मोरङ — प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. सुनिल कुमार शर्मा अमेरिका प्रस्थान गरेका छन्।
सचिवालयले दिएको जानकारीअनुसार सांसद शर्मा एक महिना अमेरिकामा रहनेछन्। अमेरिकामा रहँदा उनले त्यहाँ रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूसँग भेटघाट गर्ने र राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग समेत छलफल गर्ने कार्यक्रम रहेको छ।
सांसद शर्माले अमेरिकाको बसाइलाई नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउन उपयोग गर्ने जनाइएको छ।
सामाजिक सञ्जालमार्फत डा. शर्माले क्यानडाको एडमोन्टन सहरमा शैलेश भण्डारीको घरमा पाएको आत्मीय आतिथ्य र बिताएको समयबारे स्मरण गर्दै धन्यवाद प्रकट गरेका छन्। साथै, बहिनी–ज्वाइँ लिला बास्कोटा र विजय दाहालसँग बिताएको समयलाई अझ विशेष रहेको भन्दै भावुक अभिव्यक्ति दिएका छन्।
त्यसैगरी, क्यानडामा रहेका भाई अमिर न्यौपानेसँगको भेटलाई अविस्मरणीय भन्दै उनले प्रसन्नता व्यक्त गरेका छन्। साथै, मित्र होमन गौतमद्वारा सञ्चालित Bonoo Minimart नेपाली पसल सफलतापूर्वक सञ्चालन भइरहेको देख्दा निकै खुशी लागेको समेत उनले उल्लेख गरेका छन्।
डा. शर्माले क्यानडामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूले देखाएको न्यानो माया र आत्मीयता प्रति आभार व्यक्त गर्दै, “जय नेपाल!” भन्दै आफ्नो सन्देश समापन गरेका छन्।
उनको यो भावनात्मक सन्देशले प्रवासमा रहेका नेपाली समुदायसँगको सम्बन्धलाई अझ प्रगाढ बनाएको देखिन्छ।









