२०८१ चैत्र ६ गते बुधबार
२०८१ चैत्र ६ गते बुधबार

रिंकु सदा मृत्यु प्रकरण : जबर्जस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान हुँदै

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंककुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणीसहित चार वटा मुद्दामा अनुसन्धान सुरु भएको छ । सामुहिक बलात्कार र शंकास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा चारवटा मुद्दामा आठ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए ।

कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पूरक जाहेरी दर्तापछि सोहीअनुसार अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय, लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए । उनले भने, ‘यस घटनाका विषयमा हामीले सुरुबाटै गहिरो अनुसन्धान गरिरहेका छौँ । पूरक जाहेरी आएपछि अब हामीलाई घटनाको सुक्ष्म अनुसन्धानको लागि झन् सहज भएको छ ।’

 

गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिंकु स्थानीय तीन युवाबाट सामुहिक बलात्कारमा परेको बताएकी थिइन् । त्यसपछि २९ र ३० गते पञ्चायत बसेर गाउँमै लेनदेनमा घटना मिलाउने प्रयास गरिएको भन्दै घटना सार्वजनिक भएको थियो । गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयले गत मङ्गलबार प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेकामा समितिले घटनास्थलमा पुगि प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो । छानबिन समितिका संयोजक कोइरालाले घटना दबाउन ‘बार्गेनिङ’ गर्ने र पञ्चायती बस्ने हाल फरार रहेका बताए । उनले भने, ‘घटना मिलाउन भूमिका खेलेका भनिएका अधिकांश व्यक्ति फरार छन् । भिडियो-फोटाेबाट पहिचान गरेर खोजी गरिरहेका छौँ ।’

रिंकुका बुबा बिजुलिया सदाय छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेको र विभिन्न पक्षबाट डर–त्रास दिन काम भइरहेको गुनासो गरे । यसैबीच घटनाको उच्चस्तरीय छानबिन समिति गठन गर्न सिरहास्थित विभिन्न सामाजिक संघ–संस्थाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा बिहीबार ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा पीडितपरिवारलाई अझै निरन्तर धाक, धम्की, डर त्रास देखाउने काम भइरहेकाले तत्काल भयरहित वातावरणमा बस्ने वातावरण बनाउन आग्रह गरिएको छ । मृतकका परिवारलाई भेट्न यहाँ पुगेका मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले दोषीलाई कानुनको कठ्घरामा ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मधेश प्रदेशका गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेशमा बलात्कार जस्तो आपराधिक घृणित कार्यमा संलग्नलाई जोगाउन राजनीतिक दलका नेताहरू सक्रिय रहेको बताएका छन् । उनले दलका नेताहरूले त्यस्ता अपराधीलाई लाख‚ दुई लाखमा बचाउन लागिपरेको पनि स्पष्ट पारेका छन् । गत माघ ३० गते सिरहा नवराजपुरमा एक दलित किशोरी उपर भएको बलात्कार र हत्या घटनाबारे शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री लेखीले यस्तो जघन्य आपराधिक घटना मिलाउन, पञ्चायती गरी लाख‚ दुई लाखमै चुप लाग भनेर मिलाउन दलकै नेताहरू सक्रिय रहेको पाएको भन्दै दुःख व्यक्त गरे ।

लोकप्रिय

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।