राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले आसन्न पार्टी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई पार्टीको सर्वोच्च नेताका रूपमा बस्न प्रस्तावसमेत गरेका छन् ।

पार्टीमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै शाहीले अग्रजको अनुभव र युवाको नेतृत्व स्थापित गर्न आफूले पहल गरेको बताए । राप्रपालाई सीमित चुनावी उपलब्धि र सत्ता समीकरणमा मात्रै केन्द्रित नराखी राष्ट्रवादी विचारको बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।
उनले सांसद बन्नकै लागि कहिले एमाले, कहिले माओवादी र कहिले कांग्रेससँग गठबन्धन गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । पार्टीलाई विभाजनबाट जोगाउँदै एकताबद्ध बनाउन नेतृत्व र संगठनात्मक सुधार आवश्यक रहेको उनको भनाइ छ ।
आसन्न महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न नसके पार्टीले थप क्षति व्यहोर्नुपर्ने शाहीले बताए । ‘पार्टीका अध्यक्षज्यूलाई म सर्वोच्च नेताका रूपमा आउनका लागि प्रस्ताव गर्दछु । किनकि अब पनि यो पार्टीलाई युवा पुस्ताले हाँक्नुपर्छ । पछिल्ला दिनहरूमा हामीले खोजेर पनि पार्टी पाउन नसक्ने स्थिति सिर्जना भइरहेको छ । हामीले अग्रजलाई हटाउने होइन, अग्रजको सम्मान र युवाहरूको नेतृत्व सुनिश्चित गर्न अगाडि बढेका हौं । हामी विभाजन गर्न होइन, सबैलाई जोड्न आएका हौं’ उनले भने ।
शाहीले राप्रपाको झण्डा केवल चुनाव चिह्न नभई इतिहास, त्याग, बलिदान र राष्ट्रवादी पहिचानको प्रतीक भएको उल्लेख गर्दै त्यसलाई पुनः स्थापित गर्नुपर्ने बताए ।
उनले भने, ‘त्यसैले अब यो विचारलाई केवल जोगाएर राख्ने मात्र होइन, दुई–चारवटा सिट जितेर, एक–दुईवटा बार्गेनिङ गरेर, कहिले एमालेसँग, कहिले माओवादीसँग, कहिले कांग्रेससँग मिल्ने कुराको अन्त्य गर्नुपर्छ । राप्रपा अब सिन्डिकेट, लास र दासको पार्टी बन्दैन । यो राष्ट्रवादीहरूको शक्ति र युवाहरूको जोस र जाँगरका साथ अगाडि बढ्नेछ ।’
पार्टीमा पुस्तान्तरण हुन नसके नेतृत्वमा को आउने भन्ने विषय गौण हुने उनको भनाइ थियो । जनताको विश्वास प्राप्त गर्न नसके पार्टीको अस्तित्वको अर्थ नरहने पनि उनले बताए ।
राप्रपाको महाधिवेशन यही मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुँदैछ ।











