
गोरखा । भक्तजनहरू मठमन्दिरमा पूजाआजा गरेर के अर्पण गर्छन् ? सबैको उत्तर हुन्छ, ‘फूल, अक्षता, भेटी अनि नैवेद्य ।’ कोही भक्तजनहरूले लुगाकपडा, गरगहना र अन्य खाद्यान्न सामग्री पनि चढाउँलान् । तर, गोरखामा एउटा यस्तो मन्दिर छ जहाँ देवीलाई गाईभैँसी बाँध्ने दाम्लो चढाइन्छ ।
गोरखा नगरपालिका–५, पस्लाङस्थित नाम्रुङदेवी थानमा पूजाआजा गरेर ‘दाम्लो’ चढाउने सयौं वर्षदेखिको चलन अहिले पनि कायमै छ । ‘गाईवस्तु बिरामी भएमा वा ब्याउन गाह्रो भएमा नाम्रुङदेवीको भाकल गर्छौ’, मन्दिरको पुजारी समेत रहेका स्थानीय जुनबहादुर रानामगर भन्छन्, ‘अनि आफूलाई अनुकूल समय मिलाएर थानमा पूजा गरेर दाम्लो चढाउने चलन छ । भाकल गरेपछि अहिलेसम्म पूरा पनि भएको छ ।’
मन्दिरमा दाम्लो चढाउन गोरखा र आसपासका जिल्लाबाट समेत भक्तजन आउने गरेको उनले बताए । ‘गोरखा, तनहुँ, लमजुङ, चितवनबाट यहाँ पूजा गर्न र दाम्लो चढाउन आउँछन्’, उनले भने । किसानले पशुपालन फस्टाउन्, बालीबाली राम्रो होस्, रोगव्याध नफैलियोस्, दूध पर्याप्त देओस् भनेर पूजा गरी दाम्लो चढाउने गरेको उनको भनाइ छ। नाम्रुङदेवीथानमा स्थानीय जातको कुखुराको अण्डा गाडेर मौसम परीक्षण गर्ने चलन पनि छ ।
‘यहाँ हरेक वर्ष चण्डी पूर्णिमाको दिन दुईवटा लोकल कुखुराको अण्डा गाड्ने चलन छ’, उनले भने, ‘अर्को वर्षको चण्डी पूर्णिमामा त्यसलाई निकाल्दा जस्ताको तस्तै रह्यो भने त्यो वर्ष शुभ हुन्छ भन्ने विश्वास गरिन्छ। अण्डा बिग्रियो, कुहियो भने अशुभ हुन्छ भनेर अनुमान गरिन्छ।’ अण्डा बिग्रिएमा हुरीबतास, असिनापात, भेल, बाढी, वर्षा, डढेलो वा महामारीले गाउँलेलाई दुःख दिने जनविश्वास छ ।
यहाँ दाम्लो चढाएर पूजा गर्ने चलन कहिलेबाट सुरु भयो भन्ने एकिन नभए पनि तनहुँसुरमा मुकुन्दसेन द्वितीय राजा र गोरखामा नरभूपाल शाह राजा हुँदादेखि पूजा गर्ने गरेको अभिलेख भेटिने गोरखा सङ्ग्रहालयका पूर्वकर्मचारी, इतिहासका जानकार गणेशप्रसाद भट्टराई बताउँछन् । उनका अनुसार नाम्रुङदेवीथानमा असारको पूर्णिमामा विशेष पूजाआजा र मेला लाग्ने चलन छ । दैनिक नियमित पूजा पनि हुने गर्छ । पूजारी भने मगर समुदायबाट चुनिन्छन् । यहाँ कुखुरा, परेवा, बोका पाठा बलि चढाइने भट्टराईले बताए । पहिले सरकारले पूजा खर्च दिने गरेकामा केही वर्षयता खर्च कटौती गरिएको छ ।
काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको छ ।
यसअघि पटक-पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन । तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।
३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने महासँघको भनाई छ ।
आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ । संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ ।
महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।
गत चैत्र २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय छिर्न नदिन महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे नेतृत्वका प्रहरीले गरेको अनुशासनहीन व्यवहारका बारेमा सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।
