोही पार्टीका सांसद सुनील केसीले मनोहरा खोलामा गए राति आएको बाढीका कारण असुरक्षा भएकाले सचेतना अपनाउन आग्रह गरे। सांसद दीपकुमार साह (महोत्तरी) ले व्यक्ति सम्बन्ध वा सामाजिक विवाद कारण ज्यानै लिने जस्ता घटनामाथि अनुसन्धान र कारबाही गर्न आग्रह गरे।

नेकपा (एमाले) का सांसद गणेशसिंह ठगुन्नाले दैवी प्रकोपका घटनामा स्थानीय तहसँग पर्याप्त नहुने भएकाले राहत र उद्धार कामले तीव्रता पाउन नसकेको बताए।

रास्वपाका सांसद मोहनलाल आचार्यले बाँडेगङ स्थितिबारे ध्यानाकर्षण गराए।

सोही समयमा नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढा, रास्वपाका सांसद गोविन्द पन्थी, नेपालका सांसद गोपाल शर्माले बाढी पहिरो र रोकथामका साथै सडक दुर्घटनाको गम्भीर अवस्थाबारे ध्यान दिन आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले विपत्तिमा परिवारका सदस्य गुमाएका आफन्तलाई पहिचान खुलिसकेका शव तत्काल बुझाउन सरकारसँग माग गरेकी छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गरिन्।

उनका अनुसार जोशीले आफ्नो व्यापार–व्यवसाय र घर मात्रै नभई परिवारका पाँच जना सदस्य—आमा, श्रीमती, दुई छोरा र बुहारी गुमाएका छन्। तीमध्ये एक छोराको शव भेटिए पनि डीएनए रिपोर्ट नआएको भन्दै परिवारलाई शव बुझाउन कठिनाइ भइरहेको उनले बताइन्।

ओलीले भनिन्, ‘उहाँ एक जना होइन, यो अवस्थाबाट गुज्रिरहनुभएको धेरै परिवारहरू हुनुहुन्छ। अब उहाँजस्तो पीडामा भएको मान्छेले कसरी त्यत्रो समय कुर्न सक्नुहुन्छ? राज्यको संवेदनशीलता यहाँ आवश्यक छ।’

प्रहरी अस्पतालमा डीएनएका लागि रगत दिएको १५ दिनभन्दा बढी भइसके पनि रिपोर्ट नआएको जोशीले आफूलाई जानकारी गराएको उनले बताइन्। डीएनएको रिपोर्ट सबैको एकैपटक निकाल्ने र त्यसका लागि तीन–चार महिनासम्म लाग्न सक्ने जानकारी पाएको पनि ओलीले सदनलाई जानकारी गराइन्।

उनले पूर्ण रूपमा पहिचान खुलिसकेका शवको छुट्टै व्यवस्थापन गरी सनाखत तथा मुचुल्का उठाएर तत्काल परिवारलाई जिम्मा दिन सरकारसँग आग्रह गरिन्।

‘कम्तीमा कि त स्पष्ट पहिचान खुलेकाहरूको परिवारलाई जिम्मा दिनुपर्‍यो, होइन डीएनएकै चाहिने हो भने उहाँहरू जस्ताको छुट्टै चाँडै डीएनएको रिपोर्ट आउने व्यवस्थापन गरिदिनुपर्‍यो,’ उनले भनिन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।