पाल्पा । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खहरेको बाढी जस्तै भएको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा आइतबार तानसेन गरेको पत्रकार भेटघाट कार्यक्रम उनले रास्वपाको राजनीति बर्खामा आउने खहरेको बाढी भएको बताए ।
‘एउटा बर्खा नसकिदै खहरेको बाढी सुक्छ, कमिला हिंड्न थाल्छ,’ पौडेलले भने । रास्वपा पनि अब हराउँदै जाने दाबी गर्दै उनले विरोधमा रमाएर राजनीति नगर्न सुझाए । एमाले र कांग्रेस देश र जनताको हितलाई काम गर्ने पार्टी भएको उनले जिकिर गरे । सरकार ढल्छ भनेर सपना नदेख्न भन्दै पौडेलले सरकार सहमति अनुसार नै अगाडि बढेको बताएका छन् ।
‘मुलुकको सुरक्षित भविष्यका लागि दुई ठूला दल मिलेर सरकार बनाएका हौं,’ उनले भने, ‘यही सरकारले मुलुकको भविष्य बनाउँछ । अहिलेको सरकार ढल्नेवाला छैन ।’ अस्थिरताको खोजी गर्ने दिन गएको भन्दै अब नेकपा माओवादी केन्द्रबाट मुलुकलाई अस्थिरतामा लैजान रोकिएको उल्लेख गरे । दृष्टिकोण, एजेण्डा र गन्तब्य नभएका पार्टीले अस्थिरता निम्त्याउन खोजिरहेको समेत पौडेलले दाबी गरे ।
काठमाडौं । ‘गुण्डा नाइके’ राजु गोर्खाली पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । ‘विशेष टोलीले चन्द्रागिरी आसपासबाट पक्राउ गरेको हो,’ प्रहरी उच्च स्रोतले भन्यो । उनीमाथि अनुसन्धान भइरहेको उनले बताए ।
उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ। प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन मिश्री नेपाल आएका हुन् । ओलीलाई ३१ भदौदेखि १ असोजसम्म भारत भ्रमण गर्न भारतीय पक्षले प्रस्ताव गरेको छ। तर, भ्रमणको औपचारिक मिति भने अझै तय भइसकेको छैन । विदेश सचिव मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गरेका छन् ।
विदेश सचिव मिश्रीले राष्ट्रपति, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव लगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। उनी सोमबार स्वदेश फर्किने छन् । मिश्रीको भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख बढीले आवेदन फारम भरेका छन् । रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको ईपीएस कोरिया शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो ।
जसमा एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका ईपीएस शाखाले जानकारी दिएको छ । यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण हुनेछन् । तर आवेदन दिनेमध्ये उत्पादन क्षेत्र र कृषि क्षेत्रको छुट्याउन बाँकी रहेको पनि शाखाले जानकारी दिएको छ ।
नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन् । यस प्रयोजनका लागि योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ ।
यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो । परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ । परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ। आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।
कोरियामा कामदारको माग अनुसार उत्तीर्ण संख्या थपघट हुन सक्ने पनि सूचनामा जानकारी दिइएको छ । भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सिप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा समेत उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फारम भर्न सक्ने छन् । दोस्रो चरणको परीक्षा सम्बन्धी जानकारी प्रथम चरणको परीक्षाको नतिजा प्रकाशनपछि सार्वजनिक गरिनेछ ।
भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै रहने छन् । परीक्षाको नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ । परीक्षार्थी आफूले प्राप्त गरेको नतिजा अंक अनलाइनबाट प्राप्त गर्न सक्ने छन् ।
भाषा परीक्षाको वैद्यता सम्बन्धित नतिजा प्रकाशन भएको २ वर्षसम्म मात्रै रहनेछ । परीक्षामा पढाई सम्बन्धी २० वटा र सुनाई सम्बन्धि २० वटा गरी एक–एक सय पूर्णाङ्कको प्रश्न हुनेछ । २५–२५ मिनेट गरी ५० मिनेटमा परीक्षा सकिनेछ। तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ । परीक्षामा सामेल हुन जाँदा सक्कल राहदानी र प्रवेश पत्र लिएर जानुपर्नेछ ।
काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ ।
यो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो । ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।
भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।
हेर्नुस् कसको कति ब्याजदर ?

रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा मेला उद्घाटन गर्ने विषयलाई लिएर दोहोरो झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँच जना घाइते भएका छन् ।
शनिवार दिउँसो देवाहीगोनाही-९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा लाग्ने श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख कानुसहित पाँच जना घाइते भएका हुन ।
झडपमा नगरप्रमुख कानु, देवाहीगोनाही-९ का रामविकाश साह, सोहीटोलका श्यामविनय साह, इलाका प्रहरी कार्यालय देवाहीगुनाहीमा कार्यरत प्रहरी वरिष्ठ हबलदारद्धय जगदीशराय यादव र धनसुन्दर ठाकुर घाइते भएका इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार घाइते नगरप्रमुखको टाउकोमा १७ वटा टाँका लगाएको छ ।
प्रहरी नायब उपरीक्षक कार्कीले हबलदार यादवको टाउकोमा पाँचवटा र हबलदार ठाकुरको टाउकोमा चार वटा टाँका लगाइएको जानकारी दिए । उनका अनुसार अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देवाहीगोनाही-९ का अन्दाजी ३५-४० वर्षीय राधामोहन साह, अन्दाजी ३५-४० वर्षीय विनोद साह र अन्दाजी २१-२२ वर्षीय रीतिक साहलाई पक्राउ गरिएको उपरीक्षक कार्कीले उल्लेख गरे ।
नगरप्रमुख कानु पक्षले उनीबाट रिवन काटी मेलाको उद्घाटन गर्ने भनिरहँदा अर्को पक्षले औपचारिक उद्घाटन नगरी मेला सञ्चालन गर्ने भनेपछि विवाद भएको थियो । उक्त विवाद बढेपछि दुवै पक्षबीच झडप भएको उनले जानकारी दिए ।
मेष : पारिवारिक सुख, वाणीमा माधुर्य र आर्थिक लाभको योग बनिरहेको छ । आजको दिन वाणीमा संयमता राख्दा सम्बन्धहरू अझ सुदृढ बन्नेछन् । व्यापार वा सेवामा लाभदायक लेनदेनको सम्भावना छ ।
वृष : आत्मविश्वास, सौन्दर्यबोध र मानसिक स्थिरता विशेष रूपले प्रकट हुनेछ । भावनात्मक सन्तुलन कायम राख्न सकिनेछ । कला, साहित्य वा सिर्जनात्मक क्षेत्रमा संलग्न भइनेछ भने आजको दिन प्रेरणादायी बन्नेछ । पारिवारिक सम्बन्धमा माया र समझदारीको झल्को रहनेछ ।
मिथुन : खर्च, भ्रम र शारीरिक थकानको संकेत देखिन्छ । अनावश्यक यात्राबाट बच्नु उपयुक्त हुनेछ । ध्यान, योग वा एकान्त साधनामा समय बिताउनु लाभदायक हुने छ । निजी गोपनीयताको रक्षा गर्नु आजको पहिलो प्राथमिकता हुन सक्छ ।
कर्कट : इच्छाफल सिद्ध गर्ने दिन हो । पुराना योजनाहरूमा प्रगति हुने संकेत छन् । साथीभाइ वा सञ्जालबाट सहयोग पाइनेछ । आर्थिक लाभका सम्भावना प्रबल छन् । सामाजिक कार्य वा समूहमा नेतृत्व गर्ने अवसर प्राप्त हुन सक्छ ।
सिंह : कार्यक्षेत्रमा सम्मान, सफलता र उत्तरदायित्व प्राप्तिको संकेत छ । आजको दिनमा लिएको निर्णयले दीर्घकालीन प्रभाव पार्न सक्छ । वरिष्ठ अधिकारी वा गुरुजनको कृपा प्राप्त हुन सक्छ । सार्वजनिक छविमा निखार आउने समय हो ।
कन्या : भाग्यबल जागृत हुनेछ । तपाईँका प्रयासले सफलता ल्याउनेछ । धर्म, दर्शन वा विदेशसम्बन्धी विषयमा प्रगति सम्भव छ । यात्राको योग बलियो देखिन्छ । कुनै सानोतिनो सहायताले पनि ठूलो कार्य सिद्ध हुनसक्ने समय हो ।
तुला : मानसिक तनाव, स्वास्थ्यप्रति चिन्ता वा गोप्य समस्याहरू ल्याउन सक्छ । जोखिमपूर्ण कार्यबाट टाढा रहनु श्रेयस्कर हुनेछ । ध्यान, मौन वा आत्मनिरीक्षणले आजको दिनलाई शान्त तुल्याउन सक्छ । धैर्य र स्थिरताले परिस्थिति सुधार्नेछ ।
वृश्चिक : वैवाहिक र साझेदारी सम्बन्धलाई उर्जा दिनेछ । प्रेम र विश्वासमा आधारित सम्बन्धहरू अझ प्रगाढ बन्नेछन् । वैवाहिक जीवनमा सहयोग, समझदारी र स्नेह बढ्ने सम्भावना छ । नयाँ व्यावसायिक सम्झौताका लागि पनि अनुकूल समय हो ।
