
पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । पोखराको चरक अस्पतालमा उपचाररत ७० वर्षीय एक महिनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकी महिलामा असार २५ गते कोरोना संक्रमण देखिएको थियो ।
कोरोनाकै कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साउन ४ गते महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिएका छन् । कोरोना संक्रमण देखिएकी महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या समेत देखिएको निर्देशनालयले जनाएको छ । उनको जनस्वास्थ्य प्रयोगशाला गण्डकीमा पिसिआर जाँच गरिएको थियो । पछिल्लो समय फेरि गण्डकीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी बागलुङमा २ र स्याङ्जामा एक जनामा गरी गण्डकीमा जम्मा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु नै भएको चाहिँ यो झण्डै साढे २ वर्षपछि हो ।
कैलाली । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । टीकापुर नगरपालिका– १ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका–९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका– १ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।
धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए । पन्त जानकी गाउँपालिका–४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए ।
शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो । टीकापुर नगरपालिका–१ को मुनुवा रोडमा रहेको लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे । पन्तलाई विष खुवाएको आरोपमा तीनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) पक्राउ परेका छन् । उनलाई आइतबार प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीमाथि अनुसन्धान थालिएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो। अदालत स्रोत अनुसार प्रहरीले चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो।
उक्त पक्राउ पुर्जी जारी भएको थाहा भएपछि अहिराज फरार भएका थिए।
अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए।
काठमाडौं । निर्वाचन आयोगले रूपन्देही–३ उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आज (आइतबार) स्वीकृत कार्यक्रमअनुसार २०८२ असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । सोही दिन बेलुका ५ बजेदेखि १० बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ ।
सूचीमा रहेका उम्मेदवारको विरोधमा उजुरी दिने अवधि असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ९ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै, असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तालिका तय भएको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ । निर्वाचन कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ता एमाले मुख्यालय च्यासलमा भएको हो ।
स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार, उनीहरूबिच करिब दुई घण्टा लामो छलफल भएको छ ।
छलफल समसामयिक विषयहरूमा केन्द्रित रहेको बुझिएको छ, तर विस्तृत विषयवस्तु भने सार्वजनिक गरिएको छैन । भेटपछि पूर्वराष्ट्रपति भण्डारी च्यासलबाट बाहिरिसकेकी छिन् ।
भेटवार्तापछि पूर्वराष्ट्रपति भण्डारीले च्यासल परिसरमा पत्रकारहरूका केही प्रश्नको जबाफ दिएकी छन् । उनलाई पत्रकारहरूले एमालेको सदस्यता नवीकरणको विषय सोधेका थिए । जबाफमा उनले ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो’ भनेकी छन् ।
‘तर आज सदस्यता नवीकरणको विषयमा कुराकानी भएन,’ उनले भनिन् । उनकाअनुसार आज समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भएको हो,’ उनले भनिन्।
काठमाडौं । मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका ११ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयले मध्यान्ह १२ बजे दिएकाे जानकारी अनुसार शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण ११ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरुद्ध हुनेमा सङ्खुवासभास्थित कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, पाँचथरस्थित तमोर करिडोर सडकखण्ड, पाँचथरस्थित मध्यपहाडी लोकमार्ग रहेका छन् ।
यस्तै, रसुवास्थित पासाङ–ल्हामु राजमार्ग, बाग्लुङस्थित कालीगण्डकी करिडोर, मुस्ताङस्थित जोमसोम–लोमान्थाङ सडक, रोल्पास्थित सहिद राजमार्ग, रुकुम पश्चिमस्थित जाजरकोट–डोल्पा भेरी करिडोर र बैतडीस्थित महाकाली राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बागलुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, बागलुङको गलकोटस्थित मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी सञ्चालन भएको प्रहरीले जनाएको छ ।
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा निस्किने भएका छन् । प्रधानमन्त्री ओलीले सेप्टेम्बर १६–१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन् । प्रधानमन्त्री ओली निकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ ।
भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो । २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट अर्थात् १ असोजमा काठमाडौं फर्कने छ ।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका जनप्रतिनिधिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख उपरीक्षकविरुद्ध आन्दोलन थालेका छन् । उपमहानगरका प्रवक्ता एवं १ नम्बर वडाध्यक्ष सविन न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई अझै पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।
उनीहरुले आइतबारबाट जिल्ला प्रशासन कार्यालयमै टेबल राखेर सेवा प्रवाह गरी आन्दोलनको सुरुवात गरेका हुन् । वडामा काम गरिरहेको अवस्थामा न्यौपानेमाथि असार ४ गते दिउँसो पौने ४ बजेको समयमा आक्रमण भएको थियो । घटनाको एक महिनासम्म पनि प्रहरी–प्रशासनले कसैलाई पक्राउ नगरेपछि जनप्रतिनिधि आन्दोलित भएका हुन् ।
हेटौंडाका वडाअध्यक्षहरुले दुई दिन जिल्ला प्रशासन कार्यालय परिसरभित्र टेबल राखेर सेवा प्रदान गर्ने र त्यसपश्चात् थप आन्दोलनको घोषणा गर्ने जनाएका छन् । ‘वडाध्यक्षमाथि आक्रमण भएको एक महिना भइसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुर प्रहरी प्रशासनको लाचारीपन हो,’ हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइरालाले भने, ‘जनप्रतिनिधि त सुरक्षित छैनन् भने यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ?’
