स्वतन्त्र सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित सांसद पुनले बुधवार सामाजिक सञ्जालमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
पूर्वशिक्षामन्त्रीसमेत रहेका पुनले सार्वजनिक गरेको सम्पति विवरणअनुसार नेपाल बैंकमा चार लाख रुपैयाँ नगद बचत छ।
उता राष्ट्रिय वाणिज्य बैंकको खातामा २५ लाख रुपैयाँ बचत रहेको पनि पुनले खुलाएका छन् । उक्त रकम चुनावी चन्दाबाट उठेको उनले जानकारी दिएका छन्
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालकसमेत रहेका उनले कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना, चार पैसा जग्गा रहेको पनि जनाएका छन् ।
यसका साथै आफूसँग करिब तीन तोला सुन रहेको जानकारी पनि उनले दिएका छन् । उक्त सुन श्रीमतीलाई आफन्तहरूले उपहार दिएको उनको दाबी छ।