धनु : कार्यक्षेत्रमा सक्रियता, अनुशासन र प्रतिस्पर्धामा विजय भइनेछ । कानुनी वा विवादित विषयहरूमा निष्पक्षता पाइनेछ । स्वास्थ्यमा सुधार, ऋण तिर्ने वा संकलन गर्ने प्रयास सफल बन्नेछ । प्रयास गर्दा लक्ष्यमा पुग्न सकिने समय हो ।
मकर : प्रेम, सन्तान र सिर्जनात्मक क्षमतामा सकारात्मक उर्जा मिल्नेछ । विद्यार्थीहरूका लागि समय अनुकूल छ । कुनै नयाँ रचनात्मक योजना थालनीको समय हो । प्रेम प्रस्ताव सफल बन्न सक्छ ।
कुम्भ : मानसिक असन्तुलन वा पारिवारिक चिन्ताको संकेत देखिन्छ । मातापिताको स्वास्थ्य वा स्थायी सम्पत्तिसम्बन्धी विषयमा संवेदनशीलता देखिन सक्छ । मानसिक शान्तिका लागि एकान्त वा साधनामा समय दिनु उत्तम हुनेछ ।
मीन : साहस, उत्साह र अभिव्यक्तिको सशक्त प्रभाव हुनेछ । छोटो यात्रा, भाइबहिनीको साथ, वा लेखन-प्रस्तुतीकरणमा सफलता मिल्नेछ । सञ्चारमार्फत अवसर प्राप्त हुने देखिन्छ ।
नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संघीय निजामति ऐनमा रहेको कुलिङ अफ पिरियडमा छेडखानी गर्ने काम नेकपा एमालेबाट भएको आरोप लगाएका छन् ।
उनले यसबारेमा अहिलेसम्म कुरा लुकाए पनि अब लुकाउनु पर्ने आवश्यकता नरहेको बताए । उनले राष्ट्रिय सभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनु पर्छ भनेर संशोधन प्रस्ताव हालेको बताए । उनले किन संशोधन हाल्नु भयो ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा एमाले सांसदहरूले माथिको निर्देशन भन्ने जवाफ दिएकाले अब लुकाउनु पर्न जरूरी नरहेको बताए ।
एमाले छलकपट गर्ने राजनीतिक दल भएको उनको आरोप छ । सांसद कोइरालाले देशमा सुशासन किञ्चित मात्रामा पनि नरहेको बताए । देशमा भ्रष्टाचार दिन प्रतिदिन बढेर गएको उनले बताए ।
काठमाडौं । कुशल मल्लको अर्धशतकको बाबजुद पनि नेपाल अष्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा लगातार दोस्रो पटक पराजित भएको छ ।
टी–२० विश्वकप छनोटको तयारी अभ्यास स्वरुप अष्ट्रेलियामा खेलिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहारेको हो । शनिबार डर्बिनमा भएको खेलमा बंगलादेश ‘ए’ सँग ब्याटर नचल्दा नेपाल पराजित भएको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको बांग्लादेशी टोलीले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाएर १८६ रन जोडेको थियो । जसमा जिशन आलमले ७३ र अफिफ आलमले ४८ रनको योगदान दिएका थिए । बलिङमा नेपालका रिजन ढकालले दुई, करन केसी, सन्दीप लामिछाने र नन्दन यादवले एक एक विकेट लिएका थिए ।
१८७ रन पछ्याएको नेपाली टोलीका ब्याटर सुरुदेखि नै टिकेर खेल्न सकेनन् । भरपर्दा ब्याटरहरू कुशल भुर्तेल १२, आशिफ शेख २८, लोकेश बम १६, कप्तान रोहित पौडेल १०, दीपेन्द्रसिंह ऐरी १, गुल्शन झा शून्य रनमै आउट हुन पुगे ।
कुशल मल्लले भने अन्तिमसम्म लडेर ४७ बलमा ५९ रन जोडे । अन्तिममा उनलाई साथ दिएका नन्दन यादवले १४ रन जोडेकाले नेपाल ७ विकेट गुमाएर १५४ रनसम्म पुग्यो । यसअघि अष्ट्रेलियाको नर्दन टेरिटोरीसँग खेलेको खेलमा नेपाल ४३ रनले पराजित भएको थियो । अष्ट्रेलियामा नेपालले अभ्यास स्वरूप टप एन्ड टी–२० सिरिज खेलिरहेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट काठमाडौँको नख्खु कारागार स्थानान्तरण गरिएको छ।
