
काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद राजेन्द्र बजगाईँले मुलुकमा चरम ऋणमा डुबिरहेको भन्दै विजयको गर्जन गर्न लाज हुने बताएका छन् ।
सरकारका मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीनमा रहेको भन्दै उनले सांसद र नेताहरू अनुहार छोपेर हिँड्न बाध्य भएको बताए ।
‘अनुहार छोपेर हिँड्न बाध्य छौँ, धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लीन छन्, यो मैले पहिले नै देखाएको थिएँ’, उनले भने ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईँले शान्ति प्रक्रिया यता मुलुकको ऋणभार ९७ अर्ब पुगेको स्मरण गरे ।
उनले भने, ‘२०६२/२०६३ पछि प्रदेशहरू विकासको इन्जिन हुनुभन्दा बोझ हुन थालेको छ, मुलुकको सार्वजनिक ऋण कूल २।६११ ट्रिलियन पुगेको छ, उनले जुन जिडिपीको ४७.७७ प्रतिशत हो, यसमा ९७ अर्ब नयाँ ऋण थपियो ।’
श्रम पलायन तीव्र भएको बताउँदै उनले मुलुकको अवस्थाले युवा शक्ति विदेश जान बाध्य भइरहेको बताए ।
‘जब हामी गर्छौँ, सक्छौँ भन्दै अगाडि बढ्ने प्रयास गर्छौँ, धेरै यहाँ भ्रष्टाचार, घुस र ठगीको प्रणालीमा नाचिरहेको देख्छौँ, बोल्नेको गला अवरुद्ध भएका छन्’, उनले भने ।
आजको राजनीतिक परिदृश्यमा सरकारभित्र होस् वा बाहिर, पुराना वा नयाँ दलहरुबीच राष्ट्रिय हितका साझा एजेन्डामा सहकार्यको स्पष्ट अभाव देखिएको उनको भनाइ छ ।
नयाँ दलहरूप्रति उनले इजिप्टमा प्रचलित उक्ति स्मरण गर्दै कटाक्ष गरे । उनले भने, ‘इजिप्टमा एउटा भनाइ छ, जब कुनै नयाँ राजनीतिक दलको उदय हुन्छ, त्यसमा सबभन्दा नयाँ हुनेको भनेको त्यसको लोगो मात्रै हो ।’
काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।
ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने हिसाबले समिति बनाइएको हो ।
यसअघि सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकमा यो मामिलाको छानबिन प्रहरीमार्फत अघि बढाउने निर्णय भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अडियो प्रकरणमा मुछिएपछि राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्न माग गरेका छन् ।
आज (मंगलबार) प्रतिनिधिसभा बैठकमा उनले भने, ‘मन्त्रीलाई तत्काल पक्राउ गरियोस्, छानबिन गरियोस् । अन्य मन्त्रीमाथि पनि छानबिन गरियोस् ।’ भ्रष्टाचार गरेको व्यक्तिले राजीनामा गर्दैमा उन्मुक्ति पाउन नमिल्ने उनको भनाइ छ ।
उनले एउटा उखान उल्लेख गर्दै भने, ‘पहिले–पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काशी जानू, न्याय नपाए गोर्खा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू । खुलमखुल्ला अडियो टेप प्रकरणमा मन्त्री क्वार्टरमा पैसा दिएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ?’, उनले भने । शाहीले प्रधानमन्त्री केपी ओलीलाई आरोपित गरेको भन्दै एमाले सचेतक सुनिता बरालले नियमापत्ति गर्दै अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कहिले काहीँ नखाएको विष पनि लाग्ने र आफू अहिले त्यसैको शिकार भएको बताएका छन् ।
घुस लेनदेनसम्बन्धी अडिओ प्रकरणमा मुछिएका गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएपछि फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन्।
स्ट्याटसमा गुप्ताले आफू ‘प्रविधिको उच्चतम प्रयोग’ को शिकार बनेको दाबी गर्दै अरू कोही यसरी नपरोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, “कहिले काहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको शिकार भएँ। अब लागेका आरोप अनुसन्धान गरी सत्य–तथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएको छु।”
आफूमाथि लागेको आरोपको निष्पक्ष छानबिन होस् र सत्य तथ्य बाहिर आउन सकोस् भन्ने उद्देश्यले आफूले पद त्यागेको गुप्ताले बताएका छन्।
घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा बुझाएका हुन् ।
घुस डिलसम्बन्धी अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता विवादमा तानिएका थिए ।यसअघि साेमबारमात्र प्रधानमन्त्री ओलीले घुस डिल प्रकरणमा मुछिएपछि मन्त्री गुप्तालाई बालुवाटार बोलाएर सोधपुछ गरेका थिए ।
एमालेका मुख्य सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री गुप्ताले प्रधानमन्त्री ओलीसमक्ष राजीनामा बुझाएको पुष्टि गरे । ‘मन्त्री गुप्ताले प्रधानमन्त्री ओलीज्यूलाई भेटेर राजीनामा बुझाउनु भएको छ,’ बर्तौलाले भने ।
घुस डिल प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्न सरकारको नेतृत्वकर्ता दल एमाले, कांग्रेस र विपक्षी दल माओवादी केन्द्रसहितका दलका सांसदहरूले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार आरोप लागेका मन्त्रीलाई काखी च्यापेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कटाक्षयुुक्त आलोचना गरेका छन् । आज (मंगलबार) सामाजिक सञ्जालमार्फत उनले मन्त्रीहरूले गर्ने भ्रष्टाचारमा कर्मकाण्डी शैलीमा राजीनामा मात्रै मागेको भन्दै प्रतिपक्षी दलको पनि आलोचना गरेका छन् ।
‘मन्त्री क्वार्टरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन् । आफ्नोविरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्री मन्त्रीपरिषद् बैठकमा भाग लिन्छन्,’ भ्रष्टाचार आरोप लागेका एमाले नेता समेत रहेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई इंगित गर्दै कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं ।’
घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सोमबार बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । त्यसपछि उनी सोमबार साँझ आयोजित मन्त्रिपरिषद् बैठकमा समेत सहभागी भएका थिए । घुस डील प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्नेमा काखी च्यापेको भन्दै अहिले प्रधानमन्त्री ओलीको आफ्नै दलका सांसद र नेताले समेत आलोचना गरिरहेका छन् ।
.jpg)
काठमाडौँ। स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोह विरुद्ध प्रहरीमार्फत अनुसन्धान हुने भएको छ ।
सोमबार दिउँसो १ बजे गृहमन्त्री रमेश लेखकले बोलाएको बैठकले प्रहरीमार्फत यो मामिलामा अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार प्रारम्भिक जाँचबुझमा असम्बन्धित व्यक्तिहरू समेत गएको हुनसक्ने देखिएपछि त्यसबारे विस्तृत छानबिन गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका थिए ।
प्रहरी महानिरीक्षक (आईजीप) दीपक थापाले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र त्यसअन्तर्गत रहेको मानवबेचबिखन अनुसन्धान ब्युरोले यो मामिलामा जानकारी संकलन गर्ने काम सुरु गरिसकेको ब्रिफिङ सुनाएका थिए ।
‘त्यसक्रममा प्रहरीलाई थप अनुसन्धान गर्ने जिम्मा दिने र अध्यागमनले त्यसमा सहयोग गर्ने निर्णय भयो’, ती अधिकारीले भने ।
उनका अनुसार स्पेनको सेभियामा ३० जुनदेखि २ जुलाइसम्म चलेको सम्मेलनमा सहभागी गराउने र त्यहीँ बस्ने व्यवस्था मिलाउने भन्दै रकम असुली गरेर असम्बन्धित व्यक्तिहरू विदेश पठाएको हुनसक्ने देखिएपछि त्यो अवधिमा भिजिट भिसामा जाने सबैको विवरण जाँच गर्ने तयारी छ ।
‘त्यसबेला गएका सबै व्यक्तिहरू फर्किए नफर्किएको जाँच हुनेछ, त्यसपछि प्रहरीबाट उनीहरूलाई पठाउने गिरोहबारे समेत अनुसन्धान हुनेछ’, ती अधिकृतले भने ।
१४ असारमा प्रधानमन्त्री केपी शर्मा ओली समेत स्पेनका लागि उडेकै विमानमा पनि कतिपयलाई बिचौलियाले मड्रिड लगेका थिए ।
टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमालीले कोर्ट म्यारिज गरेका छन् । काठमाडौं जिल्ला अदालतमा यी दुईले कोर्ट म्यारिज गरेका हुन। आफ्नो कोर्ट म्यारिजको तस्विर दुवैले आफ्नो सामाजिक संजालमा शेयर गरेका छन् ।
