
काठमाडौं । कैलालीमा एक सुत्केरी महिला मृत भेटिएकी छन् । आज बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले तुलसी नाथ घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको जानकारी दिए । उनी १६ दिने सुत्केरी हुन् ।
उनको १६ दिनको छोरा भने सामान्य अवस्थामै भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए ।
बुटवल । बुटवल–नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयीखोलामा आएको बाढीले बगाएको बस फेला परेको छ। बिहीबार राति बाढीले बगाएको बस बस एक किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालले जानकारी दिए।
उनका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो। ३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बाढीले गए राति बगाएको थियो। डाइभर्सनसँगै बाढीले बस बगाएको थियो।ओभरलोडसहितको ट्रकले पुल भाचिएपछि विनयीखोलामा डाइभर्सन बनाएर यातायात सञ्चालन भइरहेको छ।
प्रहरीले एक्स्काभेटर ल्याएर राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो । जिल्ला प्रहरीका अनुसार बस भने खोलामै छ।
तर, पछिल्लो समय वर्षा शुरू भएसँगै दैनिकजसो बाढीले डाइभर्सन बगाउने गरेको छ। बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ। डाइभर्सन बगाएकाले यातायात अवरुद्ध छ। दुम्किबासबाट दाउन्नेतर्फको सडक हिलाम्य भएकाले गाडीहरू उकालो चढ्न नसकेर बिच बाटोमै अलपत्र छन्।
काठमाडौं । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ। पटक–पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्दैछन्।
‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो।
केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रो पटक म्याद थप भएको थियो। तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो । आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको काम समेत ठप्प भएको थियो।
केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि हालसम्मको करिब एक करोड ४७ लाख हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए। ‘ग्वार्को ओभरपासको निर्माण कार्यमा प्राविधिक जटिलता र अपरिहार्य प्राविधिक परिमार्जनका कारण केही ढिलाइ भयो’, उनले भने, ‘प्रारम्भिक डिजाइनअनुसार काम सुरू गरे पनि निर्माण व्यवसायीले पेस गरेको प्रारम्भिक डिजाइनमा आवश्यक परिवर्तन गर्नुपरेको थियो। त्यसका लागि थप अध्ययन तथा स्वीकृति प्रक्रियाले समय लिएको हो। साथै, यान्त्रिक रूपमा स्थिर माटोको पर्खाल जडान गर्दा जमिनमुनिको माटोमा अपेक्षित मात्रामा सुधार गर्नुपर्ने देखिएकाले माटो सुधारसम्बन्धी थप कार्य गर्नुपर्यो। यो कामले अतिरिक्त समय र स्रोतको खपत गर्यो ।’
त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताए। ‘त्यसको असरस्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल–४ र प्यानल–५ बीचको अन्तराल बढेको थियो। उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेको थियो । जसले कार्यअवधि थप लम्बिएको हो’, उनले भने।
भण्डारीका अनुसार ग्वार्को ओभरपासको कुल र्याम्प र पुलको लम्बाइ ५७६ दशमलव २ मिटर, ग्वार्को चोकबाट लगनखेलतर्फ तीन सय २० मिटर र सातदोबाटोतर्फ एक सय ८५ मिटर लामो ओभरपास रहेको छ। दुवैतर्फ चार तहको कालोपत्र गरिनुका साथै ओभरपासको र्याम्पको दूरी भने १० दशमलव २ मिटर रहेको उनको भनाइ छ। ‘बीचको पुल खण्डको लम्बाइ भने ३६ दशमलव २ मिटर छ । यसरी दुईवटै र्याम्प र पुल मिलाएर ओभरपासको कुल लम्बाइ पाँच सय ४० मिटर (र्याम्प) प्लस ३६ दशमलव २ मिटर (पुल) गरी ५७६ दशमलव २ मिटर हुन्छ’, भण्डारीले भने, ‘यस पुलको चौडाइ १६ दशमलव ४ मिटर छ, जसमा चार लेन सडक सञ्चालन हुनेगरी डिजाइन गरिएको हो ।’
चौध करोड थप लागत
केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा रु १४ करोड लागत थप भएको जानकारी दिए । ‘करिब रु १७ करोड छ लाख ८८ हजार ८८८ मा सम्पन्न हुनेगरी ठेक्का सम्झौता भएको हो, तर काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत रु ३१ करोड ४६ लाख ५१ हजार ४४० पुगेको छ’, उनले थपे, ‘ग्वार्को चोकस्थित चार लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इञ्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।’ भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपश्चात निर्माण कार्यमा पाँच वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुट सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको रहन्छ ।
ट्राफिक व्यवस्थापनमा सहज