बिहीबार काठमाडौँ महानगरमा कार्यरत कर्मचारी तथा पेसागत संगठनले नगर कार्यपालिकासमक्ष उक्त मागसहित ११ बुँदे माग राखेका हुन् ।
सङ्गठनहरूले तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिन आह्वान गरेका छन् । साथै महानगर प्रहरी बलका प्रमुखलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाउन माग गरेका छन् ।
काठमाडौं । आन्दोलनरत शिक्षकहरूले बानेश्वर सडकका तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ । शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरूले आज भने सडकका ३ वटै लेन कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल भएको हो ।
तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि शिक्षकहरूले दिनहुँ माइतीघर–बबरमहल–बानेश्वर क्षेत्रका सडकमा प्रदर्शन गर्दै आएका छन् । सरकारले पटक–पटक वार्तामा बोलाए पनि शिक्षकहरू वार्तामा गएका छैनन् । विगतमा गरिएको सहमतिअनुसार विद्यालय शिक्षा ऐन ल्याउन उनीहरूको माग छ । शिक्षकहरूलाई एउटा लेनमा मात्र प्रदर्शन गर्न प्रहरी प्रशासनले आग्रह गर्दै आएको थियो ।
काठमाडौं । नेपाल बार एशोसिएसनको मतगणना सकिएको छ । यद्यपि, ललितपुरको ‘ट्याली’ गर्ने काम भइरहेको। अन्तिम मत परिणाम सार्वजनिक नहुँदै बार एशोसिएसनमा अध्यक्षका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रको प्यानलबाट २५ मा २५ निर्वाचित भएका छन्।
कांग्रेस निकट डेमोक्र्याटिक लयर्स एशोसिएसनका अध्यक्षसहित १२, नेकपा एमाले निकट प्रगतिशील व्यवसायिक लयर्स एशोसिएसन पीपीएलएका महासचिवसहित १२ र राप्रपा निकट कानुन व्यवसायीहरूका तर्फबाट बनेका एक उमेदवार विजयी भएका हुन् । केही समयमा अन्तिम मतपरिणाम औपचारिक रूपमा सार्वजनिक हुने निर्वाचन अधिकृत तेजनाथ धमलाले जानकारी दिएका छन् ।
अब विजयको औपचारिक घोषणा गर्न मात्र बाँकी रहेको निर्वाचन समितिले जानकारी दिएको छ । यसका लागि अहिले दिउँसो १ बजे पत्रकार सम्मेलन गरिने जनाइएको छ । मिश्र नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपानिकट कानुन व्यवसायीका संगठनहरूको संयुक्त प्यानलबाट अध्यक्षका उम्मेदवार हुन् ।
उनको प्यानलबाट महासचिवमा केदारप्रसाद कोइराला छन् भने उपाध्यक्षहरूमा कोसीबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोखरेल, कर्णालीबाट विवशकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा, महिला उपाध्यक्षबाट सरस्वती श्रेष्ठ उम्मेदवार छन्। अन्तिम नतिजा सार्वजनिक हुनुअघि नै उनीहरूको जित पक्का भइसकेको थियो । अध्यक्षका अर्का प्रतिस्पर्धी रमन श्रेष्ठ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र रास्वपा निकट कानुन व्यवसायीको प्यानलबाट उठेका हुन् ।
काठमाडौं । फरार अवस्थामा रहेका व्यवसायी दुर्गा प्रसाईं फेरि गुप्त स्थानबाट नयाँ भिडिओमा प्रस्तुत भएका छन् । उनले आफ्नो सुरक्षा ग्यारेन्टी गरिएको खण्डमा २४ घन्टाभित्रै सार्वजनिक हुने घोषणा गरे ।
प्रसाईंको सचिवालयको फेसबुक पेजबाट भिडिओ सार्वजनिक भएको हो । साढे आठ मिनेट लामो भिडिओमा प्रसाईंले आफू नेपालमै रहेको दाबी गरेका छन् ।
