२०८३ भाद्र २८ गते आईतवार
२०८३ भाद्र २८ गते आईतवार

सहरी बाढीको जोखिम घटाउन ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गरिने

काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ ।

वर्षाको पानी संकलन तथा जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताइन् ।

‘विशेषगरी अर्बन फ्ल्यास फ्लड अहिले ठूलो चुनौती बनेको छ । पहिले पानी पर्दा आनन्दले निद्रा लाग्थ्यो, तर अहिले पानी पर्न थालेपछि चैनसँग सुत्न सक्ने अवस्था छैन’, उनले भनिन् ।

उनका अनुसार सहरी बाढीको समस्या समाधानका लागि महानगरपालिकाले अध्ययनसमेत गरिरहेको छ । विगतमा सहरी क्षेत्रमा गरिएका विकास तथा संरचना निर्माणका कारण सिर्जित समस्या सुधार गर्दै जानुपर्ने उनले बताइन् ।

करिब तीन दशकअघि सुरु भएका सहरी समस्या अहिले ‘अर्बन फ्ल्यास फ्लड’का रूपमा देखिन थालेको डंगोलको भनाइ छ ।

उनले काठमाडौंमा वर्षाको पानीलाई सकेसम्म जमिनमै पुनर्भरण गर्ने उद्देश्यले रेन वाटर हार्भेस्टिङ तथा रिचार्जका कार्यक्रम सञ्चालन गरिने बताइन् ।

‘यस समस्याको दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । तर अहिले हामीले जेबाट काम सुरु गर्न सक्छौँ, त्यहीँबाट सुरु गरौँ भन्ने उद्देश्यले ‘रिचार्ज काठमाडौं’ अभियान अघि बढाउँदैछौँ’, उनले भनिन् ।

अभियानमार्फत वर्षाको पानी संकलन गर्ने, जमिनमा पुनर्भरण गर्ने र पानीको उचित व्यवस्थापन गर्ने कामलाई प्राथमिकता दिइने उनले बताइन् ।

डंगोलले विगतमा सहरी क्षेत्रमा भएका विकासका कारण सिर्जित समस्या सुधार गर्दै अघि बढ्नुपर्नेमा जोड दिइन् ।

‘विगत ३० वर्षमा हामीले धेरै कुरा बिगारेका छौँ, अब बिग्रिएका कुरालाई सुधार्दै जानुपर्छ । आज हाम्रा कलाकार साथीहरूले पनि यही महत्वपूर्ण सन्देश दिनुभएको छ’, उनले भनिन् ।

काठमाडौंमा पानी पर्दा नगर प्रहरी, विपद् व्यवस्थापन टोली तथा जनप्रतिनिधिहरूलाई समेत सम्भावित विपद्का लागि तयारी अवस्थामा बस्नुपर्ने अवस्था रहेको उनले बताइन् ।

‘मध्यरातमै पनि नगर प्रहरी, विपद् व्यवस्थापन टोली र जनप्रतिनिधिहरू कुनै विपद् आइपरे फिल्डमा जानुपर्ने भन्दै स्ट्यान्डबाइमा बस्नुपर्छ’, उनले भनिन् ।

डंगोलले अहिले गर्न सकिने कामबाटै समाधानको सुरुवात गर्नुपर्ने बताउँदै काठमाडौंलाई बाढीको जोखिमबाट सुरक्षित र व्यवस्थित बनाउन अभियान अघि बढाइने बताइन् ।

पछिल्लो समय वर्षाको पानी परेपछि काठमाडौंमा बाढीको जोखिम बढ्दै गएको भन्दै उनले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।