१३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पुरा, ६ करोडको कारोवार हुने

0
490

चैत्र ३० काठमाडौ । १३ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४ को तयारी पुरा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालय र उद्योग मन्त्रालयको संयुक्त आयोजनामा २०७४ बैशाख ७ देखि ११ गतेसम्म भृकुटीमण्डपंमा आयोजना हुन लागेको मेलाको तयारी पुरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । बैज्ञानिक खोज र अनुसन्धान आर्थिक विकासका लागि !उद्योगमा प्रविधि प्रतिष्थापन पुस्ता हस्तान्तरण्का लागि !! भन्ने नाराका साथ सुरु हुन लागेको “नेपाल १३औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा नवीनतम प्रविधि प्रदर्शनी–२०७४”मा २ सय ३६ वटा स्टलहरु रहनेछन् । जसमा ६० जना भन्दा बढी नविन प्रविधि अनुसन्धानकर्ताहरु सहितको नवीनतम प्रविधि प्याभिलियन, ३५ वटा स्टलको महिला उद्यमशिलता प्याभिलियन, १० वटा स्टलको बन तथा कृषि सहज कार्यक्रमको प्याभिलियन, खाद्यान्नका स्टलहरु र बाँकीमा औद्योगिक उत्पादनहरु राखिने आयोजकले जनाउको छ ।प्रदर्शनीको एक लाख भन्दा बढीले अवलोकन गर्ने र करिव ६ करोडको आर्थिक कारोवार हुने अपेक्षा आयोजकको छ ।प्रदर्शनी आयोजना गर्नमा बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, लघु, घरेलु तथा साना उद्योग विकास कोष, राष्ट्रपति महिला उत्थान कार्यक्रम, नेपाल कृषि अनुसन्धान परिषद, व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, लाइफ परियोजना र वन तथा कृषि सहज कार्यक्रमसंग सहकार्य गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम प्रसाद गिरी जानकारी दिनुभयो ।व्यापार मेलामा छनौटमा परेका प्रदर्शनयोग्य तथा व्यवसायिकरण हुनसक्ने सम्भावनायुक्त प्रविधि, अनुसन्धान तथा आविष्कारहरूको प्रदर्शनी गरिनुका साथै तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको र समग्र राष्ट्रका मौलिक औद्योगिक उत्पादनको प्रदर्शनी र व्यापार समेत गरिने बताइएको छ । साथै मेलामा चीन, भारत, पाकिस्तान र वंगलादेश लगायतका औद्योगिक उत्पादनहरुको समेत प्रदर्शनी हुने छ र रोजगरादाता र वेरोजगार विच सुचना पुलको काम गर्ने उद्देश्यले महासंघले आइ.एल.ओ. र श्रम विभाग, रोजगार सूचना केन्द्रको सहकार्यमा मेला भित्रको मेला रोजगार मेलाको आयोजना पनि गरिने भएको छ । मेला अवधिमा नविनतम आविष्कारलाई उद्योगमा जोड्न सरोकारवाला निकायहरुको भूमिका, नीजि क्षेत्र र एकेडेमिया विच अन्तरसम्वाद, उद्यमी अन्वेशनकर्ता र सरोकारवाला विच अन्तर सम्वाद, बौद्विक सम्पत्ति संरक्षण, लघु, घरेलु तथा साना उद्योगको विकासमा बैकल्पिक ऊर्जाको प्रयोग साथै महिला उद्यमशिलताका विविध पक्षहरु विषयका श्रृंखलावद्ध अन्तरक्रियाका कार्यक्रमसमेत गरिने छ ।