२०८३ भाद्र २७ गते शनिबार
२०८३ भाद्र २७ गते शनिबार

युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो ।

योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनोट भएको छ । नेपालले दोस्रो पटक एसिया कपमा स्थान बनाएको हो । नेपालले यसअघि सन् २०२३ मा युएईलाई नै हराएर एसिया कपमा स्थान बनाएको थियो ।

गत संस्करणको विजेता बनेको युएई भने एसिया कप २०२७ मा स्थान बनाउन वञ्चित भयो । फाइनल खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९ दशमलव एक ओभरमा २६९ रनमा अलआउट भयो । उसका लागि राहुल चोपराले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रनको पारी खेले पनि जितका लागि पर्याप्त भएन ।

यस्तै सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा चनवीरले १५ रन जोडे । नेपालका लागि बलिङतर्फ करण केसीले तीन, ललितनारायण राजवंशीले दुई, कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक–एक विकेट लिए ।

त्यसअघि मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय इनिङ खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको इनिङ खेलेका हुन् ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो दोस्रो शतक हो । यस्तै, आज गुलशनकुमार झाले अर्धशतकीय पारी खेले । उनले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रनको पारी खेलेका हुन् ।

एक दिवसीय अन्तर्राष्ट्रियमा गुलशनको यो छैटौँ अर्धशतक हो । यस्तै, अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन जोडे ।

युएईका लागि बलिङमा इब्रार अहमदले चार, खुजैमा तनवीरले दुई तथा हैदर अली, अबीद उस्मानीले एकरएक एक विकेट लिएका थिए ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।