काठमाडाै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताए । ‘ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो । छोटाछोटाभन्दा पनि लामो फ्लाई ओभर निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ’, उनले भने, ‘ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन् । तर सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने र त्यो स्थानमा जाम बढ्ने छ । तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक छ ।’
गिरीले भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य सहरका मुख्य चोकमा पनि यस्ता ओरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझावसमेत दिए ।
अन्डरपास र ओभरपास अबको आवश्यकता
पूर्वाधारविद् समेत रहेका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इञ्जिनियर गजेन्द्रप्रसाद थपलियाले उपत्यकालगायत मुलुकका मुख्य सहरमा सवारीसाधनको चापका कारण ट्राफिक समस्या बढिरहेको अवस्थामा अन्डरपास र ओभरपास आजको आवश्यकता रहेको बताए ।
‘ग्वार्को फ्लाई ओभर निर्माणले मुलुकमा पूर्वाधार विकासको सकरात्मक पक्षलाई झल्काउँछ । निर्माणकार्य ढिला भए पनि यसले सकरात्मक सन्देश प्रवाह गरेको छ’, उनले भने, ‘ग्वार्कोमा मात्र नभएर अब कोटेश्वरर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल, सातदोबाटोलगायत क्षेत्रमा अन्डरपास र ओभरपासको योजना छिट्टै तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । अनि मात्र ट्राफिक व्यवस्थापन सहज हुन्छ ।’
सिसीटिभी र बत्ती जडान गर्न आवश्यक
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ग्वार्को ओभरपासको निरीक्षण गरेको थियो ।उद्घाटनको पूर्वसन्ध्यामा गत बुधबार समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको थियो । ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको र जहाँ स–साना तर महत्वपूर्ण काम बाँकी रहेको बताउँछन् समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटा ।
‘ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम बाँकी छन्’, उनले भने, ‘जस्तै बत्ती जडान गर्नुपर्ने, सुरक्षा सुनिश्चितताका लागि सिसीक्यामेरा जडानलगायतका काम बाँकी छन्। मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकलगायतका पदाधिकारीलाई बोलाएर आवश्यक निर्देशन दिन छलफल गरिएको छ।’
निर्माण सम्पन्न गराउन अग्रसरता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ग्वार्को चोकमा निर्माणाधीन अवस्थामा रहेको फ्लाई ओभर निर्माणलाई चालु आर्थिक वर्षभित्र नै सम्पन्न गराउनका लागि निरन्तर अग्रसरता देखाएका थिए। पटक-पटक स्थलगत निरीक्षण गरेर मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिँदै आएका थिए। काठमाडौँको सहरी तथा यातायात व्यवस्थापनमा महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणकार्यलाई गति दिएर समयमा नै सक्नुपर्ने भन्दै उनले ताकेता गर्दै आएका थिए।
आगामी आव २०८२/८३ मा टोखा–छहरे–गुर्जु–भन्ज्याङ सुरूङमार्ग, हेम्जा–नयाँपुल खण्ड सडक सुरूङमार्ग, नयाँबानेश्वर अन्डरपास, सिद्धबाबा सुरूङमार्ग, खुर्कोट–चियाबारी सुरूङमार्ग, फुस्रेखोला छोरेपाटन (पोखरा)बाट स्याङ्ग्जा गुडीकोला टनेल अध्ययन, शिवपुरी–भालुवाङ सुरूङमार्ग, रानीघाट–भुरीगाउँ सुरूङमार्गलगायत विकासका योजना छनोट भएका छन्। निर्माणकार्य सम्पन्नपछि ट्राफिक समस्याको व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ। रासस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कामधन्दामा मज्जाले खट्नुपर्ने हुन्छ, जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा झन दिक्क लाग्नसक्छ, तर बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ। क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो। पेसा, व्यवसाय वा क्यारियरका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु ठीक हुन्छ। काम र कर्तव्यप्रति दिलचस्पी जाग्नेछ, नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो। व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ। वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ। पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ। बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने एवं शुभचिन्तकहरूको साथ पाइने राम्रो दिन छ, सुखद समाचार सुन्न पाउँदा दिन प्रेरणास्पद बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निर्णय लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला। चिन्तारशङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ। वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यक्तित्वमा निखार आउने छ, धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने दिन हो। तर आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ। पेसागत सफलताका लागि प्रयास गरिने छ, त्यसबाहेक पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु पर्ने दिन हो। मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जीवनसाथी वा प्रेयसीसँग लामो कुराकानी वा सम्बन्धरसम्पर्क हुने दिन हो, उता आयका दृष्टिले पनि थप धनार्जन गर्न सकिने समय छ। ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहनेछ, तर पनि मस्तिष्कलाई आराम हुने समय छैन। घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ। प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ। कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ। सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यालयीय काममा खासै परिश्रम गर्नु पर्दैन, तर आज घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ। लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ। ज्ञान र क्षमता बढाउन उपयोगी दिन छ, उता घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरारछोरीको चासो राख्नु राम्रो हुन्छ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ। अध्ययनमा रुचि जाग्नेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ। उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्त्वपूर्ण सहयोग मिल्नेछ। बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति छ, त्यस्तै खाँचो परेमा उनीहरूबाट सहयोग लिन पनि सकिने छ। आध्यात्मिक मनोभावको विकास हुनेछ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परीक्षा, प्रतियोगिता वा प्रतिस्र्पद्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ। धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय छ, पछिसम्म फाइदा हुने कुनै काम सम्पन्न हुनेछ, बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्छ। उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन्। कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पार्टनरको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चङ्गा हुने दिन छ, रूप सौन्दर्य र व्यक्तित्वमा निखार आउने छ। आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा निकै सतर्कता अपनाउने समय हो, कुरा काट्नेहरूले तपाईंको छिद्र खोतल्ने प्रयास गर्नेछन्। आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला। मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय छ। प्रियजनसँग भेटघाट हुनेछ अथवा आश मारेको वस्तु वा धन हात पार्न सकिने छ। सफलता हासिल गर्न प्रतिस्र्पद्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशाअनुरूप परिणाम प्राप्त हुनेछ। आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँकेरताकेका काम पूरा गर्न सजिलो हुनेछ। लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ। रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछन्। शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ। आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ।
काठमाडौँ । बुटवल-नारायणगढ सडकखण्डको दाउन्नेमा ग्राभेल हालेर केही बेरअघिबाट यातायात सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालयले दाउन्नेको दलदल हिलोमा ग्राभेल राखेर भर्खरै यातायात सञ्चालन गराइएको जानकारी दिएको छ ।
हिलोको दलदलमा फसेको सडकमा ग्राभेल राखेर सहज बनाएपछि गाडी गन्तव्यतर्फ हिँडेको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार दिउँसोबाट दाउन्नेको विश्वकर्मा मन्दिरअगाडिको दलदल हिलोबाट गाडी निकाल्न ग्राभेल राख्न थालिएको थियो । वर्षा रोकिएकाले ग्राभेल हाल्न सजिलो भएको र ४० घण्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ हिँडेका हुन् ।
तत्कालका लागि दुम्कीवासदेखि पश्चिम खुर्सानी खोलासम्मको खण्डमा ग्राभेल हालेर यस वर्षामा जाम हुन नदिने गरी काम सुरु गर्न आयोजना प्रमुख चुडाराज ढकालसहितको बैठकले बिहीवार दिउँसो ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा १४ जना गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताएको छ ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यस्तो प्रस्ताव राखेका हुन् ।
भिजिट भिसा प्रकरणमा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौला देखि बहालवाला गृहमन्त्री रमेश लेखक सम्मका १४ जना गृहमन्त्री लाई छानबिनको दायरामा ल्याउनुपर्ने उनको आग्रह छ ।
भिजिट भिसा प्रकरण कुनै दल विशेषको नभई सबैको साझा मुद्दा भएकाले यस विषयमा सबै दल एक ठाउँमा आउनुपर्ने उनको आह्वान छ ।
भिजिट भिसा प्रकरणमा छानबिन समिति नभएसम्म आफूहरूको विरोध कायमै रहने उनले बताए ।
