कारगारभित्र श्रम गरे कैदमा छुट ।

0
238

३ मंसिर , काठमाडौं  । सर्वोच्च अदालतले कारगारभित्र श्रम गरेबापत कैदीबन्दीले पाउने कैद कट्टीको सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन सरकारका नाममा परमादेश जारी गरेको छ । गोरखापत्रमा समाचार छ । कैदीबन्दीलाई कारगारमा काम लगाइए पनि श्रम गरेअनुसार कैदकट्टीको व्यवस्था नभएको भन्दै दायर रिटमा सर्वोच्चले कारागार नियमावलीको प्रचलित व्यवस्था कार्यान्वयन गर्न परमादेश जारी गरेको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सपना प्रधान मल्लको संयुक्त इजलासले कैदीबन्दीले पाउने सुविधा कार्यान्वयन गर्न आदेश जारी गरेको हो ।

कैदीबन्दीले काम गरे बापतको सुविधाअनुसार कैदकट्टीको सुविधा उपलब्ध गराउन परमादेश जारी भएको निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले बताउनुभयो । लुइँटेलले भन्नुभयो, ‘कारागार नियमावलीको नियम २९–२० को प्रावधान कार्यान्वयन गर्न माग भएको थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि परमादेश जारी भएको छ । ’फैसलाको पूर्णपाठ भने तयार भएको छैन ।

निवेदकले कारागार नियमावलीको कानुनी प्रावधानबमोजिम दिँदै आएको सुविधालाई कटौती गरेको भन्दै उक्त व्यवस्था कार्यान्वयनको माग गर्नुभएको थियो । सरकारले श्रममा लगाएर कैदकट्टीको सुविधा नदिँदा बन्दीको कानुन प्रदत्त अधिकारमा आघात परेकोले रिट जारी गर्न पनि माग गरिएको थियो ।