
रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।
आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।
उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ ।
गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार हत्याका मुख्य आरोपी पासवानले आफ्नो शरीरमा आफैंले आगो लगाएको अवस्थामा भेटिएका हुन् ।
माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि आज बिहान करिब साढे ६ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई शरीर जलेर घाइते भएको अवस्थामा फेला पारेको एसपी गिरीले बताए ।
उनले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीको भनाइ छ । उनलाई गम्भीर अवस्थामा फेला पारेको प्रहरीले उपचारका लागि गरुडामा रहेको एक अस्पतालमा पुर्याएको छ ।
काठमाडौं– भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज मनाइँदै छ । आजको दिन व्रतालुले शिव-पार्वतीको विशेष पूजा आराधना गर्दछन् । यसो गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ ।
सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकी कथा छ । त्यसैले आजको दिन निराहार व्रत बसेर विधिपूर्वक शिव पार्वतीको पूरा गरे मनोकामना पूरा हुने विश्वास छ । यही विश्वासका साथ व्रतालुहरूको आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायतका शिवालयहरूमा घुइँचो लागेको छ ।
तीजको अवसरमा महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतका माध्यमबाट सार्वजनिक पनि गर्दछन् । उनीहरू भेला भएर नाचगान गर्दछन् ।
बिहीबार दर खाएपछि औपचारिक रूपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धती सहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।
मेष : आज दाम्पत्य जीवनमा सामञ्जस्यता बढ्नेछ । वैवाहिक वा व्यापारिक साझेदारसँग सम्बन्ध प्रगाढ बन्ने संकेत छन् । प्रेममा समेत विश्वासको वातावरण बन्नेछ । सामाजिक व्यवहार र वार्तामा सौम्यता राख्दा लाभदायी रहन्छ ।
वृष : शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन् । पुराना समस्या समाधान हुँदै जाने संकेत छन् । स्वास्थ्यमा सुधार देखिनेछ । कर्जा वा ऋणसम्बन्धी विषयमा सकारात्मक रूपमा प्रगति हुनेछ । सेवामूलक पेशामा खटिनेहरूलाई सम्मान मिल्नेछ ।
मिथुन : प्रेम सम्बन्धमा केही उतारचढाव देखिन सक्छ । सन्तानको विषयमा चिन्ता हुन सक्छ तर समाधान पनि सम्भव छ । अध्यापन वा सिर्जनात्मक क्षेत्रमा लागेकाले धैर्य र लगनका साथ काम गर्दा सफलता मिल्नेछ ।
कर्कट : गृहसंगठन, माता वा सम्पत्तिसम्बन्धी कुरामा मानसिक तनाव हुन सक्छ । मनमा अलिकति अशान्ति वा असन्तुलन रहने सम्भावना छ । नयाँ गाडी वा जग्गा–सम्पत्ति खरिद गर्नुअघि राम्रो सोचविचार गर्नुहोला ।
सिंह : आज आत्मबल र निर्णयशक्ति उच्च रहनेछ । सानातिना यात्राबाट लाभ मिल्नेछ । दाजुभाइसँग सम्बन्ध मजबुत बन्नेछ । सञ्चार र अभिव्यक्तिको माध्यमबाट अवसर प्राप्त हुने सम्भावना छ । सामाजिक गतिविधिमा सक्रिय रहनुहोला ।
कन्या : व्यक्तित्वमा आकर्षण र तेज देखिनेछ । कार्यमा निखार र आत्मविश्वासको अभिवृद्धि हुनेछ । नयाँ योजनाको शुभारम्भ वा व्यक्तित्व प्रदर्शनका लागि अनुकूल दिन हो । स्वास्थ्य पनि सुदृढ रहनेछ ।
