काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. चन्दा कार्कीले ३५ वर्षयताका भ्रष्टाचारका काण्डहरूको छानबिन गरी मुलुकमा सुशासन कायम गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन्। उनले देशले एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरूको सामना गरिरहेको उल्लेख गरिन्। सरकारसँग विपद् व्यवस्थापनको लागि ठोस योजना नभएको आरोप लगाइन्।
उनले सरकारले रामराज्य देखावट नगरी कमसेकम पासमार्क आउने गरी काम गर्नुपर्ने बताइन्। उनले मुलुकको विकासका लागि राजनीतिक संस्कार सुधार्न जरुरी रहेको बताइन्।
उनले भनिन्, ‘देशले आज एकपछि अर्को कठोर र लज्जास्पद झट्काहरू सहिरहेको छ। ट्रान्सपेरन्सी इन्टरनेसनलले नेपाल झन् भ्रष्टाचारी मुलुक भनी देखाएको छ। हाम्रा कर्णधारहरू असुरक्षित छन्। प्रकृति लम्साललाई मर्न बाध्य बनाइयो। स्वदेशमै पनि विद्यार्थीहरू आत्महत्या गरिरहेका छन्। विपद् व्यवस्थापनमा ठोस योजना छैन। उद्धारका लागि चाहिने सेनाका हेलिकेप्टरहरुको अवस्थाको बारेमा बोलिँदैन। तसर्थ अब सरकारले रामराज्यको देखावट नगरी कमसेकम पासमार्क ल्याउने गरी काम गरोस्। हाम्रो राजनीतिक संस्कार सुधारौँ।’
उनले अन्तर्राष्ट्रिय सहयोग नभनेर ठगीको आरोप लागेर ३९ मिलियन अमेरिकी डलर बराबरको युएस एड रोकिएको भन्दै दुःख व्यक्त गरिन्।