२०८३ मंसिर ९ गते मंगलवार
२०८३ मंसिर ९ गते मंगलवार

सरकारलाई गगनको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन् ।

 

मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले यस्ता धम्की र त्रासबाट आफू नडराउने स्पष्ट पारे ।

आफूलाई पक्राउ गर्न आउने भए खाली हात नआउन र हतकडी लिएर आउन उनले चुनौतीसमेत दिए । राजाको शासनकालमा समेत आफूले राजद्रोहको मुद्दा खेपेको स्मरण गर्दै थापाले सत्तालाई प्रश्न गरेकै कारण आफू पछि नहट्ने बताए ।

उनले माओवादी सशस्त्र द्वन्द्वकालदेखि केपी शर्मा ओली नेतृत्वको शक्तिशाली सरकारका पालासम्म आफूले निरन्तर सत्तालाई प्रश्न गर्दै आएको उल्लेख गरे । शक्तिशाली सरकारसँग प्रश्न गर्दा राजनीतिक मूल्य चुकाउनुपर्ने अवस्था आए पनि आफ्नो भूमिका नबदलिने उनको भनाइ थियो ।

‘तपाईंलाई पोखरा लैजाला, तपाईंलाई समात्ला’ भन्दै साथीहरूले सचेत गराउने गरेको उल्लेख गर्दै थापाले भने, ‘पक्रने साथीहरूले त्यो कुरा बुझे हुन्छ, पक्रँदै गर्दा खाली हात नआउनु, हतकडी चाहिँ लिएर आउनु । खाली हात चाहिँ जान्न । न नेपाली कांग्रेस पार्टीले आफ्नो क्यारेक्टर लुज गर्छ, न कांग्रेसको सभापतिले आफ्नो क्यारेक्टर लुज गर्छ ।’

थापाले दोषीलाई कारबाही गर्ने सरकारको प्रयासमा कांग्रेसको साथ रहने तर राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले अनुसन्धान गरिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए । सत्ता निकट व्यक्तिलाई उन्मुक्ति दिने र राजनीतिक रूपमा फरक विचार राख्नेहरूमाथि मात्रै कारबाही गर्ने प्रवृत्ति स्वीकार्य नहुने उनले बताए ।

विगतका कमजोरी तथा अनियमितताबारे राज्यले गरिरहेको अनुसन्धानमा कांग्रेसले कुनै अवरोध नगर्ने स्पष्ट पार्दै उनले अनुसन्धान निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिए ।

‘हामी नेता पनि भन्दैनौँ, नाता पनि भन्दैनौँ । विधिको शासनले जे भन्छ, त्यही गर्नुपर्छ,’ थापाले भने, ‘कोही मान्छे प्रधानमन्त्री बालेन साहसँग नजिक भएको कारणले छुट पाउनु हुँदैन । कोही राष्ट्रिय स्वतन्त्र पार्टीको भएको कारणले पनि छुट पाउनु हुँदैन ।’

उनले विगतमा शेरबहादुर देउवा र केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि उनीहरू निकट रहेका व्यक्तिले राजनीतिक पहुँचका आधारमा उन्मुक्ति पाउनु हुँदैन भन्ने कांग्रेसको धारणा रहेको स्मरण गराए ।

तर, राजनीतिक प्रतिपक्षलाई तह लगाउन राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्र प्रयोग गर्न खोजिए कांग्रेसले त्यसको जवाफ माग्ने उनको भनाइ थियो । राज्यका संयन्त्रलाई निजी कम्पनीजसरी सञ्चालन गर्ने र तिनको दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध कांग्रेसले आवाज उठाइरहने उनले बताए ।

थापाले सामाजिक सञ्जालमार्फत भय र त्रास सिर्जना गरेर कांग्रेस नेतृत्वलाई दबाबमा पार्ने प्रयास भइरहेको आरोपसमेत लगाए । सरकारका राम्रा काममा कांग्रेसले साथ र सहयोग गर्ने तर गलत कामको निरन्तर आलोचना गर्ने उनको भनाइ थियो ।

सरकारको दबाब र धम्कीका कारण कांग्रेसले आफ्नो आलोचनात्मक भूमिका कमजोर नबनाउने स्पष्ट पार्दै थापाले सत्य, न्याय र विधिको शासनका पक्षमा उभिन पार्टीले नाफा–घाटाको हिसाब नगर्ने बताए ।

ट्रेन्डिङ

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।