तुला : अनावश्यक खर्चमा वृद्धि, मानसिक थकान र एकान्तप्रतिको आकर्षण रहनेछ । गोप्य शत्रु सक्रिय हुन सक्छन्, सतर्क रहनुहोस् । यात्रामा असुविधा हुन सक्छ, विशेषगरी लामो दूरीको यात्रा हो भने । विश्राम र आत्म-चिन्तन उपयोगी बन्नेछ ।
वृश्चिक : आकांक्षा पूर्तिको संकेत देखिनेछ । सामाजिक सम्बन्ध बलियो बन्नेछन् । आम्दानीका स्रोतमा बृद्धि सम्भव छ । मित्र वा सञ्जालमार्फत नयाँ अवसर प्राप्त हुने योग बलियो छ । सामूहिक काममा सफलता मिल्नेछ ।
धनु : व्यावसायिक क्षेत्र वा सामाजिक प्रतिष्ठामा उन्नतिको दिन हो । उच्च अधिकारीको सहयोग प्राप्त हुन सक्छ । कार्यक्षेत्रमा अग्रसरता देखाउने समय हो । जिम्मेवारी र निर्णयदायित्वको बोझ बढ्न सक्छ, तर परिणाम सन्तोषजनक रहनेछ ।
मकर : धार्मिक चासो, गुरु वा पितासँगको सम्बन्धमा सुधार देखिनेछ । यात्रा गर्ने योजना बन्न सक्छ, तर लाभ पूर्ण रूपले सुनिश्चित नहुन सक्छ । भाग्यले आंशिक साथ दिनेछ, प्रयास र लगनशीलता आवश्यक छ । अध्ययन र शिक्षामा सफलता सम्भव छ ।
कुम्भ : अचानक परिवर्तन, गोप्य चिन्ता वा शारीरिक असजिलो अनुभव हुन सक्छ । दुर्घटना वा अप्रत्याशित बाधाबाट जोगिन सजग रहनुहोस् । आजको दिनमा मौन र आत्मसमीक्षा उपयुक्त हुनेछ । जोखिमयुक्त कार्यहरू आज टार्दा नै राम्रो हुनेछ ।
मीन : वैवाहिक तथा साझेदारीसम्बन्धी विषयहरूमा सन्तुलन कायम हुने दिन हो । प्रेम सम्बन्धमा गहिरो संवाद हुनेछ । व्यावसायिक साझेदारी बलियो बन्न सक्छ । भावनामा बहकिने भन्दा व्यवहारिक दृष्टिकोण अपनाउनु हितकर हुनेछ ।
काठमाडौं । ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय संवैधानिक इजलासले गत असार ४ गते मनाङे सांसद पद खोस्ने फैसला गरेको थियो । फैसलाअनुसार उनी २०८१ साउन २० गतेदेखि नै अयोग्य ठहर भई पदमुक्त भएका हुन् ।
मनाङे उच्च अदालत पाटनले सुनाएको पाँच वर्ष कैद सजाय सर्वोच्चले सदर गरेपछि डिल्लीबजार कारागारमा सजाय भोगिरहेका छन् । सर्वोच्चले उनको अपराधलाई ‘नैतिक पतन हुने फौजदारी कसुर’ मा पर्ने समेत स्पष्ट गरेको छ । अदालतको फैसलासँगै मनाङ प्रदेशसभा २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ ।
हेर्नुस् पूर्णपाठ
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले मुलुकलाई विभाजित गर्ने काम गरेको टिप्पणी गरेका छन् ।
काष्ठमण्डप संवाद समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले मुलुकभित्र राष्ट्रिय सहमति सुनिश्चित नगरीकन गरिएको एमसीसी सम्झौताले मुलुकलाई विभाजित गरेको टिप्पणी गरे ।
कुनै पनि अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा संसद्लाई पूर्व जानकारी दिनुपर्ने व्यवस्था संविधानमा नै उल्लेख गर्नुपर्ने उनको भनाइ छ । उनले अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताहरू सत्ताधारीहरूको लक्ष्य र चलखेलको विषय बन्न दिन नहुने बताए ।
उनले एमसीसी सहयोग परियोजना संघीय संसद्बाट लज्जाजनक विषयले पास गरिएको उल्लेख गर्दै भविष्यमा यस्तो हुन नदिने कुरामा सबै सजग हुनुपर्ने बताए । खनालले एमसीसीलाई गृहकार्य, यथोचित छलफल र सहमति बिना अनुमोदन गरिएको उल्लेख गर्दै यसलाई संस्था वा मुलुकको हकमा पनि लागु गर्न सकिने नजिरको रूपमा लिन नहुनेमा जोड दिए ।
एमसीसी जस्ता सम्झौताहरू मुलुकका लागि घातक हुने उल्लेख गर्दै उनले यस्ता सम्झौता हुनबाट मुलुकलाई हर–ढंगले जोगाउनु पर्ने बताए । संवादका निष्कर्ष सार्वजनिक गर्दै उनले कुनै पनि अन्तर्राष्ट्रिय सम्झौताहरू दबाब र धम्कीमा नभई बराबरीका आधारमा गर्नुपर्ने बताए ।