शाहीले आफूहरूको विरोधका बाबजुद सदन चलाउन सभामुखलाई बाध्य नपार्न सरकारलाई सुझाव दिए । विरोधकाबीच संसदको कार्यसूची अघि बढेपछि रास्वपाका सांसदहरूले बेल घेराउ गरे । तर, राप्रपाका सांसदहरूले बैठक बहिष्कार गरेर बाहिरिएका छन् ।
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादीलाई लाई नैतिकता सिकाउनु पर्ने र राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्। रास्वपाले भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री रमेश लेखकलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेका बेला कांग्रेस नेता बस्नेतले उल्टै रास्वपालाई नै नैतिकताको पाठ पढाउनु पर्ने बताएका हुन्।
राष्ट्रिय सभाको विहीबारको बैठकमा बस्नेतले भने, ‘तपाईंहरुको पार्टी सभापतिलाई मुद्दा लगाएको छ। पार्टी सभापति जेलमा हुनुहुन्छ । जेलमा जाने पार्टी सभापति संसदीय दलकै नेता बस्नुपर्ने अनि पार्टी सभापति छोड्न नहुने ? अनि हामी नेपाली कांग्रेसलाई चाहिँ नैतिकता सिकाउने । यो कस्तो नैतिकताको कुरा हो ?’ सांसद बस्नेतले रास्वपा र नेकपा एसले कांग्रेसलाई नैतिकताको पाठ सिकाउन नमिल्ने टिप्पणी गरे । ‘नैतिकताको कुरा आउँदा रास्वपा र समाजवादीलाई सोध्न चाहन्छु। एउटा अध्यक्षलाई अख्तियारले मुद्दा लगाएको छ। एउटा सभापति जेलमा हुनुहुन्छ, संसदीय दलको नेता बस्नु पर्ने, पार्टी सभापति छाड्नु नपर्ने ?’ बस्नेतले भने । बस्नेतले राजावादीहरुलाई पनि निशाना साँधेका छन्। उनले राजावादीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे।
‘३० वर्षे शासन, ४० वर्षे शासन गरेर आएका व्यक्तिहरु आज हेरौंन उनीहरुका महलहरु। पञ्चका महलहरु हेरौंन। आज सम्पत्ति उनीहरुको जाँच्नुपर्ने हो,’ बस्नेतले भने। उनले नेपालमा राजा फर्किन नसक्ने समेत बताए । ‘एउटा कुरा म प्रष्ट के भन्न चाहन्छु भने यो देश हामीले बनाउने हो, गणतन्त्र हामीले ल्याएको हो र राजा हामीले फालेको हौं । अब राजा आउन सक्दैन,’ उनले भने, ‘अब चारवटा तासको पत्तामा चाहिँ राजा रहन्छ।’ राजालाई विष्णुको अवतारको मान्ने राजावादीहरुलाई पनि उनले व्यंग्य गरे। उनले भने, ‘विष्णुको अवतार राजा भएको भए मूर्ति चोरिने थिएन होला, गजुरहरु चोरिने थिएन होला, कोकिनको ट्रान्जिट व्यापार हुने थिएन होला, ड्रग्सको व्यापार हुने थिएन होला। सबैकुछ गर्ने अनि विष्णुको अवतार भन्ने ? विष्णुको अवतारले त गर्दैन होला । म पनि कट्टर हिन्दु नै हुँ।’
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले देश युवाविहीन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। आज (बिहीबार) बसेको संसद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
‘भोलिको दिनमा सम्मान होला, उज्यालो होला, प्रकाश आउला भन्ने आशाले बाँचेका छौं । युवाहरू शिक्षाका नाममा, रोजगारीका नाममा, दलालीका नाममा र बाहिर गइरहेका छन्। बाहिर गएर पनि कहाँ सुख पाउनू, त्यहाँ गएर यहाँभन्दा बढी दुःख पाएको छ। युवाविहीन देश बनाउने हो भने यो बजेट केका लागि ?,’ उनले भने, ‘हामी युवाविहीन हुँदैछौं। सहरमा जाँदा युवा छैन, बाउआमा मात्रै हुनुहुन्छ। मृत्यु भयो भने लाश लैजान मान्छे छैन।’
उनले देशको नेतृत्व गर्ने मान्छे एउटा कर्मचारीसँग डराउन नहुने बताए। ‘कोही कर्मचारी आउँछ, यो विधेयकमा यो कुरा ले नत्र हामी राजीनामा दिन्छौं भन्छ, थर्काउँछ । देशको नेतृत्व गर्ने मान्छे थरथर काम्छ,’ उनले भने। उनले नेताहरूले भाषण मात्रै गरिरहेको बताउँछन्। भाषण गरेर मात्रै देश नबन्ने उनले बताए । ‘भाषणले औषधि दिन्छ ? भाषणले देशलाई उज्यालो दिन्छ ? भाषणले युवालाई विदेशबाट फर्काउँछ ?,’ उनले सोधे, ‘मैले देश बुझ्नै सकिनँ, यो देशका नेतृत्व बुझ्नै सकिनँ।’ उनले नेपालका नेताहरूको चिन्तन नै नपुगेको बताएका छन्। ‘अरु जहाँसुकै जाऊन्, आफू मात्रै बन्न खोज्ने प्रवृत्ति भयो । हामीकहाँ दृष्टिकोण नै पुगेन,’ उनले भने।
काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिका च्यातेका छन्। आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रालयगत बजेट किताब च्यातेका हुन्।
उनले भौतिक पूर्वाधारको बजेटले जनताको माग सम्बोधन गर्न नसकेको बताए । नेता र मन्त्रीमुखी बजेट ल्याइएको उनले आरोप लगाए। ‘यो किताब मलाई मन नपरेर सदनभित्रै च्यात्ने अनुमति लिएर च्यातेको छु, धन्यवाद’, उनले भने। थापा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति समेत हुन्।
काठमाडौं । आफूलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज (बिहीबार) कार्यालय पुगेका छन्।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो। अदालतको आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम थालेका हुन्। उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो।





