गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले घरहरूमा समेत क्षति पुर्याएको छ भने केही बस्ती जोखिममा परेका छन्।

चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खसेर नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको हो।
प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको विवरण प्राप्त भएको छ।
बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घरसमेत जोखिममा परेका छन्। यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।








