सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आएको ६.१ म्याग्निच्युडको भुकम्पले पुराएकाे क्षतिको पुर्ण विवरण आउन बाकी छ । बिहान ५:४५ सम्मको विवरण अनुसार मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्नेक्रममा लड्दा एक जना कैदीको हात भाँचिएको छ । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । ‘जवानहरु बस्ने भवनको भित्ता सामान्य चर्किएको छ,’ प्रजिअ थापाले भने ।
यसैगरी भोटेकोशी गाउँपालिका वडा नम्बर ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ ।
अरु विवरण आउन बाँकी छ । प्रहरीले मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न भनेको छ ।
शुक्रबार विहान २ः५१ बजे सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।