गत चैत १५ को आन्दोलनमा मारिएका दुई युवाको परिवारलाई ५-५ लाख रुपैयाँ दिने घोषणा पनि उनले गरे । आफू बाहिर आएपछि उक्त रकम दिने उनले बताए ।
यस्तो छ प्रसाईंको भनाइ
खास गरेर धेरै मिडियामा मेरो विषयमा मिम बनाउने, मलाई जोकर बनाउने कुराहरु आए । मुर्गा प्रसाईं भनेर हिसाबकिताबको कुरा आए । हजार माइलको यात्रा शून्यबाट सुरु हुन्छ । भिजन भनेको एउटा व्यक्तिबाट सुरु हुने हो । यात्रा एउटा व्यक्तिले नै सुरु गर्ने हो ।
दुर्गा प्रसाईं अहिले ‘हरहर दुर्गा घरघर’ दुर्गा भएको छ । दुर्गा भनेको विचार हो । म भागेको होइन, जोगिएकोमात्र हो । म रहेँ भने यो अभियान र जनविद्रोह सफल हुन्छ । म रहिनँ भने यो जनविद्रोह नै समाप्त हुन्छ ।
१५ गते दुई पत्रकारको जुन मृत्यु भयो, म हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु । उहाँहरु दुवैका परिवारलाई ५-५ लाख रुपैयाँ आर्थिक सहयोग गर्नेछु । सरकारले राहत दिन्छ कि दिँदैन थाहा छैन, म चाहिँ निस्किएर आएपछि दिन्छु ।
म भागेको छैन । म जोगिएकोमात्र हो । त्यो दिन कस्ता कस्ता मान्छेले घरका छतबाट कसरी ताकेका रहेछन् भन्ने भिडिओ बाहिर आइरहेका छन् । म भाग्न जन्मेको होइन । विवश भएर हो । प्रचण्ड, केपी ओली र अर्को राजावादी हुँ भन्ने पार्टीकै व्यक्ति बसेर १५ गतेको आन्दोलनलाई डिसमिस बनाउनुपर्छ, दुर्गा प्रसाईंलाई पागल, जोकर बनाउनुपर्छ भनेर निर्णय गरेका रहेछन् । मबाट नेतृत्व हत्याउने कोसिस भइरहेको छ , तर म अरु ऊर्जा र उमंगका साथ, नयाँ योजनाका साथ आउँदैछु ।
मेरा वकिलहरु टंक दुलाल, सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र भण्डारी, स्वागत नेपाल, ध्रुवलाल श्रेष्ठ, भीमार्जुन आचार्यलगायत र मानव अधिकारको रोहबरमा भोलि नै उपस्थित हुन तयार छु । म नेपालकै कुनै ठाउँमा छु । सार्वजनिक हुन्छु । मेरो जीवनको ग्यारेन्टी भए २४ घन्टाभित्र उपस्थित हुन्छु ।
आईजीपी साबलाई भन्न चाहन्छु, मलाई खोज्नुपर्दैन । तपाईंले मेरो सुरक्षाको जिम्मेवारी लिनुहुन्छ भने २४ घन्टाभित्र सार्वजनिक हुन्छु ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीले शुरु गरेको आन्दोलन जुनसुकै तहमा पुगेर भए पनि सफल गराउने बताएका छन् । राजावादी शक्तिहरूको समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता लोहनीले शान्तिपूर्ण आन्दोलनलाई कमजोर नसम्झन चेतावनी दिए।
‘उनले भने, ‘हामी शान्तिपूर्ण संघर्षमा जान्छौँ । तर शान्तिपूर्ण संघर्षलाई कमजोर नसम्झ। अत्याचार दूराचार सहेर राप्रपा मुख बन्द गरेर बस्दैन अब संघर्ष गर्ने समय आएको छ।’ नेता लोहनीले राज्यको क्रुरतालाई सहेर पार्टी चुप नबस्ने भन्दै संघर्ष शान्तिपूर्ण वा हिस्रक दुवै हुनसक्ने चेतावनी दिए। नेपालीहरूलाई मनोवैज्ञानिक सुरक्षाका लागि राजसंस्था चाहिएको उनको जिकिर थियो।
काठमाडौं । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए। उनले सरकार नागरिकको घरघरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे । आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए।
प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए।
नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे। आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे ।
मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए । उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गरे । जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे । उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे। नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए।
‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो। रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ मा कूल रु २२ अर्ब लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय शिक्षा विभागले शिक्षा ऐन नबन्नु लज्जास्पद विषय भएको बताएको छ । आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै रास्वपाले संविधान बनेको लामो समयसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद भएको बताएको हो ।
‘संविधान बनेको यतिका वर्षसम्म पनि शिक्षा ऐन नबन्नु लज्जास्पद छ। सरकार आफैंले बनाएको उच्चस्तरीय शिक्षा आयोग, २०७५ को प्रतिवेदन लुकाएर पनि शिक्षा ऐन निर्माणलाई पर धकेल्ने कार्य भयो,’ विभाग प्रमुख एवं सहमहामन्त्री सुमना श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गुणस्तरीय शिक्षाका लागि शिक्षकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै रास्वपाले यसमा पार्टीको फरक मत नरहेको स्पष्ट पारेको छ । रास्वपाले पटक–पटक सदनमा पनि शिक्षकहरूको हकहितको कुरा उठाउँदै आएको भन्दै आफू सरकारमा हुँदा शिक्षकको हकहितका लागि काम गरेको पनि उनले दाबी गरिन् ।
‘सरकारमा हुँदा पनि विशेष शिक्षकहरूको हकहितको लागि नियमावली संशोधन गरेर अर्थ र कानुन मन्त्रालयमा पठाएकै हो । शिक्षकको पेन्सनपट्टा जिल्लास्तरबाटै बनाउनको लागि पनि अगाडि बढाएकै हो,’ उनले उल्लेख गरेकी छन्, ’शिक्षा विधेयक पेस हुँदै गर्दा पनि रास्वपाको धारणा सो विधेयक विधार्थी केन्द्रित नभएको र शिक्षाक्षेत्र पुनर्संरचनाको लागि उपयुक्त नभएको भन्ने नै थियो ।’
हेर्नुस् विज्ञप्ती
.jpg)

काठमाडौं । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यो घोषणा गरेका हुन् ।
उनले वैशाख २१ गतेसम्म संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहाइ गर्न सरकारसँग माग गरेका छन् । यदि माग पूरा नभए आफूहरूले वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने उनले बताए ।
‘हाम्रो अभियान सफल हुन्छ । हरेस नखानुस् । आजको आज, भोलिको भोलि भन्ने हुँदैन । सबै कुराको समय आउँछ। वैशाख २१ गतेसम्म पनि अहिलेको सरकारले हाम्रा साथीहरूको वारेन्ट बर्खास्त गरेन भने, हाम्रो संयोजक ज्यूको नजरबन्द खुलाएन भने, बन्दी बनाइएका साथीहरूलाई मुक्त गराएन भने २२ गतेको दिनमा हामीले तीनकुनेमा साहदत प्राप्त गर्नुभएका वीर सहीदहरूको रगतले लतपतिएको माटोको टीका लगाएर सामूहिक गिरफ्तारी दिने हो,’ उनले भने।
उनले २१ गतेसम्म माग पूरा नभए सबैभन्दा पहिले आफूले गिरफ्तारी दिने बताए । ‘सबैभन्दा पहिले मैले नै गिरफ्तारी दिन्छु, म ७८ वर्ष पुगें । हामीले ज्यान माया मारेर आन्दोलनमा जाने हो । त्यसपछि को को आउनु हुन्छ, आउनुस्,’ उनले भने ।








