
काठमाडौँ । मनाङ क्षेत्र नम्बर १ को २ मा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता भदौ १९ गतेदेखि सुरु हुने भएको छ ।
आज निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
आयोगले भदौ १९ देखि २५ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ ।
मनाङ क्षेत्र नम्बर १ (२) बाट गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) ज्यान मुद्दामा कारागार चलान भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुँदैछ ।
सो उपनिर्वाचन प्रयोजनका लागि आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा कार्यालय समयमा दल दर्ताको निवेदन पेश गर्नुपर्ने छ ।
दल दर्ताको लागि निवेदन दिँदा निवेदनमा खुलाउनु पर्ने विवरण तथा पेश गर्नुपर्ने कागजातहरु :
(क) राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची-१२ बमोजिमको ढाँचामा निवेदन,
(ख) दल सम्बन्धी विवरणः राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सञ्जालको खाता,
(ग) दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या,
(घ) पछिल्लो पटक आयोग समक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति ……. र आ.व …….
(ङ) उपनिर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न र उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, (च)आ.व.२०८०/०८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, तर, (१) आर्थिक वर्ष २०८०/८१ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरण समेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन, (२) आर्थिक वर्ष २०८१/८२ मा एकीकरण भई वा गाभिई नयाँ कायम भएका दलले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन,
(छ) आयोगमा दल दर्ताको लागि दिएको निवेदनमा दलको प्रमुख पदाधिकारीको दस्तखत,
(ज) उम्मेद्वारलाई दलको औपचारिक पत्र प्रदान गर्ने तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नंम्बर सहितको दस्तखत नमूना,
(झ) दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा ९४० बमोजिमका शर्तहरु पूरा गरेको र यी शर्तहरू पूरा गर्ने प्रतिबद्धता जनाएको पत्र,
(ञ) दल दर्ताको निवेदन साथ प्रमुख पदाधिकारी वा प्रमुख पदाधिकारीले अधिकार दिएको व्यक्तिले प्रमाणित गरेको आयोगबाट स्वीकृत रुजुसूची (चेकलिष्ट)।
अन्य थप जानकारीको लागि आयोगको सचिवालयमा सम्पर्क गर्न सकिने बताइएको छ ।
काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालयमा धर्ना दिएको छ ।
महासंघ र सरकारबीच विगतमा भएका सहमतिअनुसार शिक्षा विधेयक सच्याउन माग गर्दै महासंघ पहिलो चरणको आन्दोलनअन्तर्गत रास्वपा कार्यालयमा धर्नामा बसेको हो ।
संसदीय समितिबाट पारित भएर प्रतिनिधि सभामा पुगेको शिक्षा विधेयकमा महासंघका मागहरु सम्बोधन गर्न दबाब दिनको लागि आफूहरु आन्दोलनमा उत्रिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
सार्वजनिक शिक्षालाई उन्नत गराउनको लागि शिक्षक कर्मचारी र नेपाल शिक्षक महासंघले राखेका मागहरु सम्बोधन गर्नुको विकल्प नरहेको महासंघले बताएको छ । महासंघले भदौ २० सम्म धर्ना कार्यक्रम जारी राख्नेछ ।
महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिष्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ ।
तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ । विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो ।
विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् ।
काठमाडौं – बहुविवाहको विषयमा विवाद चर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुपन्देही–३ का उम्मेदवार डा. लेखजंग थापाले वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका छन् ।
पार्टीबाट उम्मेदवार चयन भएपछि बहुविवाहको विषय पेचिलो गरेर मिडियामा सार्वजनिक भएपछि थापाले फेसबुकमार्फत् वैवाहिक सम्बन्ध विच्छेदको कागज सार्वजनिक गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो। मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।’
थापाले सार्वजनिक गरेको विवरण जस्ताको तस्तैः
रूपन्देही- ३ मा ९६ वर्षकी मेरी बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।
खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।
प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।
आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।
मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।
एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।
सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।
म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर? रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।
म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।
मेष : धार्मिक र आध्यात्मिक यात्रा वा कार्यमा संलग्न हुने सम्भावना प्रबल छ। भाग्यको साथ रहने दिन भएकाले रोकिएका कार्यहरू अघि बढ्न सक्छन् । पितासँग सम्बन्ध सुधार हुने सम्भावना छ । अध्ययन तथा प्रतियोगिता क्षेत्रका लागि लाभदायक समय छ ।
वृष : स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ । मानसिक तनाव तथा अप्रत्याशित खर्चले दिनलाई केही कठिन बनाउन सक्छ । गोप्य विषयमा रुचि बढ्न सक्छ, तर जोखिमपूर्ण कार्यबाट टाढा रहनु बुद्धिमानी हुनेछ ।
मिथुन : साझेदार वा जीवनसाथीसँग विचार-विमर्श आवश्यक हुन सक्छ । सम्बन्धमा पारदर्शिता जरुरी छ । व्यापारिक साझेदारीमा चनाखो रहनु उपयुक्त हुनेछ । सामाजिक सञ्जालमा सकारात्मक चर्चा हुनसक्छ ।
कर्कट : प्रतिस्पर्धामा विजय प्राप्त हुने दिन हो । स्वास्थ्यमा सुधार आउने संकेत छ । ऋण-समस्या समाधानतर्फ जान सक्छ । व्यावसायिक क्षेत्रमा मेहनतअनुसार फल प्राप्त हुनेछ । न्यायिक मामिलामा प्रगति देखिने योग छ ।
सिंह : सन्तानसुख तथा अध्ययनमा मध्यम फलदायी दिन छ । प्रेमसम्बन्धमा मिश्रित अनुभव हुनसक्छ । सिर्जनात्मक कार्यमा लगाव बढ्नेछ । मनोरञ्जन वा कला क्षेत्रमा समय बिताउन सकिने सम्भावना छ ।
कन्या : गृहसुखमा कमीको अनुभव हुनसक्छ । माताको स्वास्थ्यमा चासो दिनु पर्ने देखिन्छ । भावनात्मक उतार–चढाव रहने भएकाले संयम जरुरी छ । सम्पत्ति वा सवारीसाधनसम्बन्धी निर्णयमा धैर्यता अपनाउनु राम्रो हुनेछ ।
तुला : साहस, आत्मविश्वास र संचार क्षमता उच्च रहनेछ । भाइबहिनीसँग सम्बन्ध प्रगाढ बन्नेछ । नयाँ कार्य सुरु गर्न अनुकूल समय छ । सृजनशीलता र व्यक्तित्व अभिव्यक्तिमा सफल हुन सकिने दिन हो ।
वृश्चिक : वाणी मधुर बनाउनु पर्ने आवश्यकता रहन्छ । परिवारमा सामान्य खटपट हुनसक्छ । आर्थिक विषयमा विचारपूर्वक निर्णय गर्नु उपयुक्त हुनेछ । खानपानमा ध्यान दिनुहोस् । पारिवारिक मूल्यमा ध्यान दिनुपर्ने समय छ ।
धनु : स्वास्थ्य, उत्साह र आत्मबलमा वृद्धि हुनेछ । व्यक्तित्वमा तेज र आकर्षण देखिनेछ । नेतृत्व क्षमता प्रस्फुटन हुनेछ । नयाँ योजना प्रारम्भ गर्न सकिने समय छ । मूल नक्षत्रको प्रभावले परिवर्तनशीलता देखिन सक्ने भएकाले अति उत्साहमा नियन्त्रण गर्नु उचित छ ।
मकर : विदेशसम्बन्धी कार्यमा सफलता मिल्न सक्छ । तर आर्थिक पक्ष कमजोर हुनसक्ने संकेत छन् । निद्रा कम हुने वा मानसिक चञ्चलता बढ्ने सम्भावना छ । खर्चमा नियन्त्रण आवश्यक। शारीरिक थकान रहन सक्छ ।
कुम्भ : लाभका मार्ग खुल्ने दिन हो । आकांक्षा पूरा हुने संकेत छ । सामाजिक र व्यावसायिक सञ्जाल विस्तार हुने सम्भावना छ । मित्र वा सहकर्मीको सहयोग प्राप्त हुनेछ । कुनै विशेष योजना सफल हुनसक्छ ।
मीन : पेशा-व्यवसायमा सम्मान र सफलताको सम्भावना छ । उच्च पदस्थ व्यक्तिसँग भेटघाट वा सहकार्य हुनसक्छ । निर्णयशक्ति बलियो रहनेछ । पिताको मार्गदर्शन लाभदायी हुनेछ । कामको भार बढ्न सक्ने देखिन्छ ।
काठमाडौं । नेपालको ‘ए’ टिमले भारतको आसामविरुद्धको ५ खेलको टी२० सिरिज जितेको छ ।
आज भएको अन्तिम खेलमा नेपालले आसामलाई पराजित गरेको हो । नेपालले दिएको २ सय ८ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ६४ रन मात्रै जोड्न सक्यो ।
यससँगै नपालले यो सिरिज ३–२ ले जित्यो । नेपालले ५ मध्ये तीन खेलमा शानदार जित निकाल्यो ।
यसअघि दुवै टोलीले अघिल्लो दुई दुई खेलमा जित निकालेका थिए । पहिलो खेलमा आसामले नेपाललाई डीएलएस पद्धतिबाट १५ रनले पराजित गरेको थियो ।
नेपालले दोस्रो खेलमा ९६ र तेस्रो खेलमा ९ रनले विजयी भएको थियो । चौथो खेलमा आसाम १८ रनले विजयी भएको थियो ।
नेपालको ‘ए’ टिमले भारतको आसाम टिमसँग ५ खेलको टी–२० सिरिज खेलेको हो ।
काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नम्बर–३ मा हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी) ले उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ । पार्टीको जिल्ला कमिटी रूपन्देहीको भैरहवामा बसेको बैठकले महासचिव घनश्याम भूसालसहित सात जनाको नाम सिफारिस गरेको हो ।
भूसाल यही क्षेत्रमा २०७४ सालमा नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । लुम्बिनी प्रदेश उपाध्यक्ष कमल भण्डारी, रूपन्देही जिल्ला अध्यक्ष हीराध्वज शाह, प्रदेश कमिटी सदस्य आनन्दप्रसाद गुप्ता, आशा चौधरी, थानेश्वर खरेल र रुपन्देही–१ को सहइञ्चार्ज विजयलक्ष्मी रायको नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
जिल्लाले पठाएको नामलाई उम्मेदवार छनोट गर्न बनेको कार्यदलले एक महिलासहित तीनजनाको नाम केन्द्रीय समितिमा सिफारिस गर्नेछ । पार्टीको केन्द्रीय उपमहासचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज मेटमणि चौधरी, केन्द्रीय सचिव तथा प्रदेश सह–इञ्चार्ज सोमप्रसाद पाण्डे, प्रदेश अध्यक्ष अब्दुल हुसेन खाँ, रूपन्देही जिल्ला इञ्चार्ज ई नन्दलाल बन्जाडे र रुपन्देही अध्यक्ष हीराध्वज शाह सदस्य रहेको कार्यदलले तीन जनाको नाम पठाउनेछ ।
कार्यदलले सातै जनासँग छलफल गर्ने र चुनावी रणनीति बुझेपछि मात्रै तीन जनाको नाम सिफारिस गर्ने उपमहासचिव चौधरीेले जानकारी दिए । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ ।
काठमाडौँ । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ ।
तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् ।
समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, ‘हामीलाई सहयोग आवश्यक छ, किनकि यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए ।’
तर अहिलेसम्म कुनै पनि देश र विदेशी संस्थाले उद्धार वा राहतका लागि सहयोगको प्रस्ताव नगरेका अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।
उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । मन्त्रालयका अनुसार ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।
८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नाग्गारहारमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार उद्धारकर्मीहरू पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा पुग्न संघर्ष गरिरहेका छन्, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ । ग्रामिण क्षेत्रमा भूकम्पका कारण माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएकाले जनधनको ठूलो क्षति भएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा जनसंख्याको आधाभन्दा बढी हिस्सलाई तत्काल मानवीय सहायताको खाँचो छ ।
भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजान लगायतका देशले अफगानिस्तानमा भूकम्पका कारण भएको क्षति प्रति दु:ख व्यक्त गरेका छन् ।
जसमध्ये चीनले अफगानिस्तानको आवश्यकताअनुसार र आफ्नो क्षमताभित्र राहत सहयोग गर्न तयार रहेको बताएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न तयारी गरिरहेको उल्लेख गरेका छन् ।
काठमाडौँ । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ ।
बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार ५३३ अर्थात् ८.५, अमेरिकाबँट ६ हजार ६८ अर्थात् ६.८ प्रतिशत, श्रीलङ्काबाट पाँच लाख ९५६ अर्थात् ६.७ प्रतिशत र बङ्गलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाख ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलुकबाट ४७ हजार १३७ पर्यटक अर्थात् ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात् १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात् १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात् २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।
त्यसैगरी, अमेरिकाबाट सात हजार २९३ अर्थात् ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात् १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात् ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।
कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानका क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, “भारतबाट एयर इन्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको सङ्ख्या वृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन वृद्धि हुनेमा आशावादी छौँ ।”
काठमाडौं । विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकले काठमाडौंमा स्कुल बससहितको र्याली निकालेका छन् । प्याब्सन, नेसनल प्याब्सन, हिसान, ओपन र एनएमएले संयुक्तरूपमा काठमाडौं उपत्यकाको चक्रपथ क्षेत्रमा बस र्याली निकालेका हुन् ।
यसअघि, उनीहरूले पाँच बुँदे माग राखेर आन्दोलन घोषणा गरेका थिए । विधेयकबाट निजी शैक्षिक संस्थासम्बन्धी ‘अव्यावहारिक र अन्यायपूर्ण प्रावधान’ हटाउनु पर्ने माग उनीहरूको छ ।
निजी विद्यालय सञ्चालकले विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ शब्द हटाइनुपर्ने, विद्यालयमा उत्पादन नहुने सामग्री (पोसाक, स्टेसनरी, शैक्षिक सामग्री, खाना, खाजा) उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् । यस्तै, कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउँदै लगिने प्रावधान पनि हटाइनुपर्ने माग उनीहरूको छ ।
नेसनल प्याब्सन केन्द्रीय कार्यसमितिका अध्यक्ष सुवास न्यौपानेले २७ किलोमिटर रिङरोडमा स्कुल बस उतारेको जानकारी दिएका छन् । ‘आज पूरै रिङरोडमा स्कुल बस निकालेका छौं’, उनले भने । तर, काठमाडौं उपत्यका ट्राफिक कार्यालयका एसपी दीपक गिरीले निजी विद्यालयको प्रदर्शनले सवारी आवागमनमा खासै असर नपरेको बताएका छन् ।
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा सरकारले कसैमाथि प्रतिशोध नसाधेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा प्रतिशोध साधेको आरोप लागिरहेको बेला उनले त्यसो टिप्पणी गरेका हुन्।
वीरगञ्जमा प्रेस युनियन पर्साले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले रविको नाम उच्चारण नगरे पनि उनीमाथि कटाक्ष भने गरे।
‘७ वटा अदालतका बेञ्चले दोषी भनेर थुनामा जानुभाछ, अनि के भन्नुहुन्छ भने प्रतिशोध भन्नुहुन्छ, देशमा २८ हजारभन्दा बढी मान्छे थुनुवा र कैदी छन्, ती सबैमाथि प्रतिशोध भा हो, सबैका माथि अदालतले गलत निर्णय गरेको हो ?,’ उनले भने, ‘अर्बौं, अर्बौं रुपैयाँको सहकारीमा ठगी भएको छ, लाखमा हैन, करोडमा हैन अरब रुपैयाँको ठगी भएको छ। छानबिन त हुन्छ, मुद्दा अदालत जान्छ, निर्णय अदालतले गर्छ। अदालतको निर्णय आफ्नो पक्षमा हुँदा अदालत गजब हुने, स्वतन्त्र हुने, राम्रो हुने, आफ्नो विरुद्धमा निर्णय भयो भने प्रतिशोध हुन्छ ?’
‘२८ हजार कैदी बन्दीले प्रतिशोध भयो भनेर करायो भने के हुन्छ ?,’ भन्दै उनले प्रश्न गरे।
‘२८ हजार मानिसले एकै पटक प्रतिशोध भयो अदालतले हामीलाई थुन्यो भनेर करायो भने के हुन्छ ? सबैले भन्न पाउँछ होला नि ?’
भिजिट भिसा प्रकरणमा तपाईंमाथि आरोप लागेपछि गृहमन्त्रीको पदबाट राजीनामा किन नदिएको ? भन्ने प्रश्नमा पनि उनले राजीनामा केका लागि दिनुपर्ने ? भनेर प्रतिप्रश्न गरे।
‘केका लागि दिनुपर्ने ? कुनै कार्यालयमा अनियमितता भएको छ भने पनि त्यसको छानबिन भैहाल्छ, अख्तियारले छानबिन गरिरहेको छ, कुनै कार्यालयमा अख्तियारले छानबिन गर्ने बित्तिकै मन्त्रीले राजीनामा दिने हो भने वर्षमा कति जना मन्त्रीले राजीनामा दिनुपर्ला हिसाब गर्नुभएको छ ?,’ गृहमन्त्री लेखकले भने।
आफूले गरेको गल्ती अर्कातिर मोड्ने प्रयास स्वरूप भिजिट भिसाको कुरा उठेको उनको तर्क छ।
‘नियोजित ढंग र राजनीतिक पूर्वाग्रह पूर्ण ढंगले उठाएका विषयहरू, जसमा कुनै आधार छैन, कारण छैन, र मानिसलाई गलत ढंगलाई आक्षेप गर्ने, आरोपित गर्ने, आफूले गरेको गल्ती अर्कातिर मोड्ने प्रयास स्वरूप भिजिट भिसाको कुरा उठेको हो। यसका बारेमा अख्तियारले अनुसन्धान गरिरहेको छ,’ गृहमन्त्री लेखकले भने।
नीतिगत र कानूनी रूपले भिजिट भिषा लगायत सबै किसिमले बाहिर जाने कुरालाई व्यवस्थित गर्ने उनको भनाइ छ।
फरक प्रसंगमा उनले संविधान संशोधन गर्नका लागि छिट्टै सत्तासिन पार्टीहरूले कमिटी गठन गरेर अघि बढाउने जानकारी दिए।





