प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आगामी असोज ८ गते सम्बोधन गर्ने भएका छन् ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने महासभाको ‘उच्चस्तरीय सामान्य बहस’मा प्रधानमन्त्री शाहले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसपटकको महासभाको नारा ‘विश्वास पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसङ्घ’ तय गरिएको छ । महासभामा हालसम्म ८१ मुलुकका राष्ट्रप्रमुख र नेपालसहित ५० मुलुकका सरकार प्रमुख सहभागी हुने जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले गत वर्ष नेपालमा भएको ‘जेनजी’ आन्दोलन, त्यसपछि सम्पन्न सफल निर्वाचन र निर्वाचनबाट प्राप्त जनादेशका आधारमा गठन भएको वर्तमान सरकारका प्राथमिकता अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न महासभा महत्वपूर्ण अवसर हुने बताए ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सचिव राईले अन्तर्राष्ट्रिय सहयोग र सद्भावलाई निरन्तरता दिन तथा थप विस्तार गर्न उच्चस्तरबाटै आह्वान गर्ने अवसरका रूपमा पनि महासभालाई लिइएको बताए ।
यसैबीच, यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको विषय पनि महासभामा उठाउने तयारी गरिएको छ । बाढीले नेपाल जलवायु संकटको दृष्टिले कति जोखिममा छ भन्ने पुनः पुष्टि गरेको भन्दै सरकारले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराउने तयारी गरेको हो ।
सचिव राईका अनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि जलवायु परिवर्तनका नकारात्मक असरबाट नेपालजस्ता मुलुक सबैभन्दा बढी प्रभावित भइरहेका छन् । त्यसैले प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण नेपालले बारम्बार व्यहोर्नुपरेको जनधनको क्षतिबारे महासभामा कुरा उठाउनेछन् ।
नेपालले हानि तथा नोक्सानीसम्बन्धी कोषलगायतका संयन्त्रबाट तत्काल र उचित क्षतिपूर्ति उपलब्ध गराउन विश्व समुदायसमक्ष आह्वान गर्ने तयारी गरेको छ । साथै जलवायु उत्थानशील पूर्वाधार निर्माण, जलवायुमैत्री कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन विकसित मुलुकहरूलाई आग्रह गरिनेछ ।
महासभामा नेपालले प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पुर्याउँदै आएको योगदानबारे पनि जानकारी गराउनेछ ।
यसै अवसरमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान’ विषयक सहायक कार्यक्रम आयोजना गर्नेछ । जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा परेको असर र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गरी विश्व समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।
महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले अतिकम विकसित मुलुक, भूपरिवेष्टित विकासोन्मुख मुलुक, असंलग्न मुलुक तथा जि–७७ र चाइनालगायतका विभिन्न मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउनेछन् । उनले राष्ट्रसङ्घले आयोजना गर्ने उच्चस्तरीय छलफल तथा साइड इभेन्टलाई समेत सम्बोधन गर्ने कार्यक्रम छ ।
मन्त्री खनालले छिमेकी तथा विभिन्न मित्रराष्ट्रका समकक्षी र संयुक्त राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।
प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, परराष्ट्र सचिव राईलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।










