नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।
अंक तालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम पराजित भएपछि फाइनल पुग्ने दोस्रो अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, चितवनले भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गर्दै सुदूरपश्चिमसँगको भेट पक्का गरेको हो ।

एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको मद्दतमा २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको घातक बलिङसामु १४३ रनमै समेटिएको थियो ।
उत्कृष्ट लयमा देखिएको चितवन सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने दाउमा छ भने सुदूरपश्चिम पहिलो क्वालिफायरको हार बिर्साउँदै उपाधि नजिक पुग्ने लक्ष्यमा मैदान उत्रनेछ ।सुदूरपश्चिम लगातार दुई सिजनको उपविजेता टिम हो ।
पहिलो सिजन जनकपुर बोल्टस र दोस्रो सिजन लुम्बनीनी लायन्ससँग पराजित भएकी सुदूर तेस्रो पटक उपाधि उचाल्ने होडमा छ । चितवन भने पहिलो पटक उपाधि नजिक पुगेको हो ।











