नुवाकोट, २१ फागुन । नुवाकोटका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ । नुवाकोटमा सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका लागि सचेतना जगाउन भन्दै एसएमएस मार्फत जानकारी दिन लागेको कार्यक्रम प्रमुख भीमा पराजुलीले जानकारी दिनुभएको हो ।
मोबाइल सन्देशमा, तपाईँको घरमा कोही गर्भवती हुनुुहुन्छ ? नियमित रुपमा गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गर्नुभएको छ कि छैन ? नौ महिना पूरा भयो, बच्चा जन्माउन स्वास्थ्य संस्थामा जानुस् भन्ने जस्ता सन्देश प्रवाह गरिने छ ।
सुआहाराले सञ्चालन गरेको ‘बहुवर्षीय पोषण कार्यक्रम’ अन्तर्गत नुवाकोटका ६१ वटै गाविसमा पोषण सुधारका लागि घरधुरी सर्वेक्षण गरी एसएमएस माध्यमबाट जानकारी पठाउने योजना छ । पराजुलीले छ महिनाभित्र सबै घरको सर्वेक्षण गरिएपछि गर्भवती र अभिभावकलाई मोबाइलबाट सुरक्षित सुत्केरी तथा पोषण सुधारका लागि म्यासेज पठाइने जानकारी दिनुभएको छ ।