उनले भने, ‘१३ वटा दस्तावेज त मैले पनि पढेको छु । हरेकमा अमेरिकी स्वार्थलाई ध्यानमा राखी भन्ने वाक्य कहीँ छुटेको छैन । प्रत्येक दस्ताबेजमा अमेरिकी सुरक्षा किन लेख्नु पर्यो, यो अत्यन्त आत्मघाती कुरा छ । यो देशका नेताहरूले राष्ट्रप्रति गरेको भयानक घात हो । सामान्य घात होइन । यो कुरा ती नेताहरूले हेरेका पनि छैनन् ।’
उनले परियोजना कार्यान्वयनमा बजेट पारदर्शी हुनुपर्ने तथा एमसीसीलाई स्वायत्त अधिकार दिन नहुने पनि बताए । खनालले भविष्यमा भूराजनीतिक सन्तुलन, छिमेकी र मित्र राष्ट्रहरूसँगको सम्बन्धमा असर हुने गरी सम्झौता गर्न नहुने बताए ।
उनले एमसीसी परियोेजना अमेरिकी सुरक्षा रणनीतिको अङ्ग भएकाले नेपालको लागि हानिकारक हुनसक्ने चेतावनी समेत दिए । एमसीसी कार्यान्वयनका क्रममा विदेशी कामदारको निगरानी र प्रवेशाज्ञामा स्पष्टता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए ।
रौतहट । रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरकी २६ वर्षीया रुबीकुमारी साहको हत्या गरी सुटकेसमा शव राखी लुकाउन प्रयोग गरिएको ई–रिक्सा चालकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ परेका ई–रिक्सा चालक लक्ष्मण महरा छन् । रुबीको हत्या गर्ने व्यक्तिले शव सुटकेसमा राखेर फाल्न लैजान महराको ई–रिक्सालाई पाँच सय रूपैयाँ भाडामा लिएका थिए ।
सुटकेस लैजाँदै गर्दा मुडलवा गेट नजिक ई–रिक्सा बिग्रिएपछि फिर्ता पठाइ हत्या गर्ने व्यक्तिले सुटकेस सडकमै राखेर भागेको प्रारम्भिक अनुुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । महराले सुटकेसभित्र के सामान छ भन्ने आफूलाई थाहा नभएको बयान दिएका छन् । गौर–गंगापिपरा सडक खण्डको मुडवलवा मोड नजिक सुटकेशमा महिलाको शव फेला परेको थियो ।
गौर नगरपालिका–९ सिर्सिया नजिक गत शनिबार राति डोरीले बेरिएको सुटकेश स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त सुटकेश खोलेर हेर्दा महिलाको शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता राजु कार्कीले बताए । हत्यामा संलग्नको पहिचान भइसकेको रौतहट प्रहरीले दावी गरेको छ ।
‘अनुसन्धान जारी छ । छिट्टै घटनाका सम्बन्धमा सबै कुरा बाहिर ल्याउँछौँ’, प्रहरी अधिकारीले भने, ‘शंका गरिएका व्यक्ति रुबीसँग लामो समयदेखि सम्पर्कमै रहेको देखिन्छ ।’
ती व्यक्ति वैदेशिक रोजगारीबाट फर्किएको र उनले विदेशबाट फर्किदा ल्याएकै सुटकेस रुबीको शव फाल्न प्रयोग गरेको तथ्य प्रहरीले दावी गरेको छ । ‘हामी अनुसन्धानको निष्कर्षतिर पुगेका छौं । हामी छिटै सबै कुरा सार्वजनिक गर्ने अवस्थामा छौँ’, अनुसन्धान अधिकारीले भने ।
रुबीलाई त्यस साँझ बोलाएर हत्या गरेको अनुसन्धान अधिकृतको दाबी छ । शनिबार साँझ केही सामान लिन जान्छु भन्दै गौर गएकी छोरी नफर्किएको उनकी आमा मिथिलादेवीले बताएकी छन् ।
तर त्यसै राति गौर नगरपालिका–९ मुडवलवा गे टनजिक सडकमा बेवारिसे अवस्थामा सुटकेस फेला परेको थियो । रुबीको १३ वर्ष पहिले भारतको मुजफरपुरका शिवसागर सुडीसँग विवाह भएको थियो । घटनापछि रुबीका श्रीमान पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।