पार्टी लुम्बिनी प्रदेशको प्रशिक्षण कार्यक्रममा सहभागी रहेका नेता मनिष झा र उपसभापति डा. स्वर्णिम वाग्लेले लामिछानेलाई कारागारमै भेट्ने प्रयास गरेका थिए। तर कारागार प्रशासनले अनुमति नदिएपछि उनीहरूले भैरहवा विमानस्थलको प्रतीक्षालयमा करिब दुई मिनेट लामिछानेसँग भेट गरेका हुन्।
सेतो सर्ट र खरानी रङको पाइन्ट लगाएका लामिछाने उज्यालो अनुहारसहित आत्मविश्वासी देखिएको झाको फेसबुक पोस्टमा उल्लेख छ। भेटका क्रममा लामिछानेले आफू १२६ दिन रुपन्देही कारागारमा बसेको जानकारी दिँदै भने, ‘पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन्। भैरहवाको आमा-बुवा, दाजुभाइ–दिदीबहिनीप्रति म कृतज्ञ छु। सुरक्षाकर्मी र कारागार प्रशासनले गरेको व्यवस्थापनप्रति पनि आभारी छु।’
लामिछानेले राजनीतिक प्रतिशोधले आफूलाई जहाँ पठाए पनि नडराउने स्पष्ट पार्दै भने, ‘अब कृष्ण जन्मिने छैन, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ। म जनताको अदालतमा विश्वास गरेर परिवर्तनका लागि सबै त्यागेर हिँडेको मान्छे हुँ।’
भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर यूए ८६० मार्फत लामिछानेलाई सारिएको हो।
यस्तो छ झाको पोस्ट :
कृष्ण जन्माष्टमी र Buddha Air- UA 860
आज कृष्ण जन्माष्टमीको दिन, राष्ट्रिय स्वतन्त्र पार्टी, लुम्बिनी प्रदेशको प्रशिक्षणको लागि बिहान सबेरै भैरहवा पुगे र जानकारी पाए कि पार्टी सभापति ज्यू लाई काठमाडौँ उपत्यका स्थित नख्खु कारागार स्थानान्तरण गरिँदै छ। प्रशिक्षणमा मेरो जिम्मेवारीको सत्र सकाए।
हतारिएर, अनिश्चितताको सास फेर्दै
प्रहरी प्रशासनलाई आग्रह गरे, एक छिन भेट्न पाइन्छ कि भनेर भैरहवा कारागारमै पुगेँ। साथमा पार्टी उपसभापति डाक्टर स्वर्णिम वाग्ले पनि हुनुहुन्थ्यो। कारागार प्रशासकले आज भेट्न मिल्दैन भनेर फर्काइदियो।
विमानस्थलमा एक छिन भेट्न दिन विमानस्थलस्थित प्रहरी प्रशासनलाई अनुरोध गर्न पुग्यौ। निक्कै अनुरोध गरे पश्चात् म र पार्टी उपसभापति डा स्वर्णिम वाग्ले लाई विमानस्थल प्रतीक्षालयमा उभिएरै दुई मिनेट भेट्न दिनु भयो।
सेतो सर्ट र खरानी रङको पाइन्टमा उज्यालो अनुहार धपक्क बलेको कारागार स्थानान्तरण कुनै त्रास थपेको छैन कुनै डर छैन केही भए छैन।
मैले सोधे, कति दिन भैरहवा बस्नु भयो? वहाँले भन्नुभयो – १२६ दिन।
काठमाडौँ जानुहुँदैछ, के सोच्दै हुनुहुन्छ? वहाँले भन्नुभयो, “पुरै नेपाल मेरो घर हो। सबै नेपाली आफन्त हुन, सबै सँग माया छ, सद्भाव छ, सबैको हामीप्रतिको विश्वासमा आभार छ।”
“भैरहवाको हावापानी, यहाँको आमा बुवा, दाजुभाइ दिदी बहिनी सबै प्रति कृतज्ञ छु। मलाई सुरक्षा दिनुहुने सुरक्षाकर्मी साथीहरू मलाई १२६ दिनसम्म जे जस्तो हुन्छ खाना अन्नको व्यवस्थापन गरिदिने कारागार प्रशासन लगायत सबैप्रति आभारी छु।”
“राजनीतिक प्रतिशोधले यिनीहरूले मंगल ग्रह लगे पनि डराउँदिन, यो त मेरो देश हो, मेरो भूमि हो। जसरी सक्छन् जता सक्छन् लग्न देऊ। केही फरक पर्दैन।”
“म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु। अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।”
“४६३ दिन पहिले एकनाले प्रमाण छ भनेर भने। मैले प्रमाण मागे उसले बल प्रयोग देखायो। मैले न्याय मागे उसको संयन्त्रले प्रतिशोध साध्यो।”
“तर पनि म भयभीत छैन। किनकि म जनताको अदालतमा विश्वास गरेर परिवर्तनको लागि सबै त्यागेरै हिँडेको मान्छे।”
सुरक्षाकर्मीले हामीलाई छुट्टिन अनुरोध गर्यो। “अब काठमाडौँमा भेटौला है” भनेर भैरहवाबाट काठमाडौँको लागि उडेको यूए ८६० बुद्ध एयरलाई टाढैबाट राम्ररी पुग्नु है भनेर छुट्टियौँ।