वडाध्यक्ष न्यौपानेमाथि आक्रमणको घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न नसकेपछि जिल्लाको सुरक्षा अवस्था ज्यादै कमजोर भएको भन्दै हेटौंडामा प्रहरी– प्रशासनको चौतर्फी विरोध भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्व सम्हालिरहेकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र मकवानपुर प्रहरीको कमाण्ड सम्हालिरहेका प्रहरी उपरीक्षक विश्वराज खड्काबाट न्याय पाउने सम्भावना नरहेकाले वार्तामा नबस्ने जनप्रतिनिधिले जनाएका छन् ।
करिब एक महिना अगाडि हेटौंडाको मध्य बजार क्षेत्रमा दिउँसै व्यवसायी कुटिँदा र वडाध्यक्षमाथि आक्रमण हुँदा पनि प्रहरी प्रशासनले प्रभावकारी कार्य गर्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध व्यवसायी आन्दोलित भएका थिए । प्रहरीले वडाध्यक्ष न्यौपानेमाथि आक्रमण गर्नेको खोजी कार्य समेत गर्न छोडेको आरोप जनप्रतिनिधिको छ । प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिले समेत खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् ।
साउदीका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल सउदको निधन भएको छ।
२० वर्षदेखि कोमामा रहेका राजकुमार वालिदको शनिबार ३६ वर्षको उमेरमा निधन भएको हो।
उनी १५ वर्ष छँदा सन् २००५ मा लन्डनमा सैनिक तालिम लिँदै गरेका बेला कार दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
उनको मस्तिष्कमा गहिरो चोट र आन्तरिक रक्तस्राव भएको थियो। त्यसपछि उनी कहिल्यै पूर्ण रूपमा होसमा फर्कन सकेनन् भनेर गल्फ न्युजले लेखेको छ।
उनलाई अमेरिकी र स्पेनी चिकित्सकहरूको विशेष निगरानीमा राखिएको थियो।
कतिपय समय उनका शरीरमा हुने स-साना अनियन्त्रित गतिविधिहरूले परिवारमा आशा जगाए। उनका परिवारले राजकुमारलाई निगरानीमै राखिएको कक्षमा पुगेर कुरान सुनाउँथे।
त्यतिबेला शरीरका केही अंगहरू चलेकोजस्तो देखिने भिडिओहरू पनि सार्वजनिक भएको गल्फ न्युजले जनाएको छ।
उनका पिता खालिद विन तलाल कुनै न कुनै समय ईश्वरीय चमत्कार हुने र आफ्नो छोरा ठीक हुने डाक्टरहरूलाई बताउने गर्थे।
शनिबार उनको निधन भएपछि धेरै मानिसहरूले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
राजकुमार वालिद ‘स्लिपिङ प्रिन्स’ नामले चिनिन्थे।
दुर्घटनापछि लामो समयदेखि होसमा नआएका कारण उनलाई ‘स्लिपिङ प्रिन्स’ उपनाम दिइएको थियो।
पर्वत । गए राति पर्वतमा पहिरोले घर पुरिँदा पति–पत्नी बेपत्ता भएका छन् । घटनामा उनीहरुकी बुहारीले भने भागेर ज्यान जोगाएकी छन् ।
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गए राति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ बर्षीया विष्णुमती बिक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पर्वतका इन्सपेक्टर रामप्रसाद सापकोटाले जानकारी दिए ।
‘पहिरोले राति घर पुरिँदा पति–पत्नी बेपत्ता भएका र बुहारी ३२ बर्षीया पवित्रा बिकले भागेर ज्यान बचाएकी छिन्,’ इन्सपेक्टर सापकोटाले भने, ‘हाम्रो टोली उद्धारको लागि घटनास्थलतिर जाँदैछ ।’ रातिको घटना भएपछि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको उनले बताए ।