रुबी भने केही महिना पहिलेदेखि मात्रै आमासँग डेरा लिएर बस्दै आएकी थिइन् । भारतमा घरबाट विद्यालय टाढा भएकाले छोरा पढाउन उनी यता डेरामा बस्न थालेकी थिइन्। ती शंकित व्यक्तिलाई भेट्नु पहिले उनी ब्युटिपार्लर गएको र छोरालाई जुस ल्याइदिन्छु भनेर फोन गरेको खुलेको प्रहरीको दाबी छ । रातिसम्म पनि घर नफर्किएपछि आमाले खोजी गर्दा उनको मोबाइलमा पहिले फोन उठेन । राति ९ बजेतिर भने स्वीच अफ भएको थियो ।
काठमाडौं । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र–२ मा पनि आउँदो कातिक १७ गते नै उपनिर्वाचनको तयारी गरेको छ । मनाङको प्रदेश सभा क्षेत्र–२ मा स्वतन्त्र निर्वाचित सांसद राजीव गुरुङ ‘दिपक मनाङ्गे’ पदमुक्त भएसँगै आयोगले निर्वाचनको तयारी गरेको हो ।
रूपन्देही प्रतिनिधि सभा क्षेत्र–३ मा कात्तिक १७ मै उपनिर्वाचन गर्नका लागि आयोगले काम अगाढि बढाइसकेको छ । यसै बेला सर्वोच्च अदालतको संवैधानिक इजलासले मनाङ्गेलाई पदमुक्त गरेको आदेशको पूर्णपाठ सार्वजनिक गर्दै पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएपछि आयोगले त्यस क्षेत्रमा पनि उपनिर्वाचन तयारी थालेको हो ।
आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वोच्च अदालतको संवैधानिक इजलासबाट पद रिक्त भएको जानकारी गराउन सरकारलाई आदेश दिएसँगै आयोगले कात्तिक १७ मै उपनिर्वाचन गर्ने तयारी अघि बढाएको जानकारी दिए ।
कार्यवाहक प्रमुख निर्वाच आयुक्त भण्डारीले निर्वाचन आयोगले कम्तिमा ६४ दिन अघि मिति तोकेर निर्वाचन गरेको इतिहास रहको बताउँदै अहिले त्यो भन्दा पनि धेरै दिन बाँकी रहेकाले निर्वाचन गर्न कुनै समस्या नहुने बताए ।
२०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा मनाङे निर्विरोध निर्वाचित भएका थिए । चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको मुद्दामा दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न मनाङ्गे अयोग्य रहेको फैसला गरेको थियो । त्यससँगै मनाङ प्रदेश सभा क्षेत्र २ रिक्त भएको हो ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आवधिक निर्वाचन समयमै गर्ने कुरामा कसैले दायाँ–बायाँ गर्न नसक्ने दावी गरेका छन्। आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले दक्षिण एसियाका धेरै देशहरूमा आवधिक निर्वाचन समयमै नहुने बताए। उनले समयमै आवधिक निर्वाचन हुने कुरालाई नेपालमा कसैले हल्लाउन नसक्ने उनको भनाइ छ।
निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले विधेयकका रुपमा ल्याउँदा निर्वाचन आयोगले पेश गरेका कुराहरू पनि हटाएर ल्याउन सक्ने भन्दै सबै चनाखो हुनुपर्ने बताए । आवश्यकताका आधारमा विधेयकमा थपघट गरेर जान सकिने उनले बताएका छन्।
महामन्त्री थापाले निर्वाचनको उम्मेदवार छनौट गर्ने कुरा जुन ठाउँमा निर्वाचन हुने त्यहीँका पार्टी सदस्यले उम्मेदवार छान्न पाउने कुरा राम्रो भएको बताए। मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेको बताए।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन संघर्ष हुने बताएका छन् ।
आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न आर्थिक उत्पादन विभागको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन नै हुने भएकाले पार्टीले उत्पादनको नीति अगाडि बढाएको स्पष्ट पारे ।
