२०८३ मंसिर ६ गते शनिबार
२०८३ मंसिर ६ गते शनिबार

विस्तृत शान्ति सम्झौताको २० वर्ष पूरा, संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन प्रचण्डको आग्रह

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सरकार र सम्बन्धित पक्षलाई आग्रह गरेका छन्। विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने बताएका हुन्।

‘विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ’, उनले लेखेका छन्।

प्रचण्डले शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्यमा मात्रै सीमित नरहेको उल्लेख गर्दै पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण गर्नु पनि यसको उद्देश्य भएको बताएका छन्।

उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु राष्ट्रिय आवश्यकता भएको उल्लेख गरेका छन्।

२०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा माओवादीका अध्यक्षका रूपमा आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको प्रचण्डले स्मरण गरेका छन्।

उनले उक्त सम्झौतालाई दुई पक्षबीचको सहमतिमा मात्रै सीमित नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट बनेको राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेजका रूपमा व्याख्या गरेका छन्।

शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता उपलब्धि हासिल भएको उनको भनाइ छ।

प्रचण्डले शान्ति प्रक्रियामा योगदान पुर्‍याउने राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित र आम नेपाली जनताप्रति सम्मानसमेत व्यक्त गरेका छन्।

‘शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो’, उनले लेखेका छन्।

आज विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिन। २०६३ मंसिर ५ गते आजकै दिन तत्कालीन नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो। यस ऐतिहासिक सम्झौताले मुलुकलाई शान्ति, लोकतन्त्र, गणतन्त्र र नयाँ राजनीतिक व्यवस्थाको दिशामा अघि बढाएको थियो। यस अवसरमा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने महान् सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।
ऐतिहासिक शान्ति सम्झौतामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा मैले हस्ताक्षर गरेका थियौँ। यो केवल दुई पक्षबीचको सम्झौता थिएन, बरु नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको ऐतिहासिक दस्तावेज थियो।
विस्तृत शान्ति सम्झौताकै जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता ऐतिहासिक उपलब्धि हासिल भए। नेपालको राजनीतिक इतिहासमा यो सम्झौता युगान्तकारी रूपान्तरण र राष्ट्रिय एकताको महत्वपूर्ण उदाहरणका रूपमा स्थापित भएको छ।
तर शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन्। विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी कामहरू पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा छ।
शान्ति सम्झौताको मर्म भनेको द्वन्द्वको अन्त्य मात्र होइन, पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण पनि हो। त्यसैले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र शान्ति सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्‍याउनु आजको राष्ट्रिय आवश्यकता हो।
म यस ऐतिहासिक अवसरमा शान्ति प्रक्रियामा योगदान पुर्‍याउने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान व्यक्त गर्दछु। साथै, शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न सबै राजनीतिक दल, सरकार, सम्बन्धित निकाय र सरोकारवाला पक्षलाई गम्भीरतापूर्वक आग्रह गर्दछु।
शान्ति सम्झौता हाम्रो साझा राष्ट्रिय प्रतिबद्धता हो। यसको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
मिति : २०८३ मंसिर ५ गते
पुस्पकमल दाहाल प्रचण्ड
संयोजक
नेपाली कम्युनिस्ट पार्टी

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।