एलिजे र आयुष पछिल्लो समय नेपालका चर्चित टिकटकर हुन् । २०८० असोज १९ गते आयुष र एलिजेले दुबईमा ईन्गेजमेन्ट गरेका थिए। विवाहको तस्बिर शेयर गर्दै एलिजेले लेखेकी छिन, ‘उनीहरूले हामीलाई अनलाइन खोजे तर हामीले हाम्रो सधैंको लागि अनलाइनमा हस्ताक्षर गरिरहेका थियौं। मिस्टर एण्ड मिसेस।’
एलिजे पाकिस्तानी हुन भने आयुष नेपाली हुन्। यी दुईको भेट टिकटक लाईभमार्फत भएको थियो। लाइभबाटै यी दुई प्रेमसम्बन्धमा बाँधिएका थिए। सुरुवाती दिनबाटै यी दुईको जोडी चर्चाको विषय बनेको थियो।
प्रधानमन्त्री केपी ओलीले नेपाली नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेहबीच भएको इन्गेजमेन्टको बधाई दिएका थिए ।
बधाईमा ओलीले भनेका थिए, ‘नेपाली टिकटकर आयुषसिंह ठकुरी र पाकिस्तानी टिकटकर अलिजेह जमालीले (उनीहरूको टिकटक यदाकदा हेर्ने पनि गर्छु) दुबईमाआफ्ना आमाबाबुलाई साक्षी राखेर आ–आफ्नो संस्कृति अनुसार इन्गेजमेन्ट टिकाटालो गरे । मायाले जातिको, धर्मको, देशको सीमाको पर्खाल पनि नाघेर उचाइ लिन्छ । यसले जाति, धर्म, सम्प्रदायमा भिन्नता होइन समानता खोज्न सिकाउँछ । उनीहरूलाई बधाई छ ।’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री, संघीय मामिलामन्त्री र भूमिमन्त्रीलाई तत्काल कारबाही गर्न माग गरेको छ । आज (सोमबार) प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै रास्वपाका सांसद अशोककुमार चौधरीले सरकारले सुशासनको प्रत्याभूति दिलाउन नसकेको आरोप लगाए।
उनले प्रश्न उठेका मन्त्रीहरूलाई तत्काल कारबाही गरिनु पर्ने माग गरेका छन् । ‘गृहमन्त्री रमेश लेखक, भूमि सुधारमन्त्री बलराम अधिकारी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि लागेका गम्भीर आरोपबारे किन छानबिन गरिएको छैन ? यदि उनीहरू संविधानभन्दा माथि छैनन् भने तुरुन्तै कारबाही गरियोस्,’ उनले भने । भिजिट भिसा प्रकरणको विषय उठाएर रास्वपाले विगत ४७ दिनदेखि संसद्को कामकारबाहीमा भाग लिएको छैन । पछिल्लो समय मन्त्री गुप्ताको घुस डिल गरेको भन्दै उनको स्वरसँग मिल्दो अडियो सार्वजनिक भएको छ । त्यसपछि रास्वपाले गृहमन्त्री लेखकसँगै अन्य मन्त्रीमाथि पनि प्रश्न उठाएर कारबाहीको माग राखेको हो ।
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जनतासँग गरिएको सपना र प्रतिबद्धता आजको अवस्थासँग मेल नखाने बताउँदै वर्तमान सत्ताको कार्यशैलीले ती सबै सपना र प्रतिवद्धतालाई अपमानित बनाएको टिप्पणी गरे ।
‘के हामी शान्ति सम्झौताका बेला देखिएको सपना अनुसार अघि बढिरहेका छौं ?’, भन्ने प्रश्न गर्दै भ्रष्टाचार, अराजकता र बेथिति मौलाएको, सार्वजनिक सेवामा पहुँच कठिन भएको र पछाडि पारिएका समुदायलाई राज्यले आवश्यक संरक्षण दिन नसकेको उनले बताए । संसद र संसदीय समितिमा भइरहेका भूमिकाप्रति समेत असन्तुष्टि जनाउँदै उनले विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधिसभामा पुग्दा भएका चलखेल र हस्तक्षेपका कारण अगाडि बढ्न नसकेको भन्दै चर्को आलोचना गरे । अध्यक्ष प्रचण्डले कांग्रेस–एमालेको मिलोमतोले संसदलाई ‘विचौलियाको खेल मैदान’ बनाइएको आरोप लगाउँदै यस्तो प्रवृत्ति देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको टिप्पणी गरे ।
उनले लोकतन्त्र सुदृढ गर्न सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मार्गमा सरकार गम्भीर रुपमा लाग्नुपर्नेमा जोड दिँदै यदि गम्भीर समीक्षा र कठोर निर्णयहरू गरिएनन् भने परिस्थिति विष्फोटक बन्न सक्ने चेतावनी दिए । उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरू जस्ता घटनाहरूको उदाहरण दिँदै सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको गम्भीर आरोप लगाए ।