पार्टीका कतिपय नेताहरू दलाल पुँजीवाद, बिचौलिया र चन्दा प्रवृत्तिमा फसिरहेकाले जनतामा पार्टीप्रतिको भरोसा कमजोर बनेको उल्लेख गर्दै प्रचण्डले त्यसलाई तत्काल सच्याउनु पर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘हाम्रो पार्टीका कतिपय नेताहरू शान्ति प्रक्रियामा आइसकेपछि समाजवादी बन्नु पर्नेमा बिचौलिया टाइपका, दलाल टाइपका बनेका कारण त्यस्तो प्रवृत्तिले पार्टीलाई कमजोर बनाइरहेको छ । अब पार्टीका हरेक सदस्यले सोच र शैली दुवैमा आमूल परिवर्तन गर्नैपर्छ ।’
हेटौंडा महाधिवेशनले लिएको ‘युद्ध होइन, उत्पादन संघर्ष’ भन्ने निर्णय कार्यान्वयनमा ल्याउन नसकिएको स्वीकार गर्दै प्रचण्डले अब पार्टीले जनतासँग प्रत्यक्ष जोडिन, समुदायमा फर्किन र उत्पादनलाई प्राथमिकतामा राख्न अभियान चलाउने बताए ।
कृषि, उद्योग, जडीबुटी, पर्यटन जस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र समाजवादको भ्रण हुने बताउँदै सहकारी आन्दोलनलाई पनि जनमुखी र समाजवादी मार्गमा अघि बढाउनुपर्नेमा प्रचण्डले जोड दिए। माओवादी केन्द्र र दलाल, नोकरशाही र बिचौलिया संगै रहन नसक्ने समेत उलने बताए ।
‘दलाल, नोकरशाही र बिचौलियासँग सम्बन्ध राख्नेहरूलाई माओवादी केन्द्रमा धेरै दिन स्थान छैन,’ प्रचण्डले भने, ‘त्यस्ता प्रवृति लामो समय माओवादी पार्टीमा रहिरहन सक्दैन । माओवादी केन्द्र नै नेपालको रुपान्तरणकारी समाजवाद निर्माण गर्ने एक मात्र सम्भावना बोकेको पार्टी हो ।’ उत्पादन विभागको पहिलो बैठकमा पार्टी उपाध्यक्ष बहादुर पुनले विभाग र संयन्त्रको अवधारणा र केन्द्रीय सदस्य सरदसिंह भण्डारीले कार्यविधि प्रस्तुत गरे ।
काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब बढी रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भई १७ खर्ब २३ अर्ब २७ करोड पुगेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । २०८२ असार महिनाको विप्रेषण आप्रवाह एक खर्ब ८९ अर्ब ११ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब १७ अर्ब ७८ करोड रहेको थियो ।
समीक्षा वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।समीक्षा वर्षमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड रहेको थियो ।
समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९५७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३०९ रहेको छ । अघिल्लो वर्ष यस्तो संख्या क्रमशः ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो ।
विदेशी मुद्रा सञ्चिति साढे १९ अर्ब डलर पुग्यो
गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितिमा नयाँ रेकर्ड कायम भएको छ । गत असारसम्म यस्तो सञ्चिति ३१.२ प्रतिशत बढेर २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेको थियो । गत ०८२ असार मसान्तमा २७.७ प्रतिशत वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३०.६ प्रतिशत वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति ०८१ असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा ०८२ असार मसान्तमा ३६.६ प्रतिशत बढेर दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम छ । ०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । ०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ४३.८, १२८.१ र ३४.१ प्रतिशत